तिम्रो लोग्ने र म

- दीपक वाग्ले

पर क्षितिजसँगै फैलिएको खाडीको त्यो उजाड मरुभूमि र त्यही मरुभूमिभित्र जीवन मृत्युको दोसाधमा बाँच्न खोज्ने कयौ परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई यौटा छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे। शुरुवाती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपनाहरू र ती सपनाहरुको गन्तव्यतिर निष्प्राण भएर भौतारिदै हिड्ने म जस्तै अनगिन्ती परदेशीहरू आफ्ना रङ्गिबिरङ्गी कल्पनाहरुलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौ सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर बिलिन होस्।
दिनभरिको कामको बोझले लखतरान परेर होला हरेकको मुहारमा पीडा झल्कन्थ्यो। पीडासँगै घृणाहरू झल्कन्थे। मदिराको मादकतासँगै केही युवाहरू विरहको आँसुमा डुब्न थाल्छन्, केही बेहोशीमै चिच्याउँन थाल्छन् । हरेकसँग गुनासो थियो। गुनासो केवल जिन्दगीप्रति र जिन्दगी बनाउँनेहरू प्रति। प्राय युवा तथा अधबैशेहरू हरेक साँझ अतितमा डुबेर बिगतका पीडाहरू आँखाबाट बर्साइरहेका हुन्थे। परदेशी जिन्दगी अनौठो उल्झनमा अल्झिएको हुन्थ्यो। तत्क्षण एकदिन मुदिरले भनेको कुरा सम्झना भयो। ‘ मरुभूमिमा पनि वर्षाद् हुन्छ भाइ बस् फरक यत्ति हो। तेरो जन्मभूमि मेघहरुसँगै बर्सिन्छ अनि यो रेगीस्तान भूमि पीडाहरुसँगै, घृणाहरुसँगै र अधुरा सपनाहरूसँगै बर्सिदिन्छ। चुपचाप जहाँ रोदनको कुनै गुञ्जायस नहोस्।’
हरेक साझमा झै आज पनि म त्यो मेहफिल भित्र हराउँदै गए। त्यहाँ उपस्थित सबैजना आ आफ्नो पीडासँगै रौनकताको खोजीमा हराइरहेका थिए। त्यो सन्ध्याकालीन रात सदाझै उस्तै उदास र उराठलाग्दो थियो। रेगीस्तानबाट बहने तातो वायु पर क्षितिजमा उड्दै गर्दा म भित्र अचानक भ्रम उत्पन्न भयो। त्यो अपरिचितहरुको माझमा कुनै नौलो आकृति देखा परेको भान भयो। म झसँग भए। मैले जे देख्दैछु त्यो केवल दृष्टिभ्रम थियो वा यथार्थ ? मैले केही कुराको मेसो पाउँन सकिरहेको थिइन। मलाई नसा चढिसकेको थियो र म बिस्तारै बेहोशी हुँदै गइरहेको थिए। सोच्न थाले। सायद म भ्रममा थिए होला। नशासँगै बौरिएर म आफ्नो गन्तव्य तर्फ अघि बढे। फर्केर हेरे। केही भेउ पाउँन सकिन। सायद जिन्दगी पनि त रहस्य नै हो। मन भित्रको भ्रम पनि कहिलेकाही यथार्थ जस्तो लाग्दो रहेछ। म विश्वस्त हुँन खोजे।
सोच्छु जिन्दगी सपना हो अनि हरेक दिन जस्तै आज पनि ओभरटाइम सपनाहरूसँगै म झिसमिसेमा ब्यूँझिन पुग्छु। टाउँको अनायासै रुपमा भारी भइरहेको थियो। त्यत्तिकैमा हिजोको त्यो रातलाई एकपटक पुनः सम्झिने कोसिस गर्छु। तर म ती मधुशालामा रित्तिएका बोतलहरू जस्तै आफूलाई पनि रित्तो पाउँछु। अघिल्लो रातको बारेमा मलाई केही याद रहदैन। आफैसँग प्रश्न गर्न थाल्छु। के मैले कुनै परिचितलाई देखेको थिए? को थियो त्यो? वा म कसैको मिल्दोजुल्दो अनुहारमा भ्रमित भए? अक्सर यस्तो हुन्छ पनि। सायद नशामा कुनै बिभत्स सपनाहरू पो देखे कि। थाहा छैन। म शून्य थिए। मरुभूमिजस्तै। जहा चारैतिर बालुवाका मैदानहरू होस् अनि तुफानी लहरसँगै ती गोरेटाहरू मेटिएर शून्यतामा बिलिन भएको जस्तो म अनन्तमा हराएको पो हो कि? समय बित्दै थियो । बिना निश्कर्ष म आफ्नो गन्तव्यतर्फ अघि बढे।
××
दिन ढल्दै गयो। सदाझै त्यो मेहफिल भित्र जमघट बाक्लिदै गयो। धेरै अनुहारहरू आआफ्नै दुनियामा मस्त थिए। म खालिरहेको बेञ्चमा चुपचाप आड लागेर बसे। केही पर हस्याङफस्याङ कुदिरहेको एउटा अल्लारे ठिटोलाई ईशारा गर्दै रक्सी अर्डर गरे। ऊ बङ्गाली थियो र यस होटलमा वेटरको काम गर्ने गर्दथ्यो। हामी साथी जस्तै थियो। कहिलेकाही ऊ मसँग विरहका कुराहरू सुनाउने गर्थ्यो। आमाले सानैमा छोडेर गएपश्चात उसको बाबुले दोष्री श्रीमती भित्र्याएका थिए रे। तत्पश्चात बाउको घृणा र सानीआमाको कचकचैसँगै ऊ बिक्षिप्त हुँदै गएछ र अन्त्यमा उसको पढेर पाइलट बन्ने सपना आकाशमा उड्ने जहाजहरुसँगै उडेर गएछ। त्यसपछि ऊ हरेक दिन कुनै खुल्ला ठाउँमा गएर उडिरहेको जहाजलाई ढुङ्गाले हानेर झार्ने कोसिस गर्थ्यो रे। अनि दिमागी सन्तुलन गुमाएपछि ६ महिना मानसिक अस्पतालमा भर्ना गरेको। ऊ रक्सीको बोतल र ग्लाससँगै मेरो अगाडि उपस्थित भयो। म फिस्स हाँसे।
केही समयपश्चात छेवैको टेवलमा बसेर पिउँदै गरेको कुनै आकृति चिरपरिचित लाग्न थाल्यो। एकाएक मुटु जोडले चल्न थाल्यो। हिजोको दृष्टिभ्रम आज यथार्थमा परिवर्तित भएको चाल पाए। त्यस आकृतितर्फ एकटकले हेर्न थाले। सायद मेरो हेराइप्रति उसलाई अप्ठ्यारो महसुस भयो कि? ऊ पनि बेलाबेलामा मलाई शंकास्पद दृष्टिले हेर्ने गर्थ्यो। जब हाम्रो दृष्टि एकापसमा जुध्थ्यो तब हामी दुवै अन्तै कतै नियालिरहेको जस्तो बाहाना गर्न थाल्यौ। म बिस्तारै भयभीत हुँदै गए र आफ्नो ध्यानलाई अन्तै केन्द्रित गर्न खोजे। केहीबेर म विगतका दर्पणहरू तर्फ घोत्लिदै जिन्दगीका पुराना स्मृतिहरुलाई उजागर गर्ने प्रयास गर्न थाले । मैले केही भेउ पाउँन सकिरहेको थिइन। को थियो उ? के थियो उ? के ऊ मेरो लागि कुनै परिचित थियो वा ऊ केबल यौटा भ्रम मात्र हो? मेरो मानसपलटलमा यादहरुका बृतचित्रहरू फनफनी घुम्न थाल्यो र अन्त्यमा तिम्रो लोग्ने मेरो अगाडि यथार्थ बनेर उभिरहेको चाल पाए। हो, ऊ तिम्रो लोग्ने थियो। जसलाई मैले स्वदेशमा छदा कहिलेकाही तिमीसँगै देख्ने गर्थे। एकपटक मसँग परिचय पनि गराएकी थियौ तिमीले मेरो स्कुलको एकदमै मिल्ने साथी भनेर। म विश्वस्त भए। हो त्यो त्यही विभत्स आकृति थियो। बारम्बार मैले उसलाई चिहाउने प्रयास गरे। सोच्न थाले। सायद उसको लागि निश्चय पनि म एक अपरिचित मात्र हुँ। यहाँ वर्षौसम्मसँगै बाँच्नेहरू त क्षणभरमै मेटिएर जान्छन् भने ऊ त केबल वर्षौ पहिले एकपटकको भेटमा झर्ल्याक्क देखिएको मान्छे। परिचित भएर पनि अपरिचित जस्तो लाग्ने यौटा कल्पित भ्रम। ऊ अर्थात तिम्रो लोग्ने नशामा थियो। उसको अनुहार चम्किलो हुँदै गइरहेको भान भयो। यस्तो लाग्थ्यो ऊ नशा होइन पीडा पिइरहेको छ निख्खर घृणा पिइरहेको छ।
म बिस्तारै निस्तेज हुँदै गए। तिम्रो लोग्नेको सम्मुखबाट फर्किएर म पर रेगीस्तान माथिको आकाश नियाल्न थाले। छेवैमा बसिरहेको यौटा युवा स्टेजमा उक्लिएर बडो रवाफिलो पाराले गजल सुनाउदै थियो। माया प्रेमका कुरा,सँगै बाँच्नेसँगै मर्ने सपना, मरुभूमिका पीडाहरु, गाउँघरका मेलापात, सुनका चुरा, साउँको ऋण… यस्तै यस्तै केही भनिरहेको थियो जसलाई मैले ध्यान दिन सकिरहेको थिइन। वास्तवमा म भित्र क्रोध उत्पन्न भइरहेको थियो। शनिवारको त्यो रात, रातसँगै रौनकता पनि छिप्पिदै गइरहेको थियो। केहीबेरपश्चात उक्त व्यक्ति अचानक मेरो सम्मुखमा आएर परिचयको लागि हात अघि बढायो। म आश्चर्यमा परे तत्क्षण उसले आफ्नो परिचय दिदै भन्यो “तपाई नेपाली हो?”
म स्वीकृतिको साथ टाउको हल्लाउदै मुसुक्क मुस्कुराए “हजुर”।
टेबलको ग्लास र मोबाइल साथमा लिएर ऊ मेरो आडैको कुर्सीमा आएर बस्यो। गहुगोरो वर्णको मंगोलियन आकृति, खाइलाग्दो शरीर अनि मादक मुस्कान सहितको तिम्रो लोग्नेले मसँग केही सोध्न खोज्यो। “के गर्नुहुन्छ?”
म निकैबेर मौन रहे। उसको प्रश्नको प्रतिप्रश्न मनभित्र खेल्न थाल्यो। के गर्नुहुन्छ? म प्रेम गर्छु। तिम्रो स्वास्नीसँग। म उनी बिना एकपल पनि बाँच्न सक्दिन। हो तिमीलाई लाग्ला तिम्रो स्वास्नी बिना पनि त म बाँचेकै रहेछु। यो मात्र भ्रम हो। तिमीले बाँचेको देख्नु र म बाँचेजस्तो गर्नु दुवै भ्रम हो। म काल्पनिक दुनियाबाट बाहिर निस्कदै भन्न थाले। “बस् जिन्दगी गुजारा गर्दैछु। बाँच्ने प्रयासमा छु यो दुनियासँगै अनि यो मेहफिल सँगै। अनि सुनाउनुस् तपाई के गर्नुहुन्छ?”
ऊ पनि निकैबेर घोत्लियो। केही बेरपश्चात ऊ बोल्न थाल्यो ।
“ड्राइभिङ गर्छु। जिन्दगी स्टेरिङ र ब्रेकमा बित्छ। मरुभूमिको उजाड बस्तीहरु। ती बस्तीहरूसँगै जोडिएको घुम्ती र घुम्तीहरुको अनन्त र अट्टहासपूर्ण यात्राहरु। जहाँ फर्केर आउँने कुनै गुञ्जायस नरहोस्। अब चाहिं जिन्दगीको यात्रालाई जिन्दगीभरको लागि ब्रेक लगाउने सुरसारमा छु। जीवनका हरेक घुम्ति र मोडहरुबाट टाढा जान मन छ। यात्रा धेरै गरियो। अब म थकित भइसके जिन्दगीका ती यात्राहरू देखि र ती यात्रासँगै गुज्रिने यात्रीहरू देखि। कसैले भनेको थियो जिन्दगी यात्रा हो हा.. हा.. हा..त्यसैले एक्लै हिड्दैछु । बस् एक्लै…………..।”
तिमीजस्तै रहेछ तिम्रो लोग्ने। बुझेर पनि बुझ्न नसकिने।म अनिच्छापूर्वक बोल्न थाले।
“लोग्ने मान्छेको जिन्दगी भाग्य होइन कर्म हो। रेगीस्तान भूमिको बालुवा भित्र सपना खन्दा खन्दा सपनानै बनेर भासियौ भने अलग कुरा। नत्र जिम्मेवारीहरू जिम्मेवार रहदासम्म वहन गर्नुपर्छ। घरपरिवारको सपना साकार पार्नलाई नै त बिदेश भासिएका हौ हामीहरु…..।”
ऊ पुनः हाँस्न थाल्यो। एक भयानक हासो। “घरपरिवार….. हा.. हा.. हा.. जसको परिवार नै छैन उसको घर कसरी हुन्छ? घर हुनको लागि परिवार हुँनुपर्छ। परिवार हुँनको लागि समाज हुँनुपर्छ। मेरो कुनै समाज छैन। म लावारिश हुँ। एक वेवारिसे शव जस्तो म हरेक क्षण मृत्यु बाचिरहेको छु। हरेक शिशिरसँगै म पलभरमै उजाडिएर जान्छु। तपाई बुझ्नुहुन्न यी कुरा । वास्तवमा म समुद्री किनारमा रहेर पनि प्यासले छटपटाइरहेको एउटा व्याकुल प्राणी हुँ। त्यही प्यास नै मेरो मृत्यु हो र म छिट्टै मृत्यु चाहन्छु।” यति भन्दै उसले फेरि अर्को बोतल अर्डर गर्दै २ प्याग भर्न थाल्यो। म आश्चर्यमा परे। जसलाई म आफ्नो आँखा अगाडि देख्दैछु के ऊ तिम्रो लोग्ने थिएन र? म भित्र कौतुहलता बढ्दै गयो।
निकै बेर हामी निःशब्द रह्यौ। ग्लास रित्तिएसँगै मन भित्रको जिज्ञासा मेटाउने प्रयास गरे। “तपाई विवाहित वा अविवाहित?” ऊ कुनै स्वप्निल दुनिया भित्र हराउन थाल्यो। उसले मेरो प्रश्न सुन्यो वा सुनेन तापनि म मूर्तिवत रुपमा जवाफको प्रतिक्षामा बसिरहे। उसको अनुहार बिस्तारै मलिन हुँदै गयो र उसले केही भन्न खोज्यो। “बिहे अघि हामी कहिल्यै नटुट्ने कहिल्यै नछुट्ने बाचा, प्रतिबद्धताको साथ जिन्दगीका पाईलाहरू अगाडि बढाउने कसम खाएका थियौ। नियतिको अटल र रहस्यमयी खेलसँगै हामीहरू अन्ततः एक हुन पुग्यौ। उनीसँग जिन्दगी बिताउने मेरो सपना साकार भएर आयो। ती दिनहरुमा म आफूलाई संसारकै सबैभन्दा भाग्यमानी पुरुष ठान्ने गर्थे। समय बित्दै गयो। देशभित्रको अस्थिर राजनीतिले चरम सीमा नाघिसकेको थियो। स्वदेशमा गाडी चलाएर परिवारको पेट पाल्न लगभग मुस्किलप्राय थियो। जताततै जनयुद्धको तयारी चलिरहेको थियो त्यसबेला। चक्का जाम र नेपाल बन्दको लहरसँगै असुरक्षा बढ्दै गयो। हरेक दिन कयौ सवारीसाधनहरू तोडफोड भइरहेको समाचार बारम्बार मिडियाहरुमा आउने गर्थ्यो। देशको अस्थिर राजनीतिबाट म र म जस्ता लाखौ नेपालीहरू दिक्क भइसकेका थियौ। एकदिन उनले मलाई स्वदेशमा बसेर गफगाफमै दिन बिताउँनुभन्दा बरु बिदेश गए राम्रो भन्दै सल्लाह दिन थालि। यहाँको जस्तो जागिरको अनिश्चितता पनि नहुने र कमाई पनि राम्रो हुने भन्दै ऊ मलाई बारम्बार सम्झाउने कोसिस गर्थि। नावालक छोरो र उसलाई छोडेर खाडी मुलुकमा होमिन त मलाई पटक्कै मन थिएन तर उसको जिद्दि र हाम्रो सुनौलो भविष्यको लागि अन्ततः म परदेशी जीवन व्यतीत गर्न राजी भए। हो म त्यतिबेला खाडीमा धसिन पुगे सिर्फ त्यो स्त्रीको लागि जो मतिर अहिले हेर्दासम्म हेर्दिन।” उसले एकै घुट्कोमा ग्लास रित्तो पार्यो। म अधैर्यपूर्वक उसको कुरा सुनिरहेको हुन्छु।
“दिन, हप्ता, महिना हुँदै वर्षौ बित्यो, यिनै घुम्तीहरुमा घुम्दा घुम्दै। हामी भौतिक रुपमा एकाअर्कादेखि टाढा भएको पनि लगभग २ वर्ष पुग्न आटिसकेको थियो। समय न हो कसरी बित्यो पत्तै भएन। अब घर फर्किने दिनहरू गन्दै औला भाच्न थालिसकेको थिए। ती दिनहरुमा म प्राय उसलाई दैनिक फोन सम्पर्क गर्ने गर्थे तर दिनप्रतिदिन उसको बोल्ने शैली तथा म प्रतिको बदलिदो व्यवहारले मलाई कताकता शंका लाग्न थाल्यो। ऊ अनावश्यक कुरामा पनि झर्कने गर्थी। नभन्दै हाम्रो सम्वन्ध बिस्तारै चिसिदै जान थाल्यो। ती दिनहरुमा हामी हरेक संवादमा झगडा गर्ने गर्थ्यौ। तपाई सुन्दै हुनुहुन्छ नि मेरो कुरा ? ” मेरो एकाग्रता भङ्ग भयो।“जरुर……अनि त्यसपछि…..?”। “यस्तै हो म जस्ता जड्याहाहरुको जिन्दगी। पिए पछि बोल्नै पर्ने।पीडाहरू पोख्नै पर्ने। आखिर होसमा भएपछि त यी कुराहरुले कुनै अर्थ राख्दैनन् म माथि। त्यसैले पिएपछि बोल्नुको मजा नै बेग्लै छ। तपाई झर्को मानिरहनु भएको त छैन नि?” “हा..हा.. त्यस्तो केही छैन।” नयाँ सिलप्याक टेवलमा आइपुग्यो। उसका हातहरू नशासँगै हल्लिरहेको थियो तापनि उसले होसियारीपूर्वक दुवै ग्लास भर्यो र फेरि भन्न सुरु गर्यो।
“लगभग २ वर्ष खाडीमा बिताइसकेपछि म नेपाल फर्किए। अन्त्यमा जे नहुनु थियो, त्यही भैदियो। मसँगको दुरीसँगै उसको पराईसँग हिमचिम बढ्दै गएको कुरा चाल पाए। ऊ अब अर्कै दुनियाको कल्पनामा रमाउन थालिसकेकी थिई। हामी बीचको सम्वन्धमा बिस्तारै खटपट सुरु भयो। धेरैको मुखबाट मैले उसको असली चरित्र बारे थाहा पाउँने सौभाग्य पाए। हुन त त्यो मेरो लागि दुर्भाग्य नै थियो। तापनि म त्यसलाई सौभाग्य नै ठान्दछु। बिस्तारै मलाई उसले धोका दिदै छे भन्ने कुरा प्रष्ट हुँदै गयो। उसको कोमल हासो भित्र पनि मैले डरलाग्दो छलकपटको आधिबेहरी देख्न थालिसकेको थिए। पराई पुरुषसँगको सामिप्यता कसलाई पो सह्य हुँन्छ र? त्यस्तै भयो मेरो कथित जिन्दगीमा पनि। ऊ मबाट र मेरो जिन्दगीबाट सदाको लागि पराई बन्न खोज्दै थिइ। ऊ वास्तविकतालाई लुकाएर हरेक कुरामा झुट बोल्ने प्रयास गर्थी। मेरो सहनशिलता टुट्दै गयो। जबदेखि उसको वास्तविकता चाल पाउँदै गए तबदेखि ऊ मलाई विभिन्न बाहानामा कमजोर बनाउने कोसिस गर्न थालि। अब उसलाई ममा कुनै रुची थिएन। त्यसैले हरेक दिन घट्ने सानातिना पारिवारिक झमेला वा घटनालाई निहुँको पहाड बनाएर ऊ मसँग झगडा गर्न तम्सिने गर्थि। हामी बीचको सम्वन्ध बिस्तारै आगोबिना नै सल्कन थाल्यो र समयसँगै त्यसले यौटा विशाल रुप लिन सुरु गर्यो। दैनिकको कलह र तमाशा जिन्दगी। हाम्रो दुरी दिनप्रतिदिन अरु धेरै बढेर गएको थियो……..।” उसले आफ्नो कोटको खल्तीबाट चुरोट निकाल्दै सल्काउन थाल्यो। धुवाको सर्कोसँगै ऊ पुनः बोल्न थाल्यो। “………अन्ततः एकदिन उसले मसँग डिभोर्स मागी। म अवाक् रहे। धर्ती नै भासिएझैं भयो। तापनि छुट्टिनु अगावै मैले धेरै सम्झाए उसलाई तर ऊ टसको मस भइन। अरुको बहकाउँमा लागेर उसले मेरो केही कुरा सुन्न नै चाहेकी थिइन। उसले मेरो जिन्दगी बर्वाद गरिदिई। लगत्तै हामीले ८ वर्षको त्यो लामो बैवाहिक सम्वन्धलाई पूर्णबिराम दिने निर्णय गर्यौ।समय मेरो वशमा थिएन। हामी एकअर्कासँगै छुट्टियौ अनि हाम्रो संसार पनि त्यो पर रहेको मरुभूमिको साम्राज्य जस्तै पलभरमै उजाडिन पुग्यो……।”
केही बेर सन्नाटा छायो।उ नशामा चुर भइसकेको थियो।केहीबेरको मौनतालाई चिर्दै ऊ बोल्न थाल्यो “ति दिनहरुमा कहिलेकाही मेरो मनमा उसको हत्या गरेर बदला लिने विचार समेत आउने गर्थ्यो। जब मध्यरातमा म सपनाहरुबाट भयभीत हुँदै ब्यूँझिने गर्थे तब मेरो मनमा थुप्रै पटक हत्या गर्ने मनासाय नआएको पनि होइन। तर जब चिरनिद्रामा रहेको उसको कोमल अनुहारमा हेर्ने प्रयास गर्थे तब म भित्र ऊ निर्दोष भएको भ्रम पैदा हुन्थ्यो। सोच्थे ऊ निर्दोष छे। तर अनुहारको निर्दोषपना जिन्दगीसँग कहिल्यै मेल खादैनथ्यो। म भित्रको उत्कण्ठा केवल भ्रम थियो।उ हरेक बिहान फेरि उस्तै कठोर र रुखो बचनसँगै उपस्थित हुन्थी। अनि अन्त्यमा उसलाई र ऊ प्रतिको मेरो अधिकारलाई सदाको निम्ति छाडिदिने कठोर निर्णय गरेको थिए मैले ।” ऊ पुनः व्यथित कल्पनामा हराउन थाल्यो र अचानक चिच्यायो।“ राम्रै भयो। म समयमै सम्हालिए। नत्र आश नै कहाँ थियो र उसको प्रतिघात सहेर बाँच्ने।”
औशिको रात निष्पट अँध्यारो थियो। ऊ नशासँगै बग्न थाल्यो। मैले पुनः बार्तालाप गर्ने कोसिस गरे। “कसैको बहकाउमा लागेर निर्णय लिनु अवश्य पनि राम्रो होइन। के थाहा तपाईको सोचाइ नै गलत थियो कि वा तपाई स्वय म भ्रममा पर्नुभयो। सायद अरुको कुरा सुन्नु तपाईको भूल थियो। थाहा छैन दुनियामा कति निर्दोषहरू भ्रमको आवेगमा दोषी बन्न पुग्छन्। दुनिया स्वार्थी छ र स्वार्थको लागि जो जे पनि गर्न तयार हुँन्छन्। समाजको नियति नै यस्तै हुँन्छ। अरुलाई उजाडेर रमिता हेर्नेहरू प्रशस्तै हुँन्छन् यहाँ। आवेशमा निर्णय लिनु सदा घातक हुन्छ। हुनसक्छ तपाई आफैप्रति वा आफ्नो जिन्दगी प्रति अन्तर्घात गरिरहनु भएको छ कि?”
ऊ मन्द मुस्कुरायो र भन्न थाल्यो “त्यो कहालीलाग्दा अतितका दिनहरुलाई म अवश्य पनि सम्झन चाहन्न। छोडिदिनुस् ती स्वार्थीहरुको कुरा, जो हरेकको अंगालोमा बाधिएरसँगै जिउँनेसँगै मर्ने बाचाकसम खान्छन् हा.. हा.. हा.. हरेकको अंगालोमा बाधिएर हा.. हा.. हा..। मलाई अब आफैप्रति कुनै सहानुभूति छैन। गुमाउनको लागि केहिरहेन र पाउने केही आशा छैन। म रित्तो भइसके अब के फरक पर्छ र म पोखिनु र नपोखिनुमा। यो बोतलजस्तै म पनि रित्तो छु। लडेपनि खाली नलडेपनि खाली।”
××
घडीले रातको १२:०० बजाइसकेको थियो। पुनः भेट्ने बाचाका साथ तिम्रो लोग्ने र म छुट्टिने तर्खरमा लाग्यौ। लगत्तै म आफ्नो कोठातर्फ लागे। हिडाईको तेज गतिसँगै निस्केको पसिनाले सारा शरीर र कपडा निथ्रुक्क भिजिसकेको थियो। ओछ्यानमा पल्टिदै गर्दा तिमीबिनाको ती क्षणहरू कल्पना गर्दै केहीबेर अतितका छायाहरुसँगै छटपटाउँन थाल्छु। आज अचानक तिम्रो अभाव महसुस हुन थाल्छ जसलाई म वर्षौ पहिले देखि भुल्ने कोसिस गर्दै थिए। तिमीसँग भेट नभएको पनि वर्षौ भइसकेको थियो। जब तिमी नयाँ जिन्दगीको शुरुवात गर्दै थियौ तब देखि म तिम्रो जिन्दगीबाट पराईको नातासँगै सदाको लागि गुमनाम भएको थिए। स्मृतिमा सुनौलो केशहरुसँगै मन्द मुस्कुराएको तिम्रो ओठमाथिको कालो कोठी आँखा अगाडि झझल्किन थाल्यो। साच्चै ती दिनहरुमा उनीसँगको एकतर्फी प्रेममा म पागल जस्तै बनेको थिए। सायद तिमीलाई थाहा नहोला तिम्रो आशुमा मैले आफ्नो सम्पूर्ण भविष्यहरू बगाएको थिए।तर दुर्भाग्य समयको गतिलाई चाहेर पनि मैले रोक्न सकिन। समय बितिसकेको थियो। तिमी पराईको अंगालोमा बाधिइसकेकी थियौ। प्रेमको कलिलो कोपिला नफक्रिदै सदा सदाको निम्ति चुडिइसकेको थियो। ती आधिबेहरीसँगै जहाँ क्षणभरमै म नामेट भएर गए।
समयको पाबन्दीसँगै हाम्रो भेट संयोग मात्र नभई आवश्यकता हुँन पुग्यो। जीवन भोगाईका सारा व्यथाहरू भुलेर हामी निरन्तर पिइरहेका हुन्थ्यौ तर नितान्त फरक थियो हाम्रो पिउँने उदेश्य। सायद ऊ अर्थात तिम्रो लोग्ने पिएपछि तिमीलाई भुल्ने गर्थ्यो अनि म । म चाहिं तिमीलाई भुल्नको निम्ति पिउने गर्थे। मलाई थाहा छैन ऊ भ्रममा थियो वा म। तर म उसको कुरामा कदापि पनि विश्वास गर्न चाहदिन। थाहा छैन तिमीहरू बीचको सम्वन्ध टुक्रिनुमा गल्ती कसको थियो? सायद थाहा पाउँन पनि चाहदिन। आखिर तिमीले वा तिम्रा यादहरुले दिने केबल चोटहरू मात्र हो। त्यही चोट पाएर ऊ मुर्छित थियो। अनि त्यही चोटहरू गुमाएर म घायल थिए।
समय गतिशील थियो। तर त्यो रेगीस्तान भूमि, हाम्रो भेट, त्यो मेहफिल, हामी बाँचेको युग, ऊ भित्रको भ्रम, हाँसो तथा रोदनका सिलसिलाहरू अनवरत रुपमा उस्तै थिए। उसले एकदिन मलाई सोधेको थियो। “के तपाईले कसैलाई प्रेम गर्नुभएको थियो?” मैले मुस्कुराउँदै उसलाई भनेको थिए। “जरुर तर त्यो केबल एकतर्फि प्रेम मात्र थियो। उसले कहिल्यै पनि बुझ्न सकिन अनि मैले कहिल्यै पनि बुझाउन सकिन।” ऊ पहिलो पटक दिल खोलेर हाँसेको थियो मेरो सामु। म पनि हासिदिए मनभित्र गुम्सिएका अनेकन् रहस्यहरुलाई गुमनाम बनाएर । अनि हररात त्यो मेहफिलमा आशुहरुसँगै पीडाहरू बगाएर जिन्दगी जिउँने भ्रममा पलपल मरिरहेका हुन्थ्यौ हामी। हामी अर्थात तिम्रो लोग्ने र म।

नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु