हरिप्रसाद भण्डारीको ‘कुर्सी’ लघुकथा

- प्रा. डा. कपिल लामिछाने

विषयप्रवेश
गुल्मी जिल्लाको धुर्कोट, वस्तुमा माता विनितादेवी र पिता प्रमानन्द भण्डारीका जेष्ठ सुपुत्रका रूपमा २०१६ जेठमा जन्मेका हरिप्रसाद भण्डारी पहिले कविता र पछि कथा तथा लघुकथाको सिर्जनामा संलग्न लगनशील व्यक्तित्व हुन् । जनप्रशासन र नेपाली विषयमा स्नातकोत्तर गरेका भण्डारीले नेपाल सरकारको जागिर खाने सिलसिलामा देशका विभिन्न स्थानमा पुग्ने र नेपाली जनमनलाई नजिकबाट सूक्ष्म तवरले बुझ्ने अवसर पाएका छन् । ‘कुकुर तिहार’ उनको पहिलो प्रकाशित लघुकथा हो, जुन २०४६ पुसको उत्साह पत्रिकामा प्रकाशित भएको छ । हालसम्म उनका चिराग (२०४७), अविरल यात्रा (२०६३) र काला सर्पको खोजी (२०६७) गरी तीन लघुकथासङ्ग्रह प्रकाशित भएका छन् । उनका लघुकथामा समकालीन यथार्थको सूक्ष्म निरीक्षण र चित्रण पाइन्छ । यी तीन सङ्ग्रह प्रकाशन भएपछि पनि उनको लघुकथायात्रा चलिरहेकै छ । उनका लघुकथाहरू पत्रपत्रिकामा तथा सामूहिक सङ्कलनमा छापिने क्रम पनि कायमै छ । ‘कुर्सी’ काला सर्पको खोजी (२०६७) मा सङ्कलित एक लघुकथा हो ।
आयाम
हरिप्रसाद भण्डारीद्वारा लिखित ‘कुर्सी’ लघुकथा साँच्चिकै छोटो आयामको लघुकथा हो । प्रस्तुत लघुकथा ५४ शब्द र ५ अनुच्छेदमा संरचित छ । यो थोरै समयमा पढेर या वाचन गरेर भ्याइन्छ र यसले एउटा दूरगामी प्रभाव सम्प्रेषण गर्दछ । लघुकथाको मूल मर्म नै थोरैमा वा सघन रूपमा बढीभन्दा बढी भन्न सक्नु हो । कथानक, चरित्र, उद्देश्य, परिवेश र भाषाशैली लघुकथाका संरचनात्मक घटक हुन् । यहाँ यिनको समीचीन उपयोग भएको पाइन्छ ।
कथानक
‘कुर्सी’ लघुकथाको कथानक प्रशासनिक वा राजनीतिक क्षेत्रबाट लिइएको छ । कुर्सीमा बस्न आएको नयाँ व्यक्तिलाई देखेर कुर्सी हाँस्नु, कुर्सी हाँसेको देखेर उसले (नयाँ व्यक्तिले) किन हाँसेको भनेर सोध्नु, क्विन्टलको मान्छे बोक्दा–बोक्दा हत्तु परेको अवस्थामा कम तौलको तपाईंलाई देखेर हाँसेको भन्नु तर केही समयमै कुर्सीको खुसी समाप्त हुनु यस लघुकथाको कथानकमा आएका प्रमुख घटना शृङ्खला हुन् । लघुकथाको कथानक ढाँचा रैखिक छ । कुर्सी र ऊ (नयाँ हाकिम वा राजनीतिज्ञ) का बीचको संवादबाट कथानक आरम्भ भई कुर्सीमा बस्ने मान्छे मोटाएको सन्दर्भबाट कथानकको अन्त भएको छ । त्यसैले कथानक रैखिक र सरल हुन पुगेको छ ।
पात्र र चरित्र
‘कुर्सी’ लघुकथाको एउटा पात्र कुर्सी हो भने अर्को पात्र ऊ । कुर्सी निर्जीव पात्र हो, तर यहाँ यसलाई सजीवीकरण र मानवीकरण पनि गरिएको छ । बोल्नु, हलुङ्गो र गुरुङ्गो वस्तुको बोध गर्नु सजीवका चरित्र हुन् । ऊ मान्छेले जस्तै बोल्छ र आफूले गरुङ्गो भार वहन गर्नु पर्दा दुःखी तथा हलुङ्गो भार वहन गर्न पाउँदा खुसी भएको छ । यहाँ कुर्सीले आम नागरिकको प्रतिनिधित्व गरेको छ ।
अर्को पात्र हो, ऊ । ऊ मान्छे हो । मान्छे शासक या नयाँ हाकिम वा कुनै मन्त्री वा सांसद वा कुनै राजनीतिक नियुक्ति पाएर आएको व्यक्ति हो । संवादक पात्र ऊ यहाँ नयाँ हाकिमको रूपमा वा नयाँ नियुक्ति लिएर आएको छ । त्यस कुर्सीमा पहिले बसेको व्यक्ति क्विन्टल परिमाणको थियो । उसलाई बोक्दाबोक्दा हत्तु भएको कुर्सी सुरुमा पातलो र दुब्लो व्यक्ति आएको देखेर केही राहत महसुस गर्दै प्रसन्न भएको देखिन्छ, तर त्यो खुसी धेरै दिन टिकेन । नयाँ व्यक्ति सुरुमा आउँदा दुब्लोपातलो भए पनि केही दिनमै उसै गरी मोटाउँदै गएको देखिन्छ । यस तथ्यलाई भण्डारीले यसरी प्रस्तुत गरेका छन्, “उसको दुःखी हुने क्रम बिस्तारै बढ्दै गयो ।” यसरी हेर्दा यहाँ कुर्सीमा बस्ने ऊ एउटा खल पात्रका रूपमा देखिन्छ ।
यसरी यस लघुकथामा कुर्सी र ऊ मुख्य दुई पात्र देखिन्छन् भने पृष्ठभूमिमा क्विन्टलको मान्छे अर्थात् गएको व्यक्ति पनि देखिन्छ, जसबाट कुर्सी प्रताडित र दुःखी रही आएको थियो । नयाँ मान्छे उसैको निरन्तरता हो । यसले यहाँ शासकीय निरन्तरताको सङ्केत पनि गरेको छ ।
उद्देश्य
प्रस्तुत लघुकथाको उद्देश्य शासक वर्ग अर्थात् राजनीतिक तथा प्रशासनिक क्षेत्रमा हुँदै आएको भ्रष्टाचारलाई देखाउनु हो, तर यहाँ प्रशासनको ‘प’, राजनीतिको ‘र’ र भ्रष्टाचारको ‘भ’ पनि उच्चरित छैन । क्विन्टलको मान्छे बोक्दा हत्तु परेको कुर्सीले दुब्लो, पातलो नयाँ मान्छे देखेर खुसी हुनु तर केही दिनमै त्यो खुसी हराउनु जस्ता परिघटना वा परिदृश्य प्रस्तुत गरेबाट प्रशासनिक, राजनीतिक वा राज्यका अन्य क्षेत्रबाट हुने भ्रष्टाचारलाई ध्वनित गरेको प्रस्ट हुन्छ ।
‘कुर्सी’ लघुकथाको कुर्सी फगत कुर्सी होइन, यो जनता जनार्दनको प्रतीक हो भने ऊ पात्र शासक हो, प्रशासक हो, हाकिम हो, मन्त्री हो, सांसद हो वा राज्यको कुनै अधिकारप्राप्त शासक वा प्रशासकको प्रतीक हो । लघुकथाले जनतालाई सुशासन दिन, जनताको सेवा गर्न गएको सेवक जसले जनताले बुझाएको करबाट दानापानी खाने गरेको छ, त्यस्ता व्यक्तिहरू अनेकौँ जालझेल गरी अतिरिक्त आमदानी गर्ने र शरीरको तौल तथा सम्पत्तिको मात्रा बढाउँदै जाने परम्परा यथावत् छ भनेर अभिव्यञ्जना गरेको छ । यही शाश्वत यथार्थको अभिव्यञ्जना गर्नु यस लघुकथाको उद्देश्य देखिन आउँछ ।
परिवेश
प्रस्तुत लघुकथा सार्वकालिक र सार्वभौम परिवेशमा उभिएको छ । शासक वर्ग अर्थात् राजनीतिक तथा प्रशासनका क्षेत्रमा हुने भ्रष्टाचार सार्वकालिक छ र सबै ठाउँमा छ । लघुकथामा न कुनै स्थानबोधक शब्द छ न कालबोधक । फेरि पनि यहाँ विशिष्ट रूपमा नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा हुने गरेको भ्रष्टाचार र सामान्य रूपमा जहाँ पनि जहिले पनि हुने भ्रष्टाचारको परिवेश रहेको छ । प्रस्तुत लघुकथाको कथ्य वा उद्देश्यका निमित्त यस्तो परिवेश अनुकूल देखिन्छ ।
भाषाशैली
बाह्य दृष्टिविन्दुको उपयोग गरिएको प्रस्तुत लघुकथामा सरल र सहजबोध्य भाषाको प्रयोग गरिएको छ । कुनै पनि शब्द अप्रचलित र जटिल छैनन् । वाक्यहरू छोटाछोटा छन् । जम्मा तीनवटा संवाद रहेकोमा पहिलो र तेस्रो संवादमा चारचार शब्दमात्र छन् भने दोस्रो संवादमा बाइस शब्द रहेका छन् । प्रस्तुत लघुकथामा नाटकीय शैलीको उपयोग गरिएको छ । आरम्भमा दुब्लो मान्छे (ऊ) लाई देखेर प्रसन्न भएको कुर्सी केही समयमै दुःखी भएको देखाएर लघुकथाकारले नाटकीय शैली अवलम्बन गरेका छन् । यहाँ कुर्सीलाई सजीवीकरण र मानवीकरण मात्र गरिएको छैन, यसलाई तमाम शोषित, पीडित, उत्पीडित, दमित सर्वसाधारण वा लोकको प्रतीकका रूपमा पनि उभ्याइएको छ । सामान्यतया कुर्सीलाई लेखकहरू भ्रष्टताको प्रतीकका रूपमा लिने गर्दछन् भने यहाँ त्यसको विपरीत पीडित वर्गको प्रतीकका रूपमा उपस्थापन गरिएको छ । यो भण्डारीको अनुकरणीय लघुकथाशिल्प हो । निष्कर्ष
समकालीन यथार्थको सूक्ष्म चित्रण गर्ने काममा लघुकथाकार हरिप्रसाद भण्डारी पोख्त देखिन्छन् । यसको एक उदाहरण ‘कुर्सी’ पनि हो । प्रस्तुत लघुकथाको कथानक छोटो भईकन पनि चोटिलो र मार्मिक छ । लघुकथा जति कम समयमा पढेर भ्याइन्छ, यसले छोड्ने प्रभाव र मस्तिष्कमा दिने झङ्कार त्यत्तिकै दूरगामी रहने देखिन्छ । लघुकथालाई खिपेर अत्यावश्यक तथा कम शब्दमा मात्र प्रस्तुत गरिएको छ । एउटै सानो सरल यस लघुकथामा भ्रष्टाचारको सार्वभौम शाश्वत परम्परालाई ध्वनित गरिएको छ । कुर्सीलाई यहाँ शोषित–पीडित वर्गको प्रतीकका रूपमा र कुर्सीमा बस्ने ऊ पात्रलाई शासक वर्गका रूपमा उभ्याइएको छ । लघुकथा छोटो भईकन पनि पूर्ण छ र बृहत्तर सन्देश दिन सफल देखिन्छ ।
--

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु