दृष्टि

- प्रा. डा. कपिल लामिछाने

चार वर्षअघि उसको छोरो सिकिस्त भयो र अस्पताल दौडायो । लगातार तीन दिनको उपचारपछि ठिक भयो । उसले अस्पताल र डाक्टरलाई धन्यवाद भन्यो ।
परार साल हजुरआमा दमले झन्डै खुस्केकी । त्यही अस्पताल दौडायो । उपचारपछि सन्चो भएकोमा उसले अस्पताल र डाक्टरलाई धन्यवाद दियो ।
पोहोर साल उसका बा इन्तु न चिन्नु भए । त्यही अस्पताल कुदायो । पेटमा विकार रहेछ । हप्तादिन औषधी खाएपछि चट भयो । उसले अस्पताललाई धन्यवाद भन्यो र डाक्टरलाई भगवान् मान्यो ।
छ महिनाअघि उसको आफ्नै टाउको एक्कासि रनक्क दुख्यो र ऊ बल्र्याङ्ग ढल्यो । उसलाई त्यही अस्पताल पु¥याए । थोरै माइग्रेनको समस्या देखियो । ऊ सन्चो भएर घर फर्किंदा अस्पताल र डाक्टरप्रति आभार प्रकट ग¥यो ।
एक हप्ताअघि अकस्मात् उसकी श्रीमतीको तल्लो पेट दुख्यो । उसले त्यही अस्पताल दौडायो । अपरेसन नगरे नबाँच्ने अपरेसन पनि खतरामुक्त नभएको राय डाक्टरले दिए ।
“केही हुँदैन । अपरेसन गरिदिनुस्, डाक्टर साहेब ।” उसले भन्यो र सहीछाप ठोक्यो ।
अपरेसन कक्षबाट निक्लँदै डाक्टरले भने, “हामीले हरेक कोसिस ग¥यौँ । सरी ।”
उसले एक्कासी डाक्टरको कठालो समात्यो । नर्सलाई लात्तो हिर्कायो । टोलका केटाहरूलाई बोलायो । केटाहरूले अस्पतालमा सानोतिनो अग्निपूजा गरे ।
ऊ भन्दै थियो, “सब डाक्टर चोर हुन् । यो (अस्पताल) मुर्दाघर हो । क्षतिपूर्ति भर् । नत्र यहाँ कसैको खैरियत छैन ।”
--

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु