विमर्श

- राजु “हिमांशु”

निर्भीक/निडर/निर्भय/सशक्त/साहसी/समदर्शी/दूरदर्शी/आँटी/खाँटी/पोख्त/अनुभवी/सत्यनिष्ठ
/सत्यप्रतिज्ञ/चर्चित/प्रतिष्ठित/अनुशासित/प्रगतिशील/निष्ठावान/मेधावी/कर्तव्यनिष्ठ/प्रख्यात/प्रवीण/आदि आदि विशेषणहरू पनि अपुग हुने परिचय गराउन/चिनाउन।त्यस्ती थिइन् उनी । धेरैले मनपराउने वरिष्ठ पत्रकार थिइन् उनी । व्यक्तिपूजा विरोधी उनी । अधिनायकतन्त्रले ब्याएको अराजकता र व्यतिक्रमप्रति घोर प्रतिवाद जनाई प्रजातान्त्रिक अधिकारको संरक्षणार्थ लागिपर्ने सत्यवती उनी ।
एउटी युवतीलाई बलात्कार गरेको अभियोग लागे तापनि एकजना राजनेता पक्रा परेको
थिएन । त्यो राजनेता सत्तारूढ़ दलको मन्त्री थियो। त्यस बलात्कृत युवतीलाई न्याय दिलाउने कोसिसमा उनले धेरै लेखेकी थिइन् । टिभीमा बोलेकी थिइन् । पुलिसले एफ.आई.आर दर्ता नगरेको विरुद्धमा पनि उनले धेरै लेखेकी र बोलेकी थिइन्। फोनमा धम्की पनि सुनेकी थिइन्। निर्भीक र निष्पक्ष,सत्यनिष्ठ र न्यायसङ्गत पत्रकारितामा विश्वास राखेर अग्रसर भइरहेकी थिइन् उनी । अत्याचार,दुराचार,व्यभिचार,भ्रष्टाचार,शोषण,दमन,उत्पीड़न,गुन्डागिरी,हिंसा,हत्या, प्रभृतिबारे लेख्ने र त्यसको विरोध गर्दै दोषीलाई सजाय दिलाउने कोसिसमा लाग्ने उनको निर्भीकताले गर्दा शत्रुहरू जन्मिएनन् भन्न सकिन्न । तर को को शत्रु थिए ? चिन्न गाह्रो परिरहेको थियो । कारण उनको शत्रु अनगिन्ती हुनसक्थ्यो । कनिष्ठ पत्रकारहरूको निम्ति उनी अति प्रशंसित र सम्मानित व्यक्तित्व थिइन्,अभिप्रेरणाका स्रोत थिइन् । उनको त्रासहीन कर्मद्वारा धेरै जना प्रभावित थिए। उनको कर्मशैलीलाई अवलम्बन र अनुसरण गर्ने पत्रकारहरूको सङ्ख्यामा वृद्धि भइरहेको थियो । थुप्रैका निम्ति आदर्श थिइन् उनी ।
एकदिन । छोरो, बुहारी,नातिनी शपिङ मल गएका थिए ।आइनक्समा फिल्म हेरेर केही शपिङ गरी डिनर त्यतैतिर खाएर फर्किने विचार गरेका थिए उनीहरूले । उनीहरु रमाइलो गरेर सन्तुष्ट हुन चाहन्थे । उनी भने जान मानिनन् उनीहरूसँग। राष्ट्रिय पुस्तकालय गएर पुरानो खबरकागजमा नक्सासहित प्रकाशित खबरहरू मोबाइल फोनको क्यामेराले खिँचेर घर फर्किइन् उनी। आफैले हाँकेकी कारको पछिल्लो सीटभरि पुस्तकहरू र पुराना फाइलहरू थिए । घर आएर चिया र बिस्कुट खाइन् । दिउँसोको खाना बाहिर होटलमै खाएकी थिइन्। चिया पिउँदै ल्यापटपमा केही टङ्कण गर्न थलिन्। घरभित्र उनीबाहेक कोही थिएनन्। एक महिना अघिदेखि एउटा मुद्दाबारे उनी लागिपरेकी थिइन्। शोध गर्दै थिइन्। टिभीमा पनि अन्तर्वार्ता र अन्तरक्रियात्मक कार्यक्रमहरूमा त्यस मुद्दाबारे उनले आफ्नो मन्तव्य धेरैचोटि प्रकट गरिसकेकी थिइन् । विमर्शमा सहभागिता दर्शाएकी थिइन्। पत्रिकामा, खबरकागजमा पनि उनका रचनाहरू प्रकाशित भएर उनी चर्चित भएकी थिइन्। अहिले केही लेखिरहेकी थिइन्। बाहिर अँध्यारो भइसकेको थियो । कल बेल बज्यो। उनी ढोका खोल्न पुगिन्। ढोका खोलिन्। तर बाहिर कोही थिएन।
“को हो? त्यहाँ को छ ?” उनले यति मात्र प्रश्न राख्न सकिन्। पाँच राउण्ड फायर भयो रिवाल्वरबाट । तीनवटा बुलेटले उनको छाती नै छेड़े । उनी ढलिन् सँघारबाहिर । मोटरबाइक स्टार्ट भएर कुदेको आवाज सुनियो । त्यो आवाज बिस्तारै हरायो । उनको शरीर रक्ताम्मे भयो । उनी निष्प्राण भइन्। वरिष्ठ र निर्भीक पत्रकारको हत्या भयो । छिमेकीहरू थुप्रिए । पुलिसहरू आए । टिभीमा खबरहरू शोकार्त भए । एकैक्षणमा हाहाकार मच्चियो । शोकाच्छन्न भयो पत्रकारिताको जगत ।
प्रत्येक हत्याको पछि एउटा विचार लुकेको हुन्छ। त्यो विचारले षड्यन्त्र जनमाउँछ । त्यसले सत्यको आँटिलो जिब्रो काटिदिन्छ । प्रजातान्त्रिक अधिकारको घिच्रो निमोठर विरोध र विद्रोहको सास रोक्छ । बर्बरता उमार्छ कायरता लुकाउन। वीभत्सता देखाउँछ दसी मेटाउन। त्यसैले त्यो कुविचार हुन्छ खतरनाक मखुण्डो ओढ़ेर हत्या गराउने । तर शरीरको हत्याले त्यस शरीरले उत्पन्न गरको विमर्श मर्छ र?
हत्याअघि स्पष्ट र सत्यवादी पत्रकारलाई उचित सुरक्षा प्रदान गर्नु सकिएन। उनले पस्केका शोध र प्रमाणको आधारमा कानूनी र प्रशासनिक कारबाही पनि उचित समयमा हुन सकेन। आरोपीहरूलाई निराकरण गर्न सक्ने कारबाही पनि अघिबाटै हुन सकेन। लुकेर बनिएको चक्रान्तको पूर्वनियोजित कुकर्म सफल भयो। दुर्भाग्यजनक ! बर्बर ! निन्दनीय ! दु:ख्दायक ! अगणतान्त्रिक ! भावप्रकाशनको अधिकार विरोधी ! कायर ! कुत्सित ! कुकर्म र जघन्य अपराध घटित भइछाड़यो । आफ्नै घरमा असुरक्षित र हत्या हुनुमा स्वाधीन प्रजातन्त्रको मूल्य सग्लो रहन्छ र ?
हत्याको देशव्यापी प्रतिवाद भयो । क्याण्डल मार्च निस्कियो। राजनैतिक परिवेशमा नेताहरूका मुखबाट भर्त्सना फुस्कियो। मृतकबारे सह्रनीपूर्ण उद्गार उब्जियो। हत्याराको खोजी गरी कठोर शास्ति दिने प्रतिश्रुति सुनियो। प्लेकार्डभरि प्रतिवाद,निन्दा र न्यायिक जाँचका मागहरू कराए।
तर स्पष्ट र सत्यवादी पत्रकारको हत्यापछि समिति गठित भएर गरिएको न्यायिक जाँचले उचित न्याय दिन सक्छ र ?
टिभीमा विमर्श भने चलिरहेको थियो ।

डाउहिल
00000000000

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु