मेरो धरान नगरी

- गिरिराज आचार्य

जो जहाँको भएपनि
कति प्रेम हुँदो रहेछ जन्मस्थानको
मेरो प्यारो ओखलढुंगा सिद्घिचरणको
– मिथक भइसकेको छ ।
कविको प्यारो ओखलढुंगा बोल्दैछ, मुस्कुराउदैछ ।
भानुले कान्तिपुरीलाई दिल्ली, लण्डन, लखनउ देखे
म देख्तैछु, मेरो तस्विर कहाँ कोरिएको रहेछ
कति रमणीय छ, धराननगरी
मेरो सपनाको नगरी, मेरो विपनाको नगरी
म जहाँ भएपनि चस्स घोच्छ धराननगरी
विजयपुरको वक्षस्थलमा ऊ लमतन्न पल्टिरहेछ
हङकङको समुद्री फाँट डाँडाले छेकेको मात्र छ
के छैन मेरो धराननगरीमा सबथोक छ
भूपीले कोनि के देखे धरानलाई
खोई मलाई त केहि थाहा छैन
मेरो प्यारो धराननगरी अहा मन्दीरको घण्टा टन्टनाइरहेछ टनटन
हर्ष सब्बाको बुढो कुखुरो हिजो मात्र बुढासुब्बामा वलि चढेछ
इलाम गयो, सिलाम खायो, डोटि गयो, रोटि खायो
धरान आयो, लाल सलाम, हैरान, लखतरान
उकाली ओराली जीतमानको सिसिफस
अमार बंगला अमार कलकता तल्सिनको तस्वीर
अहिले मेरो मानस पटनमा नाचिरहेछ छमछम
हो, यही त भताभुङ्गे राजाहरु बास बस्छन
हो, यही त चोरलाई चौतारो साधुलाई शूली चढाइन्छ
दन्तकाली, पिण्डेश्वर बाबा , बोलबम बाबाधाम बोलबम
मेरो धराननगरी बैंसको स्र्कट मूस्कुराइ रहेछ
लाहुरेहरुको आधुनिक बंगलाले यसको सोभा दिरहेको छ
मेरो धराननगरी अर्कैमा आफु हराइहेछ
मस्त मस्त चाल कम्मर हल्लाइरहेछ ।

धरान

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु