पञ्चकोशीमा पाइला टेक्दा

- माधव घिमिरे अटल

आफैँमा जादुमयी यात्रा हो– जीवन । भूगोलको गहिराइ नाप्ने, दूरदराजका संस्कृति छाम्ने, रीतिरिवाजसँग मितेरी गाँस्ने, प्रकृतिसँग संवाद गर्ने, भाषासँग भातृत्व जगाउने र उचाइसँग आँखा जुधाउने अनुपम अवसर पनि हो ।
त्यसो त रोजिन्दै महसुस हुन्छ– ’जीवन घडीको टिकटिकमा नभई कम्पासको दिशाबोधमा बाँच्नुपर्छ ।’ यसर्थ गर्नैपर्छ विचरण ।
घुमफिरमा गरिने लगानी सर्वाधिक नूतन र परिष्कृत ज्ञानमा गरिने लगानी हो, असीम आमोदप्रमोदमा गरिने लगानी हो र परिवर्तनको धार पर्गेल्न गरिने प्रभावी लगानी हो । यिनै विचारसँग तादाम्यता राख्ने मेरा एकजना भाइ छन्– रामहरि अधिकारी । उनीसँगका घुमघामका कथाहरू समेट्ने हो भने सालाखाला आधा दर्जन नियात्रा सङग्रह तयार हुने अन्दाज छ मेरो ।
दैलेख जिल्लाको बेस्मारी बखान गर्दै यात्राको निम्ति निम्त्याएको लामो कालखण्डमा जु¥यो भ्रमणको साइत । एक सफल, सरिफ एवम् बहुआयामिक एन्जीओकर्मीको हार्दिक आमन्त्रण सुनमा सुगन्धसरि हुने नै भयो । फुलेल हुँदै चार थान यायावर हुइँकियौं रारा हिल्स एयर सस्पेन्सनमा सुर्खेतसम्म । सखारै पुर्यायो बसले बडो आनन्ददायक ढङ्गले सुर्खेत ।
नाम मात्रकै किन नहोस् बसपार्क छ र परिसरमा छन् होटलहरू । तर सेवाग्राहीले सार्वजनिक शौचालयमै शौच गर्नुपर्दो रहेछ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान चरितार्थ गरेका रहेछन् यहाँका होटलहरूले । भारी सकस भयो नित्यकर्म गर्न ।
यो नै पहिले अनुभव हुने रहेछ यहाँ पहिलो पटक आउने परदेशीहरूका लागि । भुँडी फुटुन्जेल पाइयो खान नोटका बिटा बोकेको छ भने परन्तु शौच सम्भावना छैन । कस्तो अचम्म ! र, पनि व्यबस्थित बसपार्क सञ्चालन गर्ने कुरामा झडप, तोडफोड र मारमुङ्ग्री भइरहन्छ रे । ‘भनुँ भने खान खबास, नभनुँ भने कुखुराको नास’जस्तो !

०००
कुनै स्थानबारे हजार पटक सुन्नुभन्दा एकपटक हेर्नु बढी श्रेयष्कर हुने हुनाले पुग्नै थियो दैलेख कम्तीमा एक झमट । दधीचि ऋृषिको तपोभूमि भएकाले उनकै नामबाट दधीलेक भन्दाभन्दै अपभ्रंश भई दैलेख बनेको भन्ने जनविश्वास व्याप्त छ । देवताहरूको वासस्थान भएकाले देवलोक भन्दाभन्दै जनजिब्रोमा दैलेख बनेको भन्नेहरू पनि उल्लेख्य छन् । प्रचुर मात्रामा गोरस(दूध, दही) पाइने हुनाले दहीलेक भन्ने सिलसिलामा लामो समयपछि दैलेख बनेको हो भन्ने मत पनि लर्तरो छैन । तपोभूमीका रूपमा सुप्रसिद्ध दैलेख पञ्चतीर्थ वा पञ्चकोशी(श्रीस्थान, नाभीस्थान, पादुकास्थान,कोपिला र धुलेश्वर) क्षेत्र पनि हो । यसै भन्छ स्कन्द पुराणको हिमवत् खण्ड । इतिहास पल्टायो भने लिच्छवी वंशको पतनपछि सामन्तहरूको उदय भएको थियो । वि. सं. १४१४ मा पृथ्वी मल्ल निर्मित दुल्लुको कीर्तिखम्बको अभिलेख अनुसार खारी प्रदेशमा राज्य गर्ने मल्ल राजाहरूको गृष्मकालीन राजधानी सिँजा र शीतकालीन राजधानी दुल्लु हुन्थ्यो ।
४,१६८ मिटर उचाइमा अवस्थित महाबु लेकको माथमुनि गुल्जार छ दैलेख, रनवनलाई प्यारी प्रेमिका बनाएर । कर्णालीले अछामतिरका अभिजनलाई भौतिक रूपमा अलग्याएको छ भने चुप्रा बजारले चुपचाप लुकाएको छ छामगाड र लोहोरेको चुम्मा र उत्प्रेरित गरेको छ अटुट सहयात्रालाई । भुर्तेलहरूको उद्गमस्थल भुर्तीमा चीर निद्रामा छन् पञ्चदेवल । विश्व सम्पदा सूचीले जाग्रत गर्ने भनी खाएको कसम सरकारी रेलसरि भएको छ । सन्सारी बर्मा निर्मित विलाशपुर भैरव हुन् जयमान सिंह बस्नेतको नारायण मन्दिर भक्तजनहरुको घुइचो भेटेकै छ आजपर्यन्त ।
चियाको चुस्की र हल्का चमेनाको फाँकीपछि माइक्रोका सहचालकले घाँटी सुक्ने सुसेलीले सुस्ताउन दिएन हामीलाई । योजना बन्यो पहिले दैलेखको दृश्यावलोकन अनि मात्र सुर्खेतको सिमसार र सिवालिकको सेरोफेरो । सही दिशामा हराउन पाउने कल्पनाले म निकै पुलकित भएँ ।
कपासका बुट्यानसँग पिरती गाँस्दै, कट्कुवालाई छड्के सलाम गर्दै, छेडाको छेउछाउमा नजर डुलाउँदै, गढीमा गाना सुन्दै, बयलकाँडाको भञ्ज्याङनेर पुगिएछ । नजर प्रकृतिको काखमा लुटुपुटु गरिरहेकै बेला प्वाक्क बोले रामहरि भाइ र भने– ’यही त हो सुर्खेतको पुरानो सदरमुकाम । अहिले निभेको पानसझैं बनेको छ । यो उठेको बस्तीमा एकजोर नजर विचरण गर्दा मनै भरङ्ग बनाउँछ ।’ यो कथनले स्मृतिका पन्नाहरु पल्टिन्छन् मेरो खोपडीका पनि । सम्झन्छु लमजुङको कुन्छा, तनहुँको बन्दीपुर, धादिङको सुनौलाबजार, नुवाकोटको नुवाकोट र रामेछापको रामेछाप बजार । वृद्धावस्थामा उत्पन्न किरिङमिरिङ चाउरीझैँ चाउरिएका छन् यी कुनै बखतका मुकामहरू जहाँ रित्तिएको छ मानव चहलपहल र अवरूद्ध छन्, कथित भौतिक विकासका चमकदमक । फुङ्ग उडेको छ बस्तीको चेहरा क्षयरोगको मधौरुसरि । किञ्चित फरक लागेन मलाई बयलकाँडा । बयल अलप, केवल काँडा ! स्मृति अमुक पाटोमा दौडाउँदा दौडाउँदै पाइला नै ननापीकन सिद्ध पाइला, नाङ्लाको रङ नै नदेखीकन रातानाङ्ला पो छुटिसकेछन् जसरी छुटिरहेका छन् समयका अनेक पदचापहरु ।
गुराँसे पो पुगिसकेछौँ हामी । ग्वाङ्ग्राहरूको नाम बुद्धिमान, दृष्टिविहीनको नजरमान, बज्रस्वाँठको चतुरमान, बहिरोको कर्णकान्त हुने हाम्रो समाजमा त्यो नाम पूरै उल्टो अर्थात् जे छ त्यही । अघिल्लो साँझ फुस्फुसाएका हिमकणले सेताम्मे थिए गुराँसे डाँडा, डाक्टरको गाउनजस्तै । क्षितिजको अदृश्य छायाँ तल्तिर छुनमुनाइरहेका थिए बादलका सेता टुक्रा । ठीक तिनै छरपस्टिएका चोइटामुनि मुसुक्क मुस्काइरहेका थिए हिमशैलका गोरा मुहार । हिमशिखर मात्र गोचर हुन्थे यत्रतत्र । गुराँसका गोलाकार कोपिलाले जम्लाहात गरिरहेको प्रतीत हुन्थ्यो । परिचय गराउँदै थिए रामहरि दूर क्षितिजमुनिका बस्तीहरू, जनजीवन र विकास निर्माणका पहलहरू, सुपरिचित व्यक्ति–व्यक्तित्वका सुकर्महरू, सिङ्गो दैलेखको आवहबा, प्राकृतिक संरक्षणका सार्थक प्रयत्न र गुराँसेको आसपासमा बसाइँ सरेर आएका राउटे समुदायका टाटीका अस्थायी छाप्राहरू । टीभीका पर्दा र डकुमेन्ट्रीमा झल्याकझुलुक देखिने र छापाहरूमा फाट्टफुट्ट छापिने राउटेहरूलाई आफ्नै नजरले पर्गेल्न पाइयो । फेसन त हो तिनीहरूसँगै बसेर तस्बिर खिची भाइरल बनाउने रहर भने गैर–सरकारी संस्थाका भँडुवा नीतिका कारण सम्भव भएन । राउटेका कहर बेचेर सहरमा मालामाल बनेका संस्थाहरूले राउटेहरूलाई कसैले तस्बिर लिन चाहँदा पैसा माग्नू भन्ने फर्मान अनुरूप राउटेहरू प्रस्तुत भएपछि गलत बानीलाई बढावा नदिने नीति अनुसार धोको अधुरो राख्ने आँट गरियो । उदरमा चारा पार्नासाथ तय भयो दैलेख बजार बत्तिइहाल्ने । अपितु सबारी कुर्दाकुर्दै अबेर भए पनि गुडियो आफ्नै गन्तव्यतर्फ । ‘एउटा भूगोलमा मात्र सीमित नगर जीवनलाई । ब्रह्माण्डमा सिक्नका लागि अपरिमेय ज्ञान छ’ भन्ने अज्ञात विद्वानको कथनले हिर्काइरह्यो मगजमा चुप्रा बजार दर्शन नगरेसम्म ।
घरी खोल्सा, गल्छेडा, रनवन, टाकुरा र बस्तीका विवरण पेश गर्नमै व्यस्त थिए रामहरि त घरी अन्य सहयात्रीसँग दिल्लगी गर्न । भ्याइनभ्याइ थियो । तीन जना फरक कुटुम्बलाई सहोदर दाजुभाइ बनाएर आफूलाई माहिलो चित्रित गर्न पनि पछि परेनन् उनी र पत्याउनेले पनि पत्याइदिए । बातैबात र बेलीविस्तारबीच पुगि पो सकिएछ दैलेख बजार । पञ्चदेवलको दर्शनसँगै अँध्यारोले जमाइहाल्यो आफ्नो साम्राज्य । बेलुकीको स्वादिष्ट खसीको मासुसहित भोजन पश्चात् छलफलमा आए पुग्नुपर्ने क्षेत्रहरू । सूचीमा सर्लक्कै समाविष्ट बन्यो एक अविस्मरणीय ठाउँ नौमुले ।
नेपाली जनमुक्ति आन्दोलनलाई थप उचाइ दिने र जनताका दुश्मनलाई धुलो चटाउने भीषण आक्रमण भएको भूगोल हो त्यो । सात जना जनमुक्ति सेनाको सहादत र ३२ जना दुश्मनको क्षति भएको सो भयानक भिडन्त २०५७ को चैत २४ गते भएको थियो । तारबार, सुरूङ, बुबी ट्रयाप आदिले किल्लाबन्दी व्यवस्थित बनाइएको थियो इलाका प्रहरी चौकी किन्तु सयौँ थान हतियार कब्जामा लिए छापामार जनसेनाले । सिद्ध गरे योद्धाहरूले, निस्वार्थ भावनाले बलिदान गर्ने लडाकुहरू तलब लिई लड्ने सुरक्षाफौजमाथि सहजै हावी हुन सक्छन् । दुवै फौजका निम्ति गतिलो पाठ थियो त्यो भीषण भिडन्त ।
००००
हिमपात र बज्रको विष्फोटले दिएन नौमुलेको भुइँ टेक्न । थप बसाइँबाट पनि सुनिश्चित भएन, नौमुलेको सयर । यसरी अधुरो रह्यो एउटा यात्राको अध्याय । अमिलो मुख पार्दै रातारात परिवर्तित गरियो योजना र तय भयो दुल्लुतिरको दौड । सहयात्रीको ध्येयमा एकरूपता आउन नसक्नुको फल पनि थियो त्यो । केहीलाई चर्मचक्षुले सँगाल्न सक्ने दृश्यावलोकन गर्न पाए पुग्ने र अर्काथरीलाई भित्री नजरले नै अध्ययन गर्नुपर्ने । यी विजातीय रूचिले सहजतालाई अलिक असहजतातिर धकेल्यो । र, त्यही असमान अभीष्टले एकाएक हुत्यायो दुल्लुतर्फ ।
तिलक न्यौपाने राजी भए विद्युतीय तीनपाङ्ग्रे लिएर हामीलाई विचरण गराउन । श्रीस्थान र नाभीस्थान पुर्याउने कबुलका साथ ओरालियो तीनपाङ्ग्रे नवनिर्मित हिले चक्लेटको ढाडैढाड । माहिर चालकको परिचय उनको काम र बोलाइ दुबैले दियो ।’ कति हो नि भाडा?’ मेरो प्रश्न भुइँमा नखस्दै भनिहाले– ‘रामहरि सरले जे भन्नुहुन्छ ।’ निकै कूटनीतिक जवाफ लाग्यो मलाई । हरेक स्थानका परिचय, इतिहास र जनविश्वासका कुरा शालीन ढङ्गले प्रस्तुत गरे । मीठो बोलीवचन । सहयोगी भावना । पाहुनालाई देउतासरह मान्ने सरिफ चालक । यात्रुलाई कुनै तकलीफ नहोस् भन्नेमा भारी सचेत । श्रीस्थान र नाभीस्थानमा सिकायत नगर्ने गरी घुमाए ।
घुमघामकै दर्मियान भेटिए मन्दिरमा कार्यरत पुजारी मेघनाथ योगी, नाभीस्थान परिसरभित्रै । निकै फुर्तिला उनले थालि त हाले स्वतस्फूर्त लोकोक्ति भन्न । उनले थपे(’ नाभी खोला र छामगाडको दोभान जहाँ सतीदेवीको शिर पतन भएकोविश्वास गरिन्छ त्यो हो श्रीस्थान, नाभी पतन भएको नाभी खोलाको यही तट नाभीस्थान र पाउ पतन भएको ठाउँ पादुका, प्रजनन अङ्ग पतन भएको स्थान कोटिला र अङ्गको धुलोमुलो खसेको ठाउँ धुलेश्वर । जानेमानेको यही किंवदन्ती स्वस्थानी व्रतकथामा पनि पाइन्छ ।’ उनी भन्दै गए– ‘वनबास गएका बखत एक साँझ पाँच पाण्डव यहाँ आएछन् र देखेछन् बलिरहेको ज्वाला । त्यसलाई अक्षुण्ण राख्नका निम्ति मन्दिर निर्माण गर्ने उनीहरुको प्रबल इच्छा भएछ । उक्त दिन द्वापरयुगको अन्तिम दिन भएकाले रातभरिमा देवल निर्माण सक्नैपर्ने धार्मिक दबाब रहेछ । शिलाको बडो कलात्मक चौकोस कुँद्दाकुँद्दै उज्यालो भई पो हालेछ । यसर्थ त्यो कामलाई त्यत्तिकै थाती राखेर आफ्नो गन्तव्यतर्फ लागेछन् पाण्डवहरू । मन्दिरको तपाईंले हेरिराखेको चौकोस त्यही नै हो भन्ने बलियो जनमत छ अद्यापि यहाँ ।’ संस्कृत भाषा पुनर्जागरण निम्ति अहोरात्र खटेका छन् नव्यव्याकरणका आचार्य खगेन्द्रप्रसाद बजगाईं । ’एक्काइसौँ शताब्दीमा संस्कृतको खास प्रयोजन ? ’जिज्ञासाले मनको अन्तरकुन्तरमा चिसो त पसेन ? भन्ने खुलदुलीबीच निकै शालीन मुस्कानसहित प्रस्तुत भए उनी । भने– ’गत वर्षमात्र जर्मनले ३० जना संस्कृतका विद्वान् माग गरेकोमा आपूर्ति भए १० जना मात्र । के हामीभन्दा उनीहरू बढी नै अगाडि होइनन् र विज्ञान तथा प्रविधिमा ?’ उनको विनयशील प्रतिवाद थियो त्यो संस्कृत भाषालाई हेलाहोचो गर्ने विरूद्ध । लामै कालखण्ड त्यहीँका शिष्यहरूलाई सिकाए आफ्नो ज्ञान । उनले वटुकहरूलाई मन्त्रोच्चारण गर्न लगाएर हाम्रो सफल यात्राको कामना मात्र गरेनन् दैलेखको पौराणिक महत्व, पञ्चकोशी वेद विद्याश्रमका उद्देश्य, शिक्षण सिकाइका बाधा–अप्ठ्यारा र भावी रणनीतिबारे प्रकाश पार्न भ्याए ।
श्रीस्थान र नाभीस्थानका अखण्ड दीप दर्शनपछि यात्रा उकालियो दुल्लुतर्फ । केही सुक्खा बिरौटा त केही मलिला चौडिला । बिछट्टै रमाएका प्रतीत हुन्छन् रनवन । कठोर भौतिक आक्रमण भएको छैन प्रकृतिमा । चाहे चेतनाले काम गरेको होस्, चाहे चौखुर्याइने भयले, हराभरा छन् वन–वाटिका । मनोहर छ थातथलो । बल्झेको भान हुँदैन पुख्र्याैली वेदना । अल्झेका सपनामै सुरेली खेल्दै बाँचेको छ बस्ती । पुष्ट नभए पनि खण्डहर छैन । मुसलमानहरू पनि छन् किन्तु बलियो सहिष्णुता भेटिन्छ वासिन्दाहरूबीच । उकालिने टोली लखतरान छ । अघिपछिको अविराम लुकामारी छ । गफगाफ भन्दा बेसी दृश्यपानमा चिप्लिएको छ समयको सुई । पञ्चदेवल मा. वि. रावतकोटका भुराभुरीको गुच्चा खेलले पुनः बालवयको लक्ष्मी मा. वि. को प्राङ्गणमा पुर्याइदियो अकस्मात आफैँलाई । धुलोको पाउडर घस्दाघस्दै बल्लतल्ल छिचोलिएको उकालोको टाकुरामा ढसमस्स छ धुलेश्वर । बडालम्जी अवस्थित यो प्राचीन देवलको माझमा छ सानो यज्ञकुण्ड । वि. सं. १८८३ मा काजी कहरसिंह बस्नेतले कति कहर खेपेर, कति कसला काटेर निर्माण गरे होला त मन्दिर भनी अड्कल गर्न उतिसारो हम्मे पर्दैन ।
चानचुन तीन कि. मि. दक्षिण जानु छ दुल्लु । बाटो सोध्न र पाटो सोध्न अभ्यस्त भइसकेका छौं हामी । पुर्खाको विरासत बोकेर बाँचिरहेछन् दुल्लुको नयाँ पुस्ता । अन्य भू–भागमाझैँ उल्लेख्य सत्यामा भासिएका छन् सहर वा विदेश यहाँबाट पनि । तर त्यहीँ रहेर आफ्नो पृथक पहिचान बनाउन सफल मान्छेहरू पनि छन् यहाँ । यसरी मनोवाद गर्दैगर्दा झ्वाट्ट स्मृतिचित्रमा आउँछन् नरेन्द्र बोहोरा । द्रोणाचल कलेजमा नानीहरूको भविष्य उजिल्याउँदा उजिल्याउँदै चेहरामा मुजा देखिन थालेका छन् उनका किन्तु जोस र जाँगर भने उही तरुण वयकै छ उनमा । दर्जनौं हेमन्त बिताइसके उनले प्राज्ञिकस्थलको नेतृत्व गरेर यही रमणीय टाकुरामा । रतिभर थाकेको भान हुँदैन उनको ऊर्जाशीलता नियाल्दा । झम्केसाँझको अन्धकारलाई चिर्दै घुम्ती दूरभाष बालेरै नेपाली भाषाको पहिलो अभिलेख मानिएको दामुपालको अभिलेख, सात खम्बा,पटाङ्गिनी दरबारजस्ता दुल्लुका प्राचीनतम सम्पदाबारे परिचय गराउन कम्मर कसे हामी अपरिचितझैँ फिरन्तेहरूलाई । पैदलै पुर्याए पाथर नाउलीसम्म । ’अतिथि देवो भवस्’ व्यवहारमै सिद्ध गरे उनले । शैद्धान्तिक ज्ञान दिएर प्रमाणपत्र बिक्रीको खेती गर्ने आरोप खेपिरहेका महाविद्यालयका यी प्राज्ञिकले आरोपलाई असत्य सावित गर्न दिएको दृष्टान्त आफैँमा अनुकरणीय लाग्यो । सखारै तयार भएर बसको प्रतीक्षा गर्दागर्दै झण्डै आठबज्दासम्म घाइँघुइँ नसुनेपछि अड्कल हुने नै भयो ग्रामीण क्षेत्रका यातायातको सक्कली हविगत । विकल्परहित हामी येनकेन पुग्नु नै थियो सुर्खेत । एउटा मधौरू मिनिबसमा उक्लियौं हामी हाम्रै गन्तव्यको सवारीसाधन हो भन्ने यकिन भएपछि । निमोनियाले धडेझैं घ्यार्रघुर्र गर्दै बढ्यो अघि । तल छङ्गाछुर भीर, माथि अजङ्गको पहरा । रोडाजस्ता कङ्कड भकुन्डि रहेछन् पहराको माथबाट र सोझिन खोज्दैछन् यात्रुको माथतिर । हड्बडाउँछन् चालक यदाकदा । लगाउँछन् बाध्यताका ब्रेक र पुनः बटार्छन् स्पियरिङ साँघुरा मोड र घुम्तीमा । मृत्युको छायाँमा जीवन राखेर निर्निमेष सेवा दिइरहेछन् यिनले । ’यस्तो बाटोमा सवारी सञ्चालन गर्दा अत्यास लाग्दैन गुरू ?’ जिज्ञासा हुत्याउँछु म सन्नाटा भङ्ग गर्न । बाटोबाट नजर नउचाली चालक जवाफ दिन्छन्, ’हामी त हत्केलामा ज्यान राखेर मुसुक्क हाँस्ने हो सर । आज छ, भोलि छैन । कर्णाली किनारको जुम्ला जाने बाटो त हरिबिजोग छ सर यसको त के नै पो कुरा गर्नु र ।’ अचानक फेरि पनि मौन देखिए चालक । पलपल मृत्युले लघारेको कल्पनामा डुबे होलान् सायद उनी । यही निर्क्योल निकालेँ मैले । स्याउलीबजार, मैनीखोला, पात्ताल खोला छिचोल्दै खड्गबाडा पुग्दासम्म पनि नियालिरह्यौं हामीले अबोध शिशुले आदेश तामेल गरेसरि, नेपालकै सर्वा्धिक लामो नदी कर्णाली । त्यति लामो भूस्भाग समेटेर बगेको कर्णालीले अछाम र दैलेखको छाती भिजाएको भए किनारका कन्दरामा भोकमरीले अदना मान्छेहरूको पखेरू चुडाल्दैनथ्यो होला हर साल । खड्गबाडामा पेटपूजापश्चात् पुनः हुइँकियो सवारी सडक भन्नै नालायक बाटोमा । एकातिर उबडखाबड भूगोल वर्षेनी पहिरोको जुठो भने अर्को्तिर त्यही कमजोरीलाई दोहन गरी रातारात मालामाल बन्न खोज्ने राजनीतिक कुसंस्कार । फाली काटी करूवा बनाउने पाखण्डी होडबाजी । दोहोरो चपेटामा चेप्टिएको छ सडकको प्रारब्ध । यस्तै छिद्रमा खेलेर सप्रिरहेको छ नेपालको राजनीतिक बालीनाली । उही अक्करिलो भूगोल, तारेभीर टाउकै माथि बज्रने सन्त्रास । र,पनि गुडिरहेछन् सवारी, हिँडिरहेछन् पैदलयात्री निष्फिक्री । मनभरि स्मृति अटेसमटेस छ आफ्नै बस्तीको । स्मृतिदंशमा लहरिँदै आए लङ्गुर लड्ने भीरमा घाँस दाउरा गरेका दिनहरू । किसेदीमा बाँकटे हानेर अलप भएको पल । सालघारीमा गाइने पालुवा सङ्गीतको झन्कार । थामडाँडोमा लखर लखर उक्लिँदाको क्षण । अनगिन्ती यस्तै भावनाले एकाएक खजमजिए एकाग्रता ।
बड्डीचौर, दमारे हुँदै हामी त आइपुगेछौं गिरीघाट जहाँ नारकीय जीवन बिताइरहेछन् बाढीपीडितहरू । गुजुमुज्ज छन् फरिकाले बारेका छाप्राहरु । धुरीको चेपबाटै देखिन्छन् ताराहरूको पिलपिलाहट । तमाम अन्तरकुन्तरमा निर्बाध प्रवेश पाउँछ उघ्रिएको छानाबाट, मध्यानी सूर्यको किरण । ’मर्न हम्मे, बाँच्न धौ’ को हालतमा छन् बाढिपीडितहरू वर्षौंसम्म । अपितु यिनका अश्रुधारा पुछ्ने फुर्सद सायदै कसैलाई छ ।
००००
आफ्नै गतिमा छ गाडी । बाङ्गेसिमल कटिसकेपछि झण्डै सुरु हुन्छ सुर्खेत बजार । चौडा सडक, विशाल उपत्यका, प्रदेश राजधानी र विविध ऐतिहासिकता । महाराजहरूलाई समेत लोभ्याएको भूमि । बुलबुल ताल, काँक्रेबिहार र देउतीबज्यैको पवित्र धाम । यिनै र यस्तै चिनारी छन् सुर्खेतका । विशाल उपत्यकाको खेतमा यत्रतत्र सिरू पाइने भएकाले सिरूखेत भन्दाभन्दै सुर्खेत नामकरण भएको बलियो मत छ यहाँका वासिन्दासँग । कुल क्षेत्रफल २४५१ वर्ग किलोमिटर रहेको सुर्खेत १९८ मिड्डदेखि २३६७ बीचको उचाइमा अवस्थित छ। क्षेत्रीदेखि राजीहरूसम्मको बसोबास छ यहाँ । कला, संस्कृतिमा समृद्ध जिल्लाको प्रख्याती कमाएको सुर्खेतमा पैसरी, गर्रा र खुँडा नृत्य निकै प्रचलित छ ।
सङ्छिप्त विचरणका दर्मियानमा पहिलो गन्तव्य बन्यो काँक्रेविहार । विहारसम्म पुग्ने साधनबारे सूचनाविहीन थियौँ हामी । विकल्प थियो विद्युतीय तीनपाङ्ग्रे । अनपेक्षित भाडा तिरेर पुगेका थियौँ हामी । विहार परिसरको सूचनापाटीले सुसूचित गर्यो– ‘लाटीकोइलीको अग्लो डाँडाको घना जङ्गलबीच टापुमा १७५.५ वर्ग कि. मि. क्षेत्रफलमा विस्तारित यो संरचना अशोक चल्लले सन् १२६८ मा निर्माण गरेका थिए ।’ किंवदन्तीलाई आधार मान्दा पाण्डवहरूलाई जिउँदै जलाउने ध्येयले लाहाको दरबार बनाइयो । किन्तु जालझेलबारे पोल खुलेकाले पाण्डवहरू चम्पत कसे । त्यसै क्रममा दरबार पनि भत्काए । विहार पहिले कुकुच्छन्द बुद्धलाई आधार मानी बनाइएको र पछि शब्दको अपभ्रंश भई काँक्रेविहार भएको रहेछ । ढुङ्गामा कुँदिएका बुट्टाहरू अध्ययन गर्दा पनि गौतम बुद्धका पालामा उनका अनुयायीहरुले बौद्ध धर्म प्रचारप्रसारको सिलसिलामा बनाइएको हुनुपर्छ भन्ने कुरा त्यहाँको वास्तुकलालाई लिएर पनि लख काट्न कठिन छैन ।
यसो सामान्य संलाप एक दुई थान विभिन्न पोजका तस्बिर लिएर सुइँकुच्चा ठोकियो त्यहाँबाट, जसरी दौडिरहेथ्यो समयको अविरल सुई । आफ्नै लागि समय थिएन हामीसँग । तीनपाङ्ग्रेकै तजबिजमा फर्किनुपर्यो लोकप्रिय बुलबुल ताल । जमिनमुनिबाट बुलबुल बुलबुल गरी पानी निस्कने भएकाले बुलबुल ताल नामकरण गरिएकोमा पूर्ण मतैक्य छ पनि । समुद्री सतहबाट केवल ६५७ मि‍‍ उचाइको ३१.५ बिघा क्षेत्रफलमा गमक्क परेर बसेको छ– बुलबुल ताल । पूर्वतर्फ पाँचवटा कलात्मक धारा महिलाको निम्ति र दक्षिणतर्फका पाँच धारा पुरूषका निम्ति भनेर छुट्याइएको छ । तालको वरपरको रमणीय पार्कले लहस्याउँछ हामीलाई । मन बहलाउनेको र पिरती गाँस्नेहरू पनि मनग्य थिए । तालमा नजर बिछ्याउँदै कमला श्रेष्ठको कालजयी गीत गुन्गुनाउन पुग्छु म–
‘सुर्खेत बुलबुल ताल,
माया मै सानी हुनाले छुट्यो मायाजाल.......’
आ–आफ्नै तालमा थिए मान्छेहरू बुलबुल तालमा । कोही स्नान गर्दै र कोही लत्ताकपडा धुँदै । अपराह्नका पर्यटकहरु र स्थानीयवासीसँगै केही क्षण टहलियौँ हामी ।
त्यसो त वराह, जाजुरा र सिम्राखानी दह पनि छन् सुर्खेतमै भन्ने जान्दाजान्दै पुग्नका निम्ति तगारो बनिदियो समय ।
००००
हामीले ताकेको तेस्रो गन्तव्य थियो देउतीबज्यै । सर्वाधिक चर्चित भगवती । प्रख्यात शक्तिपीठ । सयौँ तीर्थयात्रीको गन्तव्य हुन् यहाँकी देउतीबज्यै ।
कम रोचक छैन देउतीबज्यै मन्दिरबारे किस्सा । लोकोक्ति अनुसार राजी जातका एक व्यक्ति भेरी (गङ्गा)मा जाल खेलिरहेका थिए, माछा मार्ने ध्येयले । बनीबुतोका निम्ति यो उनको नियमित कर्म थियो । त्यसै बखत अचानक एक ब्राह्मण कन्या जालमा परिन् । राजीले ती कल्कलाउँदी कन्याको लालनपालन गरी विवाहयोग्य बनाए । जसै बिहेको परिचर्चा चल्यो उनले सीधै इन्कार गरिन् आक्रोशित उनी उति नै बेला अग्निमा प्रवेश गरी भस्म भएर देह त्याग गरिन् । उनै कन्या एक रात सोही राजीको सपनीमा आएर आफूले देवीको रूप धारण गरेको सन्देश दिइन् । यसर्थ उनकै स्मृतिमा गङ्गामाला देउतीबज्यै मन्दिर स्थापना गरिएको हो भन्ने जनश्रुति जब्बर छ यहाँ । अन्य थुप्रै धार्मिक–सांस्कृतिक अभिमतहरू पनि गाँसिएका छन् मन्दिरबारे । मन्दिरमा भेटिने पुजारीमात्र होइन परिसरमा रहेका अन्य सीमित साधकलाई पनि मुखाग्र छ कतिपय धार्मिक कथन र मान्यता ।
कुरा आयो समयकै । बस छुटिहाले हतारको यात्रा र फुर्सदको पछुतो भनेझैँ हुन्छ । दर्शनमात्र गरियो देउतीबज्यैको
दर्जनौँ रमणीय स्थलहरूमा स्वदेशीसँगै विदेशी पर्यटक पनि आएका भए विदेशी मुद्रा आर्जनको कति सुन्दर स्रोत बन्दो हो भन्ने हुटहुटीले समेत सताई नै रह्यो हर स्थानमा, बाटो भरिभरि ।
परिभ्रमणको उत्कट चाह पूरा नै नगरी आकस्मिक कामले फर्किनुपर्यो राजधानी भारी मनका साथ । कल्पनाले मात्र कर्कलो नगल्ने मार्मिक कथनलाई आत्मसात गर्दै अपराह्न चारबजे हुइँकियौं बसपार्कतर्फ ।
हुन त पखेटा थिए र त फटफटाएर पुगियो सुर्खेत । अन्यथा ’मनको कुरा मनमै रह्यो......’ भन्ने गाना जस्तै बन्थ्यो होला हाम्रो स्थिति । नयाँ कुरा सिक्न, अनुभव बटुल्न यात्रा गर्नैपर्दो रहेछ । भूगोलको अवलोकन गरियोे, सँस्कृति पढियो, रहनसहन देखियो, ठाउँठाउँका आतिथ्य महसुस गरियो ।
मित्रतामा नापियो समग्र यात्रा यद्यपि दूरी भने लामै पार गरेका थियौँ हामीले । ‘दूर यात्रा गर्दा तिमीले आफूलाई भेट्नेछौ’ भन्ने एक चतुर्दिक व्यक्तित्वको निहितार्थ पनि मनन भयो धेरथोर । विरलाकोटि अवसर नै थियो यो पुरातन नगरको वर्तमान नियाल्ने । सोदेश्य परिभ्रमण अपरिहार्य कर्म हो भन्ने तथ्य पनि पुष्टि भएको अनुभूत भयो सतही ज्ञान र अपुष्ट तथ्यले दिग्भ्रमित भएको हाम्रो पुस्ताका निम्ति । पल पलमा कहिल्यै नगरेको अनुभूति हाँसिल भए धर्तीका पत्र पत्र खोतल्दा र केस्रा केस्रा कोट्याउँदा ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु