कल्पना ‘परी झरना’को

- राजेन्द्रमान डंगोल

‘दिस इज द ग्रेट मोमेन्ट अफ माई लाइफ !’
कोतोबाट बिहान आठ बजे मेताका लागि पाइला उठाउनु अघि सेल्फी लिँदै फिलिप डेभोसले भने ।
प्रसन्न मुद्रामा देखिन्थे उनी ।
गोरो वर्णका मान्छेहरू आफैँमा उज्याला । त्यसमाथि पनि खुसी फक्रँदा त झनै उज्यालो देखिने, छ्याङ्ङ खुलेको हिमालजस्तै ।
उनले अगाडि भने– ‘नार–फु वाज माई ड्रिम डेस्टिनेसन । आइ ह्याड बिन लुकिङ फर दिस सिन्स अ लङ ब्याक । लेट्स स्टार्ट द जर्नी !’
२,६०० मिटरबाट उठाएको पाइलालाई ३,५७० मिटरको उचाइमा पुगेर बिसाउनु थियो । दूरीमात्र पन्ध्र कि. मि. । उकालो र ओरालो, अनगिन्ती पच्याङ र घुम्ती, छङछुर भीर, उबडखाबड खोँच र घना जङ्गलहरू पार गर्नुपर्ने ।
मनमा लागिरहेको छ– ‘खुट्टामा नील परे पर्र्ला, झ्याउरेमा ननाची छोड्दिनँ’ भनेझैँ बरु खिइयोस् मेरा जुत्ताका तलुवा, उठून खुट्टाभरि ठेला तर मेतासम्म मात्र त के, पूरै यात्रा सफल नबनाई छोड्दिनँे ।
पहाडको काँध हो– मेता । र, भिरालो थली पनि ।
“मेथा’ बाट मेता भएको रे । स्थानीय भाषामा ‘मे’ भनेको ‘बाँस’ र ‘था’ भनेको ‘भिरालो पाखा’ रहेछ । पहिले त बाँस घारी थियो रे यहाँ । पहिलेदेखि नै यो ठाउँमा गाईवस्तु चराउने र हिउँदभरिका लागि गोठ राख्ने गरिन्थ्यो । नार–फु पदमार्ग सञ्चालनमा आएपछि होटलहरू बन्न थाले ।” एक जानकारले बताए मलाई ।
ओखरलाई तिब्बती भाषामा ‘ताको’ र स्थानीय गुरुङ भाषामा ‘कुत’ु भनिँदो रहेछ । ‘कुतु’ धेरै फल्ने भएकोले ठाउँको नाम पनि कुतु राखियो रे । अपभं्रश भएर कोतो भएछ ।’ कोतोका होटल व्यवसायी छिरिङले भनेका थिए ।
चारैतिर भीमकाय पहाडका दिवार । खोँचकोे बस्ती । बिहान झुल्केको घामलाई दिन नढल्किँदै अन्नपूर्ण शृङखलाले छेकेपछि फेरि घामको मुख हेर्न अर्कोे बिहान कुर्नुपर्ने । अन्नपूर्णको छायाँ परिरहन्छ कोतोमा । बिहानको झुल्के घाममा रमाउँदै ऊर्जा सँगालेथ्यौँ हामीले ।
अन्नपूर्ण चक्रीयमार्गसँग त बीसौँ वर्ष पुरानो नाता थियो मेरो । र, पनि पहिलो पटक पदार्पण गर्दै थिएँ नारपाभूमिमा ।
कोतोको प्रहरीचौकीमा नाम दर्ता गराएर पाइला सार्नेबित्तिकै आयो मस्र्याङ्दी नदी । नार–फु क्षेत्र र अन्नपूर्ण चक्रीयमार्गको साँध ।
तिब्बती भाषामा ‘म्हरस्यो’को अर्थ हुन्छ– विधवा ।
“उतिबेलाको कुरा हो, चामेमा एउटी विधवा नारी बस्थिन् रे । बसाइँसराइको क्रममा बोन गुुरुहरूले त्यहीँ नजिक आएर धनु काँडको पुल राखी दक्षिणतर्फ जाने बाटो बनाएका थिए रे । पुल कहाँ बनाएको छ भन्दा ‘म्हरस्योको दी’ अर्थात् ‘विधवाको घर नजिक’ भन्दाभन्दै मस्र्याङ्दी भएछ ।” एक जानकारले भनेका थिए ।
मस्र्याङ्दीकै अर्को नाम हो– कर्मदा ।
स्वच्छता उस्तै, जवानी उस्तै र लय उस्तै कर्मदाको । बीसको उन्नाईस हुँदैन कहिल्यै । हिमाल हाँसिरहेसम्म जवानी कहिल्यै ढल्दैन तर जति बेगिए पनि त्रिशूलीसम्म मात्र हो कर्मदाको गन्तव्य । त्यसपछि बिटुलिन्छे, यति सङ्लो जवानी बोकेकी कर्मदा । यात्रा छोटो छ बिचरी कर्मदाको । झोलुङ्गे पुलको बीचमा पुगेर एकछिनसम्म कर्मदाको धुन सुनिरहेँ मैले । यात्राको पहिलोे सेतु थियो त्यो । कर्मदाले सिर्जेको कर्णप्रिय धुन ठोक्किँदै थियो कानमा । एकाग्र थिएँ म त्यो धुनमा ।
गल, छिनो र घनले फोर्दै थिए चट्टानका छाती र छिचोल्दै थिए अजङ्गका पहरा श्रमिक दाजु–भाइहरू ।
एकछिन टक्क रोकिएँ म ।
अक्करेभीरमा सडक बनाउने कर्मठ हातहरूलाई मनले नमन गर्दै सोधेँ–
“सडक खन्दै हुनुहुन्छ ?”
“ज्यू ।”
“कहाँसम्मको सडक ?”
“क्याङअम्म ।”
भाषा सुन्दा उनीहरू जुम्लाका हुन् कि जस्तो लाग्यो ।
सोधे, “तपाईंहरू जुम्लाको हो ?”
“ज्यू ।
जुम्लामा कहाँ हो घर ?
हमी सिँजाका र्हौँ ।
नेपाली भाषाको उद्गम भन्ने याद आयो ‘जुम्ला’ भन्ने बित्तिकै । फेरि सिँजा सभ्यताको पनि छुट्टै महङ्खव रहेको छ नेपाली समाजमा ।
अति मिहिनेती हुन्छन् जुम्लीहरू । कतिपय त घुमन्ते व्यापारीका रूपमा समेत चिनिन्छन् । कोही हिङ, शिलाजित लगायतका ओखती बेच्छन् । कोही राडीपाखी, सतरन्जा र गलैँचा । तिनै जुम्लीहरू मनाङको खोँचमा पसिना चुहाउँदै छन् यतिखेर । उनीहरूले पसिना चुहाइदिएपछि ठेकेदारको नाफा पक्का । रोजगारीका लागि आएका उनीहरू बाटो बनाउँछन् र फर्किहाल्छन् । भोलि यो बाटोमा चारपाङ्ग्रे मोटर गाडीको साम्राज्य चलाउने त अरू नै हुन् । गरिब र निमुखाको मर्म गाउँदै हिँड्ने जनवादी गायक स्व. खुशीराम पाख्रिनको गीत गुन्गुनाएँ मैले–
‘गैँची बेल्चा उचालेर
पहरालाई छिचोलेर
ठेकेदारले पैसा कमायो
के खायो नि कुल्ली दाइले
के पायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो........’
पाख्रिन जसले मान्छेमा चेतना भर्थे । गीत गाएरै रगत उमालिदिन्थे । सामाजिक विकृति र विसङ्गतिका विरुद्ध लड्न पे्ररित गर्थे । यस्तै गीत गाउँदागाउँदै समाप्त भएथ्यो उनको इहलीला । पाख्रिनको यो गीत सुन्दा, उनी आफैँले बाँचेको जिन्दगी र अहिलेको राजनीति देख्दा लोकतन्त्रको सुविधाभोग ठेकेदारले नै गरिरहेको प्रतीत हुन्छ ।
क्याङसम्म सडक पुगेपछि नार–फु क्षेत्रको पदयात्रा अवधि दुई दिन त घट्छ नै । अझ नार र फुसम्मै पुगे त पदयात्रा गर्नै परेन । दुर्गमता मेटेर सुगमता कोरिदिने थियोे यी विकट बस्तीहरूमा । विकास हो, रोक्न त मिल्दैन तर यहाँका जङ्गली जनावर, पन्छी र वातावरणमा भने के असर पर्ला ! फेरि ‘द लस्ट भ्याली अफ नेपाल’ भनेर चिनिएको मनाङको नार–फुलाई सडकसँगै भित्रिने आधुनिकताले छोएपछि पर्यटकीय आकर्षणको रूपमा रहेको यहाँको पृथक संस्कृति र परम्परा अक्षुण्ण रहिरहला त ? तर्कनाका तरङ्ग उठ्दै थिए मनमा ।
कर्मदा पार गरेपछि आयो नारखोला । बगिरहेकी थिई कर्मदाकै जस्तो बैँस बोकेर, उस्तै गति र लयमा ।
पुल तर्ने बित्तिकै नारखोला देब्रे पर्न जान्छ । सल्लाका पातहरू छेडेर कलिला घामका किरणहरू बाटोसम्म आइपुगेका छन् । उचाइ लिँदै थियौँ हामीहरू, नारखोलाको गुलाबी उमेर नियाँल्दै । कलिलो घाममा हिँड्नको मज्जा नै छुट्टै । पृष्ठभूमिमा गुञ्जिरहेको थियो खोलाको धुन र चराचुरूङ्गीले गाएको मधुर गीत ।
नारखोलाले भनिरहेझैँ लाग्थ्यो– ‘ठीक समयमा नार–फु आएका छौ तिमीहरू । रमाऊ यो शान्त प्रकृतिमा ।’
गत साल अपि हिमाल ट्रेकिङको सिलसिलामा चमेलिया नदीको किनारकिनारै हिँँड्दा खाइकोटदेखि दोमलसम्मको बाटोको याद आइरहेछ यतिखेर । जङ्गल उस्तै; पदमार्गको भिरालोपन उस्तै । पदयात्रा गर्नु भनेको रूपान्तरण गर्नु रहेछ, प्राकृतिक रङहरूमा स्वयम्लाई । त्यस्तै लाग्थ्यो नारखोलाको किनारमा पाइला चाल्दै गर्दा । कुतुको छहारी ओढ्दै हिँड्नुको चरम आनन्द आइरहेको थियो । अगोचर कीटपतङ्गको क्षीण आवाजसँगै गाएथेँ । उठाएथेँ पाइला, रङ्गीबिरङ्गी पुतलीको स्वाधीन चालसँगै । आह्लादित थिएँ म, स्वप्निल संसारमा स्वयम्लाई पाउँदा ।
बाटोको डिलमै देखिए, उन्मुक्त जीवन बाँचिरहेका एकजोडी लङ्गुर । नहेरी रहन किन पो सकिन्थ्यो र तिनीहरूको चर्तिकला । क्या जिन्दगी बाँदरहरूको ! क्या विशुद्ध प्रेम ! यसरी नै बाँच्न सिकाएको छ यिनलाई प्रकृतिले । बाँच्नु मात्र पर्छ, केके देख्नुपर्छ केके ! सायद फिलिपले पनि देखे होलान् त्यो दृश्य । साँच्चै, यिनीहरूको बीचमा बिछोड हुन्छ कि हुँदैन होला है ? आफैँसित सोधेथेँ मैले ।
अगाडि थिए– फिलिप र उनका छोरा म्याक्सिम । बाउ–छोराकै खाइलाग्दो ज्यान र लामालामा खुट्टा । लमकलमक लस्किरहेका थिए उनीहरू हात्ती लस्केझैँ । उनीहरूको एक पाइला बराबर हाम्रो दुई पाइला भएपछि सँगै हिँड्न सक्ने कुरै भएन । नेपालमा पदयात्रा गर्ने सपना पूरा गर्दैगरेका ती बाउ–छोराका उत्साह र उमङ्गका पाइलाहरूलाई भेट्न मेरो बुताले भ्याएन । यही वर्षको जुलाईमा तीन दिने पञ्चासे ट्रेकिङ गरेदेखि यता उकालोको मुख देखेको थिइनँ मैले । बोसो लागेर होला, लाटिएछ ज्यान मज्जैले । बा’ले भन्नुभएको कुरा सम्झेँ– ‘ज्यानलाई धेरै सुख दिनुहुँदैन ।’ बसीबसी खाएको निस्कँदै थियो । ज्यान तात्न थालेपछि तपतपी चुहिँदै थियो बोसो, पसिना बनेर ।
उनीहरूसँगसँगै थिए राम तामाङ पिठ्यूँमा तीस किलोको बोझ बोकेका । धन्न इज्जत धानिदिएका छन् उनले । नत्र पाहुना अघिअघि, हामी पथप्रदर्शक चाहिँ पछिपछि । देख्नेले पनि के भन्दा हुन् ! योभन्दा लाजमर्दो कुरा के हुनु र ! भर्खरै ‘ग्रेट हिमालयन ट्रेल’मा पैँतालीस दिनको भारी खेपेका उनी नार–फुमा दश दिनको लागि थाप्लो कुच्याउँदै थिए । तैपनि कम स्फूर्ति थिएन उनमा । हो, साँच्चै ज्यान त यस्तो पो हुनुपर्छ । जति हिँड्यो त्यति नै फुर्तिलो बन्ने । लाग्यो– सही हो रहेछ बा’को कुरा ।
पछाडि थिए जयनाथ भण्डारी आफ्नै तालमा ।
बडो आनन्द हुन्छ एक्लै हिँड्नुमा पनि । प्रकृतिसँग सम्वाद गर्दै हिँड्नुको मज्जा न हो । उनी तीस वर्षदेखि निरन्तर पदयात्रा गर्दै आइरहेका अनुभवी पथप्रदर्शक र ट्रेकिङ गाइड ट्रेनर पनि । उकालो र ओरालोको यात्रा सामान्य कुरा हो उनका लागि । अन्नपूर्ण, लाङटाङ, एभरेस्ट, मनास्लु ट्रेकिङ त पानी पँधेरो हो यिनका लागि । चराप्रति विशेष मोह छ उनमा । चराप्रेमी उनी पाइलैपिच्छे दुर्बिन सोझ्याउँदै थिए चारैतिर । बिहानको कलिलो घाममा खेलिरहेका चराहरू हेर्ने राम्रो सुअवसर थियो उनका लागि ।
एक घण्टा हिँँडेपछि पहराको आडमा पुगेर पहिलो पटक ‘ब्रेक’ लिए फिलिप र म्याक्सिमले ।
“सा भा राज ?” फिलिपको प्रश्न मलाई ।
उनीहरू बेल्जियमका फ्रेन्चभाषी । “तिमीलाई कस्तो छ?” भनेर सोधेका थिए फिलिपले । काठमाडौँस्थित फ्रान्सेली साँस्कृतिक संस्थानमा सातौँ तहसम्म पढेकोले फ्रेन्च भाषा रामैै्र बुझ्छु म । भाषामध्येको मीठो भाषा हो यो । फ्रेन्चमै संवाद गर्न मनपर्छ मलाई पनि ।
“सा भा !” अर्थात् “ठीक छु !” फ्रेन्चमै मेरो जवाफ ।
कुरा गर्दै थियौँ हामी । टुप्लुकिए चराप्रेमी जयनाथ ।
नारखोलाले बजाइरहेकोे धुनमा हठात् स्वर खापे उनले–
‘नारखोलाको तिरतिरै जाने हो
माया पाए सँगसँगै लाने हो......’
मायाको खुँदो दलेर मनको लड्डु क्वाप्पै खाए जयले । आखिर लड्डु न हो ! खाने छुट जो–कोहीलाई पनि छ । जयलाई किन नहुनु !
प्रकृतिको मात चढेथ्यो उनलाई । प्रकृतिको विशाल ठेकीभित्र प्रकृतिकै लय र तालमा नाच्दै थिए उनी मारुनी–मदानीझैँ बनेर । यसरी नै सिर्जना गरेको भए यिनको नियात्रा मात्रै एक डोको भइसक्थ्यो होला । दुर्बिन सोझ्याउँदा सोझ्याउँदै लेखनलाई भुसुक्कै बिर्से यिनले ।
लामो समय ब्रेक लिँदा अल्छी भइन्छ भनेर धेरैबेर रोकिन्नन् फिलिप । उमेरले सत्तरीको उकालो चढिरहेका उनी जोशिला पाइला टेकिरहेका छन् पदयात्राको उकालोमा । हम्मेहम्मे परिरहेको छ उनीसँग हिँड्न हामीलाई ।
‘आँ किलोमेथ्र आ पिए सा युज, सा युज
आँ किलोमेथ्र आ पिए सा युज ले सुलिए
दु किलोमेथ्र आ पिए सा युज, सा युज
दु किलोमेथ्र आ पिए सा युज ले सुलिए ।’
बाल गीतमा गुन्गुनाए म्यक्सिम । खुब आनन्द आउँछ यो गीत सुन्दा । हिँडाइसितै सम्बन्धित छ यो । प्रायः फ्रेन्चभाषीहरू पदयात्रामा यो गीत गुन्गुनाइरहेका हुन्छन् । गीतको भाव हो– ‘एक किलोमिटरको पैदलले जुत्ताको तलुवा मात्र खियाउँछ, दुई किलोमिटरमा जुत्ता नै थोत्रिसकेको हुन्छ...........’,
गोरो वर्णको मान्छे, कुहिरो आँखा, सलक्क परेको ज्यान । कम हिस्सी छैन केटाको, सिनेमाको हिरोजस्तै । फेन्च लवज आउँछ अग्रेजीमा । रसिक छन्, उनन्तीस वर्षीय म्याक्सिम । बोलिरहनुपर्ने, हँसाइरहनुपर्ने र हाँसिरहनु पर्ने । यस्तै मान्छे मन पर्छ मलाई पनि ।
बाटोमा प्लास्टिक, खैनी, चकलेट र चुरोटका खोलहरू यत्रतत्र छरिएका छन् । म्याक्सिम ती सबलाई उठाउँछन् । प्लास्टिकको थैलोमा कोच्दै भन्छन्– “फोहर त म देख्नै सक्दिनँ ।”
सचेत छन् उनी वातावरणप्रति । फोहरको सही व्यवस्थापन हुनुपर्छ भन्ने कस्तो राम्रो सोच ! देश हाम्रो, पर्यावरण हाम्रो तर माया हामीलाई भन्दा उनलाई बढी । पदयात्रासँगै स्वयम्सेवा पनि गरिरहेका छन् उनी ।
उनी हातले फोहर टिप्दै मुखले प्रश्न तेस्र्याउँछन्– “ट्रेकिङ ट्रेल किन यति धेरै फोहर ? कसले फाल्छ यी सब ? यसले पदमार्गको शोभा दिँदैन ।”
प्रश्न जति समान्य छ यसको जवाफ दिनु त्यत्तिकै कठिन हुन्छ । मलाई थाहा छ, यो गरेको त नेपालीहरूले नै हो । तर कसरी भन्ने ? ’आङ कन्याएर छारो उडाउनु’ भनेजस्तै । तैपनि सकसपूर्ण रूपमा जवाफ दिन्छु– “यहाँ धेरै मान्छेहरू हिँड्छन् । कसले फाल्छन् पत्तै हुँदैन ।”
उनले केही चाउचाउको खोललाई नियाँल्दै भने– “ओ ! मेड इन कोरिया ! इट मस्ट बि थ्रोन बाई द कोरियन्स । ह्वाट ननसेन्स टुरिस्ट्स ।”
‘मेड इन कोरिया’ लेखिनुको अर्थ कोरियनहरूले नै फालेको भन्ने हुँदैन । कोरियनहरूले नेपालीलाई दिन्छन् र खाएपछि व्यवस्थापन गर्न जान्दैनन् । यही थियो वास्तविकता । यस्तो कुरा म्याक्सिमलाई के थाहा ! निःशब्द थिएँ म, उनले त्यसो भन्दा । पर्यटकहरू त वातावरणप्रति सचेत हुन्छन् नि । नहुने त हामी नै हो ।
पर्यटन क्षेत्रमा लागेर पदयात्रा व्यवसाय सुरु भएको चौध वर्ष भइसक्यो । कम्तीमा ठाउँठाउँमा ‘ट्रयास बिन’ राखिदिए यति धेरै फोहर हुँदैनथ्यो कि ! मनमनै गुन्छु म ।
अचेल सगरमाथा क्षेत्रमा ‘क्यारी मी ब्याक’को अवधारणा आएको छ । त्यो पनि स्वीडेनी नागरिकले ल्याइदिएको । नाम्चेबाट स्याङ्बोचे भ्यू प्वइन्ट जाने बाटोमा बसेर पदयात्रीहरूलाई ती विदेशी नागरिक आफैँले ब्रिफिङ गर्छन् र नाम्चेमा सङ्कलन गरेर पोकापोका बनाइएको फोहरलाई लुक्लासम्म लगिदिन अनुरोध गर्छन् ।
नार–फु पदयात्राका लागि प्रतिपर्यटक सय डलर असुल्छ सरकार । रु. तीनहजार तिर्नुपर्छ अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना(एक्याप)लाई । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)लाई तिर्नुपर्ने रु. एक हजार त छँदै छ । तैपनि ठाउँठाउँमा ‘ट्रयास बिन’ राख्नुपर्ने आवश्यकता कसैले देख्दैनन् । जे कुरा पनि विदेशीकै भर पर्नुपर्ने कस्तो विडम्बना !
००००
“ए. ए... ए.... ! अगाडिको एकैछिन रोकिनू त ! म अलिकति देबे्र फेरो लिन्छु ।”
फलामे तारको लठ्ठा बोकेर उकालो लाग्दै थिए सत्र भाइ । सबैभन्दा पछिल्लोको आवाज थियो त्यो । सय मिटर लामो लठ्ठालाई दोबारेर दुबैपट्टि काठको डन्डी बाँधी टाउकोमा नाम्लो लगाएर बोकिरहेका छन् उनीहरू । खुबै संयमता अपनाउनु पर्छ उकालो एवम् घुमाउरो बाटोमा । अन्यथा लड्ने सम्भावना हुन्छ । थर्थरी काँपिरहेका थिए उनीहरूका पयर । तैपनि सम्हालेका थिए– आफैँले आफैँलाई ।
मैले पुछारको जवानसँग सम्वाद गरेँ–
“कहाँ लाँ’दै हुनुहन्छ यो लठ्ठा ?”
“फु गाउँमा पुल बनाउन ।”
“कति लामो छ यो ?”
“सय मिटर ।
“तपाईंहरू फुकै बासिन्दा हो ?”
“होइन ।”
उनीहरू कोही धादिङ र कोही गोरखाका ।
कहाँका मान्छे कहाँ आएर पसिना चुहाइरहेका छन् । जीवनको नियति न हो । स्वाभाविक लाग्छ, उनीहरूले चुहाएको पसिना देख्दा । रोजगारीको लागि घरपरिवारबाट टाढिनुको पीडा महसुस गर्न सकिन्छ । उनीहरूले पसिना चुहाइदिए फुबासीले पुल तर्न पाउँछन् । सोच्छु– अरूले तर्ने पुलको लठ्ठा बोक्दाबोक्दै जीवन खिइँदै छ उनीहरूको मानौँ, तुरिँदै गएको चरोटको ठुटाजस्तै । सुख र समृद्धिका सपनाहरू त उनीहरूका पनि होलान् नि ! सायद पसिनासँगसँगै बगिरहेछन् समृद्धिका सपना ।
ती जवानहरूलाई उछिन्यौँ हामीले ।
दश बजेको थियो, छ्याछ्याको नेचरल रेस्टुरेन्ट एन्ड लजमा पुग्दा । पारिलो घाम ताप्दै चिया पिउने कुरामा सहमति भयो हाम्रो ।
चारवर्षको छोरो काँधमा हालेर आइपुगे अघिल्लो साँझ कोतोको होटलमा भेटिएका मनोज तामाङ । साथमा थिइन् उनकी श्रीमती सोनाम चिची । उनीहरू फुका बासिन्दा ।
अघिल्लो साँझ डाइनिङ हलमा बसेर आगो ताप्दै गर्दा मनोजले बेलीबिस्तार लगाएका थिए– “दश वर्षअघि कामको खोजीमा म पूर्व हिलेबाट एकजना दाजुसँगै फु आएको थिएँ । काम गर्दै जाँदा सोनामसित माया बसेपछि यो ठाउँ छाड्नै मन लागेन । विवाह ग¥यौँ । जायजन्म पनि भयो । बाबु–आमा उतै छन् । मचाहिँ फुको बासिन्दा भएको छु ।”
माया भन्ने चिज नै यस्तै ! अचम्मकै रसायन । पूर्व र पश्चिमका मान्छेहरूलाई जोड्न सक्ने । समर्पण छ मनोजको प्रेममा । उनी भन्थे– “ठूलै सङ्घर्ष गरेका छौँ हामीले आजको दिनसम्म आइपुग्न । अलिखित भएर मात्र हो कहानी लेख्ने हो भने त हाम्रो प्रेम लैला–मजनु र मुना–मदनको भन्दा कम चानचुने छैन ।”
मामा–चेला, फुपू–चेला चल्ने ठाउँहरूमा छोरीको हकदार कोही अरू नै हुन्छन् । यस्तो संस्कार भएको ठाउँमा टाढाको मान्छे आएर केटी पट्याउनु सजिलो त पक्कै होइन ।
“अब यो सूचीमा मनोज–सोनाम पनि थपिएको छ ।” मैले भनेँ ।
“खाना पनि खाएर जानुस् दाइ । उता छाम्जीमा त बाह्र नबजी घाम आउँदैन ।” रेस्टुरेन्टकी साहुनी भन्दै थिइन् ।
उनको कुरा मानेनौँ हामीले ।
लाग्यौँ छाम्जीतर्फ ।
साँच्चै हो रहेछ । साढे एघार बज्दासम्म पनि पहाडको ओझेलमै थियो छाम्जी ।
किचनमा व्यस्त थिइन् एउटी महिला । चुलो नजिकै थिए एकजना पाको मानिस । मालिक भन्ठानेका थिएँ । होइन रहेछन् । उनको नाम रहेछ च्याङ्बा ।
खाना पाकुन्जेल उनीसित कुराकानी भयो मेरो–
“च्याङ्बा दाइको घरचाहिँ कहाँ हो नि ?”
“धादिङको रि भन्ने ठाउँमा ।”
“कति भयो यता बसेको ? ”
“बीस वर्षको थ्यो म । बाउ–आमासित ह्याँ आयो । उनेरू नुन लिन भोट गयो । फर्केन । अनि म यतै बस्यो नि ! ”
“के काम गर्नुहुन्छ ? ”
“साहुको घर बनाउने सामान र खानेकुरा बोक्ने । ”
“कति वर्षको हुनु भयो त ? ”
“साठी भयो नि । पहिलैदेखि पैसाको मया गारेन । ब्या पनि गारेन । आहिले बूढो भायो । आबु त भारी पनि बोक्न साक्तैन । एक्लो जीवन बिताइरा’छा ।”
मान्छेपिच्छेका आ–आफ्नै पीडा । पीडालाई लुकाउन नसकेको यथार्थ झल्किन्थ्यो उनको अनुहारमा । अहिले त जसोतसो भाँडा माझेरै खाइरहेका छन् । उनको बुढ्यौलीका दिनहरू कस्ता होलान् । चिन्ताले भतक्क पोल्यो मेरो मन । ‘बिचरा’ भन्नुबाहेकको अरु के नै गर्न सक्थेँ र म !
आखिर एक घण्टा लाग्ने रहेछ खाना तयार हुन । त्यतिखेरसम्म त भोक पनि लागिसकेको हुन्थ्यो । छ्याछ्यामा भए पारिलो घाममा बसेर खान पाइन्थ्यो । थ्री सिस्टर रेस्टुरेन्टमा खाना खाएर छाम्जी छाड्नु र घामले मुख देखाउनु एकैचोटि पो भयो ।
फेरि लाग्यौँ नारखोलाको किनारैकिनार ।
अझै साढे तीन घण्टा हिँड्नु छ, एउटा उकालो र अर्को कठिन उकालो । ठाउँठाउँमा चट्टान कोपेर बनाइएको छ बाटो । हुलाकी ओडारदेखि धर्मशालासम्मको सवा घण्टाको बाटो सजिलो र दृश्यहरू अति नै मनोरम ।
अगाडि आए खैरा पहाडका शृङखला । छमछमी नाचिरहेका लुङ्दरहरू ।
फेरि आए हिउँको डाम बसेका काला र निला निर्जीव पहाडहरू । हिउँकोे सिन्दुर भरिएका छन् अचेल तिनका सिउँदामा । तल हरियालीसहितको सौन्दर्य, माथि हरियालीबिनाको सौन्दर्य । हरियाली भएपनि उजाड भएपनि प्रकृति आफैँमा सुन्दर हुँदोरहेछ । प्राकृतिक सौन्दर्यको अनुपम खानीमा थियौँ हामी । आहा ! धूपी र सल्लाको क्या मधुर वासना !
बाटैमा छङ्छङिरहेको छ– रुप्सिलो छहरा । पहरामा छहराको दृश्य ! देख्दा अप्सराहरूको हुल लामबद्ध भएर पहाड ओर्लेझैँ लाग्ने । लठ्ठै पर्छु म । आफैँलाई प्रश्न गर्छु– तर किन उपयोगिता लिन सकिरहेका छैनौँ हामीले यति सुन्दर झरनाकोे ?
सिक्किमको ग्यान्टोक नजिकैको एउटा धमिलो पानीको झरनालाई उनीहरूले ‘वनझाँक्री फल’ नाम दिए । थप आकर्षक बनाए झरनालाई परिमार्जन गरेर । वनझाँक्रीको आकृति बनाए दुई थान । पोखरी बनाए । चार थान मनुमेन्ट बनाए । पच्चीसवटा पसल बनाए । आज दिनहुँ दशौँ हजारको संख्यामा पर्यटकहरूको घुइँचो आउँछन् ‘वनझाँक्री फल’ हेर्नकै लागि । एक करोड सतासी लाख खर्चेर बनाएको त्यो नवीन पर्यटकीय उपजले वार्षिक तीन करोड प्रतिफल दिइरहेको छ सिक्किमलाई । वनझाँक्री भन्ने त सुनिएकै कुरा हो । यही लोककथालाई धार्मिक पर्यटकीय उपजका रूपमा फाइदा लिन सके उनीहरूले । तर हामी नविन पर्यटकिय उपजको त कुरै छाडौँ, आफैँसँग भएका प्राकृतिक सम्पदालाई सदुपयोग सकेका छैनौँ न कि सम्पदा सदुपयोग गर्नसक्ने मानव संसाधन नै बनाउँन सकेका छौँ ।
के नाम हो यो कुन्नी यो झरनाको । नाम जे भएपनि यसलाई ‘परी झरना’ नामाकरण गरेर सिक्किमको ‘वनझाँक्री फल’को जस्तै मिथकीय फ्लेवर दिन सके नार–फु पदयात्राको औचित्य अझै बढ्थ्यो कि ! हिँडिरहेँ म ‘परी झरना’को कल्पना गर्दै ।
फिलिप, म्याक्सिम र राम फेरि पनि अगाडि नै । जय र म पछाडि पछाडि । उनीहरूको गतिलाई कसले रोक्नु ! मनमा लागिरहेको थियो– ‘राम नभइदिएको भए त लाजै मर्नु पो हुने रहेछ ।’
धर्मशाला काटेपछिको काठेपुल तर्नासाथ सुरु भयो कठिन उकालो ।
अन्न र पानीको शरीर कतिबेला के हुन्छ, पत्तै नहुने ! पाइला उठाउँदै गर्दा अनायासै मेरा दुबै तिघ्रामा मुस्लो बटारिन थाले, चुँडिएलाजस्तै हुनेगरी । ठानेँ– ‘उकालोमा कहिलेकाहीँ यस्तै हुन्छ; एकछिनपछि त ठिक होला ।’
तर भएन ।
हुँदाहुँदा पाइला सार्नै नसकिने भो । यसै त उनीहरूभन्दा ढिलो, झन् मांसपेशीको दुखाइ । अब के हुने होला ? आज मेता पुग्न सक्दिनँ कि भन्ने चिन्तामा डुबेँ म ।
“दुई महिनाअघि डेङ्गी लागेर थला परेको थिएँ । कतै त्यसैको कमजोरीले त होइन ?” सहयात्री जयलाई सोधेँ मैले ।
हामी दुईले यसअघि धेरैपटक सँगै पदयात्रा गरिसकेका थियौँ तर यस्तो त कहिल्यैँ भएको थिएन । अचम्भित थिए उनी ।
उनले मेरो दुबै तिघ्राको मांसपिण्डमा बुढी औँलाले बेसरी थिचिदिए । त्यसपछि पाइला उचाल्न केही सजिलो भयो तर पन्ध्र पाइला हिँडेपछि फेरि त्यस्तै कष्ट । प्रत्येक पन्ध्रपन्ध्र पाइलामा उनले त्यसरी नै थिचिदिन्थे । एवम् रितले हिँडिरहेँ दुई घण्टाको उकालो ।
साथमा जय नभएको भए कन्तबिजोग नै हुनेरहेछ मेरो ।
अन्ततः पुगियो मृेताको डिलमा । शरीरमा भएको ताकत लगभग पूरै सकिएको भान भइरहेको थियो । तर त्यहाँ पुगेपछिको आनन्द छुट्टै ।
सामुन्नेको हरिया पहाड । त्योभन्दा पछाडिका निलिमा पोतिएका पहाडहरू । त्योभन्दा पनि पछाडिका सेता पर्वत र पर्वतीय द्वारबाट देखिन्छ निलो आकाश । नरोकिईकन सुखै पाइएन । आहा, कति सुन्दर ! कसरी गरुँ म यो दृश्यको बयान !
डिकी होटलको आँगनको डिलमा बसेर हामीतिर आँखा तान्दै थिए राम ।
००००
साढे तीन बजेको थियो होटल पुग्दा ।
“दिस स्टिप ड्रेन्ड अल अफ माइ इनर्जी ।”
थाहा भयो, मलाईजस्तै भएको रहेछ फिलिपलाई पनि ।
उनी मलाई सोध्दै थिए– “ह्वाट अबाउट यु ?”
आफ्नो हालत बताएँ ।
समग्रमा नौ सय सत्तरी मिटरको उचाइ उक्लेका थियौँ हामी ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु