डा. जीवन नामदुङको “उल्लेख” एक उल्लेखनीय कृति

- नवीन पौड्याल

नेपाली साहित्यमा जीवन नामदुङको नाम आदरको साथ लिइने गरिन्छ। उनको जन्म ८ डिसेम्बर, १९५१ मा सोनादामुनि मुञ्डाकोठीमा भएको हो। उनी एक सफल लेखक, एक कुशल साहित्य सङ्गठक र एक गहन अध्येता हुन्। साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक रहेर उनी नेपाली साहित्यको श्रीवृद्धि, संरक्षण र प्रवर्द्धनका निम्ति निरन्तर रूपमा कर्मरत छन्। उनी नेपाली साहित्यमा एक वरिष्ठ कवि, दक्ष समालोचक, एक गहन अध्येता, एक सचेत अनुसन्धाता र एक कुशल अनुवादक हुन्। उनी साहित्यको मन्दिरमा उनले सम्पादित, अनूदित र मौलिक गरी तीसभन्दा बढी कृतिहरू चढाइसकेका छन्। उनले एकपछि अर्को गर्दै कृतिहरू प्रकाशित गर्ने क्रम जारी राखेका छन्। यसका साथै उनले एकैचोटि आफ्ना चौधवटा कृतिको विधिवत् लोकार्पण गरेको कीर्तिमान कायम पनि गरेका छन्। उनी नेपाली भाषा र साहित्यको विकासमा दत्तचित्तले लागिपरेका छन्।
सन् १९७८ मा नेपाली साहित्यका भौंप्वालहरू लिएर नेपाली समालोचनामा देखा परेका हुन्। त्यसपछिदेखि उनले यस क्षेत्रमा धेरै काम गरिसकेका छन्। नेपाली साहित्यमा उनको कवि व्यक्तित्वबाहेक एक डा. नामदुङ मूल रूपमा एक दक्ष समालोचक हुन्। उनको कलमबाट भारतका विभिन्न प्रान्तका नेपाली स्रष्टाहरू आलोकित, आलोचित र उपकृत भएका छन्। केही ओझेलमा परेका पुराना र नयाँ लेखकहरूलाई डा. नामदुङले कुनै न कुनै रूपमा उत्खनन् र आलोकित गरेका छन्। उनी नयाँ नयाँ लेखकहरूका कृति पढ्न र तिनमाथि समीक्षाको आलोक दिएर कृतिलाई उपकृत पार्दछन्।
डा नामदुङको सन् २००६ मा प्रकाशित समीक्षात्मक लेखसङ्ग्रह उल्लेख नेपाली साहित्यको निम्ति एक उल्लेखनीय र महत्त्वपूर्ण कृति हो। यसमा जम्मा एक्काइसवटा समीक्षात्मक लेखहरू सङ्ग्रृहीत छन्। यसमा रहेका लेखहरूलाई डा नामदुङ आफैंले भूमिकामा प्रवृत्तिगत, विवृत्तिगत, विधागत, धारागत, जीवनीपरक गरी पाचवटा विषयवस्तुगत वर्गीकरण गरेका छन्। यद्यपि यसमा रहेका लेखहरूको अध्ययन गर्दा अर्को विषयवस्तुगत वर्गीकरण पनि गर्न सकिने ठाउँ देखिन्छ। यस नयाँ वर्गीकरणहरू गर्दा यहाँ जम्मा चार किसिमका छुट्याउन सकिन्छ - १. सर्वेक्षणपरक २. कृतिपरक ३. कृतिकारपरक र ४. भाषापरक। यसमा रहेका सर्वेक्षणपरक लेखहरूमा आधुनिक नेपाली कविता, दार्जिलिङको बालकथा साहित्य - एक अध्ययन, हास्य व्यङ्ग्य साहित्य दार्जिलिङको, समकालीन नेपाली उपन्यासमा राजनैतिक चेतना, भारतीय नेपाली समालोचनाको परम्परा र प्रवृत्ति रहेका छन्। यसमा विधागत साहित्यिक सर्वेक्षण मात्र नभई प्रवृत्तिगत, स्थान-कालगत, मूल्याङ्कनगत जस्ता विशेषताहरू देखा पर्दछन्।
यसै गरी उल्लेखमा उल्लिखित कृतिकारपरक लेखहरूमा शिवकुमार राई, जी. छिरिङ, जगत छेत्री, रधिका राया, अगमसिंह गिरी, डी तामाङ अग्नि, ठाकुर चन्दनसिंह आदिका कृत्तित्व र व्यक्तित्वाथि गहन अध्ययन प्रस्तुत गरेका छन्। यसमा शिवकुमार राईको कथाकारितामाथि आफ्नो गहन अध्ययन गरेका छन्। शिवकुमार राईको कथाकारितामाथि एउटा विश्लेषणात्मक र मूल्याङ्कनात्मक लेख निकै महत्त्वपूर्णको छ। यसमा कथाकार शिवकुमार राईको समग्र कथाकारिता र र तिनको कथागत प्रवत्तिको लेखाजोखा गरिएको छ। डा नामदुङ अनुसार शिवकुमार राईले आफ्नो जीवनको त्रिपन्न वर्षमा जम्मा चौंवालिसवटा कथा दिएका छन्। उनले राईका कथालाई जातीय अस्मिताको पीडा, आञ्चलिकता, ऐतिहासिक प्रसङ्ग, प्रणयवेदना, मानवेतर पात्र चयन, रहस्य रोमाञ्च, सांस्कृतिक चेतना, मनोवैज्ञानिकता, मानवीय आदर्शको स्थापनाको प्रयत्न आदि जस्ता विषयवस्तुका रूपमा वर्गीकरण गर्दै प्रवृत्तिका आधारमा प्रायः एकेकवटा कथालाई केलाएका छन्। यीबाहेक शिवकुमार राईले आफ्ना कथामा नेपाली समाजको प्रतिविम्बन गर्न कुशल छन् भनी खुट्याएका छन्। यस माथिका एकेकवटा प्रवृत्तिका आधारमा एकेकवटा कथाको समीक्षा गरेका छन्। यस लेखमा राईमाथि आफ्नो पुस्तकको लगभग चालिस पृष्ठ जति खर्चेर शिवकुमार राईका कथाकारितामाथि शोधकर्ता र विद्यार्थीका निम्ति निकै उपयोगी अध्ययनको मार्ग खोलिदिएका छन्।
डा नामदुङले आफ्नो साहित्यिक सर्वेक्षणका क्रममा उल्लेखमा आधुनिक नेपाली कविता, दार्जिलिङको बालकथा साहित्य, दार्जिलिङको हास्य-व्यग्य लेखन, समकालीन नेपाली उपन्यासमा राजनैतिक चेतना, भारतीय नेपाली समालोचना परम्परा र प्रवृत्ति जस्ता लेखहरू समावेश गरेका छन्। यसैगरी उनले पत्रिका सर्वेक्षण गर्ने क्रममा नेपाली साहित्य सम्मेलनको मुखपत्र दियालो र भाक्सूवाणीको विस्तृत अययन गरेका छन्। यी दुई पत्रिकाले दिएको योगदानको उल्लेख गरेका छन्।
प्रस्तुत ग्रन्थमा दुईवटा पत्रिकाको प्रायः सबै अङ्कहरूको सर्वेक्षण गरिएको छ। यसमा भाक्सुवाणी पत्रिकाको जम्मै उन्तीसवटा अङ्कहरूका सबै लेख-रचना देखाइदिएर चाहिनेचाहिने सामाग्रीको चयन, अध्ययन र व्याख्या गरिएको छ। यसबाट भावी शोधार्थीलाई अध्ययन गर्न निकै सहयोग हुन्छ। यसमा मुखय र उल्लेखनीय सम्पादकीय टिप्पणी, लेखहरूको समीक्षासमेत गरिएको छ। यसैगरी नपाली साहित्य सम्मेलनको मुखपत्र दियालोको शुरूदेखि लगभग चालिसवा अङ्कसम्मको सर्वेक्षण, अध्ययन र मूल्याङ्कन गरिएको छ। उनले दियालो प्रकाशनको विशेषताहरू केलाउँदा यसको नियमितता, स्तरीयता, रचनागत विविधता, रचनाचयनप्रति उदारता, विशिष्ट साहित्यिक प्रतिभा र विविध प्रसङ्गलाई लिएर विशेषाङ्क प्रकाशन, दियालो पुरसकार वितरण जस्ता पक्षहरूको उल्लेख गरेका छन्।
२. कृति परिचय – यसैगरी कृतिपरक अध्ययनका क्रममा नवसापकोटा, पवन चामलिङ, तुलसीराम कश्यपको कल्पना निबन्ध सङ्ग्रहको मूल्याङ्कन गरेका छन्। यसमध्ये नवसापकोटाको सिर्ज एउटा कागजको इतिहास तिम्रा ती पुर्खाको भन्ने कवितामा जातीय भावनाका विविध प्रसङ्ग केलाइ तिनमाथि समीक्षा गरिएको छ। यस व्याख्यामा उनले भारतमा गोरखालीको पुर्खाको इतिहासमाथि केन्द्रीत भावधारा र शिल्पपक्षबारे मूल्याङ्कनात्मक अध्ययन प्रस्तुत गरेका छन्। उनले पवन चामलिङको कवितासङ्ग्रह अन्तहीन सपना मेरा विपनाका विविध भावलाई केलाएर तिनको प्रवृत्तिपरक अध्ययन गरेका छन्। यसैगरी तुलसीराम कश्यपको कल्पना निबन्धसङ्ग्रहको पनि अध्ययन गरेका छन्। यस कृतिका आधारमा तुलसीराम कश्यपको निबन्धकारितामाथि बहस गरी तिनको मूल्यनिर्धारण गरेका छन्। यसमा रहेका पन्ध्रैवटा निबन्धहरूको सारवस्तु, विचार र विशेषता संक्षिप्त रूपमा केलाएका छन्।
३. कृतिकार परिचय- डा नामदुङका कलमबाट यस पुस्तकमा शिवकुमार राई, जगत छेत्री, जी छिरिङ, डी तामाङ अग्नि, राधिका राया, अगमसिंह गिरी, ठाकुर चन्दनसिंह जस्ता सर्जकहरूको साहित्यिक योगदानको मूल्याङ्कन गरेका छन्। शिवकुमार राईको कथाकारितामाथि उनले निकै अध्ययन प्रस्तुत गरेका छन्, जो माथि नै उल्लेख गरियो। राधिका राया र डी तामाङ अग्निलाई नि नेपाली साहित्यिक समाजमा चिनाउने काम गरेका छन्। जी छिरिङको साहित्यिक योगदानको कुरा उल्लेख भएका उनका उन्नाइवटा कथाको संक्षिप्तमा भए पनि व्याख्या गरेका छन्। भारती पत्रिकामा जी छिरिङका कथा नै सबैभन्दा बढी प्रकाशित भएको देखिन्छ भन्ने उनको निर्क्योल छ। यद्यपि बैंशालु पत्रिकाले जी छिरिङ विशेषाङ्कबाहेक उनको कतै कदर भएन, पुरस्कृत भएनन् भन्ने गुनासो पनि डा नामदुङले गरेका छन्। यसैगरी भाक्सूका मगन पथिकले ठाकुर चन्दनसिंहमाथि प्रकाश पारेर तयार पारेको सन् १९८७ मा प्रकाशित पुस्तकमाथि डा. नामदुङले समीक्षा गरेका छन्। यसका साथै ठाकुर चन्दनसिंह माथि उनकै मौलिक विचार र उद्गार पनि व्यक्त गरेका छन्।
४. भाषिक चिन्तनपरक - डा नामदुङले यस ग्रन्थमा दार्जिलिङे नेपाली भाषाबारे आफ्नो विचार व्यक्त गर्ने क्रममा यहाँ प्रचलित केही केही अनौठा र विकृतिमूलक शब्दहरूको उल्लख गरेका छन्। दार्जिलिङमा प्रचलित यस्ता केही शब्दहरू अड्डा, भूखमाडी, भागलपूरे, झप्का, तोङ्स्, फुर्के, झ्याप, रड्डी आदिको अर्थसहित व्युत्पत्ति केलाएका छन्। युवा पुस्ताको भाषिक व्यवहारबाट भाषाको नयाँ स्वरूप जन्मिएको तथ्य प्रस्तुत गरेका छन्।
यसरी हेर्दा डा जीवन नामदुङलाई हामी एक अन्वेषक, साहित्येतिहासकार, कृति विश्लेषक, निर्णयपरक समालोचकका रूपमा पाउन सकिन्छ। उनी कुनै पनि कृतिभित्र पसेर त्यसका वस्तु, रूपविन्यास, भाषा-शिल्प, भाव-अन्तर्भाव सबै पक्ष केलाएर पाठकलाई कृति रसास्वादन गर्न सहयोग पुर्‍याउँछन्।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु