अभियुक्त सङ्घ

- कृष्ण बजगाईं

अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष साबित गर्न उनका वकिलले गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्त विरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका थिए ।
दुबैतर्फको बहस सकिएपछि आफ्नो निर्णय सुनाउनुअघि न्यायाधीशले अभियुक्तलाई आफ्नो तर्फबाट केही भन्नु छ कि भनेर सोधे ।
‘छ श्रीमान् ।’ अभियुक्त बोल्यो ।
‘आफ्ना कुरा राख्न अनुमति छ ।’ न्यायाधीशले भने ।
‘मलाई जेजस्तो आरोप लगाए पनि मलगायत ‘अभियुक्त सङ्घ’ ती सबै आरोपको खण्डन गर्दछ । मलाई जसरी पनि सङ्घले न्याय दिलाउने छ । म अभियुक्त सङ्घको केन्द्रिय सदस्य हुँ ।’ अभियुक्तले नजानिदो तरिकाले धम्कीको भाषा बोल्यो ।
‘अभियुक्त सङ्घ ? कहिलै नसुनेको यो कस्तो संस्था हो ? कहाँ छ यो संस्था ? को को छन् यसका पदाधिकारी ?’ न्यायाधीशले सोधे ।
‘यो भूमिगत सङ्घ हो । यसका बारेमा सबै कुरा खोल्न मिल्दैन । हाम्रो सङ्घको खुला मोर्चा भनेको सत्ताधारी राजनीतिक पार्टी हो ।’ अभियुक्तले ठाँटसँग बोल्यो ।
‘अभियुक्त सत्ताधारी राजनीतिक पार्टीको सदस्य !?’ त्यो सम्झनासाथ न्यायाधीशको सातो गयो ।
अभियुक्तलाई जेल लैजान तयारी अवस्थामा राखिएको गाडी फिर्ता भयो । अभियुक्त फूलमाला र अबिरले पुरियो । उसको नाममा जिन्दावादको नारा गुञ्जायमान थियो । ऊ पजेरोमा चढेर हुँइकिहाल्यो ।
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु