लाहुरी भैंसी कथाको समाख्यान विश्लेषण

- प्रा.डा.गंगाप्रसाद अधिकारी

१. परिचय
पाश्चात्य समालोचना जगतमा प्रचलित विविध आधुनिक साहित्यशास्त्रहरूमध्ये समाख्यानशास्त्र (Narratology) पनि एक हो । यो आख्यानात्मक संरचनाको सिद्धान्त हो । यसलाई वाच्यविज्ञान पनि भन्न सकिन्छ । यस अन्तर्गत आख्यानभित्र भएका लघुघटकहरूलाई खोतलेर तिनका संरचनाको विश्लेषण गरिन्छ । कथ्य, लेख्य वा दृश्यात्मक आख्यान संरचनाको वर्णनात्मक ढाँचा के कस्तो रहेको छ भन्ने कुरालाई खोतल्ने काम यसमा हुन्छ । समाख्यानशास्त्र अन्तर्गत आख्यानको विश्लेषण गर्दा यसको प्रकार्य र सम्बन्धको निरूपण कसरी भएको छ भन्ने कुरामा विशेष ध्यान दिइन्छ ।
समाख्यान विश्लेषणका लागि कृतिमा कथात्मकता आवश्यक हुन्छ । कथात्मकताभित्र घटना, पात्र, परिवेश आदि रहन्छन् । यी सम्पूर्ण कुराहरूबारे समाख्याताले कुनै सम्बोधीसित सञ्चार गर्छ । यही सञ्चारको स्थापत्य (Machanism) के कस्तो छ भन्ने बारे अध्ययन गर्ने शास्त्र नै समाख्यानशास्त्र हो ।
समाख्यानशास्त्रीय आधारमा आख्यानको विश्लेषण गर्ने पद्धति पाश्चात्य जगतमा प्रचलित रहेको छ । नेपाली समालोचनाको परम्परामा भने यो पद्धति त्यति प्रयोग हुने गरेको पाइन्न । आख्यानात्मक रचनाको समाख्यान विश्लेषण एउटा महत्त्वपूर्ण विषयको रूपमा पश्चिमी समालोचना–संसारमा स्थापित हुँदै गएको पद्धति हो । त्यसैले यस अध्ययनमा ‘लाहुरी भैंसी’ कथाका समाख्यानात्मक संरचनाका विविध पक्षको अध्ययन गर्ने प्रयास गरिएको छ । कथाकार रमेश विकल (१९९५–२०६६) द्वारा रचित ‘लाहुरी भैंसी’ कथा ‘नयाँ सडकको गीत’ (२०१९) कथा संग्रहमा सङ्कलित छ । यस अध्ययनमा शोषक र शोषित दुई वर्गबिचका क्रियाकलापलाई प्रस्तुत गर्दै नेपाली समाजभित्रको सामाजिक यथार्थलाई प्रस्तुत गरिएको यस कथाको समाख्यानात्मक संरचनाका विविध घटकहरूको विश्लेषण गरिएको छ । यो विश्लेषण मूलतः ‘लाहुरी भैंसी’ कथाको समाख्यानात्मक संरचना के कस्तो रहेको छ ? भन्ने जिज्ञासाको उत्तरको खोजीमा नै केन्दित रहेको छ ।
२. अध्ययनको सैद्धान्तिक आधार
प्रस्तुत अध्ययनमा कथाकार रमेश विकलको ‘लाहुरी भैंसी’ कथाको समाख्यान संरचनाको विश्लेषण गरिएको छ । यसका लागि समाख्यान संरचनाका विविध आधारलाई लिने क्रममा समाख्यानशास्त्रीहरू जेनेट, च्याटम्यान, बल तथा डी हरम्यान आदिले समाख्यानशास्त्रबारे प्रस्तुत गरेका सैद्धान्तिक मान्यताहरूलाई मुख्य आधार बनाइएको छ । यस क्रममा कथाको समाख्यानात्मक सम्प्रेषण र यस अन्तर्गत कथाका विविध सम्प्रेषण शृङ्खलाको अध्ययन गरिएको छ भने समाख्याताको भूमिका र प्रकार, समाख्यानको केन्द्रण र कालयोजनासम्बन्धी समाख्यानशास्त्रीय दृष्टिकोणलाई कथाको विश्लेषणका लागि सैद्धान्तिक आधार बनाइएको छ ।
३. लाहुरी भैसी कथामा समाख्यान सम्प्रेषणको विश्लेषण
३.१ समाख्यानात्मक सञ्चरणको कार्यात्मक तह
‘लाहुरी भैंसी’ कथाको समाख्यानात्मक सञ्चरणको कार्यात्मक तहमा ६ वटा कथ्य शृङ्खला रहेका छन् । विभिन्न पात्रहरूका संवाद र पारस्परिक क्रियाकलाप तथा समाख्याताको वर्णनबाट कथ्य शृङ्खला अघि बढेका छन् । यी कथ्य शृङ्खलाहरू मूल कथाका कथांश वा अन्तराख्यान (म्याट्रिक्स) का रूपमा रहेका देखिन्छन् । यसरी आएका कथांश वा अन्तराख्यान निम्नानुसार रहेका छन् ः
क) सम्प्रेषण शृङ्खला १
यस शृङ्खलाबाट कथाको आरम्भ भएको छ । लुखुरेको घरमा द्वारे बाले “कालो रुमलो” देखेपछि कथाको उठान भएको छ । लुखुरेका आँगनमा लाहुरी भैंसी बाँधिएको देखेर द्वारे बा आश्चर्यमा पर्नु, यसबाट द्वारे बालाई असह्य हुनु, द्वारेले रामे (रामवीरे) लाई समेत लिएर लुखुरेका घरतिर लाग्नुसम्मका घटनाहरू यस कथांशमा आएका छन् ।
कथाको यो सम्प्रेषण शृङ्खलाको प्रारम्भमा द्वारे बाको आत्मालाप छ भने पछिबाट रामेसँगको संवाद छ । उनीहरूका क्रियाकलापबारे समाख्याताको टिप्पणी तथा द्वारे र रामेबिचका संवादबाट लुखरे र उसले ल्याएको भैसीबारे जानकारी प्रस्तुत भएको छ । यस कथांशमा छ वटा ससाना आख्यानचूर्णहरू रहेका छन् । तिनलाई प्रस्तुत गर्नका लागि समाख्याताको कथन र पात्रको संवादको उपयोग गर्दै आख्यानको सम्प्रेषण योजना मिलाइएको छ ।
ख) सम्प्रेषण शृङ्खला २
यस अन्तराख्यानमा लुखुरेको घरलाई कार्यपीठिका बनाइएको छ । यस कथांशमा लुखुरेको घरमा भैंसी ल्याएपछि उसको घरपरिवारमा छाएको खुसी र उमङ्गको चित्रण समाख्याताबाट गरिएको छ । यस क्रममा लुखुरेको छोरो पोडे र लुखुरेबिचको छोटो संवाद छ । साथै लुखुरे र उसकी झगडालु एवम् दुष्ट स्वभावकी स्वास्नी घैंटीका मनमा उब्जेको खुसीको अवस्थाको उल्लेख छ । लाहुरीकै कारण घैंटी ममता र सेवाकी प्रतिमूर्ति झैं देखिएको अवस्थाको वर्णन समाख्याताबाट भएको छ ।
ग) सम्प्रेषण शृङ्खला ३
यस कथांशमा द्वारे बा, लुखुरे, रामवीरे, घमाने र खुलालका बिचको संवाद र क्रियाकलापहरू आएका छन् । समाख्याताबाट घटनाको स्थितिको वर्णन गर्दै यस कथांशको आरम्भ भएको छ भने द्वारे र लुखुरे, द्वारे, रामे र घमाने, पुनः द्वारे र लुखुरेबिच तीनवटा संवाद शृङ्खलाको योजना यस कथांशमा रहेको छ । लुखरेप्रतिको रामेको एकोहोरो अभिव्यक्तिमा यो सम्प्रेषण शृङ्खला समाप्त भएको छ । लुखुरेकै घरलाई कार्यपीठिका बनाइएको यस अन्तरआख्यानमा समाख्याताद्वारा द्वारेको कुटिल अभिव्यक्ति, लुखुरेको विषाद, द्वारेका भनाइमा घमाने, खुलाल र रामेको समर्थन आदि कुराको समाख्यान गरिएको छ ।
घ) सम्प्रेषण शृङ्खला ४
यस कथांशमा पनि लुखुरेको घर नै कार्यपीठिकाका रूपमा आएको छ । यसमा द्वारेले गरेका कुटिल कुराले लुखुरेको मनोदशा र उसकी स्वास्नी घैंटीको व्यवहारमा आएको नकारात्मक परिवर्तनको समाख्यान छ । साथै पूर्वदीप्तिद्वारा लुखुरेलाई द्वारेले बोलेका कुटिल वचन र घैंटीका कटुशब्दको स्मरण भएको र लुखुरेका छातीमा झन् वेदना र व्यग्रता बढेको सन्दर्भ यस कथांशमा आएको छ ।
ङ) सम्प्रेषण शृङ्खला ५
कथाको यो खण्ड द्वारे बा, लुखुरे, बुढाथोकी, घमाने, सीताराम पण्डित र रामवीरेका संवादबाट अघि बढेको छ । कथांशमा द्वारेको घरलाई कार्यपीठिका बनाइएको छ । द्वारेको घर गाउँलेहरूको तमाखु खाने, गफ गर्ने, दुःखदर्द पोख्ने, गाउँघरमा भएका घटनाबारे टीकाटिप्पणी गर्ने थलोका रूपमा रहेको छ । त्यही क्रममा लुखुरेको उपस्थिति, भैंसी किनेर आफू खौलामा परेको लुखुरेको गुनासो र त्यसका लागि उचित सल्लाह दिन द्वारेसँग आग्रह, लुखुरेको भैंसी परेको मूल्यभन्दा कममा द्वारेलाई दिन बुढाथोकी, रामवीरे र पण्डितको कुटिलतापूर्ण सल्लाह र त्यही सल्लाह मान्न लुखुरे विवश भएको स्थिति यस कथांशबाट प्रस्तुत भएको छ ।
च) सम्प्रेषण शृङ्खला ६
यस कथांशको एउटा कार्यपीठिका (setting) द्वारेको आँगन रहेको छ । बेलुकीपखको समयमा द्वारेका आँगनमा लुखुरेको भैंसी बाँधिएको, भैंसीका वरिपरि द्वारेका छोराछोरीले घेरेको परिवेशमा द्वारे उत्साहपूर्वक भैंसीको स्याहार गर्न लागेको अवस्था छ । अर्को कार्यपीठिका लुखुरेको घर छ । लुखुरेका घरमा चाहिं लुखुरेका बाबुछोरा विषादपूर्ण अवस्थामा रहेका देखिन्छन् । कथांशमा द्वारे र रामेको छोटो संवाद प्रश्नोत्तरका रूपमा आएको छ जसबाट कथाभरि द्वारे र रामेले षडयन्त्रका तानाबाना बुनेर लुखुरेलाई ठगेको कुराको रहस्योद्घाटन भएको छ । यस सम्प्रेषण शृङ्खलामा अत्यन्त कम तर अर्थपूर्ण र सम्पूर्ण कथाको सार प्रस्तुत गर्ने संवाद र परिस्थितिको छोटो समाख्यानात्मक प्रस्तुतिबाट कथाको निष्कर्षण तथा समापन पनि भएको छ ।
लाहुरी भैंसी कथाको समाख्यानात्मक सम्प्रेषणको कार्यात्मक तहमा रहेका यी छवटा कथानकीय सम्प्रेषण शृङ्खलाहरूभित्र पनि विभिन्न उपकथांशहरू आएका छन् । यी उपकथांशलाई आख्यानचूर्ण पनि भन्न सकिन्छ । यी कथांशहरूलाई समाख्यानात्मक र संवादात्मक सम्प्रेषण योजनाद्वारा प्रस्तुत गरिएको छ । समाख्याताले कथाको सम्प्रेषण योजनामा विषयको प्रस्तुति, पात्रको चरित्र विश्लेषण एवम् परिस्थितिको वर्णनका लागि समाख्यानात्मक सम्प्रेषण पद्धतिलाई नै प्रमुख रूपमा आत्मसात् गरेको छ भने संवादको प्रयोग तुलनात्मक रूपमा कम मात्रामा गरेको छ । संवादका क्रममा पनि समाख्यानात्मक पद्धतिकै उपयोगद्वारा संवादलाई समेत थप स्पष्ट्याइएको छ । कथामा पात्रहरूको मनोदशाको वर्णन, उनीहरूको नियत र नियतिको वर्णन, कथाको परिवेश एवम् परिस्थितिको वर्णन र घटना प्रसङ्गको स्थिति र गतिको वर्णनका लागि समाख्यानको प्रयोग भएको छ । संवादको कम उपयोग भएको यस कथामा कथाको स्थितिवर्णन, पात्रको मनोदशा, नियत एवम् चरित्र चित्रणका लागि संवादको उपयोग गरिएको छ । यस क्रममा पात्रहरूको एकालापीय कथन, कसैप्रति लक्षित एकोहोरो कथन, द्विपक्षीय एवम् बहुपक्षीय वार्तालापका रूपमा संवादहरू आएका छन् भने बिचबिचमा समाख्यानद्वारा संवादलाई थप स्पष्ट पारिएको छ ।
उपर्युक्त विवरणबाट यस कथाको समाख्यानात्मक सञ्चरण व्यवस्थाबारे निम्नानुसारका तथ्यहरू फेला पर्दछन् ः
• प्रस्तुत कथा ६ वटा कथांशको योगबाट संरचित छ । ती कथांशभित्र पनि विभिन्न उपकथांशहरू (आख्यानचूर्ण) आएका छन् । तिनलाई समाख्यानात्मक एवम् संवादात्मक कथ्ययोजनाद्वारा सञ्चार गरिएको छ ।
• यसको कार्यात्मक तहको सम्प्रेषण वा सञ्चरण व्यवस्थालाई हेर्दा पहिलो सम्प्रेषण शृङ्खलामा द्वारे र रामेबिचको संवाद र क्रियाकलापबाट, दोस्रोमा लुखुरेको छोरो पोडे र लुखुरेबिचको संवाद तथा लुखुरे र उसकी स्वास्नी घैंटीका मनमा उब्जेको खुसीको अवस्थाको चित्रणबाट, तेस्रोमा द्वारे, लुखुरे, रामवीरे, घमाने र खुलालबिचको संवाद र क्रियाकलापहरूबाट, चौथोमा लुखुरे र उसकी स्वास्नी घैंटीबिचको संवाद र लुखुरेका मनमा उठेका चिन्तनका तरङ्ग र मानसिक व्यग्रताको चित्रणबाट, पाँचौंमा द्वारे बा, लुखुरे, बुढाथोकी, घमाने, सीताराम पण्डित र रामवीरेका संवादबाट र छैटौंमा द्वारे र रामवीरेको संवाद तथा लुखुरेका बाबुछोराको विषादपूर्ण अवस्थाको चित्रणबाट समाख्यानात्मक सञ्चार भएको देखिन्छ ।
• यस कथाको सम्प्रेषण वा सञ्चरण व्यवस्थाको व्यवस्थापनका लागि आयोजित कथायोजनामा संवादात्मक सञ्चरण योजनालाई भन्दा समाख्यानात्मक सञ्चरणलाई बढी जोड दिइएको देखिन्छ ।
• उपर्युक्त समाख्यानात्मक सञ्चरणबाट प्रस्तुत कथामा गाउँका ठुलाठालुले गरीब, लाटासुधा र निमुखाहरूमाथि गर्ने जालझेलको स्पष्ट चित्र प्रकट भएको छ ।
३.२. लाहुरी भैंसी कथामा समाख्याताको भूमिका
समाख्यानात्मक वाच्यत्व समाख्याताकथयितासँग सम्बन्धित हुन्छ । यसमा कथाभित्र को बोल्दैछ भन्ने कुरालाई केन्द्र मानेर पाठको समाख्यानात्मक वाच्यत्वको निर्धारण हुन्छ । समाख्याताले कथाको कथन गर्दा आफूलाई कति मात्रामा अभिव्यक्त (expose) गरेको छ वा छैन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । यसबाटै समाख्याताको लयात्मक गुण (tonal quality) के कस्तो छ भन्ने पनि थाहा हुन्छ । कथाभित्र समाख्याता दुई प्रकारबाट उपस्थित हुन सक्छ ः कुनै कथामा पात्रको रूपमा र कुनैमा पात्रेतर वा तटस्थ समाख्याताका रूपमा । पात्रको रूपमा आउने समाख्याताले म पात्रको रूपमा आफूलाई कथाभित्र प्रत्यक्ष रूपमा प्रस्तुत गर्दछ भने अर्को खालको समाख्याता चाहिं कथाभित्र संलग्न नभई तटस्थ बसेर कथाको समाख्यान गर्दछ । समाख्याता जसरी आएको भए पनि प्रायः जसो कथामा कथाको वाच्यत्व चाहिं समाख्याता आफैंले ग्रहण गरेको हुन्छ । कतिपय कथामा चाहिं समाख्याताले आफू कम मात्र प्रस्तुत भएर पात्रलाई नै बढी मात्रामा अभिव्यक्त गराएको हुन्छ । समाख्याता आख्यानको एउटा अभिकर्ता हो । उसले सम्बोधित (narratee) सित सम्बन्ध कायम गरेर चरित्र, घटना र स्थितिको उद्घाटन गरेको हुन्छ । साथै उसले सम्पूर्ण कथाको प्रस्तुतिको रणनीति बनाएको हुन्छ । उसको प्रस्तुतिको रणनीतिबाट नै कथामा के देखाउन खोजिएको छ भन्ने कुराका साथै समाख्याताको दृष्टिकोण के हो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । समाख्याताको दृष्टिकोण नै कथाले दिने सन्देश पनि हुन्छ । यसर्थ आख्यानको समाख्यानात्मक वाच्यत्व प्रायसः समाख्यातामा नै केन्द्रित भएको हुन्छ ।
आख्यानमा समाख्याताको उपस्थिति कसरी सूचित भएको छ भन्ने आधारबाट समाख्याता खुल्लाप्रत्यक्ष (overed) र बन्दआच्छन्न (covered) दुई प्रकारको हुन्छ । कतिपय कथामा समाख्याताले बढी भन्दा बढी ढाकेको (coverage) हुन्छ भने कतै ऊ न्यूनतम रूपमा मात्र देखा पर्दछ र सम्पूर्ण कथाको भारी पात्रलाई नै बोकाउँछ । अधिकतम बोल्ने वा कभरेज गर्ने समाख्याता स्वभावतः खुल्लाप्रत्यक्ष हुन्छ भने कम बोल्ने समाख्याता कमै खुल्ने हुन्छ । त्यसैले बन्दआच्छन्न प्रकारको समाख्याताले चाहिं आफूलाई लुकाउँछ र पात्र एवम् तिनका संवाद तथा क्रियाकलापका माध्यमबाट आफ्ना कुराहरू प्रस्तुत गर्दछ । समाख्याता पात्रको रूपमा आएका कथामा स्वभावतः खुल्ला प्रकारको समाख्याता हुन्छ भने गैरपात्रका रूपमा आउने समाख्याताले आफ्ना बारेमा प्रत्यक्षतः केही नभने पनि कथाका माध्यमबाट ऊ खुल्ला वा बन्द कुन प्रकृतिको हो चिन्न सकिन्छ ।
लाहुरी भैंसी कथाको समाख्याताले पात्रको रूपमा नभएर समाख्यानबाहिरै रहेर तटस्थ द्रष्टा वा समीक्षकका रूपमा कथाको समाख्यान गरेको छ । यसमा समाख्याताले कथाको सम्पूर्ण कार्यको वर्णन आफूले गरेर केही जिम्मेवारी मात्र पात्रलाई सुम्पेको छ । कथामा प्रयोग भएका लगभग ३५३५ शब्दमध्ये २९ प्रतिशत शब्द पात्रको भागमा र बाँकी समाख्याताको भागमा रहेका छन् । ऊ कथाको सम्पूर्ण विवरण आफू वर्णन गर्छ र नदिई नहुने केही संवाद मात्र पात्रलाई बोल्न दिन्छ । तसर्थ कथाको सम्पूर्ण भागमा समाख्याताको पुरै पकड रहेको देखिन्छ । यसरी हेर्दा समाख्याताले कथाको दुई तृतीयांश वाच्यत्व आफैंमा केन्द्रित गरेको देखिन्छ ।
कथामा समाख्याताको लयात्मक गुण (tonal quality) उच्च रहेको छ । समाख्याता पात्रको रूपमा नभई तटस्थ रूपमा आएको भए पनि उसले पात्रको मात्र नभई आफ्नो समेत पहिचान परोक्ष ढङ्गबाट प्रस्तुत गरेको छ । यस अनुसार समाख्याता लुखुरेप्रति सहानुभूतिशील र द्वारेप्रति घृणा राख्ने विचारको भएको देखिन्छ । ऊ समाजमा हुने यस्ता अन्याय, जालझेल र षडयन्त्रको विरोधी देखिन्छ । पाठभित्र समाख्याता वर्णन गर्दछ ः
“द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुँघाभित्र लुकेको ओठमा फरफराइरहेको थियो । अब द्वारे बाले उसको शङ्काले फुस्रिएका आँखामा गहिरोसँग हेरे, अनि एक पटक फेरि जाँच्ने कष्ट उठाए । उनले लाहुरीको चारैतिर घुमेर जाँचे अनि अन्त्यमा बडो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे – बाबै, भैँसी त धम्की छ, कसो ए रामे, हेर् त, कि मैले जानिनँ ?” (लाहुरी भैंसी, अनुच्छेद १४)
उसको समाख्यानको रणनीति पात्रहरूलाई अगाडि सारेर तिनीहरूका माध्यमबाट कथाको सञ्चार गर्ने खालको नभएर सम्बोधी (narratee) लाई सोझै आफैंले सम्पूर्ण घटना विवरण प्रस्तुत गरेर कथा सुनाउने प्रकारको रहेको छ । यसबाट समाख्याताले समाजमा हुने थिचोमिचो, जालझेल, षडयन्त्र आदिको चित्र उपस्थित गरेर त्यस्ता कुराको विरोधका लागि सम्बोधीलाई प्रेरित गर्दै यस्ता कुराबाट जोगिन सचेत गराउन खोजेको स्थिति पनि देखिन्छ । यसै कुरालाई समाख्याताले सम्बोधीलाई दिएको सन्देशका रूपमा लिन सकिन्छ ।
यस कथाको समाख्याता पात्रको रूपमा नरहे पनि आफूलाई एक्सपोज गर्ने खालको खुला प्रकारको छ । उसले आफ्ना बारेमा प्रत्यक्षतः केही भनेको छैन, तर उसको वर्णन, पात्रको संवाद योजना आदिका आधारमा उसले आफ्नो वैचारिक चिनारी प्रस्तुत गरेको छ । लैङ्गिक रूपमा भने ऊ तटस्थ देखिन्छ ।
जेनेटको वर्गीकरण अनुसारको स्वकथनात्मक र परकथनात्मक मध्ये यस कथाको समाख्याता परकथनात्मक (तृतीय पुरुष) प्रकारको रहेको छ । परकथनात्मक प्रकृतिको समाख्याता भए पनि उसमा स्वकथनात्मक (प्रथम पुरुष) समाख्याताका गुणहरू पनि पाउन सकिन्छ । स्वकथनात्मक समाख्याताका झैं कथाको समाख्यान गर्दै जाँदा समाख्याताले आफ्ना विचार, रुचि, स्वभाव, प्रवृत्ति आदिबारे पनि खुलस्त पार्दै लैजान्छ । यसर्थ स्वकथनात्मक विशेषता भएको परकथनात्मक समाख्याताका रूपमा यस कथाको समाख्याता देखा परेको छ ।
३.३.केन्द्रणअभिमुखीकरण (focalization)
जेनेटले केन्द्रणकेन्द्रितताले प्रतिज्ञापन (affirmation) को मात्रा र भिन्न दृष्टिकोणका माध्यमबाट कार्यलाई हेरिने कुरा बताएका छन् । केन्द्रणमा कसले भन्यो भन्नेमा होइन कसले देख्यो भन्नेमा जोड दिइन्छ । यसमा पाठको केन्द्रीय दृश्यात्मकअवधारणात्मक केन्द्रण (perspectival focalization) कसले प्रदान गरेको छ भन्ने कुरा हेरिन्छ । त्यहाँ कुनै समाख्यानात्मक सूचना कुनै व्यक्ति पात्रको अवधारणात्मक ज्ञान (perception) का रूपमा प्रतिबन्धित वा सङ्कुचन गरिएको हुनसक्छ । सामान्यतः पाठको अवधारणात्मक अभिमुखीकरण समाख्याताकै रहेको हुन्छ तर पाठबाट पाइने त्यस्तो सूचना पात्रकै माध्यमबाट प्राप्त हुने हो अतः यस्तो केन्द्रणअभिमुखीकरण समाख्याता र पात्र दुवैबाट भएको हुन्छ । यही नै समाख्यानात्मक केन्द्रण वा समाख्यानात्मक अभिमुखीकरण (focalization) हो ।
लाहुरी भैंसी कथामा समाख्यातामा नै प्राथमिक समाख्यानात्मक केन्द्रण रहेको छ तर समाख्याताको वर्णनबाट मात्र कथाको मूल सन्देश प्राप्त हुँदैन । लुखुरेको उपस्थितिले मात्र पनि समाख्याताको अवधारणात्मक अभिमुखीकरण प्राप्त हुन सम्भव छैन । त्यसैले यसको समाख्यानात्मक केन्द्रण समाख्याता र लुखुरे दुवैमा बाँडिएको छ । समाख्याताको अवधारणा ग्रामीण क्षेत्रमा हुने जालझेल र अन्यायको ज्ञापन गर्नु भए पनि त्यसको प्रत्यक्षण चाहिं लुखुरेबाट भएको छ । अर्थात् लुखुरेको अनुपस्थितिमा समाख्याता आफ्नो अभीष्ट पूर्ण गर्न असमर्थ छ भने समाख्याताको वर्णनविना पनि लुखुरे एक्लैले त्यो यथार्थ बोध गराउन सक्दैन । यसर्थ यस कथाको समाख्यानात्मक केन्द्रण वा न्यारेटिभ मुड समाख्याता र लुखुरे दुवैमा बाँडिएको छ । समाख्यातामा केन्द्रित समाख्यानात्मक केन्द्रण प्राथमिक हो भने पात्रमा केन्द्रित चाहिं आन्तरिक केन्द्रण हो । यस अर्थमा हेर्दा यस कथाको प्राथमिक केन्द्रण समाख्यातामा र आन्तरिक केन्द्रण लुखुरेमा रहेको छ । निम्न उदाहरणमा दुवैको समाख्यानात्मक केन्द्रणको समवेत स्वरूप देख्न सकिन्छ “असैह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केरा मिसिएको चीत्कार त्यो अन्धकारमा रुमल्लियो । त्यो चीत्कारले घैँटीको मनमा लोग्नेप्रति सहानुभूति जन्माउनुको साटो झन् उग्र क्रोधले राँको सल्काउन घिउको पो काम दियो ।” (अनु. २५)
आन्तरिक केन्द्रणमा पनि प्रकार्यात्मक रूपमा पात्रहरूले गर्ने कार्य वा प्रवाह गर्ने सन्देशविशेषका लागि कुनै पात्र केन्द्रमा रहेको हुन्छ भने कतिपय आख्यान चाहिं बहुकेन्द्री पनि हुन सक्छन् । सबै पात्रको सहकार्यबाटै कथाको सन्देश सञ्चार हुने भए पनि कथाको केन्द्रमा कुनै पात्रविशेष रहन्छ र बाँकी पात्रमध्ये कथाकारले कसैलाई प्रतिबन्धित गर्छ । सामान्यतः सन्देशको विपक्षमा रहेका पात्रहरूलाई सन्देश अनुकूल कार्य गर्न प्रतिबन्धित गरिएको हुन्छ । यस कथामा केन्द्रमा लुखुरे छ । कथाको मूल सन्देश उसैको केन्द्रीयतामा सञ्चरित भएको छ भने उसको परिवारबाहेक अन्य सबै पात्र प्रतिबन्धित छन् । द्वारे बा, रामवीरे, घमाने लगायतका पात्रहरू प्रतिबन्धित छन् जसले गुमानेको भैंसी हत्याउनमा आफ्ना सम्पूर्ण क्रियाकलाप केन्द्रित गरेका छन् । यो एकल आन्तरिक केन्द्रण भएको कथा हो । यसमा लुखुरे मात्र केन्द्रक पात्र (focali) का रूपमा रहेको छ । किनभने जुन पात्रप्रति कथामा सहानुभूति रहेको हुन्छ त्यसैबाट नै कथाको मूल सन्देश प्रवाहित भएको हुन्छ । यस अर्थमा लुखुरे सबैको सहानुभूतिको केन्द्र पनि हो । बल र रिमोन केननका मान्यता अनुसार हेर्दा लुखुरे चरित्र केन्द्रक पात्रफोकलाइजर (reflectorfilter charactor) का रूपमा देखिन्छ ।
३.४. समाख्यानात्मक कालयोजना
आख्यानका सन्दर्भमा काल भन्नाले कथाले ओगटेको कालावधि (Time) र समाख्याताले प्रयोग गर्ने व्याकरणिक काल (Tense) र पक्षविशेषको प्रस्तुति योजना बुझिन्छ । कथामा प्रयुक्त घटनाहरू घटेको खास समय, कथाले ओगटेको समग्र समय र कथाको समाख्यानमा लाग्ने समयको समष्टि कथाको कालावधि (समय) हो भने समाख्याताले घटनाको समाख्यान गर्दा कुन व्याकरणिक काल र पक्षको प्रयोग गर्दछ भन्ने कुरो काल (Tense) सँग सम्बद्ध हुन्छ । कथाको कालावधिभित्र पनि कथाको समग्र समयावधिमा कथाले ओगटेको खास समयबाहेक पूर्वदीप्ति, पश्चदीप्ति, पृष्ठभूमि निर्माण आदिका रूपमा आउने घटनाक्रमको समग्र समय पनि समेटिन्छ । समाख्यानात्मक कालको प्रस्तुति योजनामा घटना जुन कालमा घटेको भए पनि त्यसलाई समाख्याताले समाख्यानात्मक भूत र अभूत दुवै काल र पक्षविशेषमा प्रस्तुत गरेको हुन्छ । अतः एउटै कथाभित्र पनि भिन्न काल र पक्षको प्रयोग भएको हुन्छ ।
‘लाहुरी भैंसी’ कथाको समाख्यानका लागि लगभग बिस मिनेटको समय लाग्ने देखिन्छ भने कथाभित्र आएका घटनाहरू दुई दिन र एक रातभरका रहेका छन् । कथाभित्र आएको खास समयभन्दा अतिरिक्त घटनाहरूको पृष्ठभूमि वा स्थितिवर्णनका क्रममा आएका पूर्वदीप्ति, पश्चानुमान वा पश्चदीप्ति, परिवेश वर्णन, पात्रको मनःस्थितिवर्णन समेतले ओगटेको समय भने लगभग एक हप्ताको रहेको देखिछ । यद्यपि कथाकी नारी चरित्र घैंटीको स्वभाव वर्णन, बाउँठे ढकालबारेका टिप्पणीहरूले कुनै विशिष्ट कालावधिको सङ्केत गर्दैनन् साथै लुखुरेले ‘वर्षौंदेखि पालिराखेको सपना’ (अनु. २१) ले पनि कुनै समयविशेषको द्योतन गर्दैनन् तापनि कथामा प्रयुक्त पूर्वदीप्ति, पश्चानुमान तथा कथाको मुख्य सन्दर्भ भैंसी खरिद समेतले ओगटेको समय लगभग एक हप्ताको रहेको छ । अतः कथाको समग्र कालावधि एक हप्ताको रहेको देखिन्छ । अर्थात् लगभग एक हप्ताजति समय समेटेर चौबिस घण्टाभित्र घटित घटनालाई बिस मिनेटको समाख्यान समयमा बाँधेर यो कथा प्रस्तुत गरिएको छ ।
यस कथाको समाख्यानात्मक काल (narrative tense) भूत र अभूत दुवै प्रयोग भएको देखिन्छ । कथाको गतिवर्णन वा अग्रभूमि निर्माण (foregrounding) मा सामान्य भूतको प्रयोग पाइन्छ । यसका केही नमूनाहरू ः
क्रियापदपदावली काल पक्ष अनुच्छेद संख्या
नियालेर हेरे भूत सामान्य १
उनका गोडा...लुखुरेका घरतिर डोरिए भूत सामान्य ५
पाडालाई आफ्नै हातले तेल खान दियो भूत सामान्य ८
द्वारे पदार्पण गरे भूत सामान्य ९
चारैतिर घुमेर जाँच्यो भूत सामान्य १५
लुखुरे दुःख र पीडाले बड्बडायो भूत सामान्य २२
आगो फुकेर बत्ती झुल्क्यायो भूत सामान्य २७
एकाछेउमा डराएझैं बस्यो भूत सामान्य ३२
द्वारे बाको मुखतिर हेरे भूत सामान्य ३९
रामेले सिफारिस गर्यो भूत सामान्य ४८
द्वारे बाको आँगनमा निकै रमझम देखियो भूत सामान्य ५४
द्वारे र रामेले एकै पटक आँखा उठाएर लुखुरेको घरतिर हेरे भूत सामान्य ५८

यी सबै घटना सन्दर्भहरू कथाको गतिवर्णनका रूपमा आएका छन् भने यी सबै वर्णनमा सामान्य भूतकालिक क्रियापदको प्रयोग भएको देखिन्छ ।
यस कथाका स्थितिवर्णसँग सम्बद्ध अन्य सन्दर्भहरू भने भूत, वर्तमान र भविष्यत् तीनै काल र तिनका विविध पक्षविशेषमा प्रस्तुत गरिएको देखिन्छ । स्थितिवर्णनका क्रममा आएका केही सन्दर्भहरूलाई निम्नानुसार तालिकामा प्रस्तुत गर्न सकिन्छ ः
क्रियापदपदावली काल पक्ष अनुच्छेद संख्या
निकै रमझमम देखिन्छ नि ! वर्तमान सामान्य १
कालो वस्तु पनि देखिन्थ्यो भूत अभ्यस्त १
लुखे बजियाले भैंसी ल्याएछ ? भूत अज्ञात २
मानिस जम्मा भएका थिए भूत पूर्ण ६
भरे त यति ढुङ्ग्रोभरि दूध दिन्छ बाबै ! भविष्यत् सामान्य ६
राम्मो दौरा किन्ने ! भविष्यत् सामान्य ६
अहिले मधुर हाँसो खेलिरहेको थियो भूत अपूर्ण ७
लाहुरीको प्रताप थियो भूत सामान्य ८
अनुहार ओइलाएका थिए भूत पूर्ण २२
पुक्लुक्क किलैमा ढलेको पो छ कि ? वर्तमान पूर्ण २७
उठेर कटेरामा जान्थ्यो भूत अभ्यस्त २९
गरीबको धनले नपोली त कहाँ छोड्ला र ! भविष्यत् सम्भावना ३०
ठूला ठालुृकै घरमा जम्मा हुन्छन् वर्तमान सामान्य ३२
मानौं उनी यस सभाका निर्विरोध सभापति हुन् वर्तमान सामान्य ५१
लुखुरेको आँगनमा आज रमझम थिएन भूत सामान्य ५५
यस तालिकाअनुसार यस कथाको स्थितिवर्णनमा सामान्य र पूर्ण वर्तमान, सामान्य र सम्भावना भविष्यत् र भूत कालका सबै पक्षको प्रयोग भएको देखिन्छ ।
यस प्रकार ‘लाहुरी भैंसी’ कथाको समाख्यानात्मक काल योजनालाई हेर्दा लगभग एक हप्ताभरिको समग्र कालावधि, दुई दिन र एक रातको कथाको खास समय र बिस मिनेटको समयमा कथाको समाख्यान समय रहेको देखिन्छ भने व्याकरणिक कालका हिसाबले कथाको गतिवर्णनमा सामान्य भूत कालको र स्थितिवर्णनमा सामान्य र पूर्ण वर्तमान, भूत कालका सबै पक्ष र भविष्यत् कालका सामान्य र सम्भावना पक्षको प्रयोग भएको देखिन्छ ।
४. निष्कर्ष
कथाकार रमेश विकल लिखित लाहुरी भैंसी कथाको समाख्यानशास्त्रीय विश्लेषण पद्धति अन्तर्गत समाख्यानात्मक सम्प्रेषणका विविध तह तथा समाख्याताको भूमिकाका आधारबाट अध्ययन गर्दा प्राप्त भएका तथ्यहरूलाई निष्कर्षका रूपमा यसप्रकार बुँदाबद्ध रूपमा प्रस्तुत गर्न सकिन्छ ः
• प्रस्तुत कथा ६ वटा सम्प्रेषण शृङ्खला वा खण्डमा विभाजित रहेको छ भने तिनका पनि विभिन्न उपखण्डहरू रहेका छन् । ती ६ कथाखण्डहरू पनि ससाना उपखण्डमा विभाजित देखिन्छन् भने तिनलाई समाख्यानात्मक र संवादात्मक कथ्ययोजनाद्वारा सञ्चार गरिएको छ ।
• समाख्याताले कथाको समाख्यान कार्यप्रधानात्मक नभएर वर्णनप्रधानात्मक ढङ्गले गरेकाले पात्रहरूको प्रत्यक्ष उपस्थिति अपेक्षाकृत रूपमा न्यून देखिन्छ र समाख्याताको वर्णनले नै कथालाई समग्रतः ढाकेको देखिन्छ । अतः यस कथाको समाख्यानात्मक वाच्यत्व समाख्याताकेन्द्री रहेको छ ।
• कथामा संवादलाई भन्दा समाख्यानलाई बढी जोड दिइएको छ । त्यसैले कथाको समाख्यान अंश ७० प्रतिशत र संवाद अंश ३० प्रतिशत मात्र रहेको छ ।
• यस कथाको समाख्याता पात्रका रूपमा नभएर तटस्थ द्रष्टाका रूपमा रहेको छ ।
• समाख्याता तृतीय पुरुषका रूपमा उपस्थित भएकाले परकथनात्मक खालको भए पनि स्वकथनात्मकका अभिलक्षण पनि उसमा पाइन्छ ।
• कथाको समाख्याता खुल्ला प्रकारको रहेको छ ।
• समाख्याता लैङ्गिक रूपमा तटस्थ छ ।
• कथाको समाख्यानात्मक सञ्चारबाट यस कथाले सामाजिक अन्यायलाई सन्देशका रूपमा प्रकट गरेको देखिन्छ ।
• अभिमुखीकरण÷केन्द्रणका दृष्टिले यस कथामा समाख्याता र लुखुरे फोकलाइजरका रूपमा देखिन्छन् । अतः यो द्वैध केन्द्रण भएको कथा हो ।
• लुखुरे यस कथाको आन्तरिक फोकलाइजर वा फिल्टर क्यारेक्टर हो ।
• द्वारे बा, रामवीरे, घमाने, खुलाल आदि पात्रहरू प्रतिबन्धित पात्र हुन् ।
• कथाको समाख्यान समय लगभग बिस मिनेटको रहेको छ ।
• कथाले ओगटेको खास समय दुई दिन र एक रात तथा कथाले ओगटेको समग्र कालावधि लगभग एक हप्ताको रहेको छ ।
• लाहुरी भैंसी कथाको समाख्यानात्मक काल अन्तर्गत गति वर्णनमा सामान्य भूत कालको प्रयोग भएको छ भने स्थिति वर्णनमा भने भूत वर्तमान भविष्यत् तीनै काल र प्रायः सबै पक्षको प्रयोग भएको छ ।

सन्दर्भ सामग्री सूची
गौतम, देवीप्रसाद. आख्यानमा कालव्यवस्था (प्रकाशोन्मुख लेख)
विकल, रमेश. २०.. नयाँ सडकको गीत, संस्क., काठमाडौं ः
Wikipedia, the free encyclopedia (downloded at 27 sept.2011)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु