प्राध्यापक शिव गौतमको निबन्धलेखन

- प्रा.डा. कुमारप्रसाद कोइराला

शिव गौतम पेसाले अमेरिकाको विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयका नामी प्राध्यापक हुन् । उनको रुचि साहित्य सृजनामा पनि उत्तिकै देखिन्छ, त्यसैले उनी कथाकार, कवि र निबन्धकारका रूपमा पनि प्रसिद्ध छन् । सपनाका रङ्गहरू (२०५६), मुटुनेरीको सिस्नेरी (२०६०) र बाटो हेरिरहने बाटाहरू (२०७४) उनका कवितासंग्रह हुन् भने झ्याम्ली बाख्राको पाठो (२०७४) चाहिं निबन्धसंग्रह हो । यस लेखमा म यही निबन्धसंग्रहका बारेमा केही कुरा गर्न चाहन्छु ।

यस कृतिमा बाइस वटा निबन्ध संकलित छन् । यी निबन्ध हेर्दा गौतम तथ्याङ्कशास्त्रका प्राध्यापक जस्ता नलागेर भाषाविज्ञानका र त्यसमा पनि तुलनात्मक भाषाविज्ञानका प्राध्यापक जस्ता देखिन्छन् । उनी नेपाली, संस्कृत, अङ्ग्रेजी र अरवी भाषाका ज्ञाता लाग्दछन् । उनी यिनै बहुभाषिक ज्ञानको सहयोगमा पौरस्त्य, मध्यपूर्वीय र पाश्चात्य मानव सभ्यताबाट निर्मित, पुराण, पुरातत्व, प्राग्इतिहास, खगोलशास्त्र, ज्योतिष वा गणित र संस्कृतिको खोज र अनुसन्धान गरिरहेका जस्ता लाग्छन् । तुलानात्मक भाषाशास्त्र वा शब्दको तुलना गरेर पुराण, इतिहास, ज्योतिष, गणित र संस्कृतिको चर्चा गर्ने निबन्धमा पाल्सी कुरा, असुर, दुःख र सुखका कुराहरु, अजर अमर, अ र मबीचका अक्षर, कुर्र्र्र ऋ र रि, सत्यको सत्यता, अरुण र वरुण तर्दा, रुमालमाथि बसेर अरुण नदी तर्ने कला, आगोको खोजी, उत्तानो ओदान आदि पर्दछन् ।

पाल्सी कुरा निबन्धमा बाल्यकालमा प्रायः केटाकेटीले अरुले नबुझिने गरी शब्दमा अर्कैै वर्ण जोडेर बोल्ने गरेको पाल्सी कुरा छ । हजारौं केटाकेटीले सानो छँदा पाल्सी कुरा बोले होलान्, तर पाल्सी कुरा के हो भनेर त्यसको अन्तिम तहसम्म पुग्ने प्रयास हजारौंमध्ये कुनै एकले मात्र गर्दो रहेछ भन्ने कुरा गौतमको यस निबन्धले स्पष्ट पारेको छ । पाल्सी कुरा भनेको नबुझिने कुरा वा भाषा हो । यस निबन्धमा दक्षिणपूर्वी एसियामा र खास गरी नेपालमा अङ्ग्रेजी भाषाको प्रभाव पर्नुभन्दा पहिले फारसी वा पारसी भाषाको प्रभाव थियो भनेर खोज गरिएको छ । पहिले फारसी भाषा सम्भ्रान्त वर्गले बोल्दथ्यो, किनभने यो उच्चताको प्रतीक मानियो । त्यसैले यसको प्रभाव सामाजिक, प्रशासनिक र राजनीतिक क्षेत्रमा प¥यो । कूटिल अक्षर भनेको पाल्सीकै प्रकार हो । साइफर क्रिप्टोलजी (अरुले नबुझ्ने पारेर सन्देश प्रस्तुत गर्ने कला) पनि एक प्रकारको पाल्सी नै हो । पासवर्ड राख्ने चलन पनि एक प्रकारको पाल्सी नै हो । क्रिप्ट शब्द संस्कृतको सृप्त वा सृप्सँग मिल्दछ । यसरी यस निबन्धमा सामान्य लाग्ने, तर अत्यन्त महत्त्वपूर्ण पाल्सी कुरा वा भाषा र अहिले प्रयोग हुने गुप्त अर्थ बहन गर्ने एकाधिक शब्द प्रयोगबारे गम्भीर विमर्श गरेको देखिन्छ ।

असुर निबन्धमा भाषाशास्त्रका आधारमा सुर र असुर जस्ता हाम्रा वेद र पुराणमा वर्णित दुई प्रसिद्ध जातिमध्ये असुर र त्यही जाति बस्ने अस्सिरिया वा सिरियाको परिचय प्रस्तुत गरिएको छ । वेद र अवेस्ताको भाषा मिल्छ । मुस्लिम धर्मभन्दा पहिलेको जरथु्रस्थ धर्मका अहुरमज्द परमेश्वर मानिन्छन् । ती अहुर नै पहिलेका असुर हुन् । वेदको यज्ञ अवेस्तामा यश्न वा जश्न वा जसन् भयो, दैव दाएव, दैउअ भयो । दिव, दिवानगी र देव शब्दबीच सम्बन्ध छ, देवलाई अहुरले गलत, झुटो वा त्याग्नुपर्ने देउता भन्ने अर्थ लगाए । असुरको अर्थ सूर्य पनि हो । अहुरको अर्थ प्रकाश हो । यसरी निबन्धकारले असुर अर्थात् देवताका शत्रु भनेर पुराणले हामीलाई चिनाएको सिरियाली जातिको पौराणिक र प्रागैतिहासिक परिचय गराएका छन् ।

दुःख सुखका कुरा निबन्धमा दुःख र सुखका बारेमा दार्शनिक तहको विवेचना गरिएको छ । यी दुवैको दार्शनिक तहको विवेचना गर्दा शब्दार्थलाई प्रमुख आधार बनाइएको छ । निबन्धकारका विचारमा ख मा दु जोड्दा नराम्रो ख र सु जोड्दा राम्रो ख भएको हो । ख भनेको आकाश, शून्य, प्वाल, गुफा र रथको पाङ्ग्राबीचको प्वाल हो । दुःख र सुख शब्द आकाशसँग बढी सम्बन्धित छन् । यसैलाई पुष्टि गर्न निबन्धकारले अनेक तर्क र उदाहरण प्रस्तुत गरेका छन् । दुःख भनेको नराम्रो वा मन नपर्ने आकाश र सुख भनेको राम्रो वा मन पर्ने आकाश हो । दुःख मन नपर्ने वा नरमाइलो हुन्छ । सुख मन पर्ने रमाइलो हुन्छ । युरोपमा मान्छे हिउँदमा एक प्रकारको चिन्ताको शिकार हुन्छन् । त्यस चिन्तालाई विन्टर ब्लुज र रोगको भाषामा सिजनल एफेक्टिभ डिस्अर्डर अर्थात् स्याड भनिन्छ । नेपाली भाषाको दुख्नु क्रिया दुःखबाटै विकसित भएको हो । यसरी दुःख शब्दको अर्थ निकाल्दै निबन्धकार दार्शनिक पक्षको विवेचन गर्दछन् । संसारमा दुख छ । दुःखको अभाव कहिल्यै हुँदैन । सुखका लागि जे जस्तो गरेपनि दुःख सधै बाँकी रहन्छ । दुःख अनुभूत गर्न तीन कुरा आवश्यक छ । एक दुःखको स्रोत, दुई दुःखको गन्तव्य वा प्रापक र तेस्रो स्रोत र गन्तव्य जोड्ने सञ्चार व्यवस्था । यदि दुःखको अनुभूति नहुने हो भने मान्छे बाँच्ने थिएन । दुःख भएर नै यो सृष्टि चलेको हो । प्रियको चाहना र अप्रियको त्याग प्राकृतिक नियम हो । त्यसैले दुःख जीवनको अपरिहार्य सत्य हो । दुःखका कारण शारीरिक, मानसिक, सामाजिक, सांसरिक आदि अनेक हुन्छन् । त्यसैले दुःखको अनुभूति गरौं र बाँच्न सिकौं ।

अजर अमर, अ र मबीचका अक्षर निबन्धमा अक्षर र लिपिकाका बारेका खोज र अक्षरको नयाँ अर्थको सम्भावनाबारे गम्भीर विमर्श गरिएको छ । अक्षरको अर्थ कहिल्यै नाश नहुने हो । मानवले जीवनमा प्राप्त गरेको ज्ञान र अनुभवलाई कहिल्यै नाश नहुने गरी राख्ने भनेको अक्षर वा लिपिले हो, तर संसारका कतिपय लिपि नाश भएका छन्, जस्तैः खरोष्ठी, ब्राह्मी अहिले प्रचलित छैनन् । त्यस्तै इरानको प्राचीन लिपिलाई अहिलेको अरबिक लिपिले विस्थापित गरेको छ । युरोपमा ल्याटिन लिपिको चलन आयो । करिब पाँचहजार वर्षअघि इजिप्टमा हाइरग्लिफिक अक्षर (चिजबीजको अक्षर कोरेर) लेख्ने चलन आरम्भ भएको हो, त्यसपछि तीनहजार वर्षअघि फिनिशन लिपि विकसित भयो, यसैबाट अरमेइक लिपिको जन्म भएको हो । लेखक के तर्क गर्छन् भने, “अक्षरलाई न नासिने नभनेर नामकरण गर्नुको सट्टा सारा संसार भन्ने अर्थ बोकेको कुनै शब्दले नामकरण गरिदिएको भए के फरक पथ्र्याे होला ?” (पृ.९८) । यसको पुष्टिका लागि उनले के भनेका छन् भने, ग्रीक लिपिको पहिलो अक्षर अल्फा र अन्तिम अक्षर ओमेगा हो । यसको व्यञ्जनात्मक अर्थ सबै हो । इजराइलीहरू हिब्रु लिपिको पहिलो, बीचको र अन्तिम अक्षरबाट बनेको ‘समेत’ लाई भगवान्को छाप भन्छन् । त्यसको अर्थ सत्य हो । अङ्ग्रेजीमा सबै कुरा बुझाउन ए टु जेड भनिन्छ । ब्राह्मी वा देवनागरी लिपिका अक्षरहरू अबाट सुरु भएर मसम्म (सबै स्वर र व्यञ्जन) मा अटाएका छन् । अ र म भित्र नअटेका अक्षर न खाँटी स्वर जस्ता न व्यञ्जन जस्ता लाग्छन् । य, र, ल, व, त्र, ज्ञ अक्षर म भित्र पर्ने अक्षरबाट बनाइएका संयुक्त अक्षर हुन् । उनी तर्क गर्छन्, “हिन्दुहरूको ओम् (अउम्) सुरुदेखि अन्त्यसम्म अर्थात् सबै कुरा, सम्पूर्णता, समष्टि, सारांश, निचोड आदि व्यक्त गर्ने उद्देश्यले ल्याइएको त होइन ?” (पृ.९९) । ओम् नै ब्रह्म हो भनेजस्तो ? गीतामा ब्रह्मलाई कहिल्यै ननासिने अक्षर भनिएको छ । कृष्णले म ओम् हुँ भनेका छन् । अ भन्दा मुख खोलिने र म भन्दा बन्द हुने भएकाले त्यसबाट मुखका सम्पूर्ण ध्वन्यात्मक गतिविधि भनेको हो । अक्षरको क्रम निर्धारण पनि विचार गरेर गरिएको छ । उच्चारणअनुसार मिलाइएको छ ।

कुर्र्र्र ऋ र रि, निबन्धमा निबन्धकार ध्वनि र वर्णविज्ञानका कुरा गरिरहेका देखिन्छन् । उनका विचारमा र वर्ण वा अक्षर न स्वर हो न व्यञ्जन हो । यसका विशेषता स्वर र व्यञ्जनका जस्ता देखिन्छन्, जस्तैः प् र् =प्र हुन्छ र यहाँ र स्वरजस्तो भएर आएको छ । त्यस्तै रमिता शब्दमा र व्यञ्जन जस्तो भएको छ । ऋ र रि उच्चारण गर्दा एउटै जस्ता, तर प्रयोग गर्दा फरक देखिन्छन् । निबन्धकारको निष्कर्ष के छ भने धेरै बेरसम्म उच्चारण गरिरहँदा पनि एउटै आवाज आइरहने, बीचमा नफेरिने चाहिं स्वर ध्वनि वा वर्ण हुन् भने सुरुमा एउटा आवाज र बीचमा आवाज फेरिने ध्वनि वा वर्ण चाहिं व्यञ्जन हुन् ।
सत्यको सत्यता निबन्धमा सत्य शब्दसँग अन्य भाषाका शब्दको तुलना गरेर तिनको अर्थका सापेक्षतामा सत्य शब्दको अर्थ निकाल्ने प्रयास गरेको देखिन्छ । अङ्ग्रेजीको ट्री, र टु«, संस्कृतमा तरु, टु«, छन् । रूख जरा गाडेर, अडिएर, स्थिर भएर बसेको छ । त्यस्तै सत्य पनि अडिग हुन्छ । सत् धातु बाट सत्य शब्द बन्दछ सत् भनेको जुन छ वा बस्छ हो । अङ्ग्रेजीमा सिट, स्याट भनेको पनि बस्नु हो । जो छैन, त्यो असत् हो । सत्को नेपालीमा छ, मैथिलीमा अछि, फ्रेन्चमा इस्ट, जर्मनीमा अइस्ट, अङ्ग्रेजीमा इज भनिन्छ । सत्य तद्भव बन्दा सच वा साँचो भएको देखिन्छ । नेपालीमा छ का दुइटा अर्थ देखिन्छन्, एउटा सधैं भइरहने, प्राकृतिक नियम वा सूत्र, जस्तैः पानीमा अक्सिजन छ । अर्को वर्तमानमा हुनेः ग्लासमा पानी छ । टाउको दुखेको छ । पूर्वीय वैदिक दार्शनिकले प्रकृतिको नियमलाई पनि सत्य मानेका छन् । सत्य भनेको नियम पनि हो । ऋतु जस्तै परिवर्तन हुने कुरा पनि सत्य हो । समाजले पनि रीत बसालेका छन्, ती पनि सत्य नै हुन् । त्यसैले सत्य व्यक्ति स्थान, समय र परिस्थिति सापेक्षित हुन्छ, परिवर्तनशील पनि हुन्छ ।

अरुण र वरुण तर्दा निबन्धमा हाम्रो नेपालको अरुण नदीसँगै वरुण नदी बग्छ भन्ने जनविश्वास छ । यसमा त्यही जनविश्वासको भाषावैज्ञानिक र पौराणिक दृष्टिले छलफल गरिएको छ । संस्कृत भाषामा वरुणको अर्थ पानी हो अर्थात् पानीका देवता वरुण हुन् । त्यही वरुण अरुण भएको हो । इरानी बोलीचालीको भाषामा पनि वर्षालाई वरुण भनिन्छ । वरुण र मित्र एउटै हुन् । इ.पू.१४०० तिर (हिट्टाइट र मिट्टानी) अहिलेको उत्तर इराक र मध्यपूर्व टर्कीका बीच भएको सन्धिमा इन्द्र, वरुण र मित्र देवतालाई आह्वान गरिएको छ । पाकिस्तानका हिन्दूहरूका वरुण देवताका अवतार झुलेलाललाई मुसलमान पनि उत्तिकै श्रद्धा गर्दछन् ।

रुमालमाथि बसेर अरुण नदी तर्ने कला निबन्धमा योग शब्दको शब्दार्थ, लक्ष्यार्थ र व्यङ्ग्यार्थबारे चर्चा गरिएको छ । योग भनेको मन र शरीर जोड्नु हो । मनलाई तीनवटै (भूत, भविष्यत् र वर्तमान) समयमा जोड्नु हो । व्यक्तिले आफूलाई घर, परिवार, जाति, राष्ट्र, धर्म, राजनीति आदिमा जोड्नु हो । संसार आफू र अन्यमा विभक्त छ, यी दुवैलाई जोड्नु योग हो । आफू र अन्यलाई जोड्ने कुरालाई आधुनिक विज्ञानका आधारमा हेर्दा प्रत्येक चीज वा कण इलेक्ट्रोन र प्रोटोनले बनेको हुन्छ । यसर्थ मान्छे, कुकुर, भुसुना, हावा, पानी, तारा, ढुङ्गा, माटो आदि सबै एकै हुन् । प्राचीन भारतीयले ब्रह्मको कल्पना यही सबैलाई समेट्ने वा जोड्ने तत्त्वलाई मानेका छन् । त्यसैले संसारलाई ब्रह्माण्ड भने । सबैमा आफू र आफूमा अन्य देख्नु योग हो । योगले आनन्दमाइड (मस्तिष्कको रासायनिक संवाहक) को मात्रा बढाउँछ । हार्भर्ड विश्वविद्यालयको शोधअनुसार योगले मस्तिष्कको संरचना बदलिदिन सक्छ । आफू र अन्यलाई तीव्रतापूर्वक एकै देख्दा हुने असीम शान्ति, करुणा आदिको भाव जागृत गरिदिन्छ । योगमा चमत्कार हुँदैन वा योगले चमत्कार गर्दैन, अरुणमा रुमाल राखेर तर्नु चमत्कार हो, यस्तो चमत्कार योगले देखाउँदैन भनेर विचार प्रकट गरिएको छ ।

आगोको खोजी निबन्धमा तुलनात्मक पद्धतिका आधारमा आगो शब्दको अर्थ, महत्त्व र उपयोगका बारेमा शोधखोजपूर्ण चर्चा गरिएको छ । आगो पवित्र र सर्वभक्षक मानिन्छ । मानिसले आगो नियन्त्रण गर्न ८० हजार वर्षअघि नै जानिसकेको प्रमाण देखिन्छ । चीनमा इ.सन्. १० सौं शताब्दीमा सल्लाको छेस्कामा गन्धक राखेर आगो निकालिएको थियो । त्यसपछि सलाई बनाइयो । संस्कृतमा आगोलाई अग्नि, ल्याटिन र अङ्ग्रेजीमा इग्निस्, इग्निसन्, रुसीमा ओगोन, अवेस्तामा आथर, आतरस्, उर्दूफारसीमा आतस भनिन्छ । संस्कृतमा अर्थरि भनेको ज्वाला हो । अत्रि ऋषि आगाको ज्वालाबाट जन्मेका हुन् । अत्रिको अर्थ भक्षक हो । वेदको अथर्वन शब्द अवेस्तामा पुग्दा अथौरन हुन्छ । ग्रिसेली मिथकमा प्रमिथसले आगोको खोजी गरेका हुन् । ऋग्वेदमा पनि मातरिश्वन भन्ने देवताले आगोलाई आकाशबाट पृथ्वीमा झारेका हुन् । शत्रुविनाश र सुरक्षाका लागि पनि आगाको प्रयोग गर्न थालियो । भारतमा अन्यास्त्र बने । चीनमा नवौं शताब्दीमा बारुदको आविष्कार भयो । त्यसपछि तोप, बन्दुक र पेस्तोलको निर्माण गरियो । मानव सभ्यतासँगै आगाको नियन्त्रण र प्रयोग अपरिहार्य हुँदै गयो । रेल, कार, बिजुली, वायुयान, आणविक बम, सौर्यऊर्जा आदिको निर्माण र प्रयोगविना आजको प्रविधि अपाङ्ग हुन्छ । त्यस्तै आगोको खोजी निबन्धसँग मिल्दो अर्को निबन्ध छ उत्तानो ओदान । यसमा इन्द्रको वज्र वा चट्याङ पर्दा नेपाली समाजमा अगेनाको ओदान उत्तानो पार्ने चलन छ । वज्र भनेको कठोर, दह्रो, ठूलो, महान् पनि हो । इरानका राजा आफूलाई वज्रक भन्थे । यसैबाट बोजोर्ग, बुजुर्ग र नेपालीमा बुजुरुक भयो ।

ज्योतिष, खगोलशास्त्र र गणितसँग सम्बन्धित निबन्धमा तीनआँख्ले, आठदुना सत्र भएपछि र साठी पर्दछन् । तीन आँख्लेमा निबन्धकारमा केटाकेटी उमेरमा आमाले तीनआँख्ले र किरकिट उदाए भनेको सुनेर तिनका बारेमा जान्ने उत्सुकता जन्मेको र पछि ठूलो भएर तिनका बारे अध्ययन गरेको कुरा व्यक्त गरिएको छ । संसारका प्राचीन खगोलविज्ञ र ज्योतिषीले आकाशका ग्रह र नक्षत्र हेरेर ज्योतिष र खगोलशास्त्रको निर्माण गर्न थाले, समय र युगको मापन गर्न सिके, यसको प्रमाण संसारका मिथकमा पाइन्छ भनेर स्पष्ट पारिएको छ । आकाशका ग्रह र नक्षत्रको उदय र अस्त हुने समयका आधारमा बार, दिन, महिना र वर्ष बनाइए र तिनको गणना गर्न थालियो । आजभन्दा करिब दुई हजार वर्षअघि दिन र रात बराबर हुँदा सूर्यसँगै अश्विनी नक्षत्र (तारा समूह) झुल्कन्थे । त्यति वेला दिन र रात बराबर वैशाख १ गते अर्थात् अप्रिल १४, १५ मा हुन्थ्यो, जसलाई हामी अझै मानिरहेका छौं । दुई हजार वर्षपछि अर्थात् अहिले भने चैतको पहिलो हप्ता अर्थात् मार्च २० तिरै दिन र रात बराकर हुन्छ, तसर्थ नयाँ वर्ष त्यही अनुसार हुनुपर्ने देखिन्छ, किनभने सूर्य हजारौं वर्षसम्म उही ठाउँ र वेलामा झुल्कँदैन, समयको अन्तरालमा सूर्य झुल्कने ठाउँ र वेलामा फरक पर्दछ । यस कुराको पुष्टि आजका वैज्ञानिकले गरेका छन् र त्यसैअनुसार समय मिलाएका छन् । विश्वका कतिपय देश र जातिले अझै पनि दिन र रात बराबर भएको दिनका आधारमा नयाँ वर्ष मनाइरहेका छन् । भारतका प्रसिद्ध स्वतन्त्रता सेनानी गंगाधर तिलकले पनि नक्षत्रकै आधारमा वेदको रचना समय निर्धारण गरेको पनि उल्लेख गरिएको छ ।

आठ दुना सत्र भएपछि निबन्धमा प्रचलनभिन्न अर्थात् ९ अङ्कविनाको गणना पद्धति कल्पना गरेर ० देखि ८ अङ्कसम्मको गणना कसरी गर्ने भनेर देखाउँदै ० देखि ९ सम्मको गणना पद्धतिबाहेक विगतमा के कस्ता गणना पद्धति थिए भनेर चर्चा गरिएको छ । प्राचीन गणना पद्धतिको चर्चा गर्दा विभिन्न मानव जातिमा प्रचलित प्राचीन संस्कृति र शास्त्रका कुरा पनि मिसिएका छन् । प्राचीन समयमा इराकमा ६० अङ्कमा आधारित गणना पद्धति थियो । त्यसको प्रभाव अझै देखिन्छ, जस्तैः ६० मिनेटको एक घण्टा, ६० सेकेन्डको एक मिनेट आदि । प्राचीन भारत र अमेरिकी युकी आदिवासीमा अष्टदशमलव अर्थात् १ देखि ८ सम्मको गणना प्रचलित रहेको, भारतीय धर्म र दर्शनमा ८ अङ्क महत्त्वपूर्ण रहेको, अनुष्टुप् र गायत्री छन्दमा आठ अक्षरका मात्रा रहेको, छन्दशास्त्री पिङ्गलले लघु र गुरुका आठ मात्रा निर्धारण गरेको, संगीतका आठ सुरका अक्टेम रहेका, यहूदी जातिको नवजात शिशुको आठौं दिनमा लिङ्गको टुप्पाको छाला काट्ने, ८ दिनको एक हप्ता मान्ने चलन रहेको, क्रिस्चियन धर्ममा ८ लाई भगवान्को अङ्क मानिएको, ट्राफिक नियन्त्रणको रोक्ने चिह्न आठ पाटे, चेस खेलका आठ लहर, नेपालमा खेलिने बाघचालका चतुर्भुज आठ ठाउँमा जोडिने, वेदमा अष्टआदित्य, अष्टरुद्रको चर्चा, त्यसपछि हिन्दूका अष्टसिद्धि, अष्टधातु, अष्टवसु, अष्टलक्ष्मी, अष्टदिक्पाल जस्तै प्राचीन ग्रीकहरूका आठ वटा वायु देवता रहेका आदि कुराको उदाहरण दिएर ८ अङ्के गणना पद्धतिको वैशिष्ट्य प्रस्तुत गरिएको छ । साठी नामक निबन्ध पनि यसैको अंश जस्तो देखिन्छ । यसमा पनि ६० मा आधारित गणना पद्धतिको चर्चा गरिएको छ । यो पद्धति सुमेर र बेबिलोनमा मात्र नभएर भारतमा पनि प्रचलित छ, जस्तैः एक दिनलाई ६० घडी, ६० पलको एक घडीमा विभाजन भारतमै भएको हो । इजिप्टका मान्छेले रात र दिनलाई १२ घन्टामा विभाजन गरेका हुन् । पृथ्वीको कुनै स्थान जनाउन ६० को गणना पद्धति प्रयोग गरिन्छ । हिन्दूहरूले दिन र रातलाई ६० भागमा विभाजित गरेका हुन् । १० अङ्के गणना पद्धति भारतीयहरूको देन हो । हातमै गन्न सकिने भएकाले ६० अङ्कको गणना पद्धति विकसित भएको हुन सक्छ । पृथ्वीको मापन पनि ६० मा आधारित छ ।

यी माथिका विश्लेषित बाहेक अन्य सबै निबन्ध नितान्त भिन्न विषयमा लेखिएका छन्, तिनलाई खास वर्ग वा समूहमा राखेर हेर्नुभन्दा बेग्लाबेग्लै हेर्नु उपयुक्त भएकाले यहाँ तिनको छुट्टाछुट्टै चर्चा गरिएको छ । जीवनको उद्देश्य र लक्ष्य निबन्धमा जीवनको लक्ष्य वा उद्देश्य के हो भन्नेबारे रोचक तर्क प्रस्तुत गरिएको छ । भगवत्भक्ति, मानवसेवा, आप्तवचनको पालना मानव जीवनको लक्ष्य वा उद्देश्य हो ? मानिस स्वभावतः मृत्युदेखि डराउँछ । ऊ जीवनलाई जसरी पनि जोगाइराख्न चाहन्छ । सन्तान प्राप्ति, कृतिलेखन, सत्कर्म आदि सबैमा जीवनलाई बचाइराख्ने विचारले काम गरेको देखिन्छ । भगवान् अमर भएकाले भगवत्सेवा पनि अमर हुने चाहनाकै कार्य हो । मानवसेवामा पनि जीवनकै सुरक्षा प्रतिबिम्बित हुन्छ । यस विपरीत असहनीय दुःख र पीडाले कोही मर्न पनि खोज्छन् । वास्तवमा सबै मानिसको जीवनको लक्ष्य वा उद्देश्य एउटै नहुन सक्छ । बाँच्ने क्रममा नयाँ उद्देश्य वा लक्ष्य समयले निर्माण गर्दै लान्छ । मान्छे एउटै उद्देश्यमा अडिग रहिरह्यो भने पनि ऊ मेसिन हुन सक्छ । उद्देश्यले नियन्त्रित मान्छेबाट अपराध पनि हुन सक्छन् । आफ्नो देश, समाज र जातिको उद्धार गर्ने निहुँमा अन्य देश, समाज र जातिप्रति घृणा, हिंसा र आतङ्क फैल्याइरहेको पनि देखिन्छ ।

घोडामा लागेका समयका गोडा निबन्धमा घोडाको मिथकीय, प्रागैतिहासिक, ऐतिहासिक, सांस्कृतिक आदि अनेक दृष्टिले परिचय दिंदै मानव सभ्यतासँग घोडाको सम्बन्धका बारेमा गहिरो र व्यापक चर्चा गरिएको छ । नेपाली समाजमा पहिले घोडाको स्थान महत्त्वपूर्ण थियो । घोडा मर्दा जुठो बार्ने गरिन्थ्यो । विश्वका महान् व्यक्तिसँग घोडाको प्रसंग आएको छ । सिद्धार्थ गौतमले कण्ठक नामक घोडा चढेर दरबार छोडेर हिंडेका थिए । सिकन्दरको विजययात्रामा व्युसेफस घोडा थियो । टर्कीमा काठको ट्रोजन घोडाको पेटमा लुकेको ट्रोय शहर छ । कम्प्युटरमा पसेर अर्काका सूचना निकाल्ने प्रोग्रामलाई ट्रोजन हर्स भनिन्छ । स्पेनले अमेरिकाको माया सभ्यता ध्वस्त पार्दा घोडा थिए, तर माया सभ्यताका निर्मातासँग घोडा थिएनन् । महाभारतमा अर्जुनलाई अग्निले चार वटा घोडा दिएका थिए । जुनसुकै देशका पुराना शहरमा घोडचढी वीरकै सालिक छन् । दन्यकथामा वायुपंखी घोडा चढेर नायक हिंड्छन् । घोडासँग सम्बन्धित अनेक उखान रचिएका छन् । समुद्र मन्थन गर्दा उच्चैश्रवा घोडा निक्लेको थियो । ग्रीक मिथकमा पेगासस नामक घोडाको वर्णन छ । शिवालिक क्षेत्रमा पाइएको २६ लाख वर्षपहिलेको जीवावशेषलाई शिवालिक अश्व भनियो । कजाकिस्तानमा मालिक मरेको एक वर्षभित्र घोडा मार्ने चलन छ । चङ्गेज खाँको साम्राज्य निर्माणमा घोडाको ठूलो भूमिका रहेको देखिन्छ । ऊ मर्दा चार वटा घोडा बलिदान गरियो । प्राचीन हिन्दू अश्वमेध यज्ञ गर्थे, त्यसमा घोडाको बलि दिइन्थ्यो । राम र युधिष्ठिरले अश्वमेध यज्ञ गरेका थिए । सिन्धु घाँटीको हरप्पा सभ्यतामा घोडा रहेको प्रमाण पाइन्छ । घोडा अनेक प्रकारका हुन्छन् । घोडाबाट मानव सभ्यताको ऐतिहासिक लेखजोखा गर्न सकिन्छ ।

जन्म र जात पुरुषको हात निबन्धमा हाम्रो पूर्वीय हिन्दू समाजमा प्रचलित जातसम्बन्धी अवधारणाको खण्डन गरिएको छ । आधुनिक र प्रगतिशील विचार राख्नेहरू मान्छेका महिला र पुरुष गरी दुई जात मात्र मान्दछन्, हाम्रो समाजमा मान्छेलाई ठूलो, सानो, उचनीच जातमा राखेर हेरिन्छ । यस्तो विचार विभेदमूलक छ र यो पितृसत्तात्मक धारणाबाट अभिपे्ररित छ । भरखर जन्मेको कुनैपनि शिशुलाई नवजात भनिन्छ, तर छोरा कि छोरी भनेर विभेद गर्नु हुँदैन । जात भनेको जन्मेको हो, तर यो नेपाली भाषा र अन्य भाषामा मान्छेको वर्ग वा झुन्ड बुझाउने शब्द भयो । जात शब्द जाद भएको हुन सक्छ । इरानमा जादे भनेको सन्तान हो । शाहजादे भनेको राजाको सन्तान भनेको हो । अङ्ग्रेजीमा जिन, जेनरेसन शब्द छन् । यसरी जन्म बुझाउने जात शब्द कसरी भेदभाव बुझाउने भयो ?, हार्वर्ड विश्वद्यिालयको आनुवंशिकी खोजअनुसार भारतीय चार वर्ण र अन्य जात सबै मुख्य दुई पुख्र्यौलीको सम्मिश्रणबाट उत्पन्न भएका हुन् । ती दुई हुन् उत्तर भारतीय र दक्षिण भारतीय पुर्खा । उत्तर भारतीय अंश मध्यएसियाली, मध्यपूर्वेली, ककेसियाली र युरोपेलीसँग पनि जोडिएको छ । दक्षिण भारतीय अंश भने भारतको रैथानेसँग मात्र सम्बन्धित छ । यस्तो सम्मिश्रण आजभन्दा करिब ४२०० देखि १९०० वर्षअघिसम्म भइरह्यो, त्यसपछि रोकियो । मनुस्मृतिको रचना पनि करिब दुई हजार वर्षअघि भएको मानिन्छ, जसले जातभातमा कट्टरता ल्यायो ।

नकारात्मताको सकारात्मक कुराः नेतिनेतिदेखि क्यान्सरको ओखती निबन्धमा नकारात्मकताबाट सकारात्मक कुरा वा नयाँ कुरा पत्ता लाग्छ भन्ने कुरा सप्रमाण प्रस्तुत गरिएको छ । सत्यको खोजीमा दुइटा नकारको प्रयोग भएको छ । नेतिनेति अर्थात् यो मात्र होइन, यो मात्र होइनदेखि क्यान्सरको ओखतीको खोजमा पनि यही नकारात्मकता देखिन्छ । सकारात्मकता भनेको नकारात्मकताविहीन अवस्था हो । नकारात्मकताको सदुपयोग हुन सक्छ । आगो, पानी, हावाको सदुपयोग भइरहेको छ । त्यसरी नै मान्छेले नकारात्मकतालाई सदुपयोग गरेर देखाएको छ, किनभने कतिपय नकारात्मक कुरा समय र स्थान सापेक्ष हुन्छन् ।

झ्याम्ली बाख्राको पाठो निबन्धमा मानिसको परिचयका बारेमा विमर्श गरिएको छ । अहिले वा उत्तर समयमा परिचयको संकट भएका वेला यो निबन्ध लेखन अत्यन्त सामयिक लाग्दछ । यहाँ मान्छेको परिचयलाई वैज्ञानिक र आध्यात्मिक दृष्टिले अवलोकन गरिएको छ । मान्छे जन्मेदेखि नै परिचयको आरम्भ हुन्छ र परिचयहरू क्रमशः थपिंदै जान्छन् । परिचय आफूले र अन्यले पनि गराउँछन् । त्यसैले पानीको निश्चित आकार नभएजस्तै मान्छेको परिचय पनि अनिश्चित हुन्छ । मान्छेमा बाबु र आमाबाट समान क्रोमोजोम आएका हुन्छन् । त्यसैले हरेक मान्छे आधा आमा र आधा बाबु हो । मान्छे पुर्खाको अंश मात्र हो । सधैं छु र सधैं छैन जस्तो । अहंकार भनेको म बनाउने कुरा हो । अहंकार त्याग्नुपर्छ । म स्थान र समयसापेक्ष हुन्छ । बुद्धको मस्तिष्क क्रुद्धमा सारिदियो भने क्रुद्ध पनि बुद्ध हुन सक्छ । मान्छेको विचार नै म हो ।
आटसउटस निबन्धमा नेपाली समाजमा विद्यमान भ्रष्टाचारका बारेमा चर्चा गरिएको छ । प्रायः नेपालीमा नेपालको शासन भ्रष्टाचारी भयो भनेर खिन्न हुने, तर आफूचाहिं भ्रष्टाचार गरिहने दोहोरो प्रवृत्ति छ । यही दोहोर प्रवृत्तिले गर्दा नेपालमा भ्रष्टाचार मौलाएको हो । भ्रष्टाचार भनेको सामाजिक व्यवहार हो । यो नास्तिकले भगवान् छन् कि छैनन् भनेर सोधेजस्तै हो । भगवान् छन् कि छैनन् भनेर तर्क गर्नु आटसउटस भनेको के हो भनेर सोधे जस्तै हो ।

हुँदै नभएको चीजबाट निबन्धमा आध्यामिक तहसम्म पुगेर भौतिक कुरा बुझाउने प्रयत्न गरिएको छ । यो दार्शनिक र भौतिक विज्ञानसँग सम्बन्धित देखिन्छ । यहाँ संसारको उत्पत्ति वा सृष्टि कसरी र कहिलेदेखि भयो होला भन्ने जिज्ञासाको उत्तर खोजिएको छ । यस विषयमा युगौंदेखि अनेकौं खोज, अनुसन्धान र चिन्तन भएका छन् । दार्शनिकहरूको चिन्तन अनुमानित र व्यापक देखिन्छ भने वैज्ञानिकको परीक्षण प्रामाणिक र सीमित हुन्छ । वैज्ञानिक भन्छन्ः पदार्थ सृजना गर्न सकिंदैन र भएकालाई नष्ट गर्न पनि सकिंदैन, बरु पदार्थलाई एक रूपलाई अर्कोमा परिवर्तन गर्न चाहिं सकिन्छ । अस्तित्व नै नभएको कुराबाट कुनै कुरा अस्तित्वमा आउँदैन । गीता दर्शनले पनि नासतो विद्यते भावो, नाभावो विद्यते सतः अर्थात् जे छैन त्यो कहिल्यै हुँदैन र जे छ त्यो कहिल्यै नहुने हुँदैन भनेको छ । यसको निष्कर्ष के हो भने पदार्थ अविनाशी छ, तर यसका रूप अनेक छन् । पदार्थ हिजो पनि थियो, आज पनि छ र भोलिपनि हुनेछ । पूर्वीय अध्यात्म दर्शनले भनेको ब्रह्म सम्भवतः पदार्थ हुन सक्छ ।

सपना निबन्धमा सपनासम्बन्धी गम्भीर चर्चा गरिएको छ । सपना भनेको आफूलाई वा मनमा लुकेर बसेको आफैंलाई बुझ्नु हो । सपना बुझ्न सके आफूलाई मन नपर्ने आफ्ना आनीबानी, व्यवहार र स्वभाव बुझ्न सकिन्छ । सपनाबाट आफूलाई बुझ्ने कुरा धार्मिक, आध्यात्मिक, दार्शनिक र मनोवैज्ञानिक सन्दर्भमा आउँछन् । स्वयंलाई जान भनेर ग्रीकले भने । सोक्रेटसले आफूलाई न जानी अर्थोक जानिंदैन भने । अन्य कतिपयले आफूलाई जान्नु भनेको भगवान्लाई जान्नु हो भने । हिन्दूहरूले पनि आत्मज्ञानलाई ठूलो महत्त्व दिएका छन् । मान्छेका भित्री र बाहिरी गरी दुई रूप हुन्छन् । आफूलाई चिन्नु भनेको भित्री मान्छे चिन्नु हो, मान्छेको व्यक्तित्व, उसको मनोविज्ञान, स्वभाव चिन्नु हो । सपनामा अर्कालाई हकारेको भनेको आफूले आफैंलाई हकारेको हो । आफ्नो अहंकारलाई हकारेको हो । सपनामा आफूले गल्ती गरेको कहिल्यै देखिंदैन, किनभने जस्तासुकै नराम्रा काम गरेपनि तिनको औचित्य सिद्ध गरेर मान्छे आफूलाई निर्दोष प्रमाणित गर्न खोज्छ । सम्भवतः भगवान्को जन्म मान्छेका सपनाबाट भएको हुन सक्छ । सपनामा पूर्वस्मृतिहरू तास फिटेजसरी आउँछन् । सपना मन अनुसार जटिल र सरल तथा अर्थ र बेअर्थका हुन सक्छन् । सपनामा स्थान र समयको भाव हुँदैन ।

उद्धरण र उदाहरणको जादुयी शक्ति निबन्धमा उदाहरण र उद्धरणमा ठूलो शक्ति छ, तर तिनको गलत प्रयोग, अतिप्रयोग र दुरुपयोग भइरहेको हुन्छ भनेर तर्क गरिएको छ । धार्मिक प्रवचन दिने गुरुले उदाहरण दिएर श्रोतालाई प्रभावित पार्छन् र कहिलेकाहीं मूर्ख पनि बनाउँछन् । कतिपय उदाहरण विभेद गर्ने खालका हुन्छन् । कतिपले महिलालाई बढी विभेद गर्दछन् ।
अब म यी निबन्धका प्रमुख वैशिष्ट्यको संक्षिप्त चर्चा गर्न चाहन्छु । यस निबन्ध संग्रहका निबन्धहरू अन्तरविषयक देखिन्छन्, किनभने, यसमा ज्ञानका विविध शाखासँग सम्बन्धित विषयका निबन्ध संगृहीत छन् । यसमा मिथक, अध्यात्म, विज्ञान, दर्शन, ज्योतिष, गणित, खगोलशास्त्र, मनोविज्ञान, समाजशास्त्र, भाषाविज्ञान, संस्कृति आदि अनेक विषयमा लेखिएका निबन्ध छन् । सर्जकको गम्भीर र व्यापक अन्तरविषयक अध्ययनको प्रतिफलका रूपमा आएकाले यी निबन्धबाट बहुज्ञान प्रत्यावर्तित भएको छ र त्यसको झिलीमिलीले पाठकको ज्ञानक्षेत्र झन् तिरिमिरी र विस्तृत पारिदिएको छ । त्यसरी नै निबन्धकारले एक विषयको अध्ययन गर्न अन्य विषयको मद्दत लिइएको देखिन्छ । यहाँ कुनै पनि विषयलाई निरपेक्ष रूपमा नहेरेर अन्य विषयका सापेक्षतामा हेरिएको र सापेक्षित निष्कर्ष निकालेको देखिन्छ । यसकारणले पनि यी निबन्ध अन्तरविषयक भएका छन् । अर्को विशेषता हो व्यापक ज्ञानक्षितिजको प्रयोग । संग्रहका निबन्धमा विश्वका प्रमुख सभ्यता (पूर्वीय, मध्यपूर्वीय र पाश्चात्य) र तिनका भाषा, संस्कृति, दर्शन, चिन्तन परम्परा, प्रागैतिहासिक र ऐतिहासिक तथा वर्तमान विश्वमा प्रचलित विज्ञान र प्रविधि अनि तिनका उपलब्धि आदिको व्यापक ज्ञानक्षितिज प्रयोग भएकाले यी निबन्ध सामान्य पाठकका लागि नभएर विशिष्ट पाठकका लागि लेखिएका हुन् भन्ने कुरा प्रतीत हुन्छ ।

बौद्धिकता वा चिन्तनपरकता अर्को विशेषता हो । सर्जकको भावना, कल्पना, बुद्धि, विचार आदिको प्रभाव उसका कृतिमा पर्नु स्वाभाविक हो । यी निबन्धमा निबन्धकारको भावनातत्त्व भन्दा बुद्धितत्त्वको प्रभाव अधिक भएको देखिन्छ । त्यसैले यी निबन्ध अध्ययनशील निबन्धकारका बुद्धि, प्रज्ञा र अन्तर्दृष्टिले निर्मित छन् । अर्काका निष्कर्ष राख्दैमा कोही बौद्धिक कहलाउँदैन, तर अर्काका निष्कर्ष या ज्ञात विषयलाई मनमनै पर्गेलेर, विश्लेषण गरेर आवश्यकतानुसार खण्डनमण्डन गरेर तिनमा परिष्कार र परिमार्जन गर्न या नवीन निष्कर्ष निकाल्न सक्नु नै चिन्तन हो । यो काम निबन्धकारले राम्ररी सम्पन्न गरेको देखिन्छ । त्यसैले यी निबन्ध निबन्धकारको बुद्धि, प्रज्ञा, अन्तर्दृष्टि वा चिन्तनको आतसबाजीले अत्यन्त चम्किला भएका छन् । शोधपरकता यी निबन्धको अर्को विशेषता हो । हुन त यी निबन्ध सृजनशक्तिले निर्मित छन्, तर पनि तिनमा शोधपरकता, अनुसन्धानात्मकता वा अन्वेषणात्मकता पाइन्छ । अनुसन्धान भनेको ज्ञानार्जन नै हो । ज्ञानार्जनका लागि अनुभव, आप्तवाक्य, निगमन, आगमन र अनुसन्धान आवश्यक मानिन्छन् । यी निबन्धमा सर्वप्रथम सर्जकको स्वानुभव प्रकट भएको छ । त्यसपछि आप्तवचन अर्थात् लोकोक्ति, बूढापाका, मान्यजन, ज्ञानी र विद्वान् वर्गबाट प्राप्त ज्ञान पनि प्रयुक्त छ । त्यसरी नै सिद्धान्तका आधारमा तथ्यको विश्लेषण अर्थात् निगमन र तथ्यविश्लेषणबाट सिद्धान्त निर्माण अर्थात् आगमन आदि विधिबाट निष्कर्ष निकालिएको पनि छ । अध्ययनीय विषयबारे पूर्वानुमान गरी तदनुसार तथ्यसंकलन विश्लेषण र निष्कर्ष ग्रहण पनि गरिएको छ । यी आदि कारणले यी निबन्ध शोधपरक भएका छन ।
तार्किकता यी निबन्धको अर्को विशेषता हो । गौतमका निबन्ध मूलतः तार्किक देखिन्छन्, त्यसैले ती विचारात्मक र विवेचनात्मक भएका छन् । जुन निबन्धमा जुन विषयको चर्चा गरिएको छ, त्यसबारे आफ्नो मतको पुष्टि र स्थापना गर्न निबन्धकारले अरुका मत वा विचार प्रस्तुत गरेर तिनको खण्डन वा मण्डन गरेका छन् । उनको तर्कशक्ति प्रभावकारी देखिन्छ । यस्ता तार्किक निबन्ध पढेर पाठक उनका विचारप्रति आश्वस्त मात्र हुँदैन, सहमत पनि हुन्छ । जीवनको लक्ष्य के हो ?, दुःख के हो ?, पूर्वीय समाजमा जातपातको विभेद कहिलेदेखि आरम्भ भयो ?, सत्य के हो ?, मान्छेको परिचय के हो ?, संसारको सृष्टि कसरी भयो ?, ज्योतिषशास्त्रको आरम्भ कसरी भयो ?, नकारात्मकतामा सकारात्मकता खोज्दा के कस्तो परिणाम प्राप्त गर्न सकिन्छ ?, योग के हो ?, सपना के हो ? आदि प्रश्नका बारेमा अनेक तर्क प्रस्तुत गरेर आफ्नो विचार स्थापना गरेर निबन्धकारले पाठकको चित्त राम्ररी बुझाउने प्रयास गरेका छन् । त्यस्तै यिनका निबन्ध विवरणात्मक वा कुनै विषयका बारेमा पर्याप्त सूचना दिएर पाठकको ज्ञान वृद्धि गर्ने पनि छन् । यस्ता ज्ञानवद्र्धक निबन्धमा पाल्सी कुरा, आगाको प्रयोग, पौराणिक असुर जाति, घोडा, अक्षर र लिपि, उद्धरण र उदाहरणको दुरुपयोग, ऋ र रि को उच्चारण र ध्वनिपरिवर्तन, संसारमा प्रचलित गणना पद्धति, नेपाली समाजमा मौलाइरहेको भ्रष्टाचार आदि विषयबारे सूचनात्मक, परिचयात्मक, व्याख्यात्मक र स्पष्टीकरणात्मक रूपमा पाठकलाई अवगत गराएका छन् । त्यसैले यी ज्ञानवद्र्धक भएका छन् ।
यिनका निबन्धमा भाव वा स्वरगत विविधता पाइन्छ । विविध भाव, आशय वा स्वरयुक्त निबन्ध लेखेर गौतमले विषयलाई कतै हलुका, कतै गम्भीर, कतै मनोविनोदी, कतै व्यङ्ग्यात्मक, कतै निश्चयात्मक र कतै अनिश्चयात्मक पारेर प्रस्तुत गरेका छन्, त्यसैले यी पठनीय र स्मरणीय भएका छन् । त्यस्तै गौतमले आफ्ना निबन्धमा प्रत्ययकारिताको यथाशक्य प्रयास गरेका छन् । प्रतिपाद्य विषयप्रति पाठकलाई अभिमुख गराउन वा निबन्ध पढ्न वाध्य पार्न निबन्धकारले आफूलाई निबन्धभित्र जिज्ञासु वा अज्ञानी बालक, विद्वान्, ज्ञानी, श्रोता, अनुयायी, समर्थक, विचारक, विरोधी, चिन्तक, अन्वेषक, प्राध्यापक आदि अनेक भूमिकामा प्रस्तुत गरेका छन् । निबन्धकारको यस्तो विविध प्रकारको व्यक्तित्वको छाप निबन्धमा स्पष्टसँग देखिएकाले उनको विषयगत प्रस्तुति अत्यन्त अनुनयात्मक र विश्वासिलो वा पत्यरिलो भएको छ । उनका निबन्धमा प्रभावकारी भाषा, शैली र शिल्पको प्रयोग भएको छ । गौतमका निबन्धमा गौतमेली शैलीको स्पष्ट छाप देखिन्छ । शब्दचयन, वाक्यरचना, अनुच्छेद योजना, उदाहरण प्रस्तुत गर्ने, तर्क गर्ने र विषयको प्रतिपादन गर्ने ढङ्ग आदिमा गौतमले पर्याप्त मात्रमा सृजनशीलता र निजता देखाएका छन् । उनको अभिव्यक्ति कौशल प्रशंसनीय देखिन्छ । यिनी अभिप्रेत अर्थ स्पष्टसँग प्रस्तुत गर्न समर्थ देखिन्छन् । यिनका निबन्ध छोटा, छरिता, विषयको आरम्भ, विस्तार र अन्त्ययुक्त भएकाले स्वतःपूर्ण र सुगठित देखिन्छन् । यिनका प्रायः धेरै निबन्ध एकालापीय शैली र थोरै निबन्ध वार्तालापीय शैलीमा संरचित छन् । यिनका निबन्धको शैली वर्णनात्मक, विवरणात्मक, सूचनामूलक, व्याख्यात्मक, तुलनात्मक, विवेचनात्मक, आत्मकथात्मक, संस्मरणात्मक, तार्किक देखिन्छ । यिनै कतिपय वैशिष्ट्य र शिल्पसंरचनाले उनका निबन्ध सुन्दर, कलात्मक र साहित्यिक भएका छन् । अनेक भाषाका ज्ञाता, अन्तरविषयक निबन्धका स्रष्टा गौतम विषयानुरूप भाषिक र शैल्पिक स्वरूप निर्माण गर्न सिपालु देखिन्छन् । तुलानात्मक रूपमा भावना, संवेदना, कल्पना र कलाभन्दा बुद्धि, प्रज्ञा र चिन्तनले निर्मित गौतमका निबन्ध संज्ञानात्मक, बौद्धिक, सूचनामूलक, विचारोत्तेजक र ज्ञानवद्र्धक छन् । यस्ता निबन्ध लेख्ने व्यापक ज्ञानक्षितिज भएका, बौद्धिक र तार्किक निबन्धकार नेपाली साहित्यमा कमै देखिन्छन् । उनको आरम्भिक निबन्ध लेखन नै यति नवीन, गम्भीर र प्रभावकारी देखिन्छ । नेपाली निबन्ध क्षेत्रमा उनको लेखन अझ सूक्ष्म, सुन्दर र उपलब्धिपूर्ण हुने कुरा यी निबन्धले नै प्रतीत गराएका छन् । उनको भावी निबन्ध लेखन नेपाली साहित्यकै लागि भिन्न, उदाहरणीय र कोसेढुङ्गो बन्न सकोस् भन्ने कामनासहित म आफ्ना धारणा यहीं रोक्न चाहन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु