यसरी जिते हारेको युद्ध

- विश्वराज अधिकारी

तिस वर्ष पहिलेको एक रात जस्तो घटना भएको थियो ठिक त्यस्तै घटनाको पुनरावृति भएको थियो। तिस वर्ष पहिले म अविवाहित थिएँ।
अहिले म विवाहित छु।
गएको रातिको घटना हो। म, मेरी छोरी मधु र मधुकी आमा उर्मिला रातिको बार्ह बजे एक कोठामा बसेर गंभिर छलफलमा भास्सिएका थियौ। कुराकानीको क्रम यसरी आरम्भ भएको थियो।
उर्मिलाले भनिन्, “हेर छोरी आजसम्म हाम्रो खानदानमा प्रेम विवाह भएको छैन। जसको पनि मागी विवाह भएको हो। तेरो बुआको मात्र होइन, तेरो दाजु र दिदीको बिहे पनि मागीविहे नै भएको हो, तँलाई थाहा नै छ। तेरो बुआले आफ्नो बाको आज्ञालाई सिरोधार्य गरेर, केटी हेर्दै नहेरेर, आफ्नो बाले भने जस्तो केटीसँव बिहे गर्नु भयो। साक्षी म नै छु तेरो अगाडि। तँले भने लभ गरेर हाम्रो नाककाटिने स्थिति परिस नै, तल्लो जाति को केटा रोजेर टोल छिमेकमा मुख देखाउन लायक पनि रहन दिनस्, हामीलाई।”
यति भनेर उर्मिलाले मतिर हेरिन्। मेरो सहमति पाउन भनिन्, “मधुको बुआ भन्नुस न, मैले भनेको ठीक होइन त?” मैले केही पनि बोलिन। उर्मिलाको भनाइमा सहमत भएको प्रदर्शित मात्र गरे।
मधु चुपचाप थिइन। उनको उपस्थिति र प्रस्तुति हेर्दा उनी केवल सुन्न बसेको प्रतीत भइरहेको थियो।
उर्मिलाले भनिन् “हेर मधु, तँ अझै केटाकेटी नै छेस्। आफ्नो बारेमा राम्रोगरी सोंच्ने उमेर भइसकेको छैन् तेरो। त्यो केटाले तँलालई ललाई फलाई गरेको पनि हुन सक्छ। पढेलेखेकी, अति राम्री र सम्पन्न परिवारको देखेर हात पार्न खोजेको हुन सक्छ। यस्ता केटाहरूको कुनै विश्वास हुँदैन। यी आवारा हुन्। यिनीहरू पढ्ने किसिमिका हुन र? अशल केटाहरू यसरी लभ गर्दै हिंडछन्, पढ्न लेख्न छोडेर?”
ऊर्मिलाले फेरि भनिन्, “हेर त्यो केटसँग हाम्रो स्तर पनि पटक्कै मिल्दैन। सोंच, विचार र व्यवहार पनि मिल्दैन। त्यस्तो केटासँग बिहे गरेर जीवन बर्वाद गर्ने इच्छा छ तेरो? के राम्रो अशल परिवारको केटासँग बिहे गरेर सुखसँग बस्न तँलाई मन लागेको छैन्? त्यो केटाले तँलाई सुख सँग राख्न सक्छ? हेर्दा नै दीनहीन देखिन्छ त्यो।”
यो पटक उर्मिलाले मतिर व्यंग गरिन्, “मधुको बुआ, तपाइँ किन चुप लागेर बस्नु भएको? मुखमा दही जमेको जस्तो गरेर, भन्नुस न केही छोरीलाई। भन्नुस न, उसले लिएको निर्णय सही छैन् भनेर। होइन, तपाइँलाई त्यो केटा ज्वाइ बनाउन मन परेको छ भने खुसिपूर्वक बनाउनु होस्। म मात्र किन तित्राको मुख बैरी हुने? मेरो मात्र छोरी हो ऊ?”
उर्मिलाको विचारमा मेरो पूर्ण सहमति रहेको सबल प्रमाण पेश गर्न मधुतिर हेर्दै मैले भने, “छोरी, बिहेवारीको कुरा बजारमा सामान खरिद गरे जस्तो होइन। किनेको सामान मन नपरे बजारमा सो सामान फिर्ता गर्न सकिए जस्तो। एक पटक गाँसिएको सम्बन्ध फिर्ता गर्न सकिंदैन, सामान साटै झै गरी। जिन्दगीको कुरा हो, गंभिरतापूर्वक सोंचेर निर्णय गर।”
मधु चुपचाप थिन्। उनको मुहारमा कुनै किसिमको प्रतिक्रियाको भाव झल्केको थिएन। बरु लागथ्यो उनले आमा बाबुको उपदेस र अर्ति गंभिरतापूर्वक लिए जस्तो। मैले त के पनि अनुमान गरे भने मधुले अब केही छिनमा नै भन्ने छिन- भयो, भयो। जे भयो त्यसलाई बिर्से मैले। म तपाइँहरूको सल्लाह मानेर त्यो केटासँग बिहे गर्दिन। मागी बिहे गर्छु, तपाइँहरूको इच्छा अनुसारको बिहे गर्छु।
मेले गरेको जस्तै अनुमान उर्मिलाले पनि गरिन। हामी दुबैले एक अर्कालाई हेरा हेर गरौ। छोरीले निर्णय फेर्ने कुरामा हामी एक अर्काको मुहारको भाव पढेर ढुक्क भयौ।
यो स्थितिले उर्मिलालाई हौसला प्रदान गर्यो। मधुतिर हेर्दै भनिन्, “हेर छोरी, ढिलो न गर। भोलि बिहान नै गएर त्यो केटालाई भनिदे म बिहे गर्न तयार छैन। हाम्रो बीच अब कुनै किसिमको सम्बन्ध रहेन पनि। हामी एक अर्कालाई बिर्सीदिऔ, पूर्णतया।”
अब उर्मिला मतिर फर्किन। अलि क्रोधित भावमा मलाई भनिन्, “भन्नुस न तपाइँ पनि। भन्नुस, भोलि नै गएर मधुले भनिदेओस त्यो केटालाई, म बिहे गर्न तयार छैन। अब हामी बिच कुनै पनि किसिमको सम्बन्ध छैन भनेर। ढिलो गर्नु हुँदैन यस्तो गंभिर कुरामा, बुझ्नु भयो। तपाइँ यस्ता कुराहरू अलि ढिलो गरी बुझ्नु हुन्छ।”
मैले केही पनि बोलिन। प्रतिक्रिया विहीन भएर बसे।
मधुको लामो मौनताको स्थितिले मेरो कौतुहलता झन बढेर गयो। मेरो अनुमान सत्यमा परिणत हुने मैले विश्वास गरे। अब केही क्षणमा नै मधुले हाम्रो प्रस्तावमा स्वीकृति जनाउनेमा म ढुक्क भए। फेरि मैले र उर्मिलाले आँखामा आँखा जुधायौ। उर्मिलाको आँखा खुसीले चम्मेको जस्तो लाग्यो। उमिर्ला एक विजयी योद्धा जस्तो देखिन पनि।
वातावरण केही बेर शान्त रह्यो। मध्य रातको चकमन्न वातावरणमा त्यो शान्ति झनै बढी बोध भइरहेको थियो। घण्टाघर बाहेक सारा बीरगंज सुतेको थियो। केवल हामी चार मात्रा जागा थियौ, घण्टघरसहित।
तर त्यो शान्तिलाई चिर्दै मधुले भनिन्, “आमा तपाइँको सल्लाहको म कदर गर्छु। तपाइँले यी कुराहरू मेरो भलाइको लागि गरेको भन्नेमा मलाई कुनै शंका छैन् पनि। र मैले शंका गर्नु उचित पनि हुँदैन। तर पनि ..................। तर पनि, म आफ्नो निर्णमा अडिग छु। म केटाकेटी छैन, अब। पच्चिस वर्षकी छु। आफ्नो भविष्यको बारेमा राम्रो गरी सोंच विचार गर्न सक्छु। म त्यो केटासँग नै बिहे गर्छु। म कमल सँग नै बिहे गर्छु। यो मेरो अन्तिम निर्यण हो।”
मधुको प्रतिक्रियाले निभिसकेको आगो दन्केको जस्तो भयो। ह्वार ह्वार आगो बले जस्तो भयो।
उर्मिलाका आँखाहरू राता राता भए। हातमा रहेको सानो तकियाले मधुलाई प्रहार गर्न खोजिन तर के सोंचर त्यस्तो गरिनन्। शान्त भइन्। तर उर्मिलाको त्यो शान्तिमा ठूलो आँधीले आश्रय लिएको प्रष्ट गरि थाहा पाउन सकिन्थ्यो।
अर्कोतिर मधु भने भाव विहीन मुद्रामा सोफमा बसिरहेकी थिइन। मधुको स्थिति एक स्थिर ढुंगा भन्दा रत्ति पनि फरक थिएन। हुन पनि उर्मिलाका शब्दहरू मधुको मष्तिष्कमा असरहीन भएर गएका थिए। मलाई त्यस्तो लाग्यो।
उर्मिला सोफाबाट उठिन्। कराउँदै भनिन्, “मधु, तँ आफ्नो निर्णय परिवर्तन गर्न तयार छैनस, होइन त?”
मधुले तत्काल जवाफ दी, “हो मम्मी।”
मधुको जफावले आगोमा अझै घ्यु हालेको झै गर्यो। उर्मिला क्रोधित हुँदै लिभिंग रूमबाट बाहिर निस्किन। आफ्नो बेडरुमा पसेर उर्मिलाले ढ्याम्म ढोक्का लगाएको आवाज लिभिंग रूमसम्म सुनियो। त्यो चकमन्न रातमा सडकसम्म पनि सुनियो।
अब लिभिंग रूममा केवल मेरो अनि छोरी मधुको उपस्थिति थियो। मधुको मुहारमा भयका रेखाहरू कोरिएको प्रष्ट गरि देखिएको थियो। म मधुको नजिक पुगे। उनको काँधमा हात राखे।
मेरो यस्तो व्यवहारले मधु अलि भयभीत भइन। मतिर नहरेर केवल भूँईमा हेरिन।
मेरा दुबै हातहरूले मधुको टाउको सोझो पार्दै मैले भने, “मधु, छोरी, मैले जुन युद्ध चालिस वर्ष पहिले हारेको थिएँ, त्यो युद्ध तिमीले जितेर देखाइ दियौ।”
आश्चर्यचकित हुँदै मधुले मतिर हेरिन, तर केही पनि बोलिन।
मैले भने, “तिमीले लिएको निर्णय सही छ। मेरो यसमा कुनै गुनासो छैन। बरू खुसी लागेको छ, तिमी आफ्नो निर्णयमा अडिग रहेकोमा। चालिस वर्ष पहिले म पनि तिम्रो जस्तो स्थितिमा थिए। तर म आफ्नो निर्णयमा अडिग रहन सकिन।”
अब भने मधुले मुख खोलिन। उनले प्रश्न गरिन, “चालिस वर्ष पहिले के भएको थियो, बुआ? र कस्तो निर्णयमा तपाइँ अडिग रहन सक्नु भएको थिएन?”
मैले भने, “यसै सहरको ठाकुर राम क्याम्पसमा पढ्दै गर्दा मैले भावना नाम गरेकी एक केटीलाई मन पराएको थियो। उनले पनि मलाई मन पराएकी थिन। भनन्, एक किसिमले, हामी बीच प्रेम थियो। अति गहिरो प्रेम थियो। तर तिमीलाई, तिम्री मम्मीले अहिले कन्भिन्स गरे झै मलाई पनि मेरो बाले अति कन्भिनस गर्नु भयो, तिम्रो मम्मीले गरेझै गरी। भावनासँग मेरो बिहे हुन दिनु भएन, बाले। बाका अनेक बलिया तर्कहरूमा जेलिएर म बाहिर आउन सकिन। भावनासँग बिहे गर्छु भनेर अडिग हुन सकिन, तिमी आफ्नो निर्णयमा अडिग भए जस्तो। त्यसकारण तिमीले त्यो युद्ध जितेर देखाइ दियौ जुन मैले हारेको थिएँ।”
“स्यावास”,मैले थपे।
मधुले केवल आश्चर्य मानेर मेरो मुहार हेरेको हेरै गरेको मलाई प्रष्ट गरी बोध भइरहेको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु