कीर्तिपुरको मिर्मिरेमा इको राइटिङ

- ज्ञान बहादुर क्षेत्री

चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेको नै देखें सकल पृथ्वी त्यो बखतमा।
------- ळेखनाथ
साहित्य कहिल्यै सङ्कुचित भएर बस्न रुचाउँदैन। यसले बाधाका पर्खाल भत्काउदै जान्छ र खेल्ने ठाउँ फराकिलो पार्दै जान्छ। साहित्यमा राष्ट्रियताका कुरा, आञ्चलिकताका, भाषिकताका कुरा आउँछन तर साहित्य भनेको त्यतिमात्र होइन। धेरै लेखकले आफ्नै अज्ञानता अथवा सीमावद्धताका कारणले साहित्यलाई समग्रतामा हेर्न सकेका हुँदैनन। भगवान श्रीकृष्णको विराट रुप नदेखेर सानो बालक ठान्ने यशोदाको भ्रम जस्तै कतिपयले आफुले मातृभाषामा पढेको साहित्यलाई नै सम्पूर्ण साहित्य ठानेर बसेका हुन्छन। यसको विपरीत कतिपय थोरै लेखक छन जो साहित्यको बिराट स्वरुपसंग सुपरिचित छन, यसका कुना काप्चा, भीर अक्कर सबैतिर पुग्न हतारिएका छन। पृथ्वीका कति भाषामा कति साहित्य सिर्जना भएको छ, एउटा जुनिमा सबैतिर भ्याउँन असम्भव छ भनेर जान्दा जान्दै पनि कतिपय अनुवाद गर्न लागिपरेका छन भने कतिपय ज्ञानपिपासु बुद्धत्व प्राप्त गर्ने ध्येयले बोधिवृक्षका तल ध्यानमग्न भएका छन। एवं रीतले उनीहरुको साधनाको फलस्वरुप हामीले कालजयी कृतिहरु पाएका छौं।
प्रा. डा. गोविन्दराज भट्टराई वैश्विक परिप्रेक्षको समकालीन नेपाली साहित्यमा अग्रपङ्क्तिमा गनिएका खुबै चर्चित साहित्यकार हुन। उनले अंग्रेजी र नेपालीमा गरेको सिर्जना विस्तृत फाँटमा, विभिन्न विधाहरुमा छरिएको हुनाले तिनको मूल्याङ्कन गर्नु सजिलो छैन। नेपाली साहित्य जगतमा उनी उत्तरआधुनिक र डायास्पोरा साहित्यका अगुवा सर्जक र समालोचकका रुपमा औधी चर्चित प्रतिभा हुन। त्यसैले हुनसक्छ, उनका लेखनका अन्य विधाहरु केही ओझेलमा परेका छन अथवा तिनको त्यति चर्चा भएको छैन। डा. कुमार कोइराला र सूर्य लाकोजू सम्पादित साहित्यकार गोविन्दराज भट्टराई शीर्षकको बृहत ग्रन्थमा भट्टराईका केही कृतिहरुको विश्लेषण-मूल्याङकन भए पनि त्यसमा उनको ळेखनको सबै पाटाहरुलाई समेट्न सकेको छैन अथवा के कस्ता तत्वहरुले साहित्यकार भट्टराईलाई अरु लेखकभन्दा बेग्लै पारेको छ त्यसको रौंचिरा विश्लेषणका लागि पर्खिनु पर्ला। कुनै पनि लेखकको सही मूल्याङकनका लागि पर्खिनु पर्छ भनेर भट्टराईले नै उनको काव्यिक आन्दोलनको परिचयमा (पृ. 156) आजको काँचो मूल्याङ्कन भविष्यमा उल्टिन सक्ने कुरा भनेका छन।
इकोराइटिङ गोविन्दराज भटराईको लेखनको एउटा प्रमुख विशेषता हो। उनका कृतिहरुमा विशेष गरी नियात्रा र निबन्ध ग्रन्थहरुलाई इकोराइटिङका नमूनाका रुपमा लिन सकिन्छ। भट्टराईको मास्टरपीस कृति उत्तरआधुनिक विमर्शमा सिर्जनाको नयाँ केन्द्र मानवेतर जगत भनेर इकोराइटिङको बारेमा एउटा अध्याय नै राखेका छन।
मान्छे जीवश्रेष्ठ प्राणी हो। जीवश्रेष्ठ भनेको अरु जीवहरुको हक खोसेर उनीहरुलाई अत्याचार गरेर मौज गर्नु होइन। जीव होस वा जड, पृथ्वीका सबै तत्वहरुको संरक्षण गर्नु जीवश्रेष्ठ प्राणी हुनाको नाताले मान्छेको परम कर्तव्य हो। तर अविवेकी मान्छेले आफ्नो भौतिक सुख सुबिधाका लागि विज्ञान र प्रयुक्तिको नाममा नाना थरिका सङ्कटलाई निम्त्याएको छ। ओजन लेयरमा ठुला ठुला प्वाल पर्नाले त्यसबाट सूर्यको विनाशकारी आल्ट्राभायोलेट रश्मि छिरेर पृथ्वीको जीवजगतलाई खतरामा पारेको छ भने ग्लोबल वार्मिङले गर्दा मेरुप्रदेशको हिउँ पग्लेर सबै जलमग्न हुने डर छ। मान्छेको भौतिक सुख र चाहनाले पृथ्वीलाई नै विध्वस्त पार्ने डरले त्रस्त छन सबै। यतिखेर ग्रेटा थुनबर्ग नामकी किशोरी पर्यावरण एक्टिभिस्ट सारा विश्वको दृष्टि आकर्षण गर्न सफल भएकी छन। साहित्यकार भनेको जीवश्रेष्ठ मान्छेमा पनि श्रेष्ठ, बुद्धिजीवी कहलाउँछ। त्यसैले पर्यावरणको सुरक्षामा लेखकको ठूलो उत्तरदायित्व हुन्छ। पर्यावरणको संरक्षण गर्ने ठेक्का हामीले लिएको छैन भनेर लेखक भाग्न पाउँदैन। पृथ्वी नै रहेन भने केका लागि, कसका लागि साहित्य लेख्ने। डा. भट्टलाईले लेखकीय जिम्मेदारी राम्रोसँग बुझेका छन अनि इकोराइटिङलाई समातेका छन। त्यसैले उनी लेख्छन -----
जैविक विविधताको ह्रास, ओजन तह विनाश, उर्जाको अन्त्य, आणविक उर्जाको निर्माण आदिले गर्दै विश्वभरि मौसममा आएका परिवर्तन खतराका सङ्केत भएका छन। वातावरणीय सन्तुलन बिग्रेर त्यसको असर विश्वब्यापी भएको छ। यस्ता कुराको चिन्ताले जीवनको भित्री तहसम्म छोएर झस्काउन थालेपछि साहित्य कला संस्कृतिको अन्तरतह पनि प्रभावित हुन्छ। त्यसै कारणले अहिले आएर वातावरणीय चिन्तन चेतनामूलक कार्यक्रममा सीमित नरहेर साहित्यमा र समालोचनामा पनि पुग्य़ो। (उत्तरआधुनिक विमर्श. पृ. 203)।
प्राकृतिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु, जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको सिकार गर्नु, खानि खन्दै पहिरो लडाउनु, जङ्गललाई साफ गर्नु—गम्भीर चिन्ताका विषय हुन। पशुपालनका परम्परित विधि हराएपछि, कृषिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन थालेको छ। यी कुराको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो। परिवृत्तीय साहित्यमा र तिनको समालोचनामा तिनै कुरा हुन्छन भनेर भट्टराईले विषयलाई छर्लङ्ग पारेका छन । फेरि इकोराइटिङलाई छवटा दृष्टिकोणले हेरिन्छ भन्ने कुरा पनि भट्टराईको ग्रन्थमा उल्लेख छ। ती हुन---
1. इकोलोजी। यसमा इकोसिस्टम, इकोलोजिकल निस र फुड चेनका हाँगा छन।
2. मानवकेन्द्री तथा पर्यावरणकेन्द्री
3. इकोफेमिनिजम
4. प्रकृतिको महत्व
5. ग्राम्यता र अप्रदूषित परिवेश र
6. रोमान्टिकता
नेपालीमा परिवृत्तीय साहित्यको सन्दर्भमा कुरा गर्दै गोविन्दराज भट्टराईले अमर नेम्बाङ, लेखनाथ पौडेल, ध्रुवचन्द्र गौतम, मोहन कोइराला आदि केही अग्रज र केही समकालीन सर्जकको उल्लेख गरेका छन। तिनैले देखाएको गोरेटो पछ्याए पनि नेपाली भाषामा परिवृत्तीय साहित्य र समालोचनाको पक्की सडक स्वरुप छुट्टै पहिचान बनाइदिने श्रेय भने लेखक भट्टराईलाई जान्छ।
यस लेखमा मिर्मिरेमा दश पाइला शीर्षकको निबन्ध संग्रहमा लेखक भट्टराईले नेपाल र नेपाली भाषाको सन्दर्भमा कहाँ कसरी इको राइटिङको प्रयोग गरेका छन त्यस विषयमा एउटा स-सानो अध्ययन गर्ने जमर्को गरिएको छ।
मिर्मिरेमा दश पाइला । लेखकले दश पाइला भने पनि यसमा एघारवटा निबन्ध समेटिएका छन। पहिलेका दशवटा निबन्धमा नेपालका दशवटा जिल्लामा गरिएका य़ात्राको रोचक वर्णन छ भने एघारौं निबन्ध यात्रा साहित्यको सिद्धान्त, र नेपाली परम्परालाई समेटेर लेखिएको इतिहास हो। यसमा सबैभन्दा महत्वपूर्ण कुरा के छ भने विधागत रुपमा नियात्रा साहित्यको छुट्टै अस्तित्वलाई नकार्दै यात्रा साहित्य कुनै पनि विधामा लेख्न सकिने कुरा लेखकले बताएका छन। साथै यात्रा गरिएका ठाउँको ऐतिहासिक महत्व अथवा आफन्तहरुसँग भेटघाटको वर्णन मात्रले साहित्य हुँदैन भन्ने उनको स्पष्ट मत रहेको देखिन्छ। कलाले सिँगारिएको शैली र लेखकीय अन्तर्दृष्टि छैन भने त्यो भलै य़ात्रा वृतान्त होला तर यात्रा साहित्य हुँदैन।
पुस्तकको शीर्षक बारेमा लेखक भन्छन---
अब चाहिँ यो देशमा चेतनाको उज्यालो झुल्किन्छ भन्ने सुनिश्चित छ। अब प्रजातन्त्र भनौ, व्यक्ति स्वतन्त्रताको महत्व स्थापित होला भन्ने भएको छ। त्यसैले यी रचनाले मिर्मिरेलाई सङ्केत गर्नेछन। भोलिको सूर्योदयतर्फ सङ्केत गर्नेछ। (पृ.267) नेल्टाको अध्य़क्षका रुपमा लेखकले देशका विभिन्न जिल्लाहरुमा भ्रमण गरेका थिए। यसरी देश दर्शन गरेको अनुभव मिर्मिरेमा दश पाइलामा अभिव्यक्त गरेका छन।
पहिलो निबन्ध छ रामेछाप पुगेर हर्षित भयौ (मन्थली रिभिजिटेड)।
यस निबन्धमा लेखकले रामेछापको भ्रमण गरेको वर्णन पाइन्छ। नेपाल र नेपाली साहित्यका लागि मरिमेटने लेखक अँग्रेजी भाषा-साहित्यका खातिर नेल्टाको अध्यक्ष भएर काम गर्नुलाई विरोधाभास ठान्छन। तर देशको समुन्नतिका लागि देशले चाहेको हुँदा उनी अंग्रेजीको प्रचारप्रसारमा लागिपरेका छऩ। यस निबन्धमा अरु धेरै महत्वपूर्ण कुराका साथै इकोराइटिङको सुन्दर नमूना पाइन्छन। जस्तै-----
स्याल रोकिएको निकैबेर पछि मात्र भाले बास्न थाले। रात सिद्धिएको पूर्वसङ्केत दिने प्राचीन लय। सृष्टिको आरम्भदेखि प्रकृतिले वनस्पति, वायु, प्रकाश, नदी जस्ता तत्वमा पशुप्राणीमा भरेको एउटा आदिम लय छ। आज शहरले निल्यो यी सारा लयहरु। (पृ. 11)
प्रकृतिको लयमा नाच्न गाउन रमाउने लेखक भट्टराई रामेछाप पुग्दा त्यो आदिम लयलाई शहरी अजिङरले निलिसकेको देखेर उदास हुन्छन।
नभन्देउ मायालु फिदिमबजारमा— यो संकलनको दोस्रो निबन्ध हो। पाचथर, फिदिमबजारसम्मको यात्रा वर्णन भएको यो इकोराइटिङको अनुपम निबन्ध हो। यस निबन्धमा लेखक भट्टराई कहिले काँडाले कोरेका आफ्ना हात हेर्छन, कहिले बृक्षले बोलाइदिए हुन्थ्यो भन्छन। प्रकृतिसँगको, निकटता , स्वच्छता र न्यानोपन उर्लेर नोस्टालजिक हुन्छन। आफ्नो वात्यकाल पहाडको पहाडको निर्मल स्वच्छ वातावरणमा गुजारेका लेखक भटराई राजधानी शहर काठमाडौमा बस्छन। कीर्तिपुरको ट्याङलाफांटमा आफ्नै घर बनाएर बसेको पनि पच्चीस वर्ष पुग्यो। पचास वर्षदेखि काठमाडौमा बसोबास गरे पनि उनी भाङबारीबाट स्वगृह फर्कँदा ब्याक होम भन्न सक्तैनन। उनी आफूलाई डायास्पोरा ठान्छन काठमाडौमा--- शरीर एकातिर, मन अर्कातिर। टोड माइकल सन्त पियेरे साइप्रेस स्ट्रीट भन्ने कवितामा साइप्रेस रुखका ठाउँमा सेमेन्टीका खम्बा मात्र देखेर चिन्तित हुन्छन। भटराईले पनि वन मासिएको कुरामा यसरी असन्तुष्टि प्रकाश गरेका छन।
सिमेन्टीको जङ्गलमा पो
पुरिएको रहेंछु
निसास्सिएर, मरेर
प्राण सिद्धिए पनि
शरीर मात्रै केवल
मन यतैकतैको
भीरपाखामा अल्झाइराखेर (पृ. 29)
टोड माइकल पियरेको साइप्रेस स्ट्रीट भन्ने कवितामा कविले एउटै पनि साइप्रेस रुख नदेख्ता त्यो ठाउँको नाम लेम्पपोस्ट स्ट्रीट राख्ने सलाह दिएका छन। कविता यस प्रकार छ----
Cypress Street
I took a stroll down Cypress Street
The hot sidewalk beneath my feet.
The one thing that stood out the most
Where trees once stood there were lampposts.
I had never seen so much concrete
No Cypress left on Cypress Street.
According to my Great Aunt Gem
There used to be a lot of them.
They cut them down. They took their wood
A treeless street is plum no good!
Just like a treeless neighborhood
So tell the Mayor next time they meet…
To change the name to Lamppost Street!
Todd-Michael St. Pierre
बायाँटारीमा एक सुनौलो साँझ (स्याङ्जा रिभिजिटेड) निबन्धमा लेखनाथ पाठकसँग आँधीखोला साहित्य सदनमा भाग लिन जाँदा त्यस ठाउँको प्रकृतिसँग बात मार्न पुग्छन। पाठक आमाले रोपेको पारिजातको फूललाई हेर्छन र भावुक हुन्छन। गाउँमा प्रकृतिमाथि आक्रमण भएको देखेर लेखक चिन्तित भएका छन। उनले देखेको बायाँटारीको बिम्ब यसप्रकार थियो---
दाहिनेतिरको अग्लो पाखो उजाड थियो, रुखहरु सिलिङबिलिङ, डाँडाको बीचैबाट चिरेर सेतो पटुकाजस्तो बाटो कुनै गाउँतिर उकालिन्थ्यो। त्यो मोटरट्याक धुलाम्मे देखिन्थ्यो, प्रकृतिमाथि मानिसको यस्तो आक्रमण देखेर उनीहरुको मन सायद प्रकृति बचाऊ तिर थियो। (पृ. 55)
यस लेखमा अरु निकैजना कविका कविताको महेन्द्र लामिछानेको विकासको नाममा विनाशको खोजी, सिरुटार बन्ने पो हो कि धान फल्ने बेँसी भन्ने इकोराइटिङका कुरा ळेखकले खोजेर निकालेका छन। उनले राम्ररी बुझेका छन पर्यावरणको संरक्षण एक्लै गर्ने विषय होइन, यो सबैको सहयोगमा मात्र सम्भव हुने साझा विषय हो। त्यसैले उनी अरु लेखकलाई पनि इकोराइटिङमा प्रोत्साहित गर्दछऩ। यसै सन्दर्भमा बेलायतको फोक्स्टन निबासी कवि विजय हितानको इकोपोएट्रिमा उनको भूमिकालेखन महत्वपूर्ण देखिन्छ।
ट्याङलादेखि वाङलासम्मको साहित्यक यात्राको सम्झनामा भण्डारी लजमा जलको संकट, लाम्खुट्टेको टोकाइ परनिर्भरतामा, असहायपनमा घिस्रिँदै गरेको ग्राम्य जीवन सबैलाई चिरफार गरेर ओल्टाइपल्टाइ देखाएका छन। निबन्धको पहिलो वाक्य तिनाउ नदी तरे पछि चुर हुँदै वाङलासम्मको वर्णनले इकोराइटिङलाई नै समातेको । यसमा प्रकृतिको नजीकमा रहेका पहाडी गाँउको सुन्दर .चित्रण पाइन्छ । पहाडका ठाउँ भए पनि त्यहाँ ग्राम्य परिवेश नदेख्ता लेखक चिन्तित भएका छन। दुर्गम प्रदेशमा मान्छेभन्दा यन्त्र अघि छन। यी रुखापाखा खेतबारी र पातलो वन्यताप्रेमले अनादि कालदेखि आकर्षित नेपालीहरु, यिनै भूभागमा आफ्ना कर्म र भाग्य देखेर प्रतीक्षा गरिरहेका, केही नाजुक सपना पाल्दै पर्खिरहेका। (पृ.86)। यसरी गाउँमा विकासको नाउँमा धेरै परिवर्तन प्रत्यक्ष गर्छन लेखक।

तिम्रो समाधिमा दुइ थुँगा फूल
गोविन्दराज भट्टराईको इकोराइटिङको सर्बोतकृष्ट नमूनाका रुपमा यस निबन्धलाई अघि सार्न सकिन्छ। यो लेख तुलनामुलक रुपमा अरु लेखभन्दा लामो पनि छ। संखुवामा नेल्टाको शाखा खोल्ने क्रममा लेखकको तुम्लिङटारको भ्रमण कुनै एडभेञ्चर जस्तै लाग्छ। जाँदा जाँदा उनी एउटा प्राचीन जङ्गलमा पुग्छन। त्यो एउटा अलैंचीघारी थियो पातलको छानाले घाम ढाकोको अलैंचीले भूँइ ढाकेको। अंग्रेज कवि रबर्ट फ्रस्टले भनेको डार्क एन्ड डीप यही पो थियो कि भन्छन। यसै क्रममा लेखक एउटा समाधिको छेउमा पुग्छन। त्यो एउटी किशोरीको समाधि थियो। बीरबहादुरबाट ती किशोरी माओवादी मिलिसिया थिइन अनि आर्मीसँगको मुठभेडमा सहीद भएकी हुन भन्ने सुनेर उनी भावुक बन्छन र किशारीको समाधिमा दुइ थूँगा फूल चढाउँछन। लेखकले यसै सिलसिलामा एमिलि डिकिन्सनको ह्वेन आइ एम डेड डिएरेस्ट कविताका केही हरफ स्मरण गरेका छन।
हेर्नू सर, भर्खर डोजर लगाएर यो बाटो यति राम्रो भयो नत्र कति मुश्किल थियो, गाडी पास गर्नै नसकिने, इन्द्र ड्राइभरले यसो भन्दा लेखक खुसी हुन सकेनन। उनले देखे, डोजरले भत्तो कपेर, नङ्ग्र्य़ाएर कति रुख जरासँगै उत्तानो परेका, कति मर्किएका रातमाटे ढिस्का, फस्के ढुङ्गा, झारपात बाटामुनि डङ्गुर बनेका, जताततै भर्खरै कोतरिएको बाटो र डढेको वनस्पति। (पृ. 114)
मानवेतर जीव वनस्पति र निर्जीव पहाडका ढिस्का, ढुङ्गा-माटोलाई पनि लेखकले जीवन्तता प्रदान गरेका छन। नङ्ग्र्य़ाएको, कोतरेको, मर्किएको आदि शब्दले लेखकले आफ्नै शरीरलाई कसैले दर्फर्यआएर रक्ताम्मे पारेको आभास दिएका छन।
प्रकृतिमाथि अकल्पनीय बिजयको आक्रमण। प्रकृतिको मौलिक स्वरुपमा क्षय हुँदै छ, त्यहाँ विकास प्रवेश गर्दै छ, सँगै विनाश र कृत्रिमजगत भित्रभित्र पहाड छेडेर पस्तै छ, तर मानिस झनझन प्रसन्न छन, आनन्दले उत्तेजित छन। लेखकले ठट्यौलीको पारामा तीखो व्यङ्ग छेडेका छन--- इन्द्र गुरुजी यो कच्ची जङ्गली मार्गमा यन्त्रलाई दाउँदै छन, छिट्टै यहाँबाट यी खच्चर सारा विस्थापित हुनेछन। यान्त्रिक सभ्यताले विकास ल्य़ाएको देखेर सबै उत्सव मनाउँदै भन्छन—हे बलशाली तिमी छिट्टै आऊ र भत्काइदेऊ। हामी तिम्रो पूजा गर्छौ। (पृ 117)

रेसुङ्गाको काखमा त्यो मध्यरात— यो निबन्ध पनि नेल्टा सम्मेलन गरिएको यात्रा निबन्ध हो। यो नेल्टा एडभेन्चरमा जाडोले काम्दै मध्यरातमा लेखक तम्घासको एभरग्रीन होटलमा पुगेको वर्णन छ। गिरिजा बाबु बसेको होटेल। तानसेन सल्लेरी, माल्मुल, लघिवा, रिडी हुँदै गरेको भ्रमणमा ती स्थानहरुको नैसर्गिक रुपछटाको वर्णनका साथै गीतको मूर्च्छनाले पाठकलाई रुमानी मादकता दिन्छ।
यस ठाउँमा पनि विकासले संस्कृतिको विनाश गरेको देखे। उनले देखे, मान्छेहरु आ-आफ्ना गाउँमा विकास पुर्याउन हतारिएका छन। उनले रामेछापमा सबै डाँडा चिरिएका देखे, संखुवासभाको दृश्य अझ भयाबह थियो। उसै गरी जोर्ते, स्य़ाङ्जा र तनहुमा पनि कुनै डाँडा सद्दे छैनन।
फेवाकिनारमा उठेको एक तरङ्गमा पोखरामा आयोजित एउटा संगोष्ठीमा लेखकले कार्यपत्र पाठ गरेको अनि कतिपयले प्रश्न गर्नु भन्दा कार्यपत्र प्रस्तोता लेखकलाई होच्याउने दुस्प्रयास गरेका रहेछन। ती अचकल्टा ठेटनालाई एकलब्यले भुक्ने कुकुरको मुखमा काँड खाँदे झै मुखभरिको बुजो लगाइदिएछन। फेवाका किनारमा हल्लिँदै गरेका, ढल्नै लागेका बूढा रुखहरु थोत्रा विचारका प्रतिनिधिहरुलाई बौद्धिक प्रत्युत्तर थियो। एक तरङ्ग शीर्षकले नै सङ्केत गर्छ यो लेखले एउटा घटना वा दूर्घटनालाई मात्र छोएको छ। यो यस संग्रहको सबैभन्दा छोटो निबन्ध हो।

यस पछिको निबन्ध छ सोलुखुम्बुको छिरिङ नुरु शेर्पालाई यो उपहार । नुरु लेखकसँग पत्रिकाको लागि लेख माग्न आएका थिए। तीनचार दिनको भित्र लेख दिनु पर्ने, लेखकले झर्किँदै ततर्किँदै म सक्दिन भन्दा हुने तर उनको व्यस्तता बारे अनभिज्ञ नुरुलाई ळेखक भट्टराईले निराश पारेनन।
एउटा बहुभाषी कवि गोष्ठीमा भाग लिन सोलुखुम्बु पुग्दाको अनुभवलाई समेटेर तयार पारेको यात्रा निबन्ध दिएर उनले नुरुलाई खुसी पारे। यस लेखमा लेखकले अध्ययन गरेका कतिपय महत्वपूर्ण ग्रन्थहरुको उल्लेखले लेखको गरिमा बढाएको छ। उनले अध्ययन गरेका ग्रन्थहरुमा । उनले केही वर्ष अघि सोलुको यात्रा गरेको वर्णन छ। सल्लेरी बजारमा पुग्दा लेखकले देखे त्यहाँ पनि विकासले प्रभाव विस्तार गर्न थालेखो रहेछ। ... आधुनिकता खनिरहेको सडक, जहाँ ट्रकहरु भर्खरै ओर्लेका थिए। एउटा युद्धविध्वस्त खण्डहरमा पुग्छन उनी। यस लेखमा पनि भट्टराईको परिवृत्तीय सचेतता परिस्फुट भएको छ।
मेरो मनोजगतको साङ्रिला—त्यो ताप्लेजुङ भन्ने निबन्ध लेखकको पाँचदिने ताप्लेजुङमा भ्रमणको सेरोफेरोमा छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम । विद्वान लेखकहरुको उक्तिले यो लेख जानकारीमूलक पनि छ। जरा होटलमा बास उनले साहित्यक कार्यक्रममा उनी कार्यक्रममा भाग लिनुको साथै बाटा-घाटा, नदी-नाला, जंगल-पहाड आदि कुरामा ध्यान दुन विर्सिँदैनन। तलका हरफहरुले लेखकलाई प्रकृतिप्रेमीका रुपमा उभ्याएको छ।
भीर र जंगल चिरेर बाटा खनिए झै सङ्लो प्रकृतिलाई कुरुप बनाएर विमानस्थल जन्मिएको रहेछ। यहाँसम्म विज्ञानले पाइला टेकेको देखेर म अति नै खिन्न भएँ अनि फेरी अतीतको सग्लो नागीतिर मनले टेकें। (पृ 209)
अतीतको सम्झना उर्लिएर आउँदा—च्याङथापुमा मेरो मन । च्याङथापुका उपज हुनाले लेखकको त्यस ठाउँप्रति विशेष आकर्षण रहेको छ। आफुले पढेको विद्यालयको हीरक जयन्तीमा मुख्य अतिथिका रुपमा पुग्नुलाई उनी जीवनको महत्वपूर्ण घटना ठान्दछन। उडेर पुग्छन लेखक च्याङथापु। तर च्याङथापु धेरै बदलिसकेको थियो, पहिलेको उनले खेलेको, उफ्रेकुदेको च्याङथापुको त कता हराइसकेछ। उनका मनमा किञ्चित क्षोभ र चिन्ता हुन्छ। लेखकका शब्दमा--
यसपालि आउँदा च्याङ्थापुको भिन्न चित्र देखें यद्यपि महाकविले भनेझै मैदानको एकरसता जस्तो होइन रहेछ पहाड। यो पहाडमा डाँडाकाँडा उनै छन। गल्छी, घाटी, नदी, ताल यथावत छन। प्रकृति उसै गरी एकै आसनमा हाँसेकी लाखौँ वर्ष पनि यो अक्षय सौन्दर्य भण्डार, यो रहस्यमय वैचित्र्य र शीतलता यस्तै रहन्छ होला। तथापि यसपालि हेर्दा अघिका बाटाघाटा मेटिएका, धारा खोल्सा पँधेरा तर्किएका, पुरिएका, वरपीपल चौतारी भत्रिएका अथवा हराएका देख्ता, हाटखौला, पाटीपौवा आदि नदेख्ता मनमा किञ्चित क्षोभ र चिन्ता लाग्यो। यसको कारण भने उन्नतिका नयाँ धर्सा कोर्दै लाँदा, बाटाघाटाका लागि पाखापर्वत फोर्दै लाँदा यसरी उही ठाउँ पनि चिन्नै नसकिने अर्कै पो भएछ।
आफ्नो बाल्यकालको पुरानो च्याङथापु यसरी चिन्नै नसकिने गरी फेरिएको देखेर लेखकको मन खिन्न, उदास हुन्छ। आफ्नो शैशव र बाबु आमा, साथी-सङ्गीहरुसंग बसेको, उफ्रे-कुदेको ठाउँ र घडेरीमा पुरेर लेखक नोस्टाल्जिक हुनपुग्छन। उनका आँखा आँसुले भिज्दछन।

त्यो हाम्रो पुण्यभूमिको पितामाताले टेकेको आँगनको माटो टीका लगाएर उभिएपछि आँसुले भिजेर हाम्रा गह टालिए, मनभरि रिँगटा चल्यो, तर पनि सम्भालिएर माथि उक्लियौं। (पृ.237)
यसरी हेर्दा के देखिन्छ भने गोविन्दराज भट्टराईको यात्रा निबन्ध संग्रह मिर्मिरेमा दश पाइलाका सबै निबन्धमा प्रकृति र परिवेशका कुरा नै पाइन्छन अनि मानिसले प्राकृतिक वातावरणको विनाश गर्दा उनले चिन्ता व्यक्त गरेका छन। यस निबन्धमा एउटा वा दुइटा गरेर उदाहरणका लागि उद्धृति दिइएको छ। तर उनका निबन्धमा जताततै त्यस्ता वर्णन पाइन्छन। भट्टराईका सबै निबन्धहरु नै प्रकृतिमा चुर्लुम्मै डुबेका इकोराइटिङ हुन, त्यसमा कुनै शङ्का छैन।

निर्भीकता उनको निबन्धकारिताको महत्वपूर्ण पक्ष हो। डरको, डराएको, थर्थरी कामेको उनले उल्लेख गरेका छन तर ती सबै गहिरो व्यङ्ग सिवाय अरु केही होइनन। सत्तालाई सलाम ठोक्ने, महाख्यानको माला जप्ने, अदुवा बेसार तम्रै हुन भनेर धूप हाल्ने र आरती उतार्नेहरु पुरस्कृत भएका छन भने भट्टराईले सबै प्रकारका महाख्यानहरुलाई पछारेर उत्तानो पारेका छन। उनले स्वदेशमा पुरस्कार नपाउनु नै सबैभन्दा ठूलो पुरस्कार हो। पुरस्कारको लोभ र तिरस्कारको भय नभएका भट्टराई स्थितप्रज्ञ, सच्चा लेखक हुन। उनका निबन्धहरुले निर्भीकताको पताका फहराइरहेका छन।
बौद्धिकता भट्टराईको समग्र लेखनमा पाइने विशेष तत्व हो। उनले विश्वसाहित्यलाई छिचोलेका छन अनि आफ्नो सिर्जनामा तिनको विस्तृत प्रयोग गरेका छन। मिर्मिरेमा दश पाइलामा पनि धेरै ठाउँमा त्यसको दसी पाइन्छ। मेटामोर्फोसिस, हन्ड्रेड इयर्स अफ सोलिच्युड, मिडनाइट्स चिल्ड्रेन, द्य गुड आर्थ, लोलिता, सेतो बाघ, अन्तर्मनको यात्रा, अप्रिय, प्रेमपिन्ड आदि ग्रन्थको यसमा चर्चा पाइन्छ।
लेखक निबन्धलाई सबैभन्दा शक्तिशाली विधा मान्दछन। यसले खर्लप्प छिनाउन सकिन्छ। छिनाउन साहस चाहिन्छ। शब्द भौद्धिक हतियार हुन। शब्दब्रह्म ब्रह्मास्त्र, यसलाई जो कोइले चलाउन सक्तैन। लेखकले धेरै छाउँमा आफु डराएको कुरा लेखेका छन। तर प्रकृतार्थमा, उनीसँग ब्रह्मास्त्र छ, त्यसैले उनी निडर छन। उनको ब्रह्मास्त्र अचुक छ । उनको टङ्कारमा अपशक्ति टाडै भाग्छ। उनका निबन्धहरुमा लेखकको निर्भीक बयान पढदा बरु पाठकलाई डर लाग्छ। पाठकलाई आकर्षण गर्ने तत्वहरुमा यो पनि एउटा तत्व हो।

असम, भारत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु