उकालिँदै अस्ट्रेलियन क्याम्प

- राजेन्द्रमान डंगोल

गत साल वैशाखमा मात्र धम्पुस हुँदै फेदी झरेथेँ । आज फेरि यहीँबाटै उकालो लाग्दैछु । कहिलेको यात्रा यही ठाउँमा अन्त्य हुन्छ, कहिले यही ठाउँबाट सुरु हुन्छ । दस बजिसकेको थियो उकालोमा पहिलो पाइला राख्दा ।
००००
‘यात्रा कहाँ रोकिन्छ र !
एकछिन पाइला रोकिँदैमा
आँसु कहाँ सकिन्छ र
कहिलेकाहिँ पोखिँदैमा.........’
थकाइले पो रोकिएका थियौँ । यात्रा त कहाँ नै रोकिन्थ्यो र !
लखनेको बिसौनीबाट उँभो लागेपछि मैले आफैँलाई सुनाएथेँ यो कर्णप्रिय गीत । पञ्चासे डाँडालाई अन्तिम गन्तव्य बनाएर हिँडेका हामी । आँसु होइन, बरु पसिना चाहिँ काढेका थियौँ मज्जैले ।
साउन महिनाको उष्मा । त्यसमा पनि पहिलो पाइलादेखिकै उकालो । हावा चलेको थिएन फिटिक्कै । उष्णताले आलसतालस भएका थियौँ हामी । वातानुकूलतामा बस्ने बानी परेपछि उष्ण प्रदेशकै भएपनि मान्छे सागजस्तै ओइलाउन बेरै लाग्दो रहेनछ । अनुहारमा बगेको पसिनाको धारालाई फेदीकै छेउ भएर बग्ने घट्टेखोलाको पानीले पखालेको कल्पना गरेथेँ मैले ।
बाईस जना सदस्य थिए– मलेसियन कम्पनी नोम्याड एडभेञ्चर परिवारका सञ्चालक र कर्माचारी गरी । वर्षको एक पटक अफिस बन्द गरेरै विदेश यात्रा गर्ने÷गराउने कस्तो राम्रो कायदा ! उनीहरू आएका थिए र त हामीले पनि काम पाएका थियौँ । दुई पैसा कमाइने र त्यही बहानामा घुम्न पनि पाइने । नत्र बिनासित्ति यो वर्षामासमा उकालोओरालो गर्न कसलाई बहुला कुकुरले टोकेको थियो र !
बाटोमा भेटिए अस्टे«लियन क्याम्पतिरबाट झरेका एक हुल विदेशी पदयात्री । छोटो र सजिलो गन्तव्य भएकोले पदयात्रीहरू आइरहन्छन् यहाँ ।
आजको हाम्रो गन्तव्य हो– अस्टे«लियन क्याम्प । धम्पुसको तल्लो भागलाई छोडेर उकालो लागिरहेका छौँ हामी २,१०० मिटरको उचाइ चुम्न । बीचमा ढसमस्स गरी बसेको छ धम्पुस । धम्पुसको ढाड टेकेर नाक नभाँची सुखै छैन ।
खेतका आलीआलीमा पाइला टेक्दै छौँ हामी । बर्षाको मलिलो पानी कलकल बगिरहेछ कुलोमा । कतै भर्खरै रोपाइँ भएर पनि रोपो सरिसकेको छ । कतै रोपोको पात फर्किसकेका छन् । कतै धमाधम रोपाइँ हुँदैछ । मानो खाएर मुरी उब्जाउने बेला पो हो यो त ।
आँखालाई खेतका गह्राहरूले तानिरहेका छन् । ठिङ्ग उभिन पुग्छु म । हली, लाठे, रोपाहार र हलगोरु चल्मलाएको दृश्यले व्यूँझाइरहेको छ मेरो स्मृतिको भावगङ्गा । आम्मै ! छबीसेको फाँटमा रोपाइँ हुँदाको रमाइलो ! म आली लाउथेँ, कान्ला ताछ्थेँ । कहिले हिल्याउँथेँ र साउँथेँ । कहिले कोदाली लिएर बाउसे गथँे । बिउ पाँज्ने निहुँमा हिलाम्मे बनाइदिन्थेँ, रोपाहारहरूलाई । उधुमै गाली गर्थे मलाई मोरी साहिँली र माइलीहरूले । उरन्ठेउलो न थिएँ म ! के गर्नु ! खोइ अहिले त ? हिलो खेल्नुको त्यो मज्जा कहाँ लिनु !
कम्ता असारे गीत गाउँदैनथिन् हाम्री पुरेत्नी बज्यैले । काँठेभाका पो चल्छ त हाम्रोतिर ! बज्यैले लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अन्तराहरू मिलाई मिलाई गाउँथे बाँकीले ।
अझै सम्झना छ धिताल दाइले गाएको गीत–
‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो........’
रोपाहारहरूले गाएको पनि कहाँ बिर्सेको छु र–
‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार...........‘
कोही गाउँथे–
‘असारलाई भनी कुटेको च्यूरा म कति साँचूला
सौताका हात दुई कुड्की भात म कति बाँचूला.........’
थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्थ्यो गीतले । रसरङ मात्र होइन, प्रेम, वियोग र वेदनाका तरङ्ग पनि ब्यक्त हुन्छ असारे भाकामा ।
रोपाइँले बेस्सरी तान्दा विगततिर पुगेछु । रोपाइँको हिलो छुन नपाए पनि मन चोबले मैले । टोली भने अगाडि बढिसकेको थियो । भेट्न हतारिएथेँ म ।
तल्लो गह्रामा बयली खैल्दै छन् धानको रोपो । माथिल्लो गह्रामा हावा खाइरहेका छन् घोघा लागेका मकैका बोटहरू । मकै भाँच्नेबित्तिकै रोपो गोड्न हतार भइसकेको हुन्छ । कहिले पाउँनु त फुर्सद किसानहरूले !
मकैबारीभित्र तुन्द्रङ्ङ परेका छन् मकैबोडी । घरका करेसाबारीमा तेर्सिएका छन् पर्सीका झाल । थाँक्रामा झुन्डिरहेका छन् काँक्राका एकनासे कैँडाहरू । त्यो पनि अग्र्यानिक !
सम्झँदै थिएँ– यस्ता काँक्रा त गाउँमा हुँदा चौथीमा चोरेर कति खाइयो कति ! सम्झेर मुखै रसायो मेरो । सोचेँ– काँक्राको चिरामा नुन खुर्सानी दलेर सुकेको आँतलाई भिजाउन पाए यो चर्को घाममा कति आनन्द आउला !
यतिका मान्छे छन् । एक्लै त के खानु ।
“उड यु लाइक टु टेस्ट यान अग्र्यानिक क्युकम्बर ?” टोली नेता युइन लीलाई सोधेँ मैले ।
“ह्वाई नट !” उनको जवाफ ।
“काँक्रोको कति हो ?” आँगनमा उभिएर हाम्रो लर्कन हेरिरहेकी आमैलाई सोधेँ ।
“गोटाको बीस ।”
“दिनुस् न त पाँचवटा ।”
आमैले काँक्रा टिपेर पखालिन् र नुन खुसार्नी पिँधिन् । एकएक चिरा भाग पुग्यो । काँक्रो टोक्दै उकालो लागेका थियौँ हामी ।
ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ सँस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश ! घान्दु्रक, लान्द्रुक र टोल्कातिर हिँड्दाको याद आइरहेथ्यो मलाई ।
सुनसान देखिन्थे कतिपय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएको छन् । प्रायः बृद्धाहरु मात्रै छन् गाउँमा । कोही विदेसिएका र शहर झरेकाले पहिलेको चहलपहल छैन धम्पुसमा । धम्पुसको जीवन पढ्दै हिँडिरहेका थियौँ हामी ।
आइपुग्यो धम्पुसको धार्मे चौतारो ।
बटुवाहरू सुस्ताउने अर्को बिसौनी । एउटा आकर्षक भ्यू प्वइन्ट पनि । पीपलको वृक्षमुनि बिछ्याइएका छन् चाक्ला छपनी, बटुवालाई बस्न भनेर । पूरै चौतारा ढाकेथ्यो हाम्रै टोलीले । छब्बीसजना थियौँ हामी मलेसियाली र नेपाली गरी । एक दर्जन त महिलामात्र थिए । धेरैजसो मुस्लिम । मुख देखाए पनि टाउका चाहिँ छोपेका हुन्थे विवाहितहरूले ।
‘किन यतिबिध्न कट्टर हुनु परेका होलान यी मुसलमानहरू ! यो उखुममा त झिक्नु नि घुम्टो !’ क्रिडा गर्दै थियो प्रश्नले मेरो मस्तिष्कमा ।
खेतीयोग्य जमिनले घेरा हालेको छ बस्तीलाई । तल फेदीका फाँटदेखि पोखरासम्मकै अनुपम दृश्य देखिन्छ । माथि देखिन्छन् माछापुछ«े र चम्किला अन्नपूर्णाका स्वेत वदन ।
अन्नपूर्णाको अर्थ अधिष्ठात्री देवी, दुर्गाको एक रूप । यो क्षेत्रकै संरक्षिका पनि हुन् भन्ने लोकोक्ति पनि छ । हिन्दू मान्यता अनुसार अन्नपूर्णालाई पर्वत राजा हिमवतकी छोरी भनेर पनि विश्वास गरिन्छ । म भन्छु– ‘अन्नपूर्णा त पर्याय हो, चिनारी हो नेपालको ।’
हिमाल हेर्नका लागि उत्तम ठाउँ हो धम्पुस । त्यसैले त कतिपय चलचित्रहरूमा यहीकै दृश्य देखिन्छ । फेरि बस्तीसम्मै सडक आइपुगेको छ । पहाड भएर पनि सुगम छ– धम्पुस ।
डट्नु थियो उकालोसित । डट्यौँ मज्जैले । शिरमा माछापुछ«े सिउरिएर उकालोसित डटेको थिएँ म । नौनाडी खिचिइसकेको थियो धम्पुसको अनु गेस्टहाउस पुग्दा । लन्चको अर्डर गरिसकेका थिए सहयात्री जयनाथले । ब्रोइलर कुखुराको मासुसहितको दाल–भात र साथमा थियो पुदिनाको अचार । भोको पेटलाई के चाहियो र ! पुदिनाको महकले नै जगेडा चार गाँस भात फाल हालेको पत्तै भएन ।
अनु गेस्टहाउस छोड्नुअघि आकाश छेकेर ठडिएको अस्ट्रेलियन क्याम्प देखाएँ मैले मलेसियनलाई ।
“आर वि टचिङ द स्काई ?” ठट्टा गर्दै हाँसिन् टामी वेबर । उनी पनि त्यो कम्पनीको कार्यकारी ।
००००
‘घट्टे खोला पुल,
धम्पुस आउने मायालाई सम्झना
लालीगुराँस फूल..........’
धम्पुस छोड्नुअघि गुन्गुनाएथेँ म ।
यही गीतको भावनामा डुबुल्की मार्दै थिएँ धम्पुसको बस्ती नछेलिउन्जेल । अघिल्लो पटक धम्पुसमा बासबस्दा यहाँका आमा समूहले लालीगुराँस फूलले स्वागत गर्दै यही गीतमानाच देखाएका थिए उनीहरूले ।
००००
लौ, एकाएक बद्लियो मौसम !
आकाश त घ्वाप्पै छोप्यो बादलले । पिर्पिराउन थाले पानीका कण । बादल धर्तीमा लत्रिन थालेपछि आकाशमै अल्पियो अघि भर्खरसम्म देखिएको अस्ट्रेलियन क्याम्प । मलेसियनका लागि छिनमै घाम लाग्नु र पानी पर्नु नौलो कुरा होइन । बरु शीतल भएकामा राहत पाएको अनुभव गरेका थिए ।
धम्पुसको बस्ती सकिएलगत्तै स्वागत गर्छ अर्को उकालोले । घामको उपस्थितिमा बाटोभरि छाया पार्ने गुराँसे डालीहरू छेकिएका छन् बाक्लो कुहिरोले । हरियाली हडपिरहेको छ हुस्सुले । मौन छ गोरेटो । देखिँदैनन् कोइली, ढुकुर, तित्रा, सुगा, मैना र मुनालहरू, न सुनिन्छ तिनका कोकिल कलरव । खुला आकाशमा उडिरहने स्वतन्त्र पन्छीहरू कुहिराको बन्धनमा परेका छन् बिचरा !
निःशब्द छ चराचर । निःशब्द छ प्रकृति । निःशब्द छन् सहयात्रीका ओठ । निःशब्द छौँ हामी सबैसबै । लगभग निःशब्द भएरै उकालिइरहेका छौँ हामी ।
पुगियो एमानको चउरमा । एउटा नौलो नागी । सुरम्य छ घना जङ्गलबीचको घाँसेचउर । गृष्मकालिन सौन्दर्यको सुगन्ध फैलिरहेको थियो धर्तीभरी ।
चउरमा चरिरहेका छन् गाइवस्तु, बाख्रा र तिनलाई रखवारी गरिरहेका छन् तिनका निःशब्द गोठालाहरू । बाख्राका पाठाहरू चउरमा बुर्कसी मारेझैँ बुर्कुसिएथ्यो मेरा आखाँ हरिया गुराँसका हाँगाहरूमा ।
पोथाना र अस्ट्रेलियन क्याम्प जाने बाटो छुट्टिएको छ यहाँ ।
यहाँ पनि बनाइएको छ बटुवाका लागि एउटा बिसौनी । शरीरको थकानलाई बिसौनीको मल्हम लगाएपछि बोली फुट्दै थियो हाम्रो ।
प्रकृतिको चर्तिकला कस्ले बुझ्न सक्नु ! हठात् कुहिरोले धर्ती छोड्यो । उजेलियो चउर । उजेलिए सारा वनपाखा । निलो आकाश नदेखिए पनि देखियो गुराँसे हरियाली । निस्कन थाले चराहरू गँुडबाट र निकाल्न थाले नवीन नाद । आकाशको रङ, कुहिरोको रङ र वर्षे हरियालीको तादत्म्य । सुवाश छ मौसमको । सुवाश छ जरोबुटोको । आहा, क्या कञ्चन सौन्दर्य प्रकृतिको ! एउटै लुङ्दरको धराले रङ थपेको छ । अनि त के चाहियो र ! लाग्दै थियो मलाई– प्रकृतिको वदन चुमँुजस्तो, हरियालीमा केहीबेर लुकुँजस्तो र प्रकृतिकै भेषमा नाचुँजस्तो ।
थारै मात्र बाँकी थियो गन्तव्य छिचोल्न ।
हावा चिसिँदै आयोे पहाड उक्लेपछि । स्पर्श हुँदै थियो लेकाली ठण्डीसित ।
शरीरका दुई सय छवटै जोर्नीहरू रगडिएका थिए सायद । थालिन थालेको थियो शरीर । फेरि पनि अस्ट्रेलियन क्याम्पमाथि बिजय हासिल गरेको खुसियाली त मनाउनै प¥यो । घुम्न आएको बेला नपिए कहिले पिउने ? फेरि एउटा बहाना पनि त चाहियो ! बगेको पसिना पूर्ति गर्ने तरिका न हो । थकाइको बदलामा आफ्नै ज्यानलाई ट्रिट गर्ने उपाय न हो । सबैले पिउँछन् तर पिउनुको अद्भुत आनन्द त शायद दुनियाँमा पदयात्रा गर्नेले मात्र पाउँछ ।
के छ त बिचार भरेको लागि जयनाथ ? उनको अभिप्राय बुझ्ने प्रयत्न गरेँ मैले ।
बिचार त उही हो । तैतै एउटा लोकल भाले पनि व्यवस्था गर्न सके त गज्जबै हुन्थ्यो । मेरो आशय बुझेरै भनेका थिए सायद उनले ।
जयनाथसँग बेलुकीको योजना बनाउँदा बनाउँदै चुम्यौँ अस्ट्रेलियन क्याम्प । चार बजिसबकेको थियो ।
खासमा खर्क हो– अस्ट्रेलियन क्याम्प । उहिलेउहिले यहाँ होटलको व्यवस्था थिएन । सबैभन्दा पहिले अष्ट्रलियनले क्याम्पिङ गरेर बास बसेका थिए रे । फराकिलो ठाउँ क्याम्पिङ गर्न सजिलो भएकोले पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै गयो । त्यसपछि यहाँ विदेशी पर्यटक ल्याउनेले अष्ट्रेलियन क्याम्प भन्न थालेपछि खर्क भन्न छाडिएछ ।
जेजे भएपनि माछापुछ«े र अन्नपूर्णाको अमित आँगन हो– अष्ट्रेलियन क्याम्प । हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् यहाँबाट । हृदयहारी ठाउँ हो यो । ख्याल आनन्द आउँदैन हिमाल, पहाड र वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा । यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो डाँडामाथि । आँखाले कुहिरो पन्छाएर हिमशैलका सग्ला तस्बीर कोर्न खोज्दा खोज्दै खसिकेको थियो गोधुली ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु