कथा भित्रको कथा—नेपाली डायस्पोरा साहित्यको न्युजिलेन्ड दर्पण

- ज्ञान बहादुर क्षेत्री

साहित्यकार गोपाल पौडेलको पहिलो कथा संग्रह कथा भित्रको कथा 21 दिसम्बर 2019 का दिन निउजिलेन्डमा आयोजित आन्तराष्ट्रिय सिर्जनात्मक महासम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीका बाहुलीबाट लोकार्पित भएको थियो । त्यस ऐतिहासिक सभामा यी पंक्तिहरुको लेखक पनि सरिक भएको अनि त्यसै दिन लेखक गोपाल पौडेलबाट सो ग्रन्थ उपहारमा पाएको थिएँ।
यस ग्रन्थका बारेमा केही दिन अघिमात्र डा. गोविन्दराज भट्टाराईबाट सुनेको हुनाले कहिले पढ्न पाइएला भनेर मनमा खटपटी भएको थियो। त्यस ग्रन्थमा डा. भट्टराईको भूमिका छ भन्ने थाह पाए पछि उखरमाउलो किन पो नहोस। पुस्तक प्राप्त भएकै राति र भोलिपल्ट बिहानसम्ममा किताप पढेर सकेँ। 103 पृष्ठको सानो पुस्तक, पढिसक्न धेरै समय लागेन।
संस्मरणात्मक शैलीमा लेखिएको यस पुस्तकमा जम्मा बीसवटा निबन्ध समेटिएका छन। सबै निबन्ध छुट्टा छुट्टै भए पनि तिनलाई एउटै लुङमा उनेर समग्रमा सिङ्गो ऐतिहासिक कथारुप बनेको छ। यो मूलत य़ात्रा संस्मरण हो तर पढदा फिक्सन अथवा कुनै रहस्य उपन्यास पढे जस्तै लाग्छ। यसमा समेटिएका निबन्धहरु हुन---
कथा भित्रको कथा
पहिलो दिन निउजिलेन्ड नियाल्दा
म्याङ्ग्री क्याम्पको बसाइ
पहिलो पटक अकल्यान्ड बजार
विभिन्न देशका शरणार्थीसँग भेट्दा
बर्माका शरणार्थी
सिरियन शरणार्थी
म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणहरु
म्याङ्ग्री क्याम्पदेखि पामिस्टन नर्थसम्म
हाउगुजी
निउजिलेन्ड रेडक्रसको योगदान
नयाँ विद्यालय र विद्यार्थी जीवन
काम र आय
परिवारसँग छुट्नुको पीडा
निउजिलेन्डमा पारिवारिक अवस्था
सपनाप्रति छोटो सम्झना
चाड पर्व र स्वतन्त्रता
निउजिलेन्डको सुन्दरताले खिंचेको मन
निउजिलेन्ड प्रति सधैं ऋणी रहिरहनेछौं
नेपाल र नेपालीप्रति नमन
चार्ल्स डिकेन्सको अ टेल अफ टु सिटिज उपन्यास सन्दर्भमा फ्रेञ्च रिभोल्युसनको इतिहास नबुझी अ टेल अफ टु सिटिज बुझिँदैन अनि अ टेल अफ टु सिटिज नपढी फ्रेञ्च रिभोल्युसनको इतिहास बुझिँदैन भनिन्छ। गोपाल पौडेलको कथा भित्रको कथाका बारेमा त्यसरी (कथा भित्रको कथाका नपढी भुटानको एक्जोडस बुझिँदैन अनि भुटानको एक्जोडस नबुझी कथा भित्रको कथाका बुझिँदैन) भन्न नमिले पनि यस संस्मरणले भुटानी स्वैराचारी राजतन्त्रको र पुर्खाको देशले के कस्तो गरेको थियो त्यसको जिउँदो इतिहास भने यस ग्रन्थले बोकेको छ भन्नुमा धक मान्दिन।
पहिलो निबन्धमा निउजिलेन्ड ल्याइँदाको पहिलो पटक हवाइ जहाजमा भ्रमण गरेको अनुभव वर्णन गरिएको छ। कुवालालामपुरबाट उडेको जहाज निउजिलेन्डको अकल्यान्ड भन्ने ठाउँमा उत्रियो। त्यहाँबाट उनीहरुलाई म्याङ्ग्री क्याम्पमा लगियो। दोस्रो र तेस्रो निबन्धमा म्याङ्ग्री क्याम्पको बसाई, शैक्षिक तथा निउजिलेन्डमा नागरिक जीवन बिताउनु पर्दा प्रयोजनीय कुराहरुको तालिम दिइयो। चौथो लेखमा पहिलो पटक क्याम्पबाट बाहिर अकल्यान्झ बजार घुम्न निस्केको कुरा छ। बालकृष्ण घिमिरे नाम गरेका दुइ वर्ष पहिले निउजिलेन्ड आएका थिए। उनैले बजार घुमाइदिएको वर्णन यस निबन्धमा पाइन्छ। चार-पाच लेनयुक्त बाटोमा एकोहोरो गाडी गुडेको देख्ता रिङटा लाग्छ, यति धेरै गाडी तर कतै हर्न बजेको सुनिएन।
यस पछिका तीनवटा लेखहरुको शीर्षक विभिन्न देशका शरणार्थीसँग भेट्दा , बर्माका शरणार्थी र सिरियन शरणार्थी रहेको छ। म्याङ्ग्री क्याम्पमा भुटानका नेपालीभाषी शरणार्थीका साथ आफगानिस्तानी, बर्मेली रोहिङ्ग्या र सिरियाइपरु पनि एउटै क्याम्पमा थियो। सुत्ने बस्ने कोठा बेग्लै भए पनि लुगा धुने मसीन र मनोरञ्जनका लागि टीभी एउटै थियो। भाषा नबुझ्दा प्राय अप्ठ्यारो परेको अनि किउमा उभिएर खाना थापेको कुराको सरस वर्णन भएका यी निबन्ध सुपाठ्य छन।
म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणहरु – यस निबन्धमा म्याङ्ग्री क्याम्पमा विभिन्न देशका शरणार्थीहरुसँग मिलेर बसेको अनुभव बताएका छन। बेग्लाबेग्लै देशका नागरिक भए पनि उनीहरुको समस्या एउटै थियो । जन्मभुमिले लखेटेका राष्ट्रहीन नागरिकहरु आपसमा स्वदेशी ठान्दथे र आत्मीय जस्तै भएका थिए। म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणमा गोपालले यसरी लेखेका छन--- म्याङ्ग्री क्याम्प छोडनु भन्दा अघिल्लो दिन आ-आफ्नो भाषामा गीत गाउनुपर्ने थियो। हामीले चलेछ बतास सुस्तरी, मनै सरर भन्ने शम्भु राईको पुरानो गीत गाएका थियौँ। कोही नाचेका पनि थियौँ। हाम्रो भाषा उनीहरुले नबुझे पनि हाम्रो गीत मन परेर धेरैजना हामीसँगै नाचेका थिए। कति जना हाम्रो ढाका टोपी, दौरा सुरुवाल , गुन्यू चोली र साडी मन पर्यो भन्दै तँछाड मँछाड गर्दै हामीसँग फोटो खिच्न आएका थिए। हामी पनि उनीहरुको गीतमा रमाएका थियौं। उनीहरुको पहिरन पनि हाम्रो लागि नौलो थियो। त्यही भएर हामीले पनि उनीहरुसँग फोटो खिँचेका थियौं।
म्याङ्ग्री क्याम्पदेखि पामिस्टन नर्थसम्म शीर्षकमा लेखकले अकल्यान्डको क्याम्पदेखि पामिस्टनसम्मको बस यात्राको वर्णन गरेका छन। यो लेख तुलनामूलक रुपमा केही लामो छ, रोचक शैलीमा चित्ताकर्षक छ। हेमिल्टनमा झर्ने शरणार्थीहरुका लागि तयार गरिएको खाना खाइदिनाले गल्ती गर्ने कर्मचारीलाई उसका सहकर्मीले झपारेको कुरालाई लेखकले रोचक हँस्यौलीका रुपमा पेश गरेका छन। दुखका माझमा पनि हाँस्न हँसाउन सक्ने गोपालले मान्छेको जीवन भोगाई र संग्रामलाई सकारात्मक रुपमा लिएका छन। हाउगुजी भन्ने निबन्धमा निउजिलेन्डका रैथाने कहलाएका माउरी जनगोष्ठीको बारेमा रहेको भ्रमलाई दूर गरेका छन। रैथाने माउरीहरु हिंस्रक हुन्छन, अर्कै देशबाट आउने, विशेष गरी शरणार्थीलाई हेप्छन, कुटपीट गर्छन भन्ने अफवाह फैलिएको हुनाले उनीहरु कतिदिनसम्म दैलो थुनेर घरभित्रै बसेछन। ठुलाहरु साना केटाकेटीहरुलाई तर्साउन हाउगुजी भन्ने काल्पनिक जीवको कुरा गर्दथे। पछि विस्तारै माउरीहरुसंग हिमचिम बढदै जाँदा यो अफवाह रहेछ भन्ने बुझे। उनीहरुका धेरै कुरा हामीसँग मिल्दा रहेछन। गोपालले लेखेका छन------ माउरी र हाम्रो धेरै कुरा मिल्दो रहेछ। ठूलालाई प्राथमिकता, मान्यता दिने। घरमा, मन्दिरमा जाँदा चप्पल-जुत्ता बाहिर राख्ने। सबै परिवार मिलेर भरसक एकैठाउँमा बस्ने। परेको बेला सबै भेला हुने। मरेपछि मृत शरीरलाई रीतिरिवाज सहित अन्त्येष्टि गर्ने। घाम, पानी, माटो, वायु. आकाश आदिमा विश्वास राख्ने। आफ्नो पुर्खाहरुको सम्झनामा भेला हुने, केही बनाउने आदि। कहीँकहीं त हाम्रो धामी-झाँक्रीहरुले जस्तो बिरामीको उपचार गर्ने चलन पनि रहेछ। (पृ. 49)
निउजिलेन्ड रेडक्रसको योगदान, नयाँ विद्यालय र विद्यार्थी जीवन, काम र आय—यी तीनवटा लेख पनि महत्वपूर्ण छन। तिनमध्ये पहिलोमा शरणार्थीहरुलाई रेडक्रसका कर्मकर्ताहरुले साथमा रहेर सहायता गरेको कुरा छ। उसरी नै त्यस पछिका लेखमा इङ्लिश टीचिङ कलेज, इङलिश लर्निङ पार्टनरशिप जस्ता एनजीओले अंग्रेजी पठनपाठन गराएको अनि काम र आय बिभागले रोजिरोटीको परिबन्द गरिदिएको, काम नपाउञ्जेल भत्ता दिएको कुरा वर्णन गरिएको छ। परिवारसँग छुटनुको पीडा कस्तो हुन्छ भुक्तभोगीलाई मात्र थाहा हुन्छ। अचानाको पीर अरुलाई के थाह। भुटानमा वाङचुकको अत्याचारले उनीहरु भारत हुँदै नेपाल पसेका थिए। त्यस आपातकालीन स्थितिमा सम्पत्ति भन्दा पनि ज्यान जोगाउन मुस्कल परेको थियो। कोइ जेलमा, कोइ जंगलमा, कोइ कता। यसरी एउटै परिवारका सद्स्य फेरि भेट हुन्छ कि हुँदैन भनेर मनमनै रोइहरेका हुन्थे। तेस्रो मुलुक पुनर्वास हुँदा गोपालहरुको परिवार सुदूर दक्षिणमेरु छेउको निउजिलेन्डमा परे भने कोइ आफन्त युरोप अमेरिकातिर छरिए। सबैभन्दा नजीक अस्ट्रेलिया छ, त्यहाँ पनि हवाइ जहाजमा मात्र जान सकिन्छ। अलिक सजिलै भेट हुने आशा भएको त्यही अस्ट्रेलिया हो। लेखक भुटानमा देउसी-भैली खेलेको कुरा सम्झेर कहिले भाँडाकुटी खेलेको सम्झेर नोस्टाल्जिक हुन्छन। एक पल्ट फेरि आफन्त, साथीभाई हरुसँग भेट हुने छैन, अब भर्चुअल भेटघाट मै सन्तुष्ट हुनु पर्छ।
जे भए पनि विज्ञान र प्रविधिको विकासलेगर्दा संसारभरि छरिएर बसेका साथीभाई, इष्टमित्रहरुसँग गफ गर्न पाइएको छ। भेट्न सकिएन भने पनि इन्टर्नेटमा आवाज र तस्वीर हेरेर भए पनि चित्त बुझाइएको छ। (पृ.66)
निउजिलेन्डमा पारिवारिक अवस्था शीर्षकको लेखमा त्यस देशमा पुगेका सबैको आर्थिक अवस्था सुध्रिएको, जीवन स्तर धेरै माथि पुगेको कुरा वर्णन गरेका छन। पति-पत्नी दुबैले काम गर्ने अनि कामको राम्रो दाम पाउनाले धेरैले गाडी त के घर पनि किन्न सफल भएका छन। कतिपय चल्न नजान्ने फुर्मासेहरुले भने के के नै भेटियो भनेर धेर खर्च गर्ने हुँदा उनीहरु अझसम्म भाडाघर मै बस्नुपरेको छ।
सपनाप्रति छोटो सम्झना एउटा सपना नाम गरेकी अत्यन्त साहसी युवतीको कथा हो। ब्रेन ट्युमर जस्तो दुरारोग्य रोगले आक्रान्त भएर ह्वील चेयरमा हिँडनु परे पनि उनी हताश भएकी थिइनन। शेषसम्म बीमारसंग संग्राम गरेर जिउने अदम्य इच्छाशक्ति देखाइन। उऩलाई भेट्न आउने समेतलाई सकारात्मक सोचले सम्झाइन। छोटो उमेर बाँचे पनि उनले सफल जिन्दगी बाँचिन । सपनाको जीवन संग्रामले अरु धेरैलाई जिउने प्रेरणा र सकारात्मक सोच दिनेछ। यस लेखले लेखकको सकारात्मक दृष्टिकोणलाई खुलासा पारेको छ।
चाडपर्व र स्वतन्त्रताको बारेमा केही कटौती गर्नु परेको उल्लेख गरिएको छ। भुटान वा नेपालमा चाडपर्वमा छुट्टी पाइन्छ, साथी-भाई, इष्ट-मित्र सबै भेला भएर रौंसिएर उत्सव पालन गरिन्थ्यो। अहिले चाडबाडका बेला न त छुट्टी पाइन्छ न त आफन्तहरु एक ठाउमा भेला हुन नै मिल्छ। छुट्टी त बरु आफ्नो पाउने छुट्टीबाट कटाउँदा मिल्ला, बेग्ला बेग्लै देशमा भएका इष्टमित्रहरुसँग कसरी भेट हुने। तिहारको समयमा हाम्रो काग तिहार, कुकुर तिहार, हली तिहार गाई तिहार का दिन यसै मन मारेर बस्नु पर्छ। कहाँ पाउनु, काग, कुकुर, हलगोरु र गाई।
निउजिलेन्डको सुन्दरताले खिँचेको मन र निउजिलेन्डप्रति सधैँ ऋणी रहिरहनेछौं यी दुइ निबन्ध निउजिलेन्डको देशसँग सम्बन्धित छन। पहिलोमा धक्षिण मेरुको छेउमा प्रशान्त महासागरको बीचमा रहेका टापुहरुको समूह निउजिलेन्ड नामको सुन्दर देश छ। छेउमा भनेको अस्ट्रेलिया छ दुइहजार माइल टाडा उत्तर दिशामा। स-साना पहाडका थुम्काहरु, सफा र चौडा बाटा, तारले घेरेका चौरीहरुमा निहुरेर चरिरहेका भेडा---- अति नै रमणीय देश छ निउजिलेन्ड । सुन्दर, शान्त, विशाल – देवकोटाले नेपाललाई भनेका थिए। त्यस्तै सुन्दर रहेछ उनीहरु पुनर्वासित हुनपुगेको देश निउजिलेन्ड । जन्मभूमि भुटानबाट लखेटिनु पर्यो, पुर्खाको देश नेपालले शरणार्थी भनेर दया गर्यो तर कुनै धार्मिक, सांस्कृतिक सम्बन्ध नभएको हजारौ माइल टाडाको देश निउजिलेन्डले मानवताको खातिरमा केवल खाने बस्ने परिबन्द मात्र गरिदिएन, त्यसका साथै नागरिकता पनि दिएर मान्छेको सम्मानको जिन्दगी दिएको छ। त्यसैले लेखकलाई लागेको छ मानवता नै सबैभन्दा ठूलो कुरा रहेछ। निउजिलेन्डप्रति सधैँ ऋणी रहिरहनेछौं भनेर लेखकले सच्चा हृदयले कृतज्ञता व्यक्त गरेका छन। निउजिलेन्डको नागरिक हुन पाउँदा लेखकले गौरव अनुभव गरेका छन। उनी लेख्छन----

त्यसका निम्ति हामी निउजिलेन्ड सरकार लगायत सम्पूर्ण देशवासीलाई धन्यवाद नदिई रहन सक्तैनौं। त्यसमा पनि निउजिलेन्ड जस्तो शान्त, सुन्दर र विशाल देशको नागरिक हुन पाउँदा मन त्यसै गर्वले गदगद हुँदोरहेछ।एउटा शरणार्थीको पहिचार बोकेर संसार घुम्दा र निउजिलेन्ड जस्तो सुसम्पन्न देशको नागरिक भएर संसार घुम्न निस्कँदा संसारले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पनि एकदमै फरक हुँदैरहेछ। आफुलाई पनि छुट्टै प्रकारको शान हुँदोरहेछ। बोल्नलाई धक नलाग्दो रहेछ।अरु देशका मानिस जस्तै आफू पनि शिर ठाडो पारेर एक कप कफी सँगै पिउँन सकिँदो रहेछ। दुइचारवटा गफ छाती फुकाएर गर्न सकिने रहेछ, कसैले हेपेर परिचय माग्यो भने गर्वका साथ निउजिलेन्डको नागरिक हुँ भनेर त्यसको मुख बन्द गर्न सकिँदो रहेछ, छुटेर हिँडने बेलामा निउजिलेन्ड आउँदा मेरो देशमा यहाँलाई स्वागत छ भनेर निमन्त्रणा दिन सकिँदो रहेछ। ( पृ. 90)
नेपाल र नेपालीप्रति नमन यस संकलनको सबै भन्दा लामो निबन्ध हो । नेपालमा शरणार्थीको जीवन नरक तुल्य भएको अनि नेपाल पुर्खाको थलो थियो तर नेपालले टेक्ने ठाउँ र अलिकति खाद्यान्न दिएर शास अल्झाएर राखिदियो। यो गुणको लागि लेखकले कृतज्ञता प्रकट गर्दै नेपाल र नेपालीप्रति नमन गरेका छन। लेखमा नेपालमा छँदा भोग्नुपरेको नरक यन्त्रणा पढदा लेखकको नेपाल र नेपालीप्रति नमन व्यंग को मुर्छा पार्ने झापड त होइन भन्ने शङ्का हुन्छ।
अकृतज्ञ छैनन लेखक गोपाल। दुख पाए पनि जुन देशले शरण दियो त्यो देश र त्यस देशका नागरिकलाई श्रद्धाले स्मरण गरेका छन। टेक्ने ठाउँ नै नदिएको भए के हालत हुने थियो त्यो सोचेर उनी विनम्रतापूर्वक नेपाल र नेपालीप्रति नमन गर्दछन।
हाम्रै पुर्खा, हाम्रै बाबु-बराजूले खुन पसिनाले निर्माण गरेको देश भुटान। हाम्रा कति पुर्खा हिंस्रक जन्तुका शिकार भए, कति किचिए,कति थिचिए अनि कति हिउँमा पुरिएर मरे त्यसको लेखाजोखा छैन। उपन्यासकार गोविन्दराज भट्टराईको मुगलान मा त्यसको चित्रण पाइन्छ। हेरौं एउटा बिम्ब-----
बाटामा पुगे सबै। हिउँ कोट्याएर पन्छाएर, फुटाएर त्यसमाथि ढुङ्गा र गिटी ओछ्याउने काम थियो। कार्कीले आफ्नो काम गर्ने ठाउँमा देख्यो बाटाको भित्तामा एउटा हिमराशि चुलिएको छ। त्यस ढिस्कालाई उसले यही अर्थ लगायो—कहींबाट ढुङ्गो लडेर आएछ। हुनसक्छ कहीँ पहिरो धस्केको होला अनि राति त्यो ढुङ्गो हिउँले पुरिएको हो। उसले आफ्नो मार्तोल उठाएर भित्ताको हिउँ-ढिस्कोलाई जोडसँग हिर्कायो। हिउँको देखिने पाप्रो फुटेर चकनाचुर भयो अनि त्यसभित्र एउटा मानव मूर्ति ठडिएको देखा पर्यो, उ झसङ्ग भयो। आफ्नो हात थर्थर कामेर त्यसबाट मार्तोल जमिनमा खस्यो। देख्यो लाले सुब्बाको मृत शरीर पो ढुङ्गो भएर ठडिएको रहेछ। यसले बलले दाँत टोकेको देख्ता अझसम्म जाडाले थरथर कामेर किटकिटाएको दाँतको सजीव चित्र उत्रिन्थ्यो। उसका दुइ हात जोडसँग बाँधिएर छातीमा कसिएका थिए। दाहिने हातको ससानो मार्तोल च्याप्पै अँठिएको जस्ताको तस्तै थियो। (मुगलान, पृ. 67-68) ।
वान नेशन वान पिपुल भन्ने विश्वमा कहीं नचलेको नयाँ नीति भुटान सरकारले पुरै अलोकतान्त्रिक तरिकाले निकाल्यो। नेपाली भाषालाई स्कुलबाट हटाइयो। यतिमात्र होइन भुटानी ड्रेस लगाउन बाध्य पार्यो। नेपालीको दौरा सुरुवाल खोलेर एकातिर नाङ्गोझार पार्यो भने मुखको बोली पनि खोसिदियो। यो भन्दा ठूलो अपमान के हुन सक्छ। नेपालीले यसको दुर्घोर विरोघ गर्नु स्वाभाविक थियो। स्वेच्छाचारी सरकारले दमनमूलक नीतिले अति घृणनीय तरिकाले देशबाटै लखेट्ने उद्देश्यले देशद्रोहको आरोप लगायो। 1985 को नागरिकता ऐनमा संशोधन गरेर 1958 को आधारमा मात्रै भुटानको नागरिक हुन सक्ने र 1958 वा त्यस अघिको कागजात देखाउन नसक्नेलाई देश छोडने नोटिस दिइयो। 1958 को प्रमाण नेपालीले मात्र देखाउनु पर्ने अरु यसै रैथाने। यस प्रकारका कालो कानून थोपरेर नेपालीभाषी भुटानीलाई जन्मभूमिबाट विताडन गरियो। विडम्बनाको कुरा, जुन देशको ठानेर विताडन गरियो त्यो देश नेपालले टेक्ने ठाउँ र शास अल्झाएर राख्ने काम गरेर दायित्व सक्यो।
यतिखेर धेरै शरणार्थीले अमेरिका, इंगलैन्ड, नेदरल्यान्ड, अस्ट्रेलिया, निउजिलेन्ड आदि आठ विकसित मुलुकहरुमा पूनर्वासका साथै नागरिकको हक समेत पाएका छन। शानको जिन्दगी जिए पनि उनीहरुले आफ्नो मातृभूमि भुटानलाई बिर्सेका छैनन। जीबीएलओ गठनको मुख्य उद्देश्य जुन देशको नागरिक भएर बसे पनि भुटानी एकतालाई कायम राख्तै आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण र विकास गर्नु।। यही एकताको बलले स्वैरतन्त्री भुटानमा लोकतन्त्र स्थापन गरी आफ्नो हृत गौरव फर्काएर ल्याउने सोचलाई पनि उनीहरुले मलजल गरेर राखेका छन।
भुटानबाट लखेटिएर नेपालका शरणार्थी शिविरमा भोकै नाङ्गै बर्षौ बिताउने लाखौ भुटानीहरुका आफ्ना आफ्ना कथा छन। सबैको कथा भन्नु हो भने एउटा जीवनकालमा लेखेर सकिँदैन, लेखियो भने पनि पढेर सकिँदैन। तसर्थ एउटाको कथा बाटै सबै कुरा खुल्दछ। भात पाक्यो कि पाकेन एउटा सितोलाई थिचिहेर्दा थाह हुन्छ। गोपाल पौडेलको कथा भित्रका कथाहरुमा भुटान, नेपाल र निउजिलेन्ड—यी तीनै ठाउँमा बसोबासका सुखदुखका, संघर्षका, खटपटीका, अस्तित्वर परिचय संकटका अनेकौ कथा छन।
लाखौं पुस्तक लेख्ता पनि नसकिने हाम्रो कथा मेरो एउटा कृतिले कति नै समेटला र---- आफ्ना कुरामा लेखकले भनेकै छऩ।
दक्षिण भुटानको दागाना जिला अन्तर्गत खिबेसा भन्ने ठाउँमा बिरबहादुर पौडेल र दिर्गमाया पौडेलका पुत्रका रुपमा सन ... मा गोपाल पौडेलको जन्म भएको हो। प्राथमिक र हाइस्कुलको शिक्षा उनले भुटान मै पाएका हुन । भुटानबाट शरणार्थीको रुपमा नेपाल प्रवेश गर्दा उनको उमेर मात्र ... वर्षको थियो। पच्चीस वर्ष नेपालको शरणार्थी शिविरमा कटाएर उनको परिवार 2014 मा निउजिलेन्ड संस्थापित भयो। हाल निउजिलेन्ड पामिस्टनको मिलसन ड्राइभ 17 मा उनीहरुको सबै आधुनिक सुविधाले परिपूर्ण निजी बासगृह छ। गोपाल र उनकी पत्नी गौरी दुबै अफिसमा काम गर्छन। बाबु-आमा साथमा राखेको लागि उनी भत्ता पाउछन भने बाबु-आमा पनि छुट्टै बृद्ध पेन्सन पाउँदा रहेछन। यसरी राम्रो आमदनी हुनाले पाँच वर्ष भित्र मै घर किन्न सफल भएको कुरा उनैले सुनाए।
सामाजिक काममा गोपाल जनप्रिय छन। सिर्जनात्मक काममा पनि उनको लगन रहेको छ। हाम्रो पहिचान नामको पत्रिकाका सम्पादक बनेर उनले निउजिलेन्डमा नेपाली साहित्य र संस्कृतिको संरक्षण र विकास गराएका छन। उनका कविताहरु पत्रपत्रिकामा प्रकाशित भएका हुन। कथा भित्रको कथा (संस्मरणात्मक निबन्ध संग्रह) उनको पहिलो कृति हो। नेपाली डायास्पोरा साहित्यको निउजिलेन्ड च्याप्टरलाई प्रतिनित्व गर्ने यो महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने छ, त्यसमा कुनै शङ्का छैन।

असम (भारत)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु