विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि

- सदानन्द अभागी

परिचय–
विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ । उहाँको शिक्षण कौशलतालाई कदर गर्दै जिल्ला शिक्षा समिति, पाल्पाले २०५२, फागुन १२ गते, कदरपत्र, श्री कालिका मा.वि. मुझुङ, पाल्पाले सम्मान पत्र (२०६३), नेपाल शिक्षक सङ्घ जि.का.सं.पाल्पाले अभिनन्दन पत्र (२०६५ पौष १७,) र कालिका मा. वि. मुझुङ, पाल्पाले सम्मान पत्र (२०६६)ले विभूषित गरेका छन् । पेशागत रूपमा हेर्दा सरकारी सेवामा खरिदार पदमा काम गर्नु भएको र शिक्षा सेवामा विद्यालयको प्रधानाध्यापकको कार्यभार सम्हाल्दै, हाल निवृत्त हुनु भएको छ । विद्यालय सञ्चालक समितिका विविध पदमा रहेर समाज सेवामा पनि योगदान पु¥याउनु भएको छ । कृति प्रकाशनको हिसावले ‘विश्वेश्वरप्रसाद कोइराला महाकाव्य’ लिएर हामी समक्ष प्रस्तुत भएका कोशलका विभिन्न पत्रपत्रिकाम फुटकर कविता र कथाहरू पढ्न पाइरहेका छौं । ‘शान्ति आऊ’ फुटकर कविताको सँगालो प्रकाशोन्मुख अवस्थामा छ । नेपाली साहित्यमा लेखनको हिसावले हेर्दा उदयानन्द अर्याल(१८१३–१८९३)को ‘पृथ्वीन्द्रोदय’ (१८३०–१८४०) तिर रचित तथा २०६८मा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भए तापनि आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)को प्रकाशन र आधिकारिकताको हिसावले पहिलो महाकाव्य रामायण (१९४४)देखि हाल कोशलको विश्वेश्वेर प्रसाद कोइराला महाकाव्य (२०७१)सम्म आइपुग्दा महाकाव्यको संख्या किटानी साथ भन्न नसके पनि महाकाव्यको इतिहास लेख्दै गर्नु भएका चन्द्रप्रसाद न्यौपानेज्यूको साथ बातचित गर्दा नेपाली महाकाव्यको संख्या ४०० नाघीसकेको विवरण जानकारीमा आएको छ । खास गरेर जननायक विश्वेश्वरप्रसाद कोइरालाप्रति लेखिएका महाकाव्यमा कोशलराज पौडेलको ‘‘विश्वेश्वरप्रसाद कोइराला महाकाव्य (२०७१) र कृष्णकुमारी शर्मा श्रेष्ठको क्रान्तिकारी विश्वेश्वर (२०६९) महाकाव्य अध्ययन गर्ने सौभाग्य मलाई मिल्यो । दुवै महाकाव्यको प्रस्तुति आआफ्नो शैलीमा विश्वेश्वरप्रसाद कोइरालाको पुस्ताले यो देशका जनताले भोगेका पीडा ,तानासाही राणाशासनले चलाएको निरङ्कुशप्रतिको विरोध,राष्ट्र राट्रियता, प्रजातन्त्र र देश विकासको लागि पु¥याएको योगदानलाई मुक्त शैलीमा मुक्तकण्ठले प्रस्तुत भएको देखिन्छन् । यी दुवै महाकाव्यहरू अनुकारणीय र प्रशंसनीय छन् ।
कृतिको संरचना – माता हिमकला र पिता हुमलालज्यूमा समर्पण गरिएको यो महाकाव्यलाई जननायक वी.पी. कोइराला स्मृति ट्रष्टले प्रकाशन गरेको छ । तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं उपप्रधान मन्त्री प्रकाशमान सिंहको शुभ कामना, प्रा. डा. बेणीमाधव ढकालको प्रशंसा एवम् डा.रामप्रसाद ज्ञावलीको साधुवाद प्राप्त गरेको यस महाकाव्यमा १४ सर्ग (सर्ग एकदेखि सर्ग १४ सम्म १८५ पृष्ठ), १७६४ श्लोक छन् । डा. नेत्रप्रसाद न्यौपानेज्यूले यस कृतिको गहन भूमिका लेख्नु भएको छ । अग्र आवरणमा वी.पी.को तस्विरले सुसज्जित छ भने पछिल्लो आवरणमा महाकाव्यकारको परिचयले सजाइएको छ र मूल्य रु २६०÷– राखिएको छ ।
कृति भित्र प्रवेश गर्दा – यस महाकाव्यको सर्गगत भावसार तिर लाग्ने अनुमति माग्दछु ।
प्रथम सर्ग– यो सर्गमा मङ्गला चरणबाट महाकाव्यको थालनी गरिएको छ । यसमा गजानन, जगदम्विका, सरस्वती, भूस्वर्ग देश नेपालको प्रकृतिक वर्णन, सीता र पार्वतीको जन्म स्थल साथै राजा जनक र गौतम बुद्धको स्मरण गरिएको छ । यहाँ राणाले रैतीलाई सताएको ले राणाको तानासाही हटाउन कर्मवीर (महामानव)को जन्म लिएको धारणा आएको छ ।
दुतीय सर्ग –यस सर्गमा मौदगल्यगोत्री ब्राह्मण याम्यबाट आएर लमजुङ दुराडाँडाको फेदीको क्वैराला कानन (वन) फाँडेर बसेको हुँदा यस फाँटको नाम कोइराला फाँट रह्यो र यिनको वंशलाई कोइराला भन्न थालियो । यिनै कोइरालाका वंशहरूमा कोही ब्राह्मण वृत्ति छाडेर जागिर खान थाले, कोही दुम्जातिर गए । दामोदर कोइराला मकवानपुरमा काजी वनेका थिए । यिनै काजिका सन्तान राजनीति र जागिरमा अग्रसर भएका शिवनिधिका छोरा नन्दिकिशोर भोटाहिटीिमा बसोबास गर्दथे र डिठ्ठा भएका यिनले राणामा काटमार हुनथालेको र रणेदीप(१८८५)मारेर वीरशमशेर गद्दीमा बसेपछि जागिर छाडेर घरमा आए । नन्दिकिशोरका चारभाइ छोरा थिए । जेठा कालिदास,, नारायण, (सुब्बा जागिर खाएका) साहिला अध्यात्मवादतिर ला।गेका र कान्छ कृष्णप्रसाद थिए । कृष्णप्रसाद कोइरालको बाल्य जीवन दुम्जा घरमै वित्यो । उनले घरमै संस्कृत र फारसी शिक्षा हाँसिल गरे, दाजुसँग काठमाडौ आउने जाने कर्म भयो । पहिलो विवाहकी श्रीमती प्रशव वेदनाले वितिन् । माहिलीबाट मातृका जन्मे, कान्छी श्रीमती दिव्यकुमारी थिइन् । कृष्णप्रसाद दाजुसँग काठमाडौ गएर अंग्रेजी समेत पढे, अंग्रेज सैनिकको साथमा एउटै डेरा भएकोले अङ्ग्रेजी बोलचाल पनि सहज भयो । कृष्णप्रसाद जनकपुरबाट बिराटनगर जानु ,भन्सारको ठेक्का लिनु, समाज सुधारको लागि विद्यालय र स्वास्थ संस्था खोल्नु, चन्द्रशंशेरकी कान्छी रानीलाई अध्यक्ष बनाएर दिव्यकुमारी सचिव भएर महिला हकहितको लागि महिला संस्था खोलेर महिलाई सहयोग गर्नु, चन्द्रगञ्ज सहरमा कचहरी भएको वेला पहाडबाट झरेका ढाक्रेका मैला कपडालाई पार्सल बनाएर चन्दशम्शेरलाई पठाउनु र चन्द्रशंशेरले पार्सल खोलेपछि रिसाएर कृष्णको सर्वस्व हरण गरेको र थुन्ने प्रयास गरिएको मा कृष्णप्रसाद भारततिर लागेका, उनका सबै परिवार भारत पसे । कृष्णप्रसादले उठाएको राजस्व पनि फिर्ता पठाएको विवरण यस सर्गमा आएको छ ।
सर्ग तीनमा– यस सर्गमा दिव्यामा दिव्य गर्भ रहन गएकोले काशीमा सासूको साथमा गएर बस्न थाल्नु शैल्यक्रियाबाट( १९७१ साल भाद्र चौवीस गते) शिशुको जन्म हुनु , शिशुको नाम चुडामणी राखिएता पनि विश्वनाथको कृपा सम्झिएर विश्वेश्वरकै नामबाट प्रसिद्धि पाउनु, जस्ता धारणा राखिएको छ ।महाकाव्यकारले बालक्रीडालाई यसरी वर्णन गरेका छन्–
निर्भीक साहसी, आँटी, शूर, मर्द उनी थिए
चलाक पूmर्तिला योग्य प्रंशंंिसत हुँदै थिए
(श्लोक ४५,पृष्ठ २१)
यस सर्गमा घरपरिवार ठूलो भएर खाद्यान्नको संकट, चरम गरिबी, वी.पी.मा कष्टदायी घाऊ आउनु, ज्वरो चढ्नु, घाऊ चिर्नको लागि क्लोरोफर्म किन्ने सम्म पैसा नभएर घाऊ चिर्न प¥यो तर घाऊ सञ्चो भएन,वी.पी. बाबुको साथ कलकत्ता पुगेर खैंराती अस्पतालमा गएर उपचार गराउनु परेको, पिताबाटै पढाइको थालनी, भारतको भागलपुर जिल्लाको टेढी गाउँमा बसाइ सराइ गरेर कृष्णप्रसादको परिवारहरू रहन थाल्नु, कृष्ण प्रसादको सकृयतामा आदर्श नामको विद्यालय खोलिनु ,साहित्यिक, मासिक पत्र पत्रिकाको अध्ययन, लेलिन, सनयात्सेन, रुसको राज्यक्रान्ति, नेपालका राणको तानशाहीको विगीविगी, भारतमा अंग्रेजको राज्य, कृष्ण लोकल बोर्ड र डिष्ट्रिक बोर्डका सदस्य भएकोले ठूला सभामा पुग्नु, कोशीको वाढीको भय, टेढीका प्राकृतिक, सामाजिक, आर्थिक, परिवेशका कुरा, मातृका पटनामा बस्ने, योग्यता हासिल गर्नको लागि काँशी जानको लागि तयार अर्थ अभावको कारणले सानीआमाले र बहिनीले मुदी तथा गहना दिएर पठाउनु , काँशीमा बडाआमासँग बस्न थाल्नु, हरिश्चन्द्र स्कूलबाट सन् १९३० (वि.सं.१९८७) मा प्रवेशिका उर्तिण हुनु, यसै समयमा वी पी.ले गभर्नर प्रमुख अतिथि भएको वेला कविता वाचन गरे प्रथम स्थान हाँसिल गर्नु, वि.सं. १९८७ मै भारतको प्रमुख पत्रिका ‘हंस’मा ‘अतिथि’ नामाको रचना प्रकाशित हुनु, गोरा शासनको विरोधमा लागेको आदि धारणाहरू यस सर्गमा आएका छन् ।
सर्ग चार – यस सर्गमा उत्तर प्रदेश जिल्ला प्रशासनद्वारा सन् १९३०साल दुईभाइ समातिनु, र तीन चार महिना जति मैदागिन जेलको बालवार्डमा राखिनु, मुद्दा मोतिहारीमा सारिनु प्रमाण नपुगे पछि छाडिनु, यसपछि काँशी हिन्दु विश्वविद्यालयबाट वि.सं. १९८९मा इन्टर दुतीय श्रेणीमा उत्तीर्ण हुनु, चन्द्र शंशेरको निधन (वि.सं. १९८६) पछि भीम शंशेरले बोलाएर कृष्णप्रसादका परिवार नेपाल फर्कनु, वी.पी.ले अर्थशास्त्र, राजनीति शास्त्रमा स्नातक र कलकत्ताबाट एल.एल.वी (१९९३मा) पास हुनु, वी.पी.को देवेन्द्र भन्ने साथिसँग हेलमेल बढ्नु, १९९३मै कमलप्रसाद दाहाल उपाध्यय झापाका बडाहकिमकी छोरीलाई हेर्न कलकत्ता जानु र वनारस आएर देवेन्द्र भन्ने वी.पी.का घनिष्ट मित्रको सहयोगमा सुशीला सँग विवाह सुसम्पन्न हुनु, सुशीलालाई वी.पी.ले पढाउनु, वी.पी. वकालत गर्ने उद्देश्यले दार्जिलिङ् जानु, माक्र्स सिद्धान्तमा वी.पी. आकर्षक हुनु, कमुनिष्ट नेता राजेश्वर राय सँग सम्पर्क हुनु, कमुनिष्ट दर्शनका किताब बटुलेर अध्ययन गर्नु, माक्र्सका सिद्धान्त राम्रो लागे पनि क्रान्ति दर्शनले चित्त नबुझ्नु, जयप्रकाशसँग वी.पी. र वी.पी.की आमा दुवै भेट हुनु काँग्रेस सोसलिष्ट पार्टीको सदस्य बन्नु (विहार शाखाको सचिव पदमा वि.सं.१९९६), जयप्रकाश, आचार्य, नरेन्द्रदेवसँगको सम्पर्क जोडिनु, चिनी मिल तथा जुट मिलमा काम गर्नु मज्दुर आन्दोलनको सिलसिलामा दरभङ्गा अंग्रेज शासनद्वारा प्रकाउ पर्नु ,छिटै छोडिनु, जनकपुर आउनु पुन पटनातिर लाग्नु कालीबाबुकोमा पुग्नु, पुन प्रकाउ पर्नु हजारीवाग जेलमा राखिनु, डा. राजेन्द्रप्रसाद सँगसँगै राखिनु, ए क्लासको सुविधा पाउनु, हजारीवाग जेलमा सारिनु, ‘छोडो भारत अंग्रेज’ दिवस मनाउँदा वी.पी.को शरीरमा व्यानर लपेटेका भेटिएकोले सजाएँ थपिनु । वि.सं. १९९९मा प्रकाऊ परेका कृष्णप्रसाद कोइरालाको राणाको क्रुर यातनाको कारण जेलमै मृत्यु हुनु, वी.पी. जेलबाट छुट्दाको दिन टेलीग्राम पुग्नु र काली बाबुकोमा गएर गिरिजालाई भेट गर्न बोलाउनु, घाँटी घाऊको अप्रेशन टाटा क्यान्सर अस्पतालमा गराउनु र प्रजातान्त्रिको संस्था गठन गर्नको लागि महावीर र सुवर्ण शंशेरकोमा वी.पी. गएको आदि धारणाहरू यस सर्गमा आएका छन् । सन् १९४६ साल अक्टुवर ४ तारिकमा प्रजातान्त्रिक पार्टी खो्ल्ने भन्दै वी.पी.बनारस गएर कृष्णप्रसाद र गोपाल भट्टराईलाई भेट्नु त्यपछि महावीर र सुवर्ण शंशेरलाई भेटन कलकत्ता गएर भेटगरी आर्थिक सहयोग सम्बन्धी कुरा गर्नु र सहयोग वचन प्राप्त गर्दै पार्टी पोषणमा तम्सिएको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
सर्ग पाँच –यस सर्गले २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली काँग्रेसको गठन भएको । वि.सं. २००३ साल माघ १२÷१३मा कलकत्तामा वृहत् सम्मेलनले पार्टीलाई स्वीकृतगरि पार्टी संगठन विस्तार भएको, यसै समय गणेशमान जेलको पर्खाल नाघेर कलकत्ता पुगेका र वी.पी.ले गएर भेटेका, जेलमा परेका टंकप्रसाद आचार्य पार्टीका सभापति र वी.पी. कार्यवाहक सभापति भई कलकत्ता र वनासरमा दुई शाखा बनाइएको, प्रकाश र लोहियाबाट २५÷२५ हजारका दरले आर्थिक सहयोग प्राप्त भएको, वर्मामा सोसलिष्टहरूको सम्मेलनमा वीपीले भारतीय समाजवादी पार्टीका तर्पmबाट भाग लिएका, अन्तराष्ट्रिय सम्मेलनको सहभायिताले अन्तराष्ट्रिय सम्बन्ध बढेको, २००३ साल फागुन २६ गते विराटनगरको जुटमिलमा ठूलो हडताल भएको र वीपीलाई बोलाइएको, यस आन्दोलनमा वी.पी. गिरिजा मनमानेहन अधिकारी तारणी लगायतका नेतालाई समातिएका र धनकुटा हुँदै काठमाडौ चलान गरिएको, यता विराट नगरमा दिव्यादेवी, इन्दिरा, नलिनी, कामिनी आदि समातिएका र धनकुटा चलान गरिएका, धनकुटाबाट काठमाण्डौ चलान गरिएकालाई पद्म शंशेरको अगाडी खडागरी जेल सजाएँ तोकिएको, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहद्वारा राममनोहर लोहियालाई भनेर वी.पी.लाई छोड्नको लागि महात्मागान्धीजीसँग पत्र लेख्न लगाइएको तर पत्र नआउँदै छाडिएको र २००४ सालमा वी.पी. बम्बै आएर औषधी उपचार गरेर वनारस फर्केको, डिल्ली रमणले काम गर्न नसकेकोले वी.पी.लाई अध्यक्ष बन्न भनिएको, पद्म शंशेरले होरा प्रसाद जोशी र केदारमान व्यथितलाई वनारस पठाए भने, मोहन शंशेरले कठोर नीति ल्याउने तयारी गरे, पंडित जवहरलाल नेहरुले सम्वीधान बनाएर पठाएका तर वी.पीले त्यो संविधान स्वीकृत नगर्नु, महेन्द्रले ल्याएको पञ्चायती सम्विधान भने पद्म शंश्ेरको पालामा बनाइएको,नेपालको राजनीति समस्या हल गर्न महात्मा गान्धीसँग पनि छलफल गरिएको तर समस्या हल नभएको, नेपालको राजनीति समस्या हलगर्न वी.पी. भेष बदलेर योगप्रसादको घरमा पुगी, चिसापानी गडी हुँदै वनेपा पुगी गाडी चढेर पूर्णबहादुरको घरमा पुग्नु, प्रहरी पक्रन आउँदा व्यथित भाग्न सफल हुनु तर वी.पी. समातिनु र सिंहदरवार छाउनीमा राखिनु, तीन दिनसम्म खान नपाउँदा वेहोस हुनु,एक शैनिकले पूर्णबहादुरकोमा गएर कापी र कलम ल्याइदिनु र पत्र लेखेर कृष्णप्रसाद भट्टराई मार्फत, जवहरलाल नेहरुकोमा पठाइनु, जेलमै छँदै, सुवर्णको पार्टी बनेको र वी.पी.मोहनका मिलापत्र भएको झुटा खवर छापिएको हुँदा वी.पी.का मनमा असह्य चोट परेकोले सन् १९४९ मइ १ अक्षयतृतीयाका दिन अनशन बस्नु, दयनीय अवस्थामा पुगेपछि तारणी, गिरिजा, मातृका आदिलाई झिकाएर अनसन तोडाउन खोजिएको तर अनसन नतोडे पछि आमा मोहन शंशेर सँग गएर कृष्णप्रसादको अन्त्य पनि जेलमा चार वर्ष रहेर भएको र आज छोराको यो अवस्था भएकोले अनशनकारीको जिम्मा सरकारले लिन पर्ने भने पछि सरकारले विनासर्त वी.पी.लाई छाडेको धारणा यस सर्गमा दर्शाइएको छ ।
सर्ग छ – यस सर्गमा जेलबाट छुटेपछि वी.पी. उपचारार्थ बम्बै जानु र उपचार गरेर फर्केपछि वी.पी.को सकृयतामा २००६ साल चैत्र २७ गते प्रजातान्त्रिक काँग्रेश र राष्ट्रिय काँग्रेस मिलेर नेपाली काँग्रेसको जन्म भएको, यसको अध्यक्षमा मातृकाप्रसाद कोइराला बनेका,सचिवमा महेन्द्र विक्रम, झण्डाको रूप दिनु, के आइ सिंघले विरोध जनाउनु, कार्यालय वनारसमा, शशस्त्र क्रान्ति गर्नको लागि वर्माबाट हतियार ल्याइने काम, शशस्त्र क्रान्ति पाल्पाबाट थालनी गर्ने भनेर वी.पी. वडाहाकिम रुद्रशंशेरलाई भेट्न पाल्पा पुग्नु, राजा श्रीभूवनलाई भगाएर पाल्पा ल्याउने र त्यहींबाट सशस्त्र क्रान्ति गर्ने निर्णय गर्नु, अर्को दिन वी.पी.लाई त्रवेणीको घरमा राख्नु, सिगरेटको खिल्लीभित्र चिठी राजासम्म पु¥याउनु गणेशमान केही हतियार सहित काठमाडौ पस्ने तरखरमा हुँदा समातिनु, वि.सं. २००७ साल कर्तिक तदनुसार सन् १९५० नोभेम्बरमा त्रिभूवन सरकारले भारतीय दूतावासमा शरण लिनु, यो समाचार रेडियोबाट प्रसारण हुनु, मोहन शंशेरले ज्ञानेन्द्रलाई राजा बनाएर, टक काट्न लगाउनु, रङ्गुनबाट ल्याइएका हतियार पटनाको नजिक विहटीमा उतारिनु नेहरूसँग भेट, नेहरूले वंगाल, विहार उत्तरप्रदेशका मुख्यमन्त्रीसँग साथ लिएर काम गर्ने सुझाव, वैरगनीयामा सम्मेलन गरेर मातृकाको अध्यक्षतामा संघर्ष समितिको गठन, सेनाको भर्ती,पूर्वमा वी.पी. र सुवर्ण, पश्चिममा सूर्यमोहन,को इन्चार्ज तोकिनु, सन् १९५० नभेम्बर १९मा पूर्वमा क्रान्ति तोकिनु, आजाद हिन्दफौजका कमाण्डर मारिनु, विरगंजमा थिरवमले बडाहाकिमको कार्यालय कब्जागरी ५० लाख रुपियाँ हात लागेको, वडाहाकिम सोम शंशेरले आत्म समर्पण गर्नु, मल्ल शहीद हुनु,गोपाल भट्टराइले कलैया कब्जा गर्नु ,५०लाख हात लाग्नु, यो रकम लिएर जहाजमा वी.पी. र सुवर्ण दिल्ली पुग्नु, रमक कब्जा भएर भारतीय कोषमा गएको र वी.पी.ले नेहरूसँग बातचित गरेको, नेहरूले यस्ता काम गोप्यरूपमा हुनु पर्ने धारणा राख्नु, युद्धमा गोलीबारुद कम हुनु तराइका गाऊँहरू कब्जा हुँदै जानु, विराट नगरका बडाहाकिम उत्तम विक्रमको कार्यलयमा ट्याक्टर चलाएर कव्जा गर्नु, बडाहाकिमको छोराले धनलिएर भाग्दा मारिनु, एउटा छोरालाई गोली लाग्नु, पछी उपचार गराउनु, विराटनगरका कार्यालय बचाउन सेना आउनु, गोलीबारुदको कमीले लड्न नसकी कोशी तरेर सानेबाबुकोमा गएर बसेको, कुलदीप झाले सेनालाई ताकेर गोली हान्दा क्याप्टेन मारिएको र अरु सेना भागेको, जनमुक्ति सेनाहरू, उत्साहका साथमा अगाडी बढ्दै गयो,सप्तरी र महोत्तरी किसुनजीको थियो यो पनि कब्जा भयो, भैरहवातिर के आई सिंहले वींपीलाई स्वागत गरे, भरत, दाङ देउखुरी, सल्यानहुँदै पश्चिमतिरका चौकी कब्जा गर्दै,गर्दा दिल्लीमा तीन पक्षिय सम्झौताको लागि जान परेको र मोहनशंशेरले प्रधानमन्त्री लिने सोचलिएर गएका र प्रधान मन्त्री उनै भएको आदि धारणा सहित यो सर्ग समाप्त भएको छ ।
सर्ग सात – यस सर्गमा राजाले युद्ध रोकेर आउने र राणा, राजा र काँग्रेस बीच तीन पक्षीय सम्झौता गर्ने भन्ने बोलावटमा नेताहरू हैदरावाद गेष्ट हाउसमा पुग्नु, अंग्रेज सरकारको ज्ञानेन्द्रलाई राजा बनाउने चाहना र भारतको त्रिभूवनलाई नै राजा बनाउने चाहना भएको, माधव शंशेर आउँदा वी.पी. राजा सँगै काउचमा बसेको पाउनु र राजाको काउचमा बस्न अपमान सरी हुने, यसै समयमा मोहन शंशेरले राजालाई काठमाडौ बोलाउनु, वी.पीं नेहरूसँग जानु, यस विषयमा कुराकानी हुनु वी.पी.लाई सम्झाउन सी.पी.एन् सिन्हा आउनु, पाँच विभाग मिलेका छन् पहाडी र मधेसी मिलाएर मन्त्रीमण्डल तयार गर्ने धारणा राख्नु, २००७ साल फागुन ४ गते सबै काठमाडौ फर्कनु, २००७ साल फागुन ७ मा त्रिभूवनले देशवासीको नाममा प्रजातन्त्र घोषणा गर्नु, , मोहन शंशेरको नेतृत्वमा ५ जना काँग्रेस र ५ जना राणा गरी १० जनाको मन्त्रीमण्डल गठन हुनु, कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन, आदि गर्दा गर्दै राणाका मानिसले गोर्खादलको गठन हुनु, तारणीलाई आइजीको दर्जा दिनु,गोर्खा खुकुरी दलद्वारा गृह्यमन्त्रीका्े ज्यान लिने प्रयास गर्नु, उदण्डता मचाउन थाल्नु जुलुस आउनु र तलामा चढेर खुकुरी र छुरा चलाउन थाले वी.पी.ले पिष्टोलले हानेपछि अगाडीको मानिस मर्नु, भीड शान्त हुनु। आवास सहितको मन्त्रालय भएकोले सबै अस्तव्यस्त भएको, यस घटनामा वी.पी.ले राणा र काँग्रेस शासन चल्न नसक्ने मोहनशंशेरले राजीनामा दिनुपर्ने धारणा पोख्नु, सी.पी.एन्. आउनु मोहन शंशेरको तीनहप्ता सम्ममा राजिनामा दिने, सेना प्रधानमन्त्रीको मातहतमा नभै राजाको मातहतमा आउनु, राजा बलियो हुनु । राजा, राणा र भारतको अन्तर विरोधमा भारतले भित्र भित्रै राजा र राणालाई समर्थन गर्नु, वी.पी. पूर्वको यात्रा गर्नु, वासुदेवलाई बडाहाकिम बनाउनु, विद्यार्थीको हुलदङ्गामा चिनिया काजी मारिनु वी.पीको विरोध बढ्दै गएपछि राजिनामा दिनु सरकार ढल्नु, राणले वी.पी.लाई थुनाउन पर्ने जस्ता धारणा सहित यो सर्ग समाप्त हुन्छ
सर्ग आठ – यस सर्गमा २००८ मार्ग १गते वी.पी.ले नै मातृकालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नु, र काँग्रेसको एकमाना सरकार बन्नु, वी.पी.देश भ्रमणमा पाल्पा पुग्नु विरोध हुनु , अर्घाखाँची पुग्नु विरोध हुनु, काशीनाथको सहयोगबाट सभा सञ्चालन गर्नु, पार्टी सञ्चालनमा वीं.पी.लाग्नु र सरकार सञ्चालनमा मातृका लाग्ने सहमति हुनु,२००९ जेष्ठ १०गते, जनकपुरमा अधिवेशन हुनु र वी.पी. पार्टी सभापति बन्नु, यस अधिवेशनबाट काँग्रेसको भावी रणनीति संवैधानिक राजा रहने गरी संसदीय प्रजातान्त्रिक संविधान बनाउने, भूीमसुधारको नीति, भारतीय हस्तक्षेप घटाउने, निर्वाचन गराउने, जस्ता कार्य संञ्चालन गर्ने गरी दाज्यू मातृकासँग सल्लाह गर्दा मातृकाको भिन्न मत भएर मातृकाले आफ्नै पार्टी (राष्ट्रिय प्रजा पार्टी) खोल्नु, मातृका नै प्रधानमन्त्री बन्नु, सन् १९५३ मा एशियाली समाजवादीको सम्मेलनमा भागलिन वी.पी.रङ्गुन पुग्नु, र सन् १९५४मा जापानमा भएको सम्मेलनमा सहभागी हुनु , वि.सं. २०१२।१०।१२मा छैटौं महाधिवेशनबाट पार्टी समाजवादी भएको, वि.सं. २०१३मा बम्बै सम्मेलनमा नेपाली काँग्रेसलाई समाजवादी पार्टको रूपमा पूर्ण समर्थन र सदस्यता प्राप्त गर्नु । वि.सं. २०१३ कार्तिक ५मा भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसाद नेपालको भ्रमण गर्नु, त्रिभूवनको स्वर्गारोहण, डा. के आई सिंहलाई महेन्द्रले प्रधान मन्त्री बनाउनु, २०१४ ।८।२२ वी.पी.ले सत्याग्रह आन्दोदलन गर्नु ,सत्याग्रह आन्दोलनकै कारणले महेन्द्र राजाबाट २०१५ साल फागुन ७ गते गतेदेखि आम निर्वाचनको मिति घोषण गर्नु सुवर्ण शंशेर प्रधानमन्त्री बन्नु, निर्वाचन गराउने अनुमति पाउनु, २०१४ चैत्रको १३ देखि १५ सम्म एसियाली समाजवादी सम्मेलन नेपालमा हुनु ,आम निर्वाचनमा कसरी जाने भन्ने सरसल्लाह गर्दै गरेका धारणा यसे सर्गमा आएका छन् ।
सर्ग नौ– यस सर्गमा माजवादी कार्यक्रमलाई लिएर चुनावमा जान कार्यकर्तालाई सुझाव, घोष्णापत्रको निर्माण, राष्ट्र,राष्ट्रियता, निम्नवर्गको उत्थान, वी.पी. लगायत गणेशमान, सुवर्ण, कृष्णप्रसाद आदि चुनावमा सकृय हुनु, झण्डा र चुनाव चिन्ह चिनाउँदै जानु ,सदस्ता बढाउँदै जानु, चुनावमा प्रतिनिधि सभाको १०९ सिटमा काँग्रैसले ७४ सिट जित्नु, महासभा ३६जनाको बनाउनु (१८ जनप्रतिनिधि र १८ जना राजाले मनानयन गर्नु,) २०१६मा ललिता निवासमा वी.पी. दलको नेता छानिनु, वि.सं. २०१६मा राजाले मन्त्रीको नामावली माग्नु र वी.पी.ले नामावली पठाउनु २०१६मानै वी.पी.ले रेडियो नेपालबाट भाषण दिनु, कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाउनु,विश्वबन्धु सचेतक बन्नु, २०१६ जेष्ठ २८ गते भारतका प्रधानमन्त्री जवहरलाला नेहरू नेपाल आउनु, सौहार्दपूर्ण वार्तालाप गर्नु, जवहरलाल नेहरूको निमन्त्रणामा वी.पी. १५ दिने भारत यात्रा,, चिन र वर्माका प्रधानमन्त्रीको मेत्रिपूर्ण निमन्त्रणामा चिन र वर्मामा भ्रमण गर्नु, चिनमा माओसँग भेट गर्नु, लक्ष्मी निवासमा काँग्रेसको सातौं अधिवेशन हुनु, इजरायलको विज्ञान पक्षको भेलालाई २०१७ साल साउन २४ गते सारगर्भित सन्देश दिनु, २०१७ साल असोज १५ मा संयुक्त राष्ट्रसंघ महासभामा प्रतिनिधिको रूपमा सहभागी हुनु, सबै राष्ट्र शान्तिपूर्वक मिलाउने, साम्राज्यवादीहरूले उपनिवेश् बनाउन नहुने, जातिवाद तथा रङ्गभेद हुन नहुने,े २०१७ कार्तिक १९मा राष्ट्रिय सहायता कोष ११ टिममा आफै सहभागी हुनु, प्रधानमन्त्री कोष खडागराउनु, राष्ट्रिय रंगशालामा सहभागी भएर खेल खे्ल्नु, लोकसेवा आयोग, महालेखा , जिल्ला विकास वोर्ड र अदालतको गठन, २०१६ मंंसीर १९मा भारत र नेपाल बीच गण्डक सम्झौता ,२०१६ चैत्र आर्थिक सहयोग सम्झौता, पारवहन सम्बन्धी काम,रुस सरकारलाई चिनी कारखाना बनाउने अनुरोध, ,चीन सरकारसँग, आर्थिक कामना, विविध खाले ऐन नियम निर्माण, अन्तराष्ट्रिय सम्बन्धनको विस्तार, नेपाल भारत चीनसँग सिमा संरक्षणको वार्ता चलाउनु, महत्वपूर्ण ऐनहरूको निर्माण, विभिन्न देशसँग दौत मैत्री सम्बन्ध गास्नु र देशलाई परिचय गराउने काम, इन्द्र राज्य लक्ष्मीको परमधाम हुनु ,राजा महेन्द्रले सालीसँग विवाह गर्नु, श्री५सँग मित्रता कटुतामा परिणत हुनु, भूमिसुधारको चर्कोविरोध हुनु, राजाका ससुरालीले जुलुस निकाल्नु, बम्बईमा छात्रछात्राको प्रश्न, अमेरिकाबाट फर्कदा लण्डनमा शक्तिहत्याउने सामन्तको पीर रहेको, इजरायलको मैत्रिपूर्ण भ्रमणमा हतियर प्राप्त गर्नु, ती हतियार ल्याउन ढिलाई हुनु एउटा जोगिले वी.पींलाई नास्तिक हो भन्ने आरोप लगाउँदै हिड्नु, जोगी पक्डिदा लाल मोहर र भेटिनु यस बारेमा पनि राजा र वी.पी. बीच तीक्तता बढ्नु, राजाले एकलौटी राज्य चलाउने धारणा राख्नु, राजा लण्डन सवारी हुँदा वी.पी.लाई कार ल्याइदिनु तर वी.पी.ले कार थाम्न सक्दिन भन्दै ग्रहण नगर्नु, राजाले ‘कू’ गर्ने हल्ला चलेपछि सुवर्ण कलकत्ता जानु ,भरत शंशेरले पनि संसद भङ्ग हुने सुनिन्छ भन्ने वी.पी.लाई जानकारी दिनु,आदि धारणाहरू प्रष्ट पार्दै महाकाविले राजाले ‘ कू’ गर्ने र भावी राज्य सञ्चालन गर्ने विषयमा पनि प्रकाश पार्नु भएको छ । ‘कू’ गर्दा अन्ँतराष्ट्रिय मान्यता पनि मिल्ने गरी गर्नु पर्ने, सबैले राम्रो गरेछन् भन्ने व्यवस्था ल्याउनु पर्ने ,जस्ता धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
सर्ग दश –यस सर्गमा थापाथलीमा चलिरहेको तरुण दलको प्रथम महाधिवेशनमा २०१७ साल पौष १ गते प्रधानमन्त्रीबाट उद्घाटन भै भाषण समाप्त हुने वित्तिकै सेनाले घेर्नु, सोमराज र सुरेन्द्र देखिनु , वी.पी.लाई दरवारमा ल्याउनु भन्ने आदेश छ जाम भन्दै समाउनु, सिंहदरबारको एउटा कोठामा लगि राखियो, अरू थुनिएकाले राज आज्ञाको पालन गछौं भने पछि छाडिएको तर वी.पी.लाई भने थुनियो, पत्रपत्रिका पढ्न पाउने सुविधा भने पाइयो, वी.पीले चारओटा माग (राजवन्दी सबै मिलाएर एक ठाउँ राख्ने, अखबार हेर्न र आफन्तसँग भेट गर्न पाउनु पर्ने, कसुर के हो जानकारी पाउनु पर्ने र अदालतमा मुद्दा जाहेर होस् भन्ने) राखि अनशन बस्नु, अनशनको १३ दिनमा बहिनी बुनुलाई भेट्न दिनु, अनशनमा राखेका तीन माग पुर ाहुनु र वहिनीले रस पिलाएर अनशन तोडिएको , २–३ महिना वरफवागमा राखिनु अनि सुन्दरीजलमा सारिनु, यहाँ वी.पी.को चिन्तन साहित्यतिर मोडिनु, वी.पी.को पहिलो रचना ‘अतिथि’ ‘हंस’ पत्रिकामा प्रकाशन भएको, वी.पीको पहिलो नेपाली कृति ‘इन्द्रवदन’, ‘‘दोषी चश्मा’’,‘‘श्वेत भैरवी’’, वी.पी. का कथामा मनोवैज्ञानिक विश्लेषण, यौनकुण्ठा, अतृप्तता, ले सजिएको, वी.पी.का उपन्यासहरूमा नरेन्द्र दाइ, तीन घुम्टी सुम्निमा, मोदीआइन, हिट्लर र यहुदी, बाबु–आमा छोरा, छ ओटा उपन्यास,स्मरणको रूपमा आफ्नो कथा, जेल जर्नल र वी.पी.को आत्म वृतान्त र वी.पी.का कवितासङ्ग्रहरूले नेपाली साहित्यलाई सिङ्गारेका र उनको साहित्यले के सन्देश दिन्छ भन्ने कुरा यसरी समेटिएको छ –
विकृति यौनकुण्ठा र दवेको काम वासना ।।
पर्दाभित्र लुकेको छ विसङ्गति समाजमा ।।१४।।
नीति र अनि मर्यादा खोक्रो खोल भिरेर त्यो ।।
शरीर वशमा होला मन रोक्न सक्छ को ।।१५।।
नारी पुरुषका बीच अन्तः सम्बन्धमा कुनै ।।
धर्म, समाज, आदर्श सकेको छैन रोकनै ।।१६।।
उत्पीडन, तिरस्कार ,यातना अवहेलना ।।
वाध्यतासाथ नारीले भोगेका छन् समाजमा ।।७।।
(पृष्ठ१४६ सर्ग दश)
वी.पी.का साहित्यमा नारी पात्र प्रधान रहेका, समान कर्तव्यको पालनामा साझा हक नरनारी दुबैले पालना गर्नु पर्ने, भेदभाव हुन नहुने,आदि धारणा यहाँ आएका छन् बास्तवमा वी.पी.को साहित्यमा यौनमनोविज्ञानले प्रथमिकता पाएको छ तापनि यौनका विषयहरू सभ्य र मर्यादित रूपमा प्रस्तुत भएको देखिन्छ । काव्यले यस विषयमा माथिका श्लोकबाट प्रष्ट पारेको छ । यस सर्गमा नयाँ सन्देशका सम्पादक रमेश वी.पी.लाई भेटन गएका कुरा, व्रिटिस राजदूत स्वदेश फर्कने वेला वी.पी.लाई भेटन आएका र पञ्चायत व्यवस्श्रथाको राजाले घोषण गरेका र संविधाना मसौदाको घोषणा गर्नु पर्ने भएकोले नामाकरण र विशेष प्रावधान लेखेर दिएमा आफै समझदारी हुन्छ भन्ने धारणा राजदूतले राख्नु, संविधान नामाकरणमा प्रावधान लेखेर दिन भन्नु र वी.पी.ले म राष्ट्रको प्रधान मन्त्री हुँ ,बिना कारण थुनियो, आरोप पत्ता लागेको छैन, संविधानमा दुर्गुण हुन भएन, व्यक्ति हिंसा हुन भएन, संविधान भन्दा माथि व्यक्ति हुन भएन, सुझाव, राय सल्लाह, दिने सुवर्ण छन् र पार्टीले सशस्त्र आन्दोलन गर्दै छ वन्दीले के लेखेर दिनु,, राष्ट्रका निम्ति ज्यान अर्पण गर्न तयर रहेको र सशर्त राजासँग घेट नहुने, धारणा राख्नु, नख्खुमा गिरिजाको अनशन सुरु हुनु, र गिरिजासँग राजाको वार्ता हुनु, गिरिजा जेलमुक्त भएर भारतका नेताहरूसँग भेटवार्ता गरी दरवार जानु, यसै समयमा गिरिजाकी पत्नी ‘सुषमा’को स्वर्गारोहण हुनु, । २०२५ कर्तिक १३ का दिन दुई जर्नेल आएर वी.पी. र गणेशमानलाई चावेल जाने भनेर लिइएर गइयो, विना सर्त दुबै जेल मुक्त भएको जानकारी आयो भन्दै यो सर्ग समाप्त भएको छ ।
सर्ग एघार –यस सर्गमा वी.पी.ले आफ्नो वक्तव्य लेखेर दिनु भयो, तर गणेशमानले वक्तव्य नदिने अडानमा रहनु भयो र एकरात नजर बन्दमा राखियो ,भोलिपल्ट छाडियो, राजा स्वाथोपचारको लागि लण्डन जानु, वी.पी. पनि विराटनगर हुँदै उपचार गराउन जानको लागि विराट नगर जानु ,जनताको भव्य स्वागत पाउनु, प्रधानपञ्चले द्रव्यद्वारा सहयोग गर्नु, वी.पी. कलकत्ता जानु , तेस्रो दिन कलकत्ताबाट उपचार गराउन मुम्बई क्याण्डी अस्पतालमा शल्यक्रिया गराउनु, शशी शंशेरलाई सुवर्णले पठाउनु, भारतमै जयप्रकाशसँग भेट हुनु, मुम्बईमै महेन्द्रसँग भेट हुनु,र यही भेट नै श्री ५सँगको अन्तिम भेटहुनु, वनारस आउनु, जोगवनी जानु, जनताको साथमा राजा र आपूm बराबरीमा उभ्याउन चाहेको धारणा भाषणमा आउनु,वी.पी.ले भन्नु हुन्छ –
देशहो जनता , राष्ट्र जनताबाट बन्दछ ।।
जनता नरहे माटो कसले देश भन्दछ ।।३०।।
यसमा काठमाडौमा तीव्र विरोध भएको र गिरिजा काठमाडौ जानु, वी.पी.लाई थुनाउने कुरा बुझेर गिरिजा फर्कनु, वी.पी. निर्वासनमा बस्ने निधो लिनु र पटना हुँदै काशीतिर लाग्नु, इन्दिरा गान्धीसँग भेट गर्नु, विनाशर्त मिले क्रान्ति चलाउन सहज हुने, उपचारको विदेश जाने अनुमति माग्न निवेदन चढाउँदा पारपत्र प्राप्त हुन सकेन र भारतबाटै पारपत्र मिलाएर २०२७ साल श्रावणमा लण्डन, स्वीडेन, जर्मनी गएर क्रान्तिका बारेमा कुरा चलाउनु, सहायता दिने जानकारी पाउनु भारत आउनु, भारतमै हतियार बेच्ने स्थान भेट्नु, केही हतियार जम्मा गर्नु, यी हतियार वंगलादेशमा भएको ठूलो युद्धमा जयप्रकाश आएर भनेपछि दिनु तर नधन नहतियार दुवै फिर्ता नपाउनु, यसै समयमा महेन्द्रको निधन हुनु, वी.पी.ले समवेदना पठाउनु, पार्टीको नेतृत्व सुवर्णले चलाएका र उनको नरम संवेदनाले गर्दा धेरै थुनिएका नेताको रिहाई हुनु, श्रीकृष्ण भट्टराई भने पछि छुट्नु, राष्ट्रको विकास नेपालीका घरघरमा हुनु पर्नेमा तानाशाही दनको कारणले गर्दा हुन नसकेको र लक्ष हाँसिल गर्ने रेखा कोर्दै त्यहाँसम्म पुग्ने बाटो खोज्दै भन्दै यो सर्ग समाप्त हुन्छ ।
सर्ग ब्राह – यस सर्गमा पञ्चायती शासन ढाल्नको लागि जनक्रान्ति संञ्चालन गरिएको, क्रान्तिको क्रममा हरिपुर काण्ड, विराट नगरको वम काण्ड, जनकपुर को काण्डमा विमान अपहरण, कौयौं सपुत शहीद भएका, यसरी क्रान्ति गर्दा राष्ट्र र राष्ट्रियतामा खतरा बढ्दै गएकोले, राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनको लागि युद्धको कार्या रोकेर दरभङ्गमा उच्च नेतासहितको भेला बोलाएर पटनामा पत्रकार सममेलन गरेर वि.सं. २०३३ साल पौष १६ गते वी.पी गणेशमान लगायत धेरै नेता नेपाल फर्कनु वी.पीलाई राजा र राज्य सम्बन्धी मुद्दा लगाएर सुन्दरीजल जेलमा लगेर थुनियो । यी मुद्दाको बहस वी.पी.ले आफै गर्नु भएको, वि.सं.२०३४ वैशाख १४ देखि जेष्ठ ४ सम्मको अदालती वयानमा वी.पी.को दिएको भावसारका केही श्लोकहरू–
मेरो जीवनको मार्ग खुला पुस्तक तुल्य छ ।।
राजा र जनता साथै संविधान गवाह छ ।।३१।।
यसै माध्यमले मन्त्री थिएँ म यस राष्ट्रको ।।
विनाकारणले थुन्दा लियौं उद्देश्य क्रान्तिको ।।३२।।
पृष्ठ १६२,
शान्तिपूर्ण उपाय नभएर क्रान्ति गर्नु परेको, प्रजातन्त्र बचाउन , हक प्राप्तिको लागि, आतङ्क वादी नभएको, व्यक्तिको विरोध नभएर व्यवस्थाको विरोध गरिएको, व्यक्तिगत हिंसाको भत्र्सना गर्नु,संवैधानिक नीतिमा देश चल्नु पर्ने , राजनीति विभेदपूर्ण भए पछि जनताले क्रान्तिको बाटो अपनाउँने, जनता रैती होइनन्, समाजवादको लक्ष अर्थ साम्य बनाउनु, मौलिक अधिकारको निम्ति, मौसुफले दिएको बस्तु हरिबक्स्यो, जनआवाजको संघर्षलाई अराष्ट्रियतत्व ठानिनु, मिलौ भन्दै आएको राजा विपरीत हुनु, जस्ता अदालती धारणा यहाँ आएका छन्, यसपछि स्वास्थ उपचारको नीम्ति रिहाई हुनु राजासँग वार्तालाप हुनु, सम्पूर्ण खर्च राज्यले व्यहोर्नी गरेर भारतमा उपचार गर्न जानु, भारतमा उपचार हुन नसकेपछि अमेरिका पुग्नु, अमेरिकाबाट उपचार गरी, भारत आउनु, पटनामा कार्यकर्ताको सम्मेलन हुनु, सम्वोधन गर्नु, कार्यवाहाक सभापति कृष्णप्रसादलाई बनाउनु,गिरिजालाई महामन्त्री बनाउनु, भारतबाट नेपाल आउँदा पुन समातिनु, गोष्ठी हाउसमा राखिनु मुद्दा लगाउनु, पुन विमारी हुनु र रिहाई हुनु २०३४ फागुन १२ गते अमेरिका प्रस्थान गर्नु, न्यूयोर्क स्थित कर्नेल अस्पतामा कण्ठक्यान्सरको अपरेशन हुनु, अमेरिकाका राष्ट्रपति जिम्मी कार्टर द्वारा स्वास्थलाभको शुभकामना प्राप्त गर्नु, नेपाल, भारत, वेलायत, आदि ठाउँमा रक्षा समितिको गठन, भारत फर्कनु भव्य स्वागत पाउनु, पटनाबाट नेपाल आउनु नेपालमा पनि भव्य स्वागत पाउनु तर पञ्च मण्डले आदिले भीडमा प्रहार गर्नु, जयवागेश्वरीमा ल्याइनु, राजाले दर्शनभेट दिनु, पोखरा जाने इच्छा राख्नु, पोखरामा पञ्चको विरोधको कारणले जहाज ओर्लन नसक्नु, पुन अमेरिका स्वास्थोपचारको लागि जानु, जर्मनीमा अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुनु ,धनी –गरिबको अन्त्य हुनु पर्र्छ भन्ने सम्वोधन गर्नु, भीम नारायण र अर्का क्याप्टेन यज्ञको मृत्युदण्ड भएको जानकारी पाएर मर्माहत हुनु, भारत हुँदै नेपाल आउनु ढुङ्गा मुढा गरिनु, स्वनगरीमा जाँदा पनि सुरक्षाऐन अन्तरगत राखिनु, पाकिस्तानका भू.पू.प्र.मन्त्रीलाई फाँसीको सजाएँ दिंदा राजदूतावासमा विरोध हुँदा ठूलो जुलुस भयो र वी.पी.लाई नजरवन्दमा राखिनु , नजर वन्दीमा राख्दै बहुदल या पञ्चायति व्यवस्थामा कुन रोज्ने भनि राजाले घोषणा गर्नु र राजनीति पथ खोलिएको धारणा सहित यो सर्गको समाप्ति हुन्छ ।
सर्ग तेह्र –यस सर्गले सुधारिएको पञ्चायती व्यवस्था या वहुदल कुन शासन व्यवस्था चलाउने भनी जनमत संकलन गर्ने राजाबाट घोषण हुनु, वि.सं. २०३६ साल साउन २२ गते वीरेन्द्र सरकारसँग भेट हुनु, जयप्रकाश नारायणको निधनमा श्रद्धाञ्जली अर्पण गर्न वी.पीं भारत जानु आदि कुराहरू समेटेको छ ।
जयप्रकाश नारायणको दृष्टिमा वी.पी.–जयप्रकाश नारायणले वी.पी.को चिन्तनलाई समर्थन गर्नु र वी.पी.लाई विश्कै विभूतिको रूपमा लिनु, वी.पी.को नेपाल फर्कने भन्दा विहानी शुरु भएको ठान्नु, वी.पी.लाई अभिनन्दन गर्नु, विद्यार्थी संघले गरेको तेस्रो अधिवेशनलाई वी.पी.ले सम्वोधन गर्नु, सम्वोधनमा छात्र÷छात्रा राष्ट्र निर्माता र राज्यका शक्ति भएको धारणा राख्नु, उपस्थितहरूमा उत्साह थपिनु, जनमत संग्रहको बारेमा ठाउँ ठाउँमा सम्वोधन गर्नु, उनन्तीस वर्षको लामो क्रान्तिबाट ल्याएको परिवर्तनलाई विर्सन नहुने,सामाजिक स्वतन्त्रता, अर्थिक समानताको लागि क्रान्ति गरिएको र यसलाई सदुपयोग गर्नु पर्ने, प्रजातन्त्रमा देश विकास हुने, राजा राज्यशक्तिका प्रतिकको रुपमा मानिने तर वी.पी. जनशक्तिको प्रतिकको रूपमा मानिने, राजा संविधान भन्दा माथि भएकोले संविधान भन्दा माथि कोही पनि हुन नहुने,प्रजातन्त्र नभए देश नरहने जस्ता अभिव्यक्ति वी.पी.ले दिनु तर जनमत पञ्चायतमा जानु, यसरी जनमत पञ्चायतमा पुग्नुको कारणमा लोभ, त्रास, शक्ति, दलहरू वीच एकतामा कमी,राजाको पञ्चायत जिताउने चाहना, उग्रवादीहरूले बहुदललाई हराउन लागि पर्नु जस्ता धारणा यहाँ आएका छन् ।
संविधान सुधार आयोगलाई दिइएका सुझावहरू– राष्ट्रिय प्रतिबिम्ब झल्कने गरी, सर्वमान्य संविधान जस्मा मौलिक हकको स्वतन्त्रता, राजनीति दमन र अर्थनीतिको शोषण हुन नहुने, राष्ट्रियता अधिकार सबै समेटिने गरी संविधानको निर्माण हुनु पर्ने सुभाव,पठाउनु ।
समाज वादी पार्टी जापानले निमन्त्रणा पठाउनु, यही सिलसिलामा फिलिपिन्स, आसियान र जापानको भ्रमण गरेर बम्बै फर्कनु र नेपाल जनसम्पर्क समिति बाट अभिनन्दन ग्रहण गर्नु, विराटनगरमा आएर ११ सूत्रिय माग राखेर सम्वोधन गर्नु, उपचारार्थ न्यूओर्कस्थित कर्नेल अस्पतालमा गएर अपरेशन गराउनु, नेपाल फर्केर पुन अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा सहभागी हुनु, नेपालमा आएर २० लाख नेपालीको मतको कदर नभएको भन्दै विरोध जनाउनु, गलाको क्यान्सरको अपरेशन गराउन भारत जानु, चीनका प्रधानमन्त्री चाओको नेपाल भ्रमणमा आउँदा भू.पू. प्रधानमन्त्रीको हेसियतमा रात्रीभोजमा सहभागी गराइनु , फ्रान्सको राजधानीमा सम्पन्न हुन गइरहेको सम्मेलनमा सहभागी भै समाजवादका सिद्धान्तको व्याख्या गर्नु, श्वास–प्रश्वासको वाधा भएकोले तुरुन्तै दिल्ली पुग्नु, फोक्सोको पानी निकालेर क्यान्सर जचाउन बम्बै जानु, र उपचार पछि राष्ट्रिय मेलमिलाप दिवशमा खुलामञ्चमा सम्वोधनमा पार्लियामेन्टमा अधिकार नभएसम्म राष्ट्रियता र प्रजातन्ज्ञ बलियो नहुने, विदेशीको इशारामा सञ्चालित हुन नहुने् जस्ता खुलामञ्चको अन्तिम सम्वोधन भएको, पत्रकार र साहित्य सङ्घको आयोजनामा भएको यस कार्यक्रममा वी.पी.लाई सम्मानपत्र अर्पण गरिएको र वी.पी.ले पनि साहित्य र राजनीति भिन्न भएको, राजनीतिलाई कानुनले वेर्ने र साहित्य क्षेत्र खुला हुने, साहित्य क्षेत्र महान हुने, यथार्थ ज्ञान दिन्छ आदि साहित्य र राजनीतिका भिन्न पाटालाई यहाँ दर्शाउँदै यस सर्गको समाप्ति हुन्छ ।
सर्ग चौध – यो यस महाकाव्यको अन्तिम सर्ग हो । यस सर्गले वी.पी.को अन्तिम अवस्थाको यथार्थतालाई पस्केको छ । जव वी.पी. निकै अस्वस्थ हुनु भयो त्यस अवस्थामा प्रजातन्त्रको स्थिति र कार्यकतालाई यसरी सम्बोधन गर्नु भयो–
‘‘ हुरी आँधी चलेको छ यो राष्ट्रमा सधैं भरी ।।
सानो दीप बलेको छ बचाउने कसो गरी ।।३।।
बचाउनु छ कर्तव्य दीपलाई निरन्तर ।।
प्रजातान्त्रिक योद्धा हो सधैं रहुन् तत्पर ।।४।
(पृष्ठ १७९)
यस सर्गमा प्रजातन्त्रलाई जुन उपायबाट बचाउन सकिन्छ उनीहरूसँग सम्बन्ध राख्नु पर्छ । हतार नगरीकन गन्तव्य स्थलमा पुग्नु पर्ने हुन्छ तर संस्थागत प्रजातन्त्र विकसित गराउन सहज छैन तापनि संयमित भएर,धोर संकटमा धैर्यशाली भएर,सिधान्ँतमा संझौता नगरी कन सक्ति सामर्थ यस्तै छ तर विरोधी जति सबै सरकार।मा छन् जस्ता गहन भावनाले वी.पी.ले कार्यकर्तालाई जानकारी गराउनु भयो धेरै अशक्त भएकोले आयुर्विज्ञान संस्थान दिल्ली पु¥याइयो, फोक्सोमा क्यान्सर नभएको जानकारी भएपछि काठमाडौ ल्याइनु, वीरहस्पिटलमा भर्ना गर्नु, डाक्टरहरूले थाइलैण्ड लाने सुझाव दिनु, थाइल्याण्ड पु¥याएर हस्पिटलमा भर्ना गर्नु, स्वास्थमा सुधार नआउनु र नेपाल फर्काउनु,घर पुगेको केही समयपछि २०३९ साल श्रावण ६ गते, साँझ सात बजेर १५ मिनेटमा वी.पी.को दीप्ती ज्योति निभ्न गयो र मृत्युको यो समाचार विभिन्न रेडियो द्वारा प्रसारण भयो, राजा वीरेन्द्र र रानी एैश्वर्यबाट धैर्य धारण होस् भन्दै समवेदना सन्देश दिनु, जयवागेश्वरीबाट शवयात्रा चलाउनु,, शवयात्रामा गणेमान, गिरिजा, कृष्ण प्रसाद,मातृका चन्द्रशेखर, देवेन्द्र विभिन्न लगायत विशाल मानव सागरले वीर वी.पी. अमर रहुन्, तिम्रो सपना सकार पार्ने,नाराका साथमा आर्य घाटमा पार्थिव शरीर राखियो र जेष्ठ सुपुत्रबाट दागबत्ती चढाइयो, त्यो आत्ममा शान्ति मिलोस् भन्ने पुकारा गर्छौ, शुभ मार्ग खन्ने आदि धारणा सहित यो महाकाव्यको बीट मारिएको छ ।
यो महाकाव्यले समेटेका केही पक्षहरू– महामानव वी.पी. कोइरालाका पूर्वज, मौदगल्यागोत्री ब्राह्मण याम्यबाट आएर क्वैरालाा वन फाँडेर लमजुङमा बसी कोइराला फाटको साथै कोइराला थर नै कायम गरी यस देशलाई राष्ट्र सेवक र राजनेता जन्माउने र यी नै राजनेता बाट गरिएको योगदानको विवरणमा आधारित यो महाकाव्य एउटा ऐतिहासिक दस्तावेज हो । नन्दिकेश्वरका कान्छन छोरा कृष्णप्रसाद कोइरालाको समाज सेवा जनहकहीतको लागि नेपालमा मात्र सीमित नरही भारतमा समेत पुगेको देखिन्छ । जनतलाई स्वास्थ र शिक्षा प्रदान गर्न कृष्णप्रसाद कोइरालाले विद्यालय र स्वास्थ केन्द्र खोलेको महाकाव्यले प्रष्ट्याएको छ । यस काव्यले नारीवादी चिन्तनलाई पनि महिलाको हकको लागि तथा महिला उत्थानको लागि दिव्याले गरेको प्रयासलाई गहनरूपमा उठाएको छ । महिला हकहीतको लागि चन्द्रकी कान्छी श्रीमतीलाई अध्यक्ष बनाएर दिव्या सचिव भएर पहिलो संस्था खोलिएको थियो । कृष्णप्रसाद कोइरालाले तानाशाही राणा शासनबाट मुक्ति प्राप्त गर्नको लागि जेलमै र्मत्युवरण भएको कुरा महाकाव्यले समेटेको छ । यस महाकाव्यमा नेपालमा राणा शासन फाल्नको लागि गरिएका संघर्षमा भारतमा गरिएको त्रीपक्षीय (राजा, राणा र काँग्रेस)सम्झौतामा वी.पी.लाई नसमेटी एकलौटी भारतीय पक्षले निर्णय गरेको घातलाई काव्यले समेटेको छ –
नेहरू र सी.पी.ले मध्यस्थता गरिरहे ।।
राणा–राजा दुवै दिल्ली पर्दाभित्र लुकिरहे ।। २९।।
तीनै पक्ष बसी साथ सम्झौता त्यो भएन छ ।।
सहमति भयो मात्र लेखा पढी रहेनछ ।। ३१।।
(पृष्ठ ९१)
यही घातको परिणतीले आज पनि नेपाल पीडित छ । आज पनि भारतले हरेक महत्वपूर्ण काममा आफ्नो उपस्थिति चाहन्छ, ज्यो नेपाललाई मान्य छैन ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वी.पी.का यी गहन चिन्तनलाई महाकाव्यले दह्रो रूपमा प्रष्ट्याएको छ । वी.पी.को चाहना भनेको राजीनित स्वतन्त्रता र अर्थिक समानता हो । वीे.पी.ले ले जहिले पनि जनतालाई सर्वोपरी ठानेका थिए भन्दा अत्युत्ति नहोला । वी.पी.ले ‘‘राष्ट्रिता माटो होइन जनताको सामूहिक भावना(विचार) हो’’ भन्ने गर्नु हुन्थ्योे । महाकाव्यले राष्ट्र, राष्ट्रियता र समाजवादी चिन्तन एवम् राष्ट्रिय मेल मिलाप किन र कसरी भन्ने वी.पी.को चिन्तनलाई राम्रोसँग समेटेको छ । वी.पी.को प्रजातान्त्रिक समाजवादको सपना देशमा गणतन्त्र आइसक्दा पनि पुरा हुन सकेको छैन । नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन सफल नेता पनि वी.पी.नै हुन् । राष्ट्र, राष्ट्रियता र समाजवादको लागि खरोरूपमा वकालत गर्ने वी.पी.लाई महाकाव्यले राष्ट्रवादीको रूपमा दर्र्शाएको छ । यस महाकाव्यले, नेपाल र भारतको समाजिक परिवेश,आर्थिक परिवेश र राजनैतिक परिवेशलाई समेट्ने प्रयास गरेको छ । कृष्णप्रसाद कोइरालाको आर्थिक उतार चढावले गर्दा वी.पीलाई औषधी उपचार गर्ने खर्च र कापी कलम किन्नसम्म नसकिने अवस्थाको गरिबीलाई पनि महाकाव्यले समेटेको छ । भारत स्वतन्त्रतामा वी.पी., मातृकाले भोगेका जेलजीवनलाई काव्यले समेटेको छ । वी.पी.को साहित्यि चिन्तन विद्यार्थी कालबाटै प्रस्फुटन भएको र त्यसमा सुन्दरीजल जेलमा बसेर नेपाली साहित्य सिर्जनामा एकोहोरिदै नेपाली साहित्यमा नयाँ सन्देश (विकासवादी चिन्तन र यौनमनोविज्ञानलाई) प्रदानगरेको यथार्थता काव्यले प्रष्ट्याएको छ । राष्ट्र राष्ट्रियता खतरामा परेको अवस्थामा वी.पी.ले अवलम्मन गरेको राष्ट्रिय मेल मिलापको नीतिलाई गहनताको साथमा महाकाव्यले उठाएको छ , यो मेल मिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । भारतको हस्तक्षेपकारी एवम् राजा र राणालाई आन्तरिक सहयोग,मातृका प्रसाद कोइराला र राजा महेन्द्र बीचमा वी.पी.को मत भिन्नताको परिणती नै वी.पी.को कष्टदाई जेलयात्रा र प्रजातन्त्र गुमेको आभास पनि महाकाव्यले दिएको छ । समग्रमा नन्दिकेश्वरदेखि वी.पी. कोइरालासम्मका कोइराला पविारबाट आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, विकास आदिमा पु¥याएको योगदानलाई प्रष्ट्याउन महाकाव्य सफल देखिन्छ । यस काव्यमा श्लोकबाट प्रष्ट हुन नसकेको विवरण्। पूmट नोटबाट प्रष्ट पारिएको छ ।
महाकाव्यका पात्रहरू– यस महाकाव्यका मूख्य नायक वी.पी. कोइराला भए पनि थुप्रै पात्रहरू यस महाकाव्यमा सहभागी भएका छन् । दामोदर कोइराला, नन्दिकेश्वर, रणेद्दीप शंशेर, वीरशम्शेर, रामे नोकर, मनमोहन अधिकारी कालीदास, नारायण, कृष्णप्रसाद, राजा त्रिभूवन,राजा महेन्द्र, राजा ज्ञानेन्द्र, गणेशमान सिंह,,कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, जवहरलाल नेहरू, महात्मा गान्धी, डा.राजेन्द्रप्रसाद, चन्द्रशंशेर, मोहन शंशेर, सुवर्ण शंशेर, रुद्र शंशेर, वडाहाकिम जितबहादुर कर्णेल, तारिणी, अहिर, सिभिल सर्जन, जौहरी, सी.आर. दास, तारानाथ, कटुवाल, काजी, बाबुसाहेव, अभिमन्यू, लेलिन, सनायात्सेन, गणेशदत्त शास्त्री, सीताराम, हरिश्चन्द्र,गभर्नर, जयशङ्कर, देवेन्द्र, भीम शंशेर, कमलप्रसाद दाहाल, केशु, हरिप्रसाद, टंकप्रसाद आचार्य,राजेश्वर राव, जयप्रकाश, आचार्य,नरेन्द्रदेव, कालीबाबु, म्याजिष्ट्रेट, गोपाल भट्टराई, महावीर शंशेर,शशी शंशेर, राममनोहर लोहिया, होराप्रसाद जोशी, केदारमान व्यथित, वसन्त, वोधप्रसाद, पूर्णबहादुरका भाइ, परवरसिंह, गोपाल प्रसाद रिमाल, सिंहबहादुर बस्नेत,नरसिंहबहादुर श्रेष्ठ, सुन्दरसिंह, त्रिनेत्र, चन्द्रथापा, नाङ्ले व्यपारी, हरिशंशेर, च्यान्टे गुरु, गीत गाउने सैनिक, सानेबाबु, जोगी, लामा, विजय, शरद शंशेर,ज्योतिष, थिरवम मल्ल, त्रिवेणीप्रसाद प्रधान, दयाराम माथेमा, कृष्ण (वंगालका मूख्यमँत्री, लालाबहादुर शास्त्री,सोम शंशेर,उत्तम वित्रकम, कुलदीप झा, भरत, माधव शंशेर, परशुराम चौधरी, बबर शंशेर, योग विक्रमराना, नृपजंग, चुडा शंशेर, गोविन्द, चिनियाकाजी, भगवान,वृटिश् जोनिग्स विश्वबन्धु, नेविन, सुरेन्द्र, भद्रकाली मिश्र, समराज, दीर्घराज, शान्तिप्रिय द्विवेदी,जेलमा चिनीमा कागज लुकार सन्देश आदान प्रदान गर्ने केटो, प्रेमचन्द्र, ब्रिटिश राजदूत, सूर्यबहादुर थापा,जिम्मी कार्टर,भू.पू.चान्सलर विलिब्रान्ट,भीम नारायण, यज्ञ,भू.पू. प्रधानमन्त्री जुलफी–कार अली भुट्टो आदि पुरुष पात्रहरू यस महाकाव्यमा सकृय पात्र र कोही पेटबोलीका पात्रको रूपमा सहभागी देखिन्छन् ।
नारी पात्रहरू–राज्यलक्ष्मी, दिव्याकुमारी,काशीबास बस्ने महिला जस्ले शल्यक्रिा गर्दा अर्थिक सहयोग गरेकी थिइन्, माहिली आमा, तारानाथका दुई श्रीमतीहरू,कान्छी, सानी आमा, नलिनी, कामिनी, बडाआमा, सुशीला,इन्दिरा गान्धी, त्रिनेत्रकी दिदी, इन्द्र राज्यलक्ष्मी, सुषमा,आदि महिला पात्रहरूको योगदान र सकृय सहभागिता महाकाव्यमा देखिन्छ । महिला र पुरुष दुवै पात्रहरूको कृयाशीलताले महाकाव्यलाई गतिशील बनाएको छ ।
परिवेश–मूख्य त यो महाकाव्य नेपालका विभिन्न स्थान जस्तै काठमाण्डौ,विराटनगर लगायत नेपालका विभिन्न जिल्लाहरू, भारतका काँसी, कलकत्ता, पटना, टेढी, बम्बै लगायत भारतका विभिन्न स्थानहरू,अमेरिका, ब्रह्मा, चिन, वेलायत, जापान, न्यूयोर्क, पश्चिम जर्मनी, फ्रान्स, एसियान, थाइल्याण्ड, फिलिपिन्स, इजरायल, स्वीडेन, अष्ट्रेलिया आदि राष्ट्रहरूको परिवेशमा यो महाकाव्य लेखिएको छ ।
भाषा शैली र प्रस्तुति – सरल, सुवोध एवम् विवरणत्करूपमा, काव्य लेखिएको छ । भावनालाई स्वच्छन्द रूपमा वगाएर, बिम्बलाई सजाएर ठाउँ ठाउँमा उखान टुक्काको प्रयोगलाई जोडेर, विविध रस (मूख्यत वीररस,करुणरस, शान्तरसले बाहुल्यता अङ्गाले पनि अरू रस)ले भरेर शब्दालङ्कारले सिङ्गारेर प्राकृतिक सौन्दर्यताको वर्णनमात्र नभै मानवीकरण गरेर, जनमुक्ति सेनाको बहादुरिताको वर्णनलाई जोडेर आदि आदि पक्षलाई समेटेर पठनीय एवम् अनुुकरणयोग्य रूपमा काव्यलाई प्रस्तुत गरिएको छ ।
अन्त्यमा यो महाकाव्य महामानव वी.पी. को ‘आत्म कथा’ (२०४०), र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त (२०५५) जस्ता कृतिमा आधारित कथाबस्तुलाई समेटेर पूर्वीय महाकाव्य लेखनको सिद्धान्तमा रही, सिर्जना भएको देखिन्छ । यो कृति काल्पनिक कथामा नभै यथार्थतामा सिर्जित महाकाव्य हो र यस महाकाव्यले नन्दिकेवश्वर कोइरालादेखि वी.पी. कोइराला सम्मको राष्ट्रिय राजनीति घटनाक्रमलाई जोडेको र कोइराला खानदानले देश जनता, प्रजातन्त्र र समाजवादप्रति पुु¥याएको योगदानलाई तथा यी उपलब्धी प्राप्त गर्नको लागि गरेका संघर्षशील प्रयासलाई प्रष्ट पारेको छ । यो महाकाव्यले वी.पी.लाई केन्द्रविन्दु बनाएर वी.पी.का जन्मदेखिका मृत्युसम्मका घटना क्रमलाई जोड्न सफल देखिन्छ भन्दै, भावी साहित्यि सिर्जना, सुस्वास्थ, दीर्घायुको कामना सहित विदा चाहान्छु ।

कावासोती न.पा. वार्ड नं ७ शान्तिचोक नवलपुर, गण्डकी प्रदेश

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु