हड़ताल

- राजु “हिमांशु”

कर्मचारीहरू पिकेटिङ गर्न खटिएका थिए । देशव्यापी दुई दिवसीय हड़तालको पहिलो दिन कार्यालयहरू सबै बन्द रहेका किटान गर्दै थिए कर्मचारी सङ्गठनका नेताहरू । जोइन्ट एक्सन कमिटीले दलीय एकता कायम गरेर सड़कमा ओर्लेको कथन प्रकट गरिरहेका थिए । हड़तालको पहिलो दिन यान-वाहनको चलाचल यथावत रहेर दोकानपाटहरू पनि खुल्लै थिए कतिवटा स्थानमा । कतिवटा ठाउँमा भने दोकानहरू सबै बन्द थिए। गाड़ीहरूको चलाचल पनि कम्ति थियो । कार्यालयहरूअघि कर्मचारीहरू थुप्रिएका थिए । मेरो कार्यालयको गेटमा रातो झण्डा लगाएर पिकेटरहरू बसेका थिए। कर्मचारी र अधिकारीहरू सबै कार्यालयबाहिर खड़ा थिए। कार्यालयभित्र पस्ने आँट कसैले पनि गरेका थिएनन्। सरकारी बसमा चढ़ेर म कार्यालय पुगेको थिएँ। कर्मचारी र अधिकारीको समूहभित्र कति बन्दका समर्थक थिए भने कति थिए विरोधी।
धेरै बेरको पर्खाइपछि पनि कार्यालय खोलिएन। बाहिर रहेका कर्मचारी र अधिकारीहरूमाझ विचार-विमर्श भयो । पन्नामा सबैको उपस्थिति उठाएर घर फर्कने सल्लाह भएपछि म लागेँ सरकारी बस बिसाउनीतिर । बस बिसाउनी छेउ पुग्न लाग्दा फोन आयो। मोबाइलमा एकजना सहायकले मलाई सूचना दियो यस्तो-“बड़ाबाबू,पुलिस आएर गेट खोलिदियो। सबै अफिसभित्र पसे। तपाईं पनि आउनुहोस् । काम हुन्छ। अफिस लाग्छ।”
म अरकच्च परेँ । फेरि अर्को नम्बरबाट अधिकारीको फोन आयो।
अधिकारी बोले-“तपाईं कहाँ हुनुहुन्छ ?आउनुहोस्। अफिस लाग्छ । अरू सबै सहायकलाई पनि बोलाउनुहोस्।”
मेरो अनुभागमा कार्यरत सहायकको फोन पनि आयो। उसले पनि सूचित ग-यो यसरी-“आउनुहोस्। अफिस खुल्यो। हामी सबै छौं।”
दोकानहरू ,ब्याङ्क, विमालगायत अन्य केन्द्रीय सरकारी कार्यालयहरू सबै बन्द थिए। गाडीहरू चलिरहेका थिए । बाटोमा गाडीहरू रोक्दे थिए पिकेटरहरू । म भने कार्यालयतर्फ लागेँ लुखुरलुखुर। म हिँडिरहेको थिएँ । एउटा टोटोलाई पिकेटरहरूले तोडफोड गरे। ट्याक्सी गाड़ी,निजी गाड़ी सबै रोक्न थाले । ट्राफिक जाम भयो । एउटा सरकारी
बसगाड़ीलाई रोकेर राखेका थिए बन्द समर्थक कर्मचारीहरूले । बसगाड़ीको ड्राइभरले शिरमा हेलमेट लगाएको थियो।
त्यो देखेर एकजना कर्मचारीले भन्यो-“तिमीले बस चलाको कि बाइक ?खोल हेलमेट।”
ड्राइभरले खोल्यो हेलमेट । कतैबाट ढुङ्गाले हिर्काए भने हेलमेटले शिरलाई बचाउँछ भनी लगाएको हेलमेट खोल्दा उसको अनुहारमा भय व्याप्त भएको देखिन्थ्यो। पिकेटरले ढुङ्गा हानेर ड्राइभरको टाउको फुटाइदिएको खबर अघिबाटै फैलिसकेको थियो।
हुनसक्छ त्यही सुनेर उसले हेलमेट लगाएको। म भने बेलुकी घर फर्किनु नसक्ने रहेछु भनी सोचिरहेको थिएँ ।
कार्यालयभित्र कर्मचारीहरूको सङ्ख्या कम्ति थियो। कति जना घर गइसकेका थिए ।
अधिकारी आएर भने-“कम्प्युटर नखोल्नू। ”
अधिकारी अर्को अनुभागतर्फ लागे। म छक्क परें। कार्यालय खोलेर पनि काम नगर्नु भन्ने आदेश कस्तो ? अधिकारीले त्यसो किन भने? म उत्तर खोजिरहेको थिएँ। सबै जना कार्यालयभित्र बिना काम बसिरहे मोबाइल फोन खेलाउँदै ।
“सबै अफिस बन्द भए पनि यो अफिस कहिले बन्द भएन।” सहायक बोल्यो ।
“हो नि। पुलिसलाई फोन गरेर बोलाइन्छ। पुलिसले पिकेटरलाई हटाएर गेट खोलिदिन्छ। त्यसपछि अफिस खोलिन्छ र बेलुकीसम्म बस्नुपर्छ हामी। कोइ बोल्ने होइन। हामी पो टारगेट हुन्छौँ। रेकर्ड छ अन्त यो अफिस बन्दमा बन्द नभएको। ” अर्को सहायक बोल्यो।
बड़ा हाकिम आएर सोधे-“तपाईंहरूमात्र आउनुभयो? अरू आउन सकेनन्?”
कम्प्युटर नखोल्नू भनेर गएका अधिकारीले बड़ा हाकिमको अघि सबैलाई भने-“कम्प्युटर खोलेर लग इन गर्नू र केहीबेरपछि लग आउट गर्नू। काम चैँ हुँदैन। ”
म फेरि छक्क परेँ। अधिकारीले यसो किन भनिरहेछ? खालि कर्मचारीहरूको उपस्थिति देखाउनु? काम चैँ हुँदैन भने पुलिस बोलाएर अफिस किन खोल्नु? इत्यादि प्रश्नहरूले टोक्दै थिए मेरो टाउको।
सबैले त्यसै गरे। लग इन गरेर केही बेरमा लग आउट गरेर कम्प्युटर बन्द गरिदिए।
“कार्यालयमा आएर काम नगरी बस्दा कस्तो बोरिङ हुन्छ नी हो” भन्दै एकजना सहायकले मोबाइल फोनमा गीत बजाउनु लाग्यो। म भने क्यान्टिनतिर लागेँ। जसोतसो गरेर भए पनि सब्जी-भात बनाइदियो क्यान्टिनमा। बाहिर त्यो पनि अप्राप्य थियो।
एकजना सहकर्मी कर्मचारीले बोलाएर मलाई उसको मोबाइलमा भएका नक्साहरू देखाउन थाल्यो। देखाइएका सबै नक्साहरूमा सत्तारूढ़ राजनीतिक दलका नेता,कार्यकर्ता,सङ्गठनका सचिव,सभापति आदिसित ऊ पनि उभिएको थियो। प्रभावशाली व्यक्तिहरूसित राम्रो सम्बन्ध रहेको प्रमाण पस्किन उसलाई मजा लागिरहेको थियो। उसले मलाई उसको मोबाइलमा भएका नक्साहरू देखाउँदा-देखाउँदै हड़तालबारे पठाएको एउटा नक्सा पनि देखियो। त्यस नक्सामाथि ठूलो अक्षरमा लेखिएको थियो यस्तो-“हड़ताललाई विफल पार्नू।” उसले हतार हतार अर्को नक्सा देखायो र त्यसपछि फोन बन्द गरेर “एक छिन है”भन्दै गयो। ऊ बन्द विरोधी रहेछ भनी स्पष्ट भइसकेको थियो। सत्तारूढ़ दलको समर्थकको रूपमा खड़ा भएको ऊ बन्दको विरोधमा प्रचार-प्रसार गरिहिँडेको कुरो सुनाउन थाले अन्य कर्मचारीहरूले। मलाई अचम्म लागिरहेको थियो। कारण हिजो अर्को कर्मचारीले मलाई देखाएको नक्सामा भने यस्तो लेखिएको थियो-“हड़ताललाई सफल पार्नू”। एउटै अनुभागमा कार्यरत यी दुई सहकर्मी कर्मचारीहरूको मोबाइल फोनमा हड़ताललाई सफल र विफल पार्नुपर्ने मेसेजहरू देखेर म छक्क परेँ। पछिबाट कुरा बुझियो। दुवै सहकर्मी दुई भिन्दाभिन्दै राजनीतिक दलका एउटै कार्यालयको एउटै अनुभागमा काम गर्ने समर्थकहरू रहेछन्।
टिभीमा बन्द सफल भएको ठान्ने कर्मचारी सङ्गठनका नेताहरू बोलिरहेका थिए। उनीहरूले डाकेका बन्द अथवा हड़ताल कर्मचारीहरूकै हित र लाभको निम्ति थियो। तर कर्मचारीहरूमाझ नै विरोधिता रहेको तथा हड़ताललाई विफल पार्ने र सफल पार्ने कार्यहरू भने अदृश्य रूपमा चलिरहेको थियो।
भोलिपल्ट । कर्मचारीहरूको हड़तालको दोस्रो दिन सप्प्प्पै खुल्ल्ल्लै थिए। सरकारलाई केही नभएको भान हुन्थ्यो। मर्का चैँ कर्मचारीहरूलाई नै परिरहेको थियो। कारण सरकारी आदेश यस्तो थियो—
“हड़तालमा भाग लिएर कार्यालयमा अनुपस्थित हुने कर्मचारीहरूको तलब काट्नू र नियमानुसार अनुशासनात्मक कार्यवाही गर्नू ”।
हड़तालको दोस्रो दिन कर्मचारीहरू नारा लगाउँदै जुलूस भएर हिँडिरहेका थिए सड़कमा। नारा चिचाउँदै थियो यस्तो—
“कर्मचारी सङ्गठन जिन्दावाद !”
“कर्मचारी एकता जिन्दावाद !”

*****************

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु