बिग्रेकी केटी

- डा. सावित्री श्रेष्ठ

म बिग्रेकी केटी । सबैले मलाई बिग्रेकी केटी भन्छन् । तर किन ? म जान्दिन, मैले कसैको केही बिगारेकी छैन । हो मेरो कोही साथी छैनन्, सबै स्कुल जान्छन् । मेरो आमासँग मलाई स्कुल भर्ना गर्ने पैसा छैन, उहाँ अरूको घरमा काम गर्नुहुन्छ र साह्रै थोरै पैसा पाउनुहुन्छ । जेनतेन खान पुग्छ हामीलाई । महिनामा ३–४ दिन त भोको पेट सुत्नुपर्छ हामीले । पल्लो घरमा रहरको दाल झानेको मिठो बास्नाले मभित्र रहरको दाल खाने रहर जगाइदिन्छ । पेट बौठारिएर आउँछ । आमा भोक लाग्यो । मेरी गरिब निसहाय आमासँग मलाई दिन आफ्नो आँसु बाहेक केही छैन । “अहिले सुत छोरी, भोलि बिहान खाने है ।”
बिहान छिट्टै आँखा खुल्छ । आमा निस्किसक्नुभएछ । अरूको घर बढार्न, लिप्न । हाम्रो घर नबढारिकनै जानुभएछ । पहिले अरूको काम सक्ने । मलाई बेस्सरी भोक लाग्यो । हिजोदेखिकै हो, हो सपनामा मैले तात्तातो रहरको दाल र भात खाएकी थिएँ । तर अहिले किन भोक लाग्यो ?
वागमती हाम्रो घरबाट धेरै टाढा छैन । म वागमतीको तिर–तिर हिँड्ने गर्छु र देवताहरूलाई काटेर चढाएको काँक्रो, मूला, उखु टिपेर खाने गर्छु । कहिलेकाहीँ पेडा पनि । र मान्छे मरेर मलामी जँदा चामल, धान, घिउको साथै पैसा पनि छर्दै जान्छन्, त्यो पैसा पनि टिपेकी छु मैले र त्यस बापत धेरै हेला र घृणा पनि पाएकी छु। के त्यही पैसा टिपेकोले म बिग्रेकी केटी हुँ ? धेरै भोक लागेर सहनै नसकेपछि म के गरुँ ? मलाई धेरै भोक लाग्छ, भगवान्ले मलाई किन भोक लाग्ने बनाइदिएको ?
पचली भैरवको अगाडि लम्पसार परेर सुतेको पित्तल हो कि सुनको बेतालीको मूर्ति हेरेर बसिराखेकी मलाई मेरै घर अगाडिको छिमेकी ठूलाबाले के हेर्दैछौ नानी भनेर बोलाएर मानिसहरू छेलिन कुनातिर लिएर गए र मेरो भर्खर–भर्खर उठ्न थालेको (जुन मलाई अति मन नपर्ने वस्तु हो, मलाई मेरो शरीरको सबै थोक मनपर्छ— हातखुट्टा, आँखा, अनुहार सबै तर मेरो आफ्नै छातीमा अहिले उम्रन थालेको यो स–सानो ..... अति मन नपर्ने । यहाँ मान्छेहरूले हेरेको त झन् मन नपर्ने ठूलाबाले यहीँ हात लगे । गाला पनि चिमोटे । मलाई साह्रै मन परेन । म भाग्न खोजेँ तर उही त्यत्रा ठूला, बलिया मान्छे । उनले मलाई यताउता तलमाथि छुँदै गरे । म रुँदै उनको हात टोकेर भागेँ । अरू पनि कुनै कुनै आची जस्ता काकाहरूले मलाई यस्तै गरेका छन् । त्यसैले मलाई यो नयाँ अङ्ग मन पर्दैन । काटेर फालौँ भैmँ लाग्छ । तर के गर्नु दुखिहाल्ला । के मलाई बिग्रेकी केटी भन्नुको कारण यही काका ठूलाबाहरूले मेरो छाती छोएकाले हो ? उनीहरूले जबरजस्ती छोएकाले म बिग्रेकी हुँ ? त्यही भएर म बिग्रेको हो ? तर मलाई बिग्रेकी केटी भनेको पनि मन पर्दैन ।
यसरी नै डराउँदै, भोकै स्कुल जानै नपाई म हुर्कंदै गएँ । अलि ठूली भएपछि म एउटा घरमा काम गर्न थालेँ । खासमा मेरी आमाले नै मलाई काममा लगाइदिनुभएको हो । त्यही घरमा दाइले मलाई पढाइदिने कबुलमा । त्यो घरकी ठूली आमा साह्रै असल । मलाई खान पनि दिने, दिनेश दाइले पढाइ पनि दिने । सबै काम सिकेँ मैले । खाना पकाउने, लुगा धुने, घर सफा गर्ने, पुछ्ने, कोठा मिलाउने, ठूलीआमाको गोडा मिच्ने । सबै मलाई आनन्द आउने । ल कति असल, कति सिपालु नानी भन्दा पढ्नमा म झन् सिपालु, स्कुलको अनुहार नहेरीकनै मैले एस.एल.सी. दिएँ र म पास पनि भएँ । दिनेश दाइले त्यस दिन मेरो तपस्या सफल भयो भन्नुभएको थियो । ठूलीआमाले टिका लगाइदिएर मेरो हातमा हरियो सयको नोट राखिदिनुभयो । मेरो जीवनको पहिलो पुरस्कार । यति ठूलो नोट मेरो आफ्नो । म खुसीले फुरुङ्ग हुँदै त्यो नोट आमाको हातमा राखिदिएँ । मेरी आमाको जीवनको त्यो सबैभन्दा खुसीको भाग्यमानी दिन रे । आमा खुसीले नाच्नुभयो । हाँस्नुभयो । मेरो छोरी स्कुलको मुखै नदेखी शिक्षित भई, मेरो जीवन सफल भो । साँझ भई बिहानी भयो । मेरी आमा कवि हुनुभयो त्यो दिन । आमाले भन्नुभएको थियो, त्यो मेरो जन्मदिन पनि हो रे ! म १६ वर्षकी भएँ रे अब ।
मैले सानैदेखि देखेका केटा मान्छेहरूमा दिनेश दाइ सबभन्दा असल, सबभन्दा राम्रो । कहिल्यै मेरो छातितिर हात नलाने । त्यही दिनेश दाइको बिहे गर्ने र अब ठूलीआमाले मजस्तै राम्री असल, सिपालु केटीसँग । तिमी जस्तै केटीसँग । म फुरुङ्ग भएँ । त्यतिबेला हाम्रो टोलतिर सबै केटीहरूको धमाधम बिहे हुँदै थियो । मेरो मात्र किन बिहे नभएको । म आमासँग सोध्थेँ पनि ।
म गरिबकी छोरीसँग कसले बिहे गर्ने ? मेरी आमाको जवाफ । तर अब यी ठूलीआमाले धुनधाम मन पराएकी छिन् मलाई दिनेश दाइले पनि । पछि दिनेश दाइलाई के भनी बोलाउने होला मैले । दाइ भन्नुभएन क्यारे ! अबका दिनहरूमा मलाई दिनेश दाइसँग लाज लाग्न थाल्यो । उहाँको कोठामा जानु पनि मन लाग्ने, लाज पनि लाग्ने, बोल्न डर लाग्ने, त्यसै पनि कम बोल्ने म । अब त झन् ओठै नखुल्ने । घरमा धमाधम बिहेको तयारी हुँदैछ । किनमेल उत्तिकै । मेरो काम गर्ने पूmर्ति झन् बढेको छ । सबैले मेरै मात्र तारिफ गर्ने, यसको दुलाहा कति भाग्यमानी ! भन्थे सबै । सासु झन् भाग्यमानी नि भन्थिन् ठूलीआमा । म साँच्चै ठूलीआमालाई धेरै माया गर्नेछु । म यस्तै सोचेर फुरुङ्ग हुन्थेँ । बिहे पछि म यी असल ठूलीआमासँग मरु गणेश गएर लड्डु चढाउने । ओहो क्या रमाइलो, कुनै बेला म मन्दिरमा चढाइएको प्रसाद टिपेर खान्थेँ, लाशलाई अर्पण गरिएको पैसा टिप्थेँ, अब म आपैmँ मन्दिरमा लड्डु चढाउँछु, पैसा चढाउँछु । हुन त एस.एल.सी. पास भएको भोलिपल्ट आमासँग गएर मैले थुप्रै मन्दिरहरूमा पूजा गरेकी छु र प्रसाद चढाएकी छु । त्यो पनि यिनै ठूलीआमाको कारणले सम्भव भएको हो । यो घरमा पसेदेखि मेरो जीवनमा धेरै थोक परिवर्तन भएको छ । काम गर्दा मलाई आनन्द आउने । त्यो आनन्द मैले यही घरमा पाएँ र मलाई भोक लागिरहने । यो घरले मेरो भोक पनि मेटाइदिएको छ । यो घरले मलाई शिक्षा पनि दिएको छ र दिदीका जडौरी लुगाहरू पनि । ती अलि ठूला हुन्थे त के भयो, लुगा त लुगा नै हो । हरेक दशैँमा नयाँ लुगा र केही पैसा अनि आमाका लागि खानेकुरा । अब दिनेश दाइ यी असल मान्छेहरू र यो घर सबै मेरो आफ्नो, क्या गजब, म कस्ती भाग्यमानी । मान्छेहरू मलाई बिग्रेकी केटी भन्थे । हुन त म कहिल्यै बिग्रिन, कहिल्यै कसैको केही बिगारिन बरु बिग्रेका मन भएका पुरुषहरूले मलाई अति मन नपर्ने काम गरेर मलाई दिनु दुःख दिएका हुन् । बेस्सरी रुवाएका छन् र मेरो दुःखी वचपनलाई अझ कष्टपूर्ण बनाका छन् । आज पनि ती दुष्ट र कलुषित मान्छेहरू कहाँ बदलिएका छन् र मलाई नछुँदैमा हुन्छ । आज पनि ती कुनै असहाय बालिकालाई दुःख नै दिँदै छन् । मलाई पनि तिनले त्यसै छोडेका हुन् र एक दिन म रुँदै घर गएर आमालाई बताए पनि मेरी सिधि कमजोर आमा हातमा लाठी लिएर निस्केकी थिइन् र भजन फलैचामा बसेर भजन गरिरहेका मध्ये मलाई दुःख दिने दुई जनालाई बजारी दिएकी थिइन् । अनायास लाठी पर्दा ती अक्क न बक्क परेका थिए । तर तल उभिएर रोइरहेकी मलाई देखेर तिनले कारण पनि बुझेकै थिए । मेरी कसैलाई कहिल्यै केही नभन्ने आमा त्यो दिन बघिनी भैmँ गर्जेकी थिइन् र भनेकी थिइन्— मेरी छोरीलाई कसैले छोयो भने म यो लठ्ठीले कुटी कुटी मार्नेछु । भजन गाउनु पर्ने पापीहरू । मान्छेहरू जम्मा भए, त्यो दिन हाम्रो टोलमा सानोतिनो जात्रा नै भयो । मेरी आमालाई बहुलाई भने तिनीहरूले तर सबैले थाहा पाएकै हुन् ती मान्छेहरू कस्ता हुन् र मेरी आमा कस्ती हुन् ? त्यो दिनबाट मलाई छुने आँट गरेनन् ती पापीहरूले । तिनको पाप कर्मकै कारण मान्छेहरूले मलाई बिग्रेकी केटी भने । थाहा छैन को बिग्रेको हो ती कमजोर, सानो केटीहरूलाई त्यसरी दुःख दिने पापीहरू बिग्रेका कि म जस्तो दुःख पाउने केटी बिग्रेकी ?
अब त मेरा दुःखका दिनहरू सकिए । भोलि मेरो बिहे, त्यो पनि दिनेश दाइसँग । ओहो म क्या भाग्यमानी । इन्द्रेणी सपनाहरूमा म हराइरहेकै बेला ठूलीआमाले भन्नुभयो, जाऊ तल दिनेश दाइको कोठा सिँगार्दै छन्, सघाउ, तिमी पनि, भोलि नयाँ दुलही ल्याउनुपर्छ, भाउजु, उनको पनि सेवा गर्नु है तिमीले । तिमी जस्तै राम्री छिन् उनी पनि । सपना नाउँ हो उनको ।
म झण्डै ढलेँ के भन्दै छिन् यी ठूलीआमा ? दुलही त म हैन र ?
कोठा फनफन्ती घुम्न थाल्यो र म ढलेँ— मेरा सबै कलिला सपनाहरू सँगसँगै अमेरिकाको ट्विन टावर भैmँ एकै क्षणमा म पनि ढलेँ, चेतनाशूल्य हुँदै ।
ठूलीआमा दिनेश दाइको बिहे मसँग गर्ने भनेको होइन ?
के भन्छे यो लाटी ?
त्यस्तो नि हुन्छ ? त्यस्तो नि सपना देख्छन् ? घरकी नोकर्नी पनि घरको बुहारी हुन्छ ? यस्तो देउताको समयमा नि नहुने कुरा सोचेर हुन्छ ?
म झसङ्ग हुन्छु, हो त बिग्रेकी केटीलाई घर सफा गर्न लगाउन त सकिन्छ तर ....
यस्तै बुहारी भन्नु र यही बुहारी बीच कति धेरै अन्तर छ ...
म केही बोल्न सक्तिन । म त्यो घरको भ¥याङबाट बेजोडले झरेँ ।
अब मलाई त्यहाँ कहिल्यै जानु छैन ।
दिनेश दाइ र उनकी दुलहीको सेवा गर्नु पनि छैन । अब म आफ्नै जिन्दगीको बाटो बनाउँदै हिँड्छु । र आज ४० वर्षपछि फर्केर हेर्दा मैले बनाएको पुल र बाटोबाट हजारौँ मान्छे हिँड्दै छन् ।
दिनेश दाइ सबैभन्दा पछाडि कुनै छायाँसँग अगाडि बढ्दैछ जस्तो लाग्दै छ मलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु