जीवनको स्क्रिप्ट

- ईगम खालिङ

जीवनलाई घटना मान्न सकिँदैन । तसर्थ जन्म र स्वाभाविक मृत्युलाई पनि घटना मान्न सकिँदैन । जन्मपछि मृत्यु अवश्य आउँछ । समयजस्तो कालजीवि भएर बाँच्न सकिँदैन । हाम्रो सुरू छ र नै अन्त्य पनि छ । जसको उद्भव हुन्छ त्यसको विनाश पनि हुन्छ । तर विनाशको अर्थ यो होइन कि त्यो हाम्रा जगत र ब्रह्माण्डबाट अकस्मात् हराएर जान्छ । त्यसले कुनै न कुनै प्रक्रियाद्वारा आफ्नो स्वरूप मात्र परिवर्तन गरिरहेको हुन्छ । कति कुराहरू निर्धारित (निश्चित) हुन्छन् भने कति कुराहरु अनिर्धारित (अनिश्चित) हुन्छन् । यही दुईको माझमा द्रव्यमानको कुल मात्रा नित्य कायम रहन्छ । स्पेश र समयलाई छुटाएर छुटाउन सकिँदैन । हामी स्पेश र समयभित्रै जन्मदछौँ अनि मर्दछौँ पनि । हामी छौ तर हामी स्पेश र समयमा छैनौ भन्न सकिँदैन । भौतिक स्पेशको प्रत्यक्ष (बोधगम्य) हुन्छ तर समयको हुँदैन, त्यसैले समयको वर्णन हामी स्पेशसित (स्पेशको स्थायित्वसित) जोडेर जान्दछौँ । समयको एउटै मात्र आयाम छ । यसको न त सुरू छ न अन्त्य नै । तर स्पेश र समयभित्र अवस्थित हामी मानवको चाहिँ अवधि हुन्छ । हाम्रो आफ्नै मौलिक स्वाभाविकता छ । हामी हाम्रो संसारभित्र स्वाभाविक (प्राकृतिक) मृत्यु मर्दछौँ । हामीले अप्राकृतिक वा असामयिक मृत्युलाई घटनासित जोड्ने गरेका छौँ अनि मन बुझाउनलाई चाहिँ ईश्वरको महान इच्छासित । जन्म र मृत्युलाई भाग्यसित जोड्यौ भने हाम्रो निर्भरता भाग्य लेखिदिने त्यो महान शक्तिकारप्रति जान्छ । अनि हाम्रो मस्तिष्कमा एउटा प्रश्न उठ्नसक्छ—हामी प्रत्येक व्यक्तिको जीवनको स्क्रिप्ट (पटकथा) लेखिदिने रचनाकार को हुन् त ?

हामीले हाम्रो जीवनको स्क्रिप्ट लेखिदिने लेखकलाई ‘ईश्वर’ नाम दिएका छौँ । हाम्रो जीवनको पूर्वकथा ईश्वरले नै रचिदिएको हो भने हामीलाई हाम्रो रचनाकारसित भेट गर्न अवश्य मन लाग्नेछ । त्यो अदृश्य रचनाकारको खोज हामी आफैमा एउटा अधिकार पनि हो । खोजिरहेका कति प्रश्नहरूका उत्तरहरु नपाइँदा हामी कुनै अलौकिक शक्तिस्रोतको परिकल्पना गर्दछौँ । हामीले त्यस्तै अलौकिक शक्तिलाई हाम्रो जीवन-जगतको निर्देशक मानेका छौँ । निर्देशकले हामीलाई कतिपय स्वतन्त्रता दिए तापनि आखिरमा उनले हामी जन्मनुअघिनै लेखिदिएको जीवनको स्क्रिप्ट अनुसार नै हाम्रो अन्त्य हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । धर्मग्रन्थहरूले पनि यही कुराहरू अप्रत्यक्षरूपमा स्वीकार्छन् अनि ईश्वरको अनुयायी भएर उनको अनुग्रहमा बाँच्न सिकाउँछन् । यसको अर्थ यो होइन कि मैले ईश्वरको खण्डन गरिरहेको छु । वास्तवमा विज्ञानले त्यो अलौकिक शक्तिस्रोतको खोज आफ्नै तरिकाले गरिरहेको हुन्छ । ईश्वरको मन बुझ्ने कोसिस गरिरहेको हुन्छ । ईश्वरको सैद्धान्तिक अस्तित्वबिना संसार चल्दैन । नैतिक आदर्शका आधारहरूबिना मानव संसारमा प्रेम, शान्ति अनि प्रगति सम्भव हुँदैन । त्यसरी नै ईश्वरबिनाका नैतिक आधारहरूको कुनै महत्वै हुँदैन ।

सैद्धान्तिकरूपमा नै भए तापनि हाम्रा आशा, आकांक्षा अनि आस्थाको निम्ति ईश्वरको अस्तित्व अनिवार्य हुन्छ । तर मानिसहरूले त्यति मात्र बुझ्न चाहेका छैनन् । कतिले ईश्वर सर्वशक्तिमान हुनुहुँदो रहेछन् भन्ने कुरालाई मात्र विशेष ध्यान दिएको पाइन्छ । ईश्वरबाहेक हामी कोही पनि पूर्ण स्वतन्त्र छैनौँ । ईश्वरका असाधारण निगरानी अनि इच्छाको अनुग्रहभित्र हाम्रो जीवनको खेल कायम रहन्छ साथै उनको शक्तिअघि हाम्रो शक्तिको त्यस्तो कुनै विशेष प्रभाव नै रहँदैन । त्यसरी ईश्वरको रचनाभित्र हामी दाससरह हौँ । कति मानिसहरूले ईश्वरका शक्ति र प्रतिष्ठाको अनुकरण गर्दै मानवरूपि ईश्वर बन्ने कोसिस गरिरहेका हुन्छन् । जब कुनै व्यक्तिले ईश्वरका चालहरूलाई चोरी गर्दै शक्तिमान बन्दै जान्छ उसले पनि ईश्वरले झैँ हामी धेरैको जीवनको स्क्रिप्ट लेख्ने कोसिस गर्दछ । ईश्वरले जन्मनुअघि नै लेखिदिएका जीवनको स्क्रिप्टमा उसले आफ्नै क्षमतानुसार हस्तक्षेप गर्दछ । मानिसका जन्मजात अधिकारहरू हनन् गर्दछ । उसलाई हाम्रा स्वतन्त्रता अनि खुशीहरू छिन्नमा बढी आनन्द लाग्दछ । उसले कसैको मौलिक अधिकारहरू छिन्नमा आफ्नो अधिकार नै मान्न थाल्दछ । उसले त्यो काम कुनै पनि व्यक्तिको कुनै पनि कमजोरीद्वारा भ्रम सिर्जना गरेर गर्दछ ।

परिवार, सङ्गठन अनि देशले आफ्ना उद्देश्य र सङ्कल्पअनुरूप स्क्रिप्ट लेखेका हुन्छन् । पारिवारिक प्रतिष्ठामा सांस्कृतिक, सामाजिक अनि राजनैतिक तत्त्वहरूको जटिल जडान हुन्छ । सङ्गठनहरूले पनि आफ्नो सङ्गठनका हित र प्रवर्धनमा संविधान लेखेका हुन्छन् । देशवासीहरूको जीवन उनीहरूको राष्ट्रले लेखिदिएका संविधानका नियम, अधिनियम अनि कानूनहरूले चल्दछ । देशवासीहरूभन्दा पनि उनीहरूको राष्ट्रका संविधान र कानून ठूला हुन्छन् । तर सङ्ग-सङ्गठनहरूदेखि लिएर राष्ट्रले लेखेका संविधान र कानूनहरूको प्रयोगमा शक्तिशालि व्यक्तित्वले हेरफेर गर्ने कोसिस गरिरहेको हुन्छ । शक्तिशालि र सम्पन्न व्यक्तिले संविधान र कानून तोड्नु र आफ्नै कानून अन्तर्भुक्त गर्नु कति बेर लगाउँदैन । कारण प्रयोग गर्ने र गराउनेहरू सबै मानिसहरू नै हुन् । अनि प्रत्येक मानिसका लोभ, स्वार्थ र कमजोरीहरू हुन्छन् । ईश्वर बन्न चाहनेहरूले ती कमजोरीहरूको फाइदा उठाएर राष्ट्र र सङ्गठनका स्क्रिप्टहरू मात्र होइनन् हामीले बाँच्नुपर्ने जीवनको स्क्रिप्ट समेत गुप्तरूपमा लेख्ने गर्दछन् । हामीलाई थाहा हुँदैन कि कसरी संसारका शक्तिशालि राष्ट्रहरू, शासकहरू, पुँजीपतिहरू अनि नीति निर्माताहरूले हाम्रो स्वाभाविक जीवनमा हस्तछेप गरिरहेका हुन्छन् । हामी बिहान उठेर कुन ब्रान्डका चिया-कफी पिउनुदेखि लिएर कस्ता पारिवारिक, सामाजिक, सैद्धान्तिक, व्यावहारिक अनि सांसारिक जीवन जिउनुपर्ने भन्ने कुरामासमेत अप्रत्यक्ष तरिकाले अदृश्यरूपमा निर्णय लिइरहेका हुन्छन् । वस्तु र विचारद्वारा भ्रम सिर्जना गरेर हामीलाई उनीहरूको गुप्त स्क्रिप्टअनुरूप जिउन सिकाइरहेका हुन्छन् । हामी मेडिया, सामाजिक-सञ्जाल अनि अन्तर्सञ्जालको परिधिभित्रबाट बाँचिरहेका हुन्छौँ। हामीलाई ग्राहक र नागरिकको रूपमा केही हदसम्म दासत्वको जीवन जिउन वाध्य बनाइरहेका हुन्छन् । उनीहरुका इच्छा, विचार अनि योजनानुरूप बाँच्न प्रेरित गरिरहेका हुन्छन् । यी सबै उनीहरूको (शक्तिशालिहरूको) स्क्रिप्ट लेख्ने नयाँ तरिकाहरू मात्र हुन् ।

ईश्वर छ या छैन त्यो हामी किटान गरेर भन्न सक्दैनौँ । तर त्यसरी जे हुन्छ सबै ईश्वरको इच्छानुरूप नै हुन्छ भन्यौ भने जीवन जिउनुको कुनै अर्थै रहँदैन । भाग्यमा जे लेखेको छ त्यो नै हुन्छ भन्यौ भने हामी भाग्यवादमा (नीयतिवादमा) खस्दछौँ अनि असीम प्रतिगमनको चपेटमा पर्दछौँ । त्यसरी सोच्ने हो भने त वर्तमानमा चलिरहेको कोरोना भाइरसको महामारी पनि ईश्वरकै इच्छा मान्नुपर्यो अनि आ-आफ्नो भाग्यको खेल । भोलि कुनै देशले हाम्रो देशमाथि आक्रमण गरिहाल्यो भने ईश्वरकै इच्छा मान्नुपर्यो । ‘ताकतवरको जीत’ जस्तो डार्विनको प्राकृतिक चयनको सिद्धान्तहरूलाई मान्नेहरूले युद्धलाई जायज ठान्दछन् साथै भ्रम सिर्जना गर्नसक्नुमा आफ्नो सफलता । यसकारण हामी प्रत्येक व्यक्ति सचेत, सक्षम अनि ज्ञानी बन्न अति आवश्यक छ । नत्र भने अज्ञानी र दुर्बलहरू जङ्गलका गाई-भैँसी र मृगहरू बन्नेछन् अनि ताकतवरहरू चाहिँ बाघ, सिंह र चितुवाहरू।

माथिका कुराहरूबाट के भन्न चाहेको भने हामी बाँचिरहेको जीवन पूर्णरूपले स्वतन्त्र बचाइँ होइन रहेछ । हामीलाई थोपिदिनेहरू धेरै हुँदो रहेछन् । हामी कमजोर भयौ भने हामीलाई कसैले पनि आफ्नो फाइदाको निम्ति प्रयोग/उपभोग गर्न सक्ने रहेछ । हामी अनजानिमा उनीहरूद्वारा डिजाइन गरेको (रचित) स्क्रिप्टको शिकार बन्नुपुग्दो रहेछौँ । कमजोर बन्नु भनेको एउटा जबर्जस्ती अज्ञानताको जीवन बाँच्नुपर्ने वाध्यता पनि रहेछ । यही वाध्यतामा हामी एउटा कृत्रिम भ्रममा फस्दो रहेछौँ अनि जीवन-जगतको सत्य नबुझी मर्दो रहेछौँ । धनी र शक्तिशाली व्यक्तिहरूले हामीलाई बजारका उत्पादित सामानहरू (वस्तुहरू) जस्ता मात्र ठान्दो रहेछन् । त्यस्तो दासत्वको जीवन जिउनु हुँदैन भन्नु नै यस लेखको मूल उद्देश्य हो । ती तथाकथित अनि कृत्रिम स्क्रिप्टहरू तोड्न स्वचेतना, शिक्षा र ज्ञानद्वारा मात्र सम्भव हुन्छ, अनि त्यसको सुरू चाहिँ हामी चिन्तन र स्वविश्लेषणद्वारा गर्दछौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु