भीमनिधि तिवारी, नेपाली साहित्याकासको उज्याला तारा

- भारती गौतम

“पुस्तकहरु सभ्यताका परिचायक हुन्, पुस्तकविना ईतिहास मौन हुन्छ,साहित्य लाटो हुन्छ, विज्ञान कूंजो हुन्छ अनि विचार र कल्पनाहरु अचल हुन्छन्”। वारवरा डव्ल्यू टक्म्यान,(अमेरिकी लेखिका)।
हुन पनि हो, कुनै पनि समाजको सामाजिक, राजनैतिक , आर्थिक सवै क्षेत्रको गवाह लिखित दस्तावेज छैन भने त्यो समाजको सभ्यताको विकासमा तुलनात्मक दृष्टिकोणमा नै पूर्ण बिराम लाग्नेछ। त्यसमा पनि प्राचिन सभ्यताको वास्तवीक ऐना नै साहित्य हो भन्न सकिन्छ। कुनै पनि युगको साहित्यले त्यस युगको भग्नावशेष को काम गर्न सक्छ। फुटेको प्लेट, चुहुने भांडो अनि चुडिएका खराउ भन्दा भित्तामा कोरिएका चित्र अनि ढुंगामा कुंदिएका कथाहरुले त्यो समाज सहि अर्थमा चिनाएका हुन्छन्। सांच्चै भन्दा त‘वुढा मरे भाषा सरे’लाई स्थाईत्व प्रदान गर्ने सहि अर्थको रुपान्तरण नै साहित्य मान्दा अत्युक्ति हुंदैन।
हरेक मुलुकको साहित्य पहिले त्यो मुलुककै प्रतिविम्व हुने हुंदा त्यहांको सामाजिक परिपाटी, मानविय संबेदनशिलता र सांस्कृतिक गतिशिलता को समेत सहि मापदण्ड हुनसक्ने त स्वाभाविक नै भयो। त्यो भन्दा पनि वास्तवमा हेर्ने हो भने साहित्यले समाजको दर्पण भन्दा एक खुड्किलो माथि उक्लिएर विद्यमान कुरिति र कुसंस्कारको तुवालो समेत औंल्याएको हुन्छ। समाजको भन्दा साहित्यको वेग केहि द्रुतगतिको भए पनि तत्कालिन परिपाटीलाई उछिनेर त्यति धेरै फड्किन पनि सक्तैन।
“साहित्य भनेको आफू वांचेको युगसंगको चुनौती हो” कमिलियो होजे सेला(स्पेनिस लेखक)।
विभिन्न कालमा विभाजित नेपाली साहित्यको ईतिहासले पनि आ-आफ्नो समयको परिपाटीको प्रतिनिधित्व गर्ने सन्दर्भमा भानुभक्त आचार्य भन्दा पूर्वकालका सुवानन्द दास, शक्तिवल्लभ अर्याल,गुमानी पन्त आदिको समयमा विरगाथा, भक्तिगाथाहरु वाट प्रभावित साहित्य भानुभक्त आचार्यको समयमा आएर साहित्यमा समाजका सवै वर्गको प्रतिनिधित्व को परिपाटि आरम्भ भयो । वोलीचालीको भाषाको रामायण वाहेक वधुशिक्षा,भक्तमाला र प्रश्नोत्तरी जस्ता रचना दिएर भानुभक्तले संस्कृत शव्दको वाहुल्यता र क्लिस्टतावाट नेपाली साहित्यलाई मुक्त गर्ने परम्पराको शिलान्यास गरे।
मोतीराम भट्टले आफ्नो छोटो आयुमा भानुभक्तको परिचय मात्र नगराएर साहित्यजगतमा उपन्यास र गजल लेखनको आरम्भ का साथै नेपाल भित्र र नेपाल वाहिर पनि नेपाली साहित्यका पत्रपत्रिका प्रकाशनको थालनी गरेका थिए। मोतिराम भट्टले पिकदूत, गजेन्द्रमोक्ष र कमल-भ्रमर संवाद जस्ता रचना दिए पछि नयां दिशा तर्फ मोडिएको नेपाली साहित्याकाशमा विद्वत शिरोमणी कूलचन्द्र गौतम, ,आशु कवि शंभु प्रसाद ढुंगेल, र चक्रपाणी चालिसे आदिहरु क्रमश राघवालंकार, तोतामैना,नेपाली संक्षिप्त रामायण लिएर जगमगाउन थालेका थिए। त्यसैगरी अटलवहादुर नाटक लिएर पहलमानसिंह स्वांर नेपालवाहिरवाट निस्किए भने माधवी पत्रिका संपादन गर्ने राममणी आदी गोर्खा भाषा प्रकाशिनि समितिको पहिलो सम्पादक समेत वनेका थिए।
नेपाली साहित्यको वगैचा यतिवेला सम्म निकै उर्वर हुन थालेपनि यसलाई सहि अर्थमा हरभरा पार्न सातसालको क्रान्ति अघि करिव दुईदशकको अन्तरालमा कवि शिरोमणि लेखनाथ पौड्याल, नाटक सम्राट वालकृष्ण सम,महाकवि लक्ष्मी प्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरे, धरणीधर कोईराला, गोपाल प्रसाद रिमाल र भिमनिधि तिवारी जस्ता एकजमात साहित्यकारहरुले साहित्यका विभिन्न विधामा आ-आफ्नो दक्षता प्रदर्शन गरी नेपाली साहित्यको नयां ईतिहास निर्माण गर्न थालेका थिए। यो जमातभित्रकै भएर पनि आफूलाई सिंगो साहित्यिक संस्थानकै रुपमा स्थापित गर्न भने भीमनिधि तिवारी वढि सक्षम हुन गएको केहि चर्चा यो लेखनको अभिप्राय रहेको छ।
“विसंगति , विकृति, शोषण, दलन,उत्पीडन,र तिनलाई कसरी परिमार्जन गरेर समाजवाट हटाउने भन्नेमा उहांले आफ्नो कविताको माध्यमवाट नेपाली साहित्यको एउटा काल खण्ड नै थप्नु भएको छ”।
राजकीय प्रज्ञाप्रतिष्ठानका भुतपूर्व कुलपति केदारमान व्यथितको उपरोक्त अभिव्यक्तिले नेपाली साहित्यका सवै बिधालाई उत्तिकै उर्वरा वनाउने भीमनिधि तिवारीको साहित्यिक विशेषतालाई सहि अर्थमा परिभाषित गरेको छ।
स्रष्टा भिमनिधि तिवारीको वारेमा केहि भन्नु भनेको नेपाली साहित्यको एउटा आधारभूत पाटोको चर्चा गर्नु हो। दुवैहातले धनुष चलाउने अर्जुन भन्दा पनि भिमनिधि तिवारीलाई साहित्यका कविता,निवन्ध,गजल, नाटक कथा उपन्यास समेत गरी सवै विधामा दक्ष सावित गर्न चार दर्जन भन्दा बढिको संख्यामा रहेको उनको सिर्जना भन्डार नै पर्याप्त छ।
व्यक्तित्व
तत्कालिन परम्परानुसार लालनिधि तिवारी र उहांकी पत्नीवाट ढिलो सम्म पनि सन्तान नभएपछि झन्डै दोस्रो विवाह समेत गर्न तयार भएपनि परिवारका सदस्यहरुको सल्लाहले हरिवंश पुराण सुनेपछि विक्रम संवत १९६८ फागुन ३० गते जन्मिएका भीमनिधि तिवारीको छैठीकै दिन प्रदर्शित ‘ईन्द्र सभा’ नाटक उनको नाटककार हुने भाविको रुपमा देखापरेको मान्न सकिन्छ। रंगमन्चको नाटक मात्र हैन भीमनिधिको वास्तवीक जीवन आफै पनि कम नाटकिय हुन पुगेको थिएन। संयुक्त परिवार हुनाको कारण सानातिना घरायसी घटना दूर्घटनाको परिवन्दमा पर्दै रहेका तिवारीको सवैभन्दा ठूलो नाटकिय विडम्वना सातवर्षको सारै कलिलो उमेरमा भएको उहांकी आमाको देहावसानलाई लिन सकिन्छ। तीनधामवाट प्राप्त प्रसादस्वरुप आएको कालोज्वरोको कारण तीनदशक पनि नपुगेकी आफ्नी आमाको देहावसानले विचलित तिवारीका पिताजीले ४५ दिन नपुगी अर्को विहे गर्ने निधोगरेपछि उनी ठूलीआमा संग वस्न गएका थिए। दोस्री पत्नी पनि चाडै स्वर्गे भएपछि तेस्री महिला तिवारीज्युकी आमा भएर भित्रिएपछिको घरको वातावरण ममतामयी नभएपनि उनले आफ्नी जेठीआमावाट जीवनभरी नै आमाको स्नेह र संरक्षण प्राप्तगरी रहे। चौडा आकर्षक र हंसिलो मोहडा भएका तिवारीले २४ वर्षको उमेरमा आफ्ना पिताको समेत वियोगको सामना गर्नु परेपछि घरको सवै जिम्मेदारी कांध हाल्नु परेको थियो। शान्त स्वभाव र सादा भोजन साथै हल्कारंगको पहिरन का अनुयायी तिवारीको पहिलो विवाह असफल भएपनि दोस्री पत्नी भुवनेश्वरीको साथ खुवै फापेको थियो। भुवनेश्वरी तिवारी कलाकार र कथाकार भएपनि कलाकारिता वाहेक कथाकारिता घरको चारदिवारमा नै सिमित देखिन्छ। कसैलाई नविझाउने तर स्वाभिमानी भिमनिधि तिवारी लगनशील, मिहिनेती र कर्मठ भएका थुप्रै उदाहरणहरु मध्ये घर परिवारको उत्तरदायित्वको वावजुद पनि आफ्नो पढाईलाई दिएको निरन्तरता पनि एक हो। तिवारीले कुनै तहमा आफ्नै छोरीसंग परीक्षा दिनुको साथै आफ्नै रचना समेत पाठ्य पुस्तकमा अध्ययन गर्नु परेको रहेछ।
कृतित्व: “भीमनिधिमा भनाईको अद्भुतता होईन,चमत्कारीक प्रस्तुती पनि हैन, उपमेय कथ्य र आलांकारिक भाषा पनि हैन, यिनिहरुपनि उनको प्रयोगमा सहज अभिव्यक्तिसरी सान्दर्भिक र अति व्यवहारिक खारिएर निस्किएका कथन जस्ता स्वत:स्फूर्त र सहज हुन्छन्”। कृष्ण चन्द्र सिंह प्रधान।
पढेलेखेकाहरुको लागि मात्र उपयोगी श्रव्य साहित्यको आधिपत्य भएको त्यो समयमा दृष्यकाव्यको रुपमा रचित नाटकहरु पनि भाषाको क्लिष्टता, दार्शनिकता अनि कवितात्मक संवाद आदिको कारणले ठुलो संख्यामा रहेका सर्वसाधारणलाई वुझ्न गाह्रो हुने गर्थ्यो। श्रव्य साहित्य पनि धेरैजस्तो क्लिष्ट र संस्कृत शव्द प्रयोगको प्रचुरताले गर्दा धेरै ठूलो जनसमूह साहित्यको रसस्वादनवाट वंचित रहने गरेकोमा भीमनिधि तिवारीले साहित्यलाई आमजनता समक्ष पुर्याउने काममा तिव्रता प्रदान गरेका छन्।
समस्यापूर्ती, गजल, हांस्यव्यंग्य, कथाहरु, निवन्ध, एकांकी नाटक, पूर्णांकी नाटक आदि गरेर चारदर्जन भन्दा वढि रचना सिर्जना गर्ने भीमनिधि तिवारीको दक्षता भने नाटककारको रुपमा धेरै चर्चित रहेको छ। उनका गजलगीतहरु र सहनशीला-सुशीला नाटकले नेपालको सवैकुनामा लोकप्रियता हांसिल गरेको थियो। वहुआयामिक भीमनिधि तिवारीको साहित्यिक योगदानलाई केलाएर हेर्दा यस्तो देखिन्छ।
कविता: ‘विस्फोट’ कविता संग्रहको लागि २०१७ सालको मदन पुरस्कार प्राप्तगरेका भीमनिधि तिवारीले तर्पण यशस्वी शव,कविताकुञ्ज आदि गरेर एकदर्जन जति काव्यिक कृतिको सिर्जना गरेका भए पनि ‘काम्यो लुगलुग त्यो, भरिया र दागवत्ती भने कविताका हरेक पंक्तिहरु पाठकको ह्रदयमा कुंदिएर रहेका छन्। सर्वसाधारणको वोलीचालीमा सर्वसाधारणको लागि सिर्जना गर्ने भीमनिधि तिवारीले सामाजिक,राजनीतिक एवं धार्मिक कुरिति, कुसंस्कार,र अन्धविश्वास प्रति व्यंग्य मिसिएका व्यंग्य कविता प्रसस्त रचेर त्यसमा समेत उनले लोकप्रियता कमाए।
वयासी र विस गजल अनि वयासी गजल संग्रह निकालेर युवाकवि मोतिरामभट्टले आरम्भ गरेको गजल लेखनलाई तिवारीले सवैभन्दा वढी र लोकप्रिय गजल सिर्जना गरेर कैयौं कदम अगाडी वढाएका थिए।
कथा: नेपाली साहित्य कहानी जेठोभाग देखि नेपाली साहित्य कहानी मन्तरे भाग सम्म गरी १० वटा कथा संग्रह नेपाली साहित्यलाई सुम्पेका भीमनिधि तिवारीका कथाले पनि तत्कालिन समाजका केहि वर्ग विशेष नभएर सर्वसाधारण को सामान्य जीवनलाई प्रतिनिधित्व गरेका छन्।
‘पन्ध्र प्रवन्ध’ निवन्ध संग्रह र’ ईन्साफ’ उपन्यास समेत मा कलम चलाएका भीमनिधिको सवैभन्दा ठूलो योगदानको क्षेत्र नाटक विधा अविस्मरणीय मानिएको छ। नाटक सम्राट वालकृष्णसमका मुटुको व्यथा अनि चिसो चुल्हो आदि भन्दा सरल सरस र समसामयिक भएर १९९५ मा निस्किएको उनको पहिलो सामाजिक नाटक “सहनशीला सुशीला”ले भएर नाटकजगतलाई नया दीशा प्रदान गरेको थियो। यसको लोकप्रियताको फलस्वरुप सहनशीला-सुशीला पछि पूर्णांकी र एकांकी नाटकहरु गरेर अरु डेढ दर्जन नाटक तिवारीवाट जन्मिए।
‘सिद्दार्थ गौतम’,शिलान्यास, चौतारा लक्ष्मीनारायण गरी झन्डै आधा दर्जन ऐतिहासिक नाटकका रचयिता तिवारी धेरै अनुसन्धान गरेर, त्यहि ठांउमा डेरैगरेर केहि समय विताएर वढो होसियारी साथ यस्ता नाटक रचना गर्ने गर्थे। नाटक खास गरेर मन्चन गर्ने हिसावले लेखिने हुंदा मंचनलाई ध्यानमा राखेर पात्रको वर्णन, पोशाक, स्थान, समय उनीहरुको वोलीचाली सवै उपयुक्त छानिएको हुन्थ्यो। नाटक निर्देशन र मंचनमा पनि सक्रिय भीमनिधिले रचेका नाटकहरुमा त्यसअघिका नाटकहरुमा हुने सुत्राधार र नेपथ्यको परिपाटी सकेसम्म कम प्रयोग भएको पाईन्छ।
अरु नाटककारहरुको दृष्टी पुग्न वांकी रहेका समाजका महत्वपूर्ण अंग किसान, नारीहरु, कम सम्पन्नहरुको, प्रतिनिधित्व गर्दै सहनशीला-सुशीला लगायत विवाह,किसान,नैनीकाराम जस्ता सामाजिक नाटकहरु भिमनिधि तिवारी वाट जन्मिए। तत्कालिक रुढीवाढि र पिछडिएका मान्यताहरुको चुनौती द्वारा समाजमा त्यो वर्गको जीवनस्तरमा आधुनिकताको सपना कोरिएको हुन्थ्यो। अर्को अर्थमा तिवारीका सवैजसो सामाजिक नाटकहरु आदर्शोन्मुखी यथार्थवादी पाईन्छ।
“तिवारीका मुख्य नाटकको उद्देश्य समाजका नग्न वास्तविकताहरुको उद्घाटन गर्नु भन्दा सत्य न्याय र धर्मको विजय र असत्य अन्याय तथा अधर्मको पराजय देखाउनु हो’- रामकृष्ण शर्मा।
भारत, रुस,रोम,लन्डन, जर्मनी, र नेदर्ल्यान्डस आदि मुलुकको समेत भ्रमण गर्ने अवसर पाएका तिवारीले तीनदशक भन्दा वढि सरकारी नोकरी गर्नु को अतिरिक्त नेपाल नाटक संघ र नेपाली साहित्य प्रेसको स्थापना समेत गरेका थिए।
मदन पुरस्कार लगायत प्रख्यात त्रिशट्टिपट्ट र ज्ञानपद सेवा पदक आदि वाट विभूषित भएपनि साहित्यकार भीमनिधि तिवारीको साहित्यिक योगदानको उचित मूल्यांकन हुन भने अझै नसकेको तथ्य धेरैजसोले महसुस गरीनै रहेको पाईएको छ। विक्रमसम्वत २०३० सालमा मा स्वर्गे भएका भीमनिधि तिवारीले आफ्नो उमेरको अनुपातमा लामो आयु वांच्ने अन्य धेरै साहित्यकारको भन्दा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले नेपाली भाषा साहित्यमा वढी योगदान दिएका थिए।
भीमनिधि तिवारी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने तारा भएर चम्किरहने छन् र उनले छोडेर गएका चार दर्जन भन्दा वढी सिर्जनामा नेपाली नारी साहित्याकासमा निरन्तररुपले थप उज्यालो प्रदान गर्ने विदुषी सुपुत्री द्वय मंजु कांचुली र वेन्जु शर्मा लाई पनि उहांका थप सिर्जना मान्दा असान्दर्भिक नहोला।
“उहां आफ्नो विद्वत्ता पाठकमाथि थोपर्न चाहनुहुदैनथ्यो’ गोविन्द मल्ल गोठाले ज्युको उक्त अभिव्यक्तिले भीमनिधि तिवारीको साहित्यिक विशेषता एवं विशिस्टतालाई सहिढंगले समिकरण गरेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु