केराको बोट

- ईगम खालिङ

गाउँका दुई बालिका प्रतिमा र देविका सधैँ एक घण्टा लाग्ने बाटो हिँडेर स्कूल धाउने गर्छन् । आँधा बाटो हिँडिसकेपछि एउटा पानी पिउने कच्चा धारा भेटिन्छ । त्यो धाराको शिरमा एउटा झ्याम्म परेका केराका बोटहरू छन् । उनीहरू स्कूल जाँदा-आउँदा त्यही धाराको पानी पिउने गर्छन् । एकदिन, त्यसरी पानी पिइरहेको बेलामा एउटा केराको बोटले प्रतिमालाई मानवस्वरमा सोध्छ—


“प्रतिमा, के तिमी मसित बिहे गर्छ्यौ ?”


प्रतिमा एकछिन त छक्क पर्छे । त्यसपछि डरले अतालिँदै बाटोमा निस्किएर त्यो कुरा देविकालाई एकै सासमा सुनाउँछे । तर देविकाले भने उसले ठट्टा गरेकी ठान्छे । प्रतिमाले अनेक कोसिस गर्दा पनि उसले पत्याउँदै-पत्याउँदैन ।


बेलुकी घरमा त्यो घटना आमालाई सुनाउँछे—“आमा, माथि डाँडाको धाराछेउमा एउटा झ्याम्म परेका केराका बोटहरू छन् नि, ती बोटहरूमध्ये एउटा बोटले धारामा पानी पिउन जाँदा मलाई “प्रतिमा, के तिमी मसित बिहे गर्छ्यौ ?” भनेर सोध्नेगर्छ ।”


आमा पनि प्रतिमाको कुरा सुनेर हाँस्छिन् । प्रतिमाको कुरालाई घरको कसैले पनि पत्याउँदैन । एकदिन, हद भएर उसले देविकालाई नै सुझाव माग्छे—“देविका, मलाई कसैले पनि विश्वास गरिरहेकै छैन । मलाई वाक्क भइसक्यो, अब तैले नै सुझाव दे न म के गरूँ ?”


देविकाले एकछिन सोचेर भन्छ—“आज तैले ‘हुन्छ’ भनिदे न त, त्यसले के गर्दो रहेछ !” त्यसदिन, स्कूलको छुट्टिपछि उनीहरू सरासर त्यही धारामा पुग्छन् । त्यतिबेला पनि त्यो केराको बोटले त्यही प्रश्न गर्छ । प्रतिमाले गम्भीर भएर देविकालाई “तैले सुनिस् ?” भनेर सोध्छ । देविकाले प्रत्योत्तरमा “सुनिन त, ‘हुन्छ’ भनिदे न !” भनेर धाराको पानी घुटघुट पिउन थाल्छ ।


प्रतिमाले ‘हुन्छ’ मात्रै के भनेकी थिई त्यो केराको बोट हेर्दा-हेर्दै एउटा विशाल सेतो सर्पमा परिणत भएर उतिर सरर आएर उसलाई बटारेर लान्छ अनि त्यही केराको बोटमा नै विलिन हुन्छ । छेउमा उभिरहेकी प्रतिमा छैन, देविका रोइ-कराइ गर्छे ।


प्रतिमाको घरमा मान्छेहरूको भीड छ तर देविकालाई कसैले पत्याउँदै-पत्याउँदैन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु