शैलीका छेत्रीको ‘एक हरफ बाटो’- विचारोत्तेजक सिर्जना

- नवीन पौड्याल

१. विषय प्रवेश-
साहित्यमा निबन्ध एउटा लोकप्रय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन्। यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन्। पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिथ्यो भने अहिले यी दुई शब्दहरूको अलगअलग अर्थ, ढाँचा र स्वरूप मानिन्छ। निबन्धका विभिन्न प्रकार, भेदोपभेद बारेमा विभिन्न विद्वानका परिभाषा मत-मतान्तर पाइन्छन। लेखकहरूका निम्ति आफ्नो ज्ञान, अनुभव, विचार, अनुभूति, संवेदनालाई पाठकसित सोझै बाँड्ने, अभिव्यक्त गर्ने कला हो। यो कुनै पनि विषयमा लेखिन्छ। यसका विषय अनन्त छन्। जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म नै यसका विषयवस्तु हुनसक्छन्। सामान्य भौतिक वस्तुको वर्णनदेखि लिएर कल्पना गरेकोसम्म सबै खाले मूर्त अमूर्त सबै कुरा यसभित्र अँटाउन सकिन्छ। निबन्धमा सुनियोजित तरिकाले एउट मुख्य विषयको विस्तार र विश्लेषण गर्न सकिन्छ अथवा मिश्रित कुरा जे पनि हाल्न सकिन्छ।
निबन्धमा लेखक र पाठकको सोझो सम्बन्ध हुन्छ। निबन्धकारले आफुले प्रतिपादन गर्न चाहेको विषय र आशयलाई सोझै आफ्नै तरिकामा प्रकट गर्दछ। यो औपचारिकभन्दा अनौपचारिक बढी हुनसक्छ। निबन्धकारको मनमा एउटा अज्ञात स्रोता र पाठक हुन्छ र उसलाई गफ गरेको ढाँचाले सुनाउँछ। लेखक प्रस्ता भए अज्ञात स्रोता भावक हुन्छ। कुनै लेखकले छोटोमा र कुनैले विस्तारपूर्वक सुनाउँछ। अज्ञात स्रोताले कुनै तर्क नगरी हो मा हो मिलाएको भान गर्छ। उसलाई तर्क दिएर, उदाहरण आदि दिएर विभिन्न तरिकाले बुझाउने प्रयत्न गर्छ। कुनै विषयलाई टुङ्गोमा पुर्‍याएको हुन्छ। लेखक पाठकसित लहसिन्छ, आत्मीय भएर विचार व्यक्त गर्छ।
वास्तवमा निबन्ध लेख्नु सजिलो छैन। संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ। निबन्ध लेखन भनेको बेकाबु घोडाको दौड होइन बरू लगामले बाँधेको घोडाको हिँडाइ हो। विषयलाई छरपस्ट हुन नदिई नियञ्त्रित राखेर आफ्नो भन्नुपर्ने कुरा लेख्नु पर्छ। पाठकलाई ज्ञान र मनोरञ्जन दुवैले लाभान्वित बनाउनु पर्छ। भावनासँगसँगै शब्द चयन, बुनोट र बनोट सबै मिलेको हुनुपर्छ भन्ने विद्वानहरूको भनाइ छ। आफ्ना विषय, विचार वा आशयलाई पाठकका निम्ति पत्यारिलो पार्न तर्क दिन्छ, विवरण दिन्छ। निबन्धभित्र आख्यान तत्व पनि समावेश गर्न सक्छ। त्यो आख्यान काल्पनिक पनि हुनसक्छ वा लेखकको आफ्नै पनि हुन सक्छ। निबन्ध छरपस्टिएको चिन्तन मात्र नभएर ज्ञान, अनुभव, संवेग आवेग आदिका सन्तुलित र व्यवस्थित लेखन पनि हो।
२. सन्दर्भ शैलीका छेत्रीको एक हरफ बाटोः
वर्ष २०१९ मा शैलीका छेत्रीको एक हरफ बाटो निबन्धसङ्ग्रह प्रकाशित भयो। यो संस्मरणात्मक, विचारात्मक, आलोचनात्मक, विवेचनात्मक आदिको मिश्रित निबन्धसङ्ग्रह हो। यसमा लेखकीय अनुभव, विचार, संस्मरण, ज्ञान आदि रहेका छन्। यसभित्र लेखकका चिन्तक, समालोचक, अध्येता व्याख्याता व्यक्तित्व परिलक्षित हुन्छ। यसमा चिन्तनभुइँमा सातवटा निबन्ध, सम्बन्धको डोरी स्तम्भमा पाँचवटा र हरफको बाटो भन्ने स्तम्भमा चारवटा समालोचना गरी जम्मा सोह्रवटा लेखहरू समावेश छन्। यद्यपि यी सबैलाई निबन्धकै कित्तामा राख्न सकिन्छ। यसमा समालोचना र सिर्जना पनि पाइन्छ। यसकारण यो सिर्जनात्मक समालोचना कृति हो भन्न अत्युक्ति नहोला। यसमा संस्मरण छ, श्रद्धाञ्जलि छ, तर्क छ, वैचारिक मन्थन छ, विश्लेषण छ, अनुभव र अनुभूति छन्, जीवन छ, दर्शन छ। यसभित्र रहेका लेखहरूलाई निबन्धपरक, समालोचनापरक, आख्यानपरकका रूपमा अध्ययन पनि गर्न सकिन्छ। यसभित्र रहेका प्रायः सबै लेखहरू वैचारिकतामा आधारित छन्।
३. चिन्तकका रूपमा शैलीका-
प्रस्तुत कृतिलाई एक हरफ बाटो चिन्तनप्रधान कृति मान्न सकिन्छ। यसमा चिन्तनका अनेक पक्ष छन्। यसमा समाज, प्रेम, नारी आदिबारे स्वतञ्त्र, स्वच्छन्द, तटस्थ र विचारोत्तेजक चिन्तन, धारणा, अनुभव, अनुभूति अभिव्यक्त छ। दार्जिलिङ र आइडेन्टिटी लेखमा दार्जिलिङको बारेमा दुईवटा कुरा राखेकी छन्- एक दार्जिलिङका गोर्खालीहरूको अस्तित्वकेन्द्र र यसमाथि राजनैतिक कुठाराघातको लामो द्वन्द्व र दुई दार्जिलिङमा पर्यटन केन्द्र अझै विकसित गर्ने सरकारको जोड। यी दुई कुराबिच अन्योन्याश्रित सम्बन्ध छ। सय वर्षभन्दा अघिदेखि दार्जिलिङवासीको अलग राज्य व्यवस्थाको सङ्घर्षको इतिहास छ। यसको अवस्थानका बारेमा घरि कसले के माग घरि के मागका बिचबाट अलग इकाइको माग सर्वेपरी रह्यो। तर यसलाई रोक्न विभिन्न तगारा आए। सरकारले दार्जिलिङलाई पर्यटन केन्द्रको रूपमा घरिघरि बढोत्तरी गरिरेको पाइन्छ। सरकारी बङ्गलो, कम्पनीहरूको होलिडे होम, होमस्टे, टुरिस्ट लज आदिको अभिवृद्धि पनि पहाड-कन्दराको आवाज छोप्ने तरिकाका रूपमा शैलीकाले लिएकी छन्। विकाससित दाजिलिङको जातीय आस्थाको विनासलाई उनले इँगित गरेकी छन्।
स्त्री र प्रश्न लेखमा पनि नारीमाथि सामाजिक धारणा र रूढिवादमाथि विमर्श गरेकी छन्।समय सँगै जमाना बदलियो, सोंच बदलियो, जीवन शैली बद्लियो तर नारीमाथि हर्ने मूलभूत सोंच बदलिएको छैन। नारीका अझै समस्याहरूसित समाज अवगत र संवेदनशील छैन भन्ने आशय व्यक्त गरेकी छन्। नारीको शारीरिक अवस्था पुरूषभन्दा भिन्न हुन्छ, जुन कुरामा पुरूषको परम्परागत धारणा राखेको हुन्छ, नारीको मूलभूत स्वस्थ्य शिक्षामाथि समाज सचेत छैन भन्ने कुरा तार्किक विमर्श प्रस्तुत गरेकी छन्। नारी शोषणका नयाँ नयाँ उपाय र माध्यमले काम गरेका छन् भन्ने ठहर छ। भारतमा देवदासी, नगरबधु प्रथाकासाथै जापानका नारीहरूको गेयशा प्रथाबारे चर्चा उठान गरेकी छन्। त्यो गेयशा प्रथामा पनि किशोरी युवतीहरूलाई गोयशा बनाउने तालिम दिने अठारवर्षमा नृत्यको आयोजना गरेर त्यस्ता नाकीहरूलाई पुरूषको वासना र स्वाऱ्तको पुतली बनाउने परम्परालाई जोड दिने गरेको उल्लेख गरेकी छन्।
४. छोरीको रूपमा शैलीका –
नेपाली साहित्यका सुप्रसिद्ध लेखक शरद् छेत्रीकी सुपुत्रीकी रूपमा रहेकी शैलीका छेत्रीभित्र लेखक स्व अभिसिञ्चित छ। यो उनको जन्मजात हो। बाबुले उनलाई लेख्नुलाउँदा लेख्न सकिदनँ भन्ने ठानेकी उनले बाबुपछि उनको लेखक जाग्रत भयो। भित्रको मान्छेले लेख्न लगायो। उनको विज्ञानको पढाइले पेशा दिलायो तर उनको ज्ञानको भोक साहित्य र दर्शनले मात्र मेटाइरहेको छ। बाबुले आफ्नो कर्तव्य निभाए, छोरीलाई बाटो देखाए। छोरीले पनि साँच्चै बाबुको बिँडो थामिन्। बाबुको विचार, दर्शन, दिनचर्या, व्यक्तित्व, मनोदशा, कर्तव्यसित नजिकैबाट देख्दै बुझ्दै आएकी शैलीकामा बाबुको लेखकीय छायाँ छ। लेखेर उनले बाबुलाई साँचो श्रद्धाञ्जलि चडाइन्, आज्ञा पालन गरिन्, मार्ग अवलम्बन गरिन्। बाबुको लेखेका कृति पढिन्, तिनको निहीत गहिरा अर्थ केलाउने कोसिस गरिन्। बाबुको रूचिलाई पहिल्याइन्। बाबुको बौद्ध दर्शनमाथिको चिन्तनलाई अघि बढाइन्। बाबुले मर्ने बेलामा यी छोरीलाई खोजे जो आफैं अस्वस्थ्य थिइन्।
५. प्रेमिकाका रूपमा शैलीका-
बङ्गाली समुदायकी आफ्नी घनिष्ठ साथी साक्षीसित नजिक रहँदा उनको घर जाँदा देबेन्द्रलाई परेको प्रभावले उनको जीवनमा अमेट छाप पारिदियो। साक्षीको दाजु देबेन्द्रले घोर मन परायो, प्रेम पाउन छट्पटायो, चिटी पठायो, खबर पठायो। बहिनीकी साथीलाई पाउने आशाले उसले क्यान्सरसित पनि लडिरह्यो। देबेन्द्रलाई अन्तमा क्यान्सरले जित्यो, उसको एकोहोरो प्रेमको हार भयो। ‘मन परेको मान्छेलाई पाउनै पर्छ भन्ने केही छैन’ भन्ने गीतसरह उसले अनन्त सकारात्मक उत्तर पर्खिरह्यो, पर्खिरह्यो।
६. समालोचकका रूपमा शैलीका -
यस पुस्तकमा शैलीकालाई एक प्रखर समालोचकका रूपमा पनि पाइन्छ। उनले मनोज बोगटीको लाइफ इज बट्टरफाइ, राजा पुनियानीको अर्को लस्कर, जय क्याक्टसको अक्षरयात्राको समीचीन समीक्षा गरेकी छन्। उनको समालोचकीय आधार दर्शन र पठन प्रभाव हो। कृतिभित्र सिर्जनाको तह हेरेकी छन्, अर्थको विस्तार र रूपको ढाँचामा हेरेकी छन्। उनले कृतिको समालोचना गर्दा यसभित्र रहेका बाह्य सन्दर्भ, पाठको अर्थशक्तिका परिधि, भावको व्यापता आदिलाई संकेतन गरेको पाइन्छ। प्रत्येक कृति र तिनको सन्दर्भ केलाउँदा शैलीकाले जीवन र जगत्‌को दार्शनिक धरातल हेरेकी छन्। मनोज बोगटीको कथासङ्ग्रह ‘लाइफ अ बट्टरफ्लाइ’ सांसारिक र मानसिक जीवनलाई एउटा विन्दुमा जोडेर कलाको नयाँ फाटक खोलेको यो शैलीविज्ञान रचनाशास्त्र र विषयवस्तुलाई मार्क्सको रतिबिम्बन सिद्धात गाँसेको तथ्यखुट्याएकी छन्। राजा पुनियानीको हस्तक्षेप कवितासङ्ग्रहमाथि पनि चिन्तनगत समीक्षण गरेकी छन्।
७. अध्येताका रूपमा शैलीका-
सबैभन्दा बढी शैलीका एकजना सच्चा अध्येता हुन्। उनले दर्शनका पोथा पढेकी छन्। गौतम बुद्धको बौद्ध दर्शन छिचोलेकी छन्, संगीतका राग-धुन बुझेकी छन्, स्वामी विवेकानन्द, जे. कृष्णमूर्ति पढेकी छन्। जीवन र जगत् बुझेकी छन्। जीवनका विभिन्न पाटा बुझेकी छन्, नारी बुझेकी छन्, जीवन र मृत्यु दुवै बुझेकी छन्। घर र सन्तान बुझेकी छन्, हाँसो र रोदन बुझेकी छन्। उनका बुझाइहरू विभिन्न छन्। नारीका मर्म र व्यथा बुझेकी छन्। रजस्वलाको वैज्ञानिक व्याख्या गरी त्यो हुँदाको नारीको अवस्थाको व्याख्याता गरेकी छन्।
८. शैलीकाको लेखनगत विशेषता-
इमानदिरता, स्पष्टवादिता, तार्किकता पाइन्छन्। उनी पाठकसित एकप्रकारले आत्मलाप गरेकी छन्। एउटा अदृष्य पाठकलाई आफ्नो सामु राखेर उसित मनका कुरा खोल्छिन्। उसलाई कतै आफ्नो संस्मर सुनाउँछिन्, घरि अनुभव, घरि पीडाका भाव, घरि खुशी, तर्क राखेकी छन्। त्यो अदृश्य पाठकले उनको कुरामा हाँ मा हाँ गरिदिन्छ, ना मा ना भनिदिन्छ। यसमा विषयगत स्वतञ्त्रता, चिन्तनगत मौलिकता र प्रस्तुतिगत नवीन पाइन्छ। उनी निबन्धमा रमेकी छन्, लेखनभित्र भावनाको डुबाइ, विज्ञान सचेत विचार र लेखकस्वको हुट्हुटीले लेखी हुन्।
यद्यपि यसमा रहेको भाषा भने बढी अँग्रेजीयुक्त छ। आजकल नेपाली कविता, कथा निबन्ध आदि लेख्दा अँग्रेजी शब्दको बढी प्रयोग भएको पाउँछौं। नेपालीमा नै शब्द हुँदाहुँदै बढी बोलचालमा रहेको बढी अँग्रेजी शब्द प्रयोग भएको पाउँछौ। यो शैलीकाको मात्र होइन अहिलेका नयाँ पुस्ताका सबैको पाइन्छ। नेपालीमा लेख्दा अँग्रेजी शब्द र वाक्याङ्श नै अँग्रेजी हुनुका मनोवैज्ञानकि केही कारण हुन सक्छन्। म नेपाली जान्दिनँ भन्ने हीनताभाव ? नेपाली शब्द अधुरा अपुरा छऩ् भन्ने तुच्छताभाव? म नेपाली मात्र होइन अँग्रेजी पनि जान्दछु भन्ने प्रदर्शन भाव? लेख्न खोजेका केही अपठ्यारा अश्लील कुरालाई अँग्रेजीमा व्यक्त गर्न सुविधाभाव? अहिलेका युगसित हेलिन मिल्दो तकनीकी कुराहरूलाई समेट्न नेपाली भाषा सक्षम छैन भन्ने अति सचेतताभाव?
यस एक हरफ बाटो निबन्धसङ्ग्रहमा प्रयोग अँग्रेजी शब्दको सूची बनाए त्यही किताबको एक चौथाइ आयामको बन्छ। यति बढी अँग्रेजी देख्दा नेपाली शब्दमा भन्न चाहेको अर्थसामर्थ्य छैन भन्ने भावना वा नेपाली शब्दको अभाव छ भन्ने आम मानसिकताको प्रतिबिम्बन हो कि भन्ने लाग्छ। यद्यपि नेपाली भाषा त्यति कमजोर छैन, सम्प्रेषण अभिव्यक्तिलाई नेपाली भाषाले रोक्दैन। हाम्रो भाषा धनी छ। नेपालीमा लेख्दा यति सारो बेसी अँग्रेजीमा लेखिरहनु पर्छ भन्ने लाग्दैन। निबन्धको एक ठाउँमा उनैले बाबाले शब्दकोशको कोसेली दिँदा म नेपाली जान्दिऩँ भनिन्। बाबाले छोरीको नेपालीप्रति अनुरक्तिलाई मेटाएर चासो राखिदिने मौन आग्रह देखिन्छ।
९. शैलीकाको लेखकीय मूल्याङ्कन र उपसंहार-
नेपाली साहित्यमा एउटै छुट्टै परिचय स्वरूप ढाँचा शैलीमा देखा परेकी शैलीका छेत्री एक आशालाग्दी लेखक हुन्। २०१९ मा प्रकाशित एक हरफ बाटो एउटा विशिष्ट किसिमको निबन्धात्मक कृति हो। यसभित्र लेखकका चिन्तक, समालोचक, अध्येता व्याख्याता व्यक्तित्व परिलक्षित हुन्छ। यसमा चिन्तनभुइँमा सातवटा निबन्ध, सम्बन्धको डोरी स्तम्भमा पाँचवटा र हरफको बाटो भन्ने स्तम्भमा चारवटा समालोचना गरी जम्मा सोह्रवटा लेखहरू समावेश छन्। यद्यपि यी सबैलाई निबन्धकै कित्तामा राख्न सकिन्छ। यहाँ उनको स्वतञ्त्र र मौलिक विचार विनियम गरिएको छ। सबैमा आफ्नो मौलिक चिन्तन अध्ययन प्रस्तुत गरिएको छ। यसमा आम पाठकका निम्ति चिन्तनको ढोका खोलिएको छ। शाश्वत सत्यकोखोजीगरिएको छ. हेर्ने बुझ्ने दृष्टिकोण प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु