कोणसभा देखि कोटसभासम्म

- विश्व विनोद

उ बेला जमाना नै अर्को थियो, हात्तिछाप चप्पलमा ति नेता गाउँ आउथे, भूमिगत शैलीमा पर्चा छरेर जनता जनार्दनलाई सचेतना फैलाउथे । क्रान्ति र भ्रान्तिको अनेकन कथाले गाउँलेको रगत उमालेर आजै देश र जनताको मुक्तिको लागि मुठ्ठि कसेर अगाडि बढौं भनेर उनले भनेको अझै याद छन् — त्यो प्रगतिशील गाउँलाई (गाउँको नाम कालापत्थर थियो तर तिनै हात्तिछापे नेताको आग्रहमा अहिले यो गाउँलाई प्रगतिशील नामाकरण गरिएको हो)।
ती नेता निकै भलाद्मी थिए कुनै बेला । गाउँमा मकै छर्न लाग्दा दिनभर उनले खेतमा डल्ला फोरेर बेलुका हाम्रै घरमा सुतेका थिए । दिनभर कोदो ठटाएर बेलुका ढिँडो र गुन्द्रुक खाएर मेरै बिस्तारमा सुतेर क्रान्तिका कथा सुनाउँथे उन्ले । उन्का क्रान्तिका कुरा, लडाँईका कुरा, बर्ग संघर्षका कुरा सुन्दा मेरो पुरै रगत तातेर आउँथ्यो । उनैसँग क्रान्तिमा होमिन मन पथ्र्यो पनि तर आमा बाबाको डरले उनीसँगै म हिँड्न सकिन ।
उमेरमा नै हलक्क बढेको मलाई ठूला चप्पल र ठूला साईजका कपडा आबश्यकता पथ्र्यो नै तर ति नेता आउँदा उन्का चुँडिएका चप्पल मसँग साटेर नयाँ चप्पल लगाएर जान्थे । मलाई लाग्थ्यो, बजारको मुख नदेख्ने ति नेताले देशको मुक्तिको लागि मेरो चप्पल लगाएर नै त गए । एक दिन बाबाले मलाई नयाँ कोट किनेर ल्याईदिनु भएको थियो , जाडोको बेला एक जना आफन्तको बिहेमा जानको लागि उक्त कोट किनिएको थियो । म नयाँ कोट पाएर निकै प्रफुल्लित थिएँ । केही समय पश्चात ति नेता हाम्रो घरमा सेल्टरको लागि फेरी आए । उन्का च्यातिएको ज्याकेट देखेर मैले उनलाई मेरो कोट दिन खोज्दा उन्ले भनेको उत्तर यस्तो थियो — हेर यो कोट साभ्रान्त र हुने खानेले लाउने हो । हामी जस्ता सर्बहारालाई कोटको त्यत्ति महत्व हुन्न । कपडा त लाज ढाक्नको लागि मात्र हो । लाज ढाकिए त पुगिहाल्यो, न्यानो भए त पुगिहाल्यो नि । वाह ! क्या गजब सोच, मैले उनलाई मनमनै स्यालुट पनि गरे । उनी त्यही फाटेको ज्याकेट लगाएर नै गाउँमा भएको एक कोण सभामा सरिक भए । उन्का दमदार भाषण सुनेर मानिसहरुले तालीको बर्षा गरे । सबैको मुखले भनेको थियो — वाह ! नेता हुनु त यस्तो सादगी, सरल र ईमान्दार र कर्तब्यनिष्ठ हुनु । म झन गदगद भए किनकी हाम्रो घरमा आउने त्यो मानिस निकै उच्च कोटीको रहेछ भनेर ।
त्यसदिन देखि मेरो बाल मस्तिष्कमा कोट प्रतिको बितृष्णा जागेर आयो । साँच्चै यो कोट त धनीले पो लगाउने रहेछ । मैले त्यो दिन थन्क्याएको कोट आज सम्म लगाएको छैन । तिनै नेताले सिकाएको सादगी पनको आदर्श बोकेर मेरो बाल्यकाल बित्यो । समयले कोल्टे फेर्यो । देशमा ठूला क्रान्ति भयो । ब्यबस्था परिवर्तन भयो । राज्य सत्तामा परिवर्तन आयो । उन्को भूमिगत जिवन समाप्त भयो । खुल्ला राजनीतिमा उनको पदार्पण भयो ।
अस्ति बजारमा हिँडिरहेको थिएँ , त्यहाँ शहिद चोकमा कोणसभा हुँदै रहेछ । मन्चमा लहरै मानिसहरु कुर्चिमा बिराजमान थिए । मैले तिनै कुर्चिका मानिसहरुको अनुहार निहालेर हेरे, ति मध्ये तिनै हाम्रो घरमा आउने मानिस थिए । तर परिस्थिति फरक थियो — कोट उनको भुट्ट परेको शरिरमा सजिएको थियो । वाह — मानिसको सोच सापेक्षीहुने रहेछ , कोण सभा देखि कोटसभासम्म उन्को हैसियत बनेछ । तर उन्ले भाषण गर्दा आज पनि यसो भने — आदरणीय जनसमुदाय सादगी जीवनलाई अनुशरण गरौं, अझै जनताको मुक्ति आएको छैन...... त्यसैले हामीले यो कोणसभाको आयोजना गरेका हौं ..... । खै म भने मन्चमा बस्ने सबैको कपडा नियाल्न थाले — कुनै एक जना मानिस थिएन जस्ले कोट लगाएको थिएन । मैले बाकसमा थन्केको पुरानो कोट सम्झे अनि त्यो मन्चमा अधिकांश अनुहार धेरै बर्ष अगाडी मेरो गाउँमा कोणसभामा थिए तर आज कोट सभामा थिए । म अवाक हुँँदै घरतर्फ लागिरहेँ पुरानो थन्केको कोट र आदर्शका कुरा सम्झेर । तारेमाम् !

लमजुङ, हाल काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 आसाढ, 2077

लेखकका अन्य रचनाहरु