संशयको कुहिरो

- श्रवणकुमार ढुंगाना

संशयको कुहिरो
टप्केको छ उज्यालोको मिर्मिरे छोप्दै
उ आफैंलाई थाह छैन आफ्नो दिशा
वहन्छ वेटुंगो विदिशा हावासँग-
घरी स्थिर, घरी चंचल।

यो अनन्तकै निरन्तरता हो
तैपनि
चराचर जगत अभ्यस्त छैनन् यसमा
निकाल्छन् अधिरताको चीत्कार
चिन्न नसकेर छिमेकैको प्रियतमाको मुहार!
कुण्ठाको कुहिरो जेलिएर पातहरूमा-
धन्न निरपेक्ष छ रूख
मानिस बरू अत्यास बोकेर दौडदा
ठोक्न पुग्थ्यो बिजुलीको खाँबोमा टाउको।
तर, नियतिको निर्घात बज्रपात जस्तो
त्यहाँ
केही अबोध किराहरू पासो लाग्न पुग्छन्!

घामले अस्ताउन पनि छोड्दैन
कुहिरोले अल्मल्याउन पनि छोड्दैन
यसमै रूमल्लिनेहरू दिग्भ्रमित भए होलान्
र बनाउँदै होलान् अरुलाई पनि,
यसलाई चिर्छु भन्नेहरू अलिपर प्रवचनमा
अर्को भ्रमले भएका होलान् अल्हादित
तमसोमा ज्योतिर्गमय
सुनाउँदै
एक हुल मानिसहरू जम्मा गरेर,
तर
यसलाई यस्तै छोड्नेहरू
अस्ताउँदा होलान् कतै
नपरी कसैका आँखामा।
***** *****
संशयको कुहिरोमा
बादलिएको होला ऐना
त्यस्तोमा त हुन्छ आफ्नै अनुहार संदिग्ध,
त्यस्तोमा
अरुको त झन्
जस्तो कि
कृष्णको आँखामा बर्बरिक
द्रोणको आँखामा एकलव्य,
उस्तै, उस्तै
कुनैबेला
बडाहाकिमका आँखामा सघन उत्साहित युवा
राजाका आँखामा बौद्धिक बेरोजगार युवा
कुनैबेला
प्रधानहजुरका आँखामा
बिपक्षी विद्वान
सरकारी हाकिमका आँखामा निष्पृह कारिन्दा!

जसको मनभरीको कुहिरो
आँखामा सुक्सुकाउला
कानमा फुस्फुसाउला
मुखमा फत्फताउला
नाकमा डुङ्ग्डुङ्गाउला
चारैतिरबाट कुहिरोले घेरिएको
उनीहरू आफैं एक कुहिरो,
उनीहरुका सपनामा पनि आउँदैन होला
उज्यालोको कुनै रङ्ग
अनि के बुझुन् रङ्गहरूको भाषा?
उनिहरूको सौन्दर्य नै कालो रङ्ग!
त्यसैले त पच्छ उनीहरुलाई सहजै
तिनका हाँडीबाट उछुट्टिएर
भुङ्ग्रोमा परेको तुच्छ मकैले देखाएको
कालो झण्डा!

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु