मेरी आमाले आत्महत्या गरेको देशको छाँयामा सलबलाउँदो बल्लभ दाइ

- नीमा शेर्पा

मेरी आमाले आत्महत्या गरेको देश को छाँयामा सलबलाउँदो बल्लभ दाइ ! तपाईँभन्दा म धेरै अभागी : अन्तर्मन्थन

कवि जीवन थिङका सर्वाधिक चर्चित कविताहरूमध्येका एउटा मानिएको बल्लभ दाइ ! तपाईँभन्दा म धेरै अभागी कविताको सम्यक् मूल्याङ्कनको निम्ति अन्तर्पाठात्मक अध्ययन भरपर्दो मदतगार बन्छ । यस प्रकममा प्रभाव विवेचन अनि तुलनात्मक समालोचना पद्धति थप सहायकार होला ।
अन्तर्पाठात्मकताले रचनाको अन्तर्वस्तु अन्यान्य रचनाहरूसित त्यसको सहचर सम्बन्धका आधारबाट खोलिन्छ भन्ने मान्छ । एउटा पाठको अर्थ अरू पाठहरूद्वारा रूपायित हुनु र खोलिनु अन्तर्पाठात्मकता हो (घनश्याम नेपाल) । प्रभाव विवेचनले प्रत्येक रचना समकालीन वा पूर्ववर्ती रचना वा कृतिहरूको प्रभावको प्रतिफलन हो तथा ती प्रभावहरूको निफननाफनबाट नै रचनाको खास सौन्दर्य एवम् मूल्य निर्धारण गर्न सकिन्छ भन्ने मान्छ । यसै गरी तुलनात्मक समालोचना पद्धतिले चाहिँ विवेच्य रचनाको वास्तविक अध्ययन एक वा एकभन्दा अधिक रचनाहरूसित त्यस रचनाको तुलनापरक (साम्य-वैषाम्य) विवेचनद्वारा सम्भव हुन्छ भन्ने मान्छ । अन्तर्पाठात्मकता पाठको अन्तर्यलाई अन्य पाठहरूको सहचर सम्बन्धको आधारमा पर्गेल्ने उत्तराधुनिक अवधारणा हो, प्रभाव विवेचन तुलनानाई सर्वोपरि मान्ने तुलनामत्मक अध्ययनको एउटा स्कुल्स वा सम्प्रदाय (फ्रन्य-जर्मनेली) अनि तुलनात्मक पद्धति चाहिँ समालोचनाको एउटा पद्धति विशेष हो । फरक समय, पृष्ठभूमि, प्रयोजन, साध्य र सान्दर्भिकताबिच हुर्केबडेका यी अवधारणाहरूमा अन्तर्निहित तुलनाको महत्ताले एकार्काका सम्पूरकजस्तो अवस्थामा पुऱ्याउदछ ।
विवेचनीय रचनाको शीर्षकबाट नै यस कवितासित ईश्वर बल्लभ सम्बन्धित छन् भन्ने कुरा स्पष्ट हुन्छ । अझ कविताको टुङ्ग्यानीमा आइपुग्दा यो कविता व्यक्ति बल्लभ होइन कवि बल्लभ अनि उनको चर्चित कविता मेरी आमाले आत्महत्या गरेको देशको अनुभाविक प्रतिफलन हो भन्ने कुरा पनि छर्लङ्ग हुन्छ । त्यसर्थ अध्येताको पहिलो काम हुन्छ, ईश्वर बल्लभको मेरी आमाले आत्महत्या गरेको देश कविताको समीचीन अध्ययन, जीवन थिङका यस कवितामा त्यसको प्रभाव विवेचन अनि अन्तर्वस्तुको खोलुवा ।
कवि जीवन थीङ (सन् १९५४-१९७८, सिक्किम) र ईश्वर बल्लभ (सन् १९३७-२००८, नेपाल) एकताकका समकालीन कवि थिए । उमेरको गतिलो अन्तर भए तापनि लगभग एक दसकको समयावधि उनीहरू तत्कालीन युग जीवनलाई आआफ्ना कविताहरूमा आआफ्ना बोधन र शिल्प चेतनाका माध्यमबाट वाणी दिइरहेका थिए । यो क्रम कवि थिङको अल्पायुमा भएको देहवासनले टुट्यो । तेस्रो आयामले चर्चाको शिखर छोइरहेको समयमा जीवन थिङ आफ्नै बलबुतामा आफ्नै बान्कीका कविता रचिरहेका थिए । त्यसर्थ आफ्ना समयका अग्रज र चर्चित कविको प्रभाव कवि थीङमा पर्नु स्वाभाविक नै मान्नुपर्छ । विशेष गरेर कवि थीङमा बल्लभको विद्रोही चेतना र चित्रबिम्बको बाक्लो प्रभाव पाइन्छ । सकारेर भन्नपर्दा थिङमा अन्तर्निहित विद्रोही चेतना र शिल्पशैलीगत सजगतालाई बल्लभसितको कवितात्मक संसर्गले अझ उत्कर्षमा पुऱ्याउने काम गर्यो । बल्लभको कविताकारिताको प्रत्यक्ष र सकरात्मक प्रभावलाई सोझै सकार्दै उनले बल्लभलाई नै सम्बोधन गर्दै बल्लभ दाइ ! तपाईभन्दा म धेरै अभागी कविता नै लेखे । मानिसको औसत आयु बाँच्ने बल्लभमा थीङको प्रभाव के कति थियो, त्यसको जानकारी भने पाइँदैन ।
थीङ र बल्लभ व्यक्तिगत रूपमा एकाअर्कासित परिचित थिए अनि उनीहरूबिच भेटघाट र भलाकुसारीको आदानप्रदान पनि चल्थ्यो भन्ने कुराको सङ्केत कविताले एक ठाउँ यसरी दिएका छन् –
म आफैलाई लुकाउन सकूँ
र कुनै दिन साझा पुस्तक पसलअघि भेट्न सकेँ
सुटुक्कै भन्न सकूँ –
बल्लभ दाइ ! तपाईभन्दा म धेरै अभागी
रूपरेखा पत्रिकाको दुई अङ्कमा (वर्ष १२, अङ्क ४, वि.स. २०२८ र वर्ष १२, अङ्क ५, वि,स, २०२८) क्रमश: छापिएको मेरी आमाले आत्महत्या गरेको देश कवि ईश्वर बल्लभको सर्वाधिक चर्चित कविता हो। चित्रभाषाको कलात्मक प्रयोग र अनुभूतिको सम्पूर्णता यस कविताको महत्त्वपूर्ण उपलब्धि हो।
मेरी आमाले आत्महत्या गरेको देश कविताको पनि आफ्नै नेपथ्य छ । त्यस नेपथ्यको आन्द्राभँडी नबुझेसम्म यस कविताको अनतर्वस्तु पनि खकुलो हुने होइन । सङ्क्षिप्तमा यसरी बीट मारौँ त्यस पृष्ठभूमिलाई,
ईश्वर बल्लभका पिता पण्डित मुरलीधर भट्टराई नाम चलेका पण्डित र विद्वान् थिए । राजनीतिमा उनको चासो थियो तर सक्रिय राजनीतिमा उनी थिएनन् । चन्द्रशमशेर जङ्गबहादुर राणाको राजसत्ताले नेपाली काङ्ग्रेसमा राजनीति गरेको अभियोगमा पण्डित मुरलीधर भट्टराईलाई छ-सात वर्ष जेलमा थुने । उनकी आमा राममाया भट्टराईले त्यस कालखण्डमा ठुलो कष्ट सहिन् । गिट्टी कुटेर दुईजना छोरालाई लालनपालन गरिन् र पढाइन् । एक्लो अभिभावकको कर्तव्य सकुशलतापूर्वक निर्वाह गरिन् । तर पिताजी जेलबाट निस्केपछि त्यसभन्दा ठूलो कष्ट पाइन् । चन्द्रशमशेरले मुरलीधरलाई दिएको सजायभन्दा ठूलो सजाय मुरलीधरले राममायालाई दिए । एउटी नारीका लागि सौता हाल्नुभन्दा ठूलो सजाय के हुन सक्छ । पण्डित मुरलीधरले राममायामाथि त्यही अन्याय गरे र उनले नगरेको अपराधको सजाय दिए । अनि, एकदिन यही असह्य अपमान र पिडाबाट मुक्ति खोज्न एउटी स्वाभिमानी नारीले खुकुरीले सेरिएर आत्महत्या गरिन् । त्यस समय विश्ववल्लभ बालक नै थिए तर ईश्वर बल्लभ सोच्ने-विचार्ने तेह्र वर्षको उमेरमा हिँडिरहेका थिए । मर्दै गरेकी आमाको छटपटी र त्यस असह्य पिडाको द्रष्टासाक्षी छोरा ईश्वर बल्लभले त्यस पूर्वदृश्यलाई कति वर्षसम्म मुटुमा गाँठो पारेर मन्थन गरेर हिँडे भनेर साध्य छैन । जीवनकालभरि बल्लभलाई आमाको आत्महत्याले पिरोलिरह्यो । अन्तत: लामो समयको पिडामय छटपटीपछि बाफिएर कागजका पन्नामा तपतपी चुह्यो – मेरी आमाले आत्महत्या गरेको देश (यस परिच्छेदको निर्माण गुगल सर्चबाट लिइएको सामग्रीबाट भएको छ, अहिले खोज्दा स्रोत विवरण अनुपलब्ध रहेछ, क्षमा चाहन्छु)।
आमाले आत्महत्या गरेको वास्तविक दुर्घटनामा आधारित यस कवितामा कवि बल्लभले आत्महत्या पछाडिका अन्तरङ्ग कारणहरू सूक्ष्मतिसूक्ष्म रूपले केलाएका छन् । आमाको आत्महत्या नितान्त वैयक्तिक र पारिवारिक दुर्घटना भए तापनि बल्लभले कवितामा त्यस दुर्घटनाका पछाडि अन्तर्निहित सामाजिक-राजनीतिक कारणहरूको अनुभूतिक विश्लेषण गरेका छन् । यसरी विश्लेषण गर्ने क्रममा नेपालको समाज-व्यस्था, राजनीतिक विसङ्गति र विडम्बना, पुरूषवादी हैकम अनि त्यसप्रकारको सेडिस्ट मानसिकताबिच परापूर्वकालदेखि जेलिए आएका नेपाली आमाहरूको पीडानुभूतिलाई वाणी दिएका छन् । पुरूषवादी हैकम र मानसिकताबाट जबसम्म देश मुक्त हुँदैन तबसम्म नेपाली आमाहरू आत्महत्या गर्न बाध्य हुनेछन् भन्ने निस्कर्ष छ यस कविताको ।
कवि जीवन थीङका बल्लभ दाइ ! तपाईँभन्दा म धेरै अभागी कवितामा यहीँ आमाको आत्महत्या उत्प्रेरक तत्त्व बनेको छ । कवि थीङले पनि बल्लभको पारिवारिक दुर्घटनालाई साधरणीकरण गर्दै देशीय दुर्घटनाको रूपमा आत्मसात गर्दै आफूले भोगेको देश गुमाउनुको पीडासमक्ष ती केही होइनन् भन्न निस्कर्ष निकाल्दै कविता रचेका छन्।
१६ मई, सन् १९७५ मा सार्वभौम सिक्किम राष्ट्र आधिकारिक रूपमा भारतको बाइसऔँ सङ्घीय राज्यको रूपमा विलय भयो । सम्प्रभुताका महत्त्व बुझेका कवि थीङको निम्ति यो ऐतिहासिक दुर्घटना र विडम्बनाको विषय थियो । उनका प्राय कविताहरूका अन्तर्वस्तु यसै ऐतिहासिक घटनाको ओरिपरि रूमल्लिएका छन् । बल्लभ दाइ ! तपाईभन्दा म धेरै अभागी कविता पनि यसै क्रमको एउटा कडी हो ।
कवि बल्लभको पीडामा एकाकार हुँदै, तिनमा सम्वेदना प्रकट गर्दै आफ्नो पीडाको भारी यसरी बिसाउँछन् कवि थिङ,
तिम्रो छातीमा आमाले आत्महत्या गरेको देश छ
रुनलाई आँखामा मेची र महाकाली छन्
पुछ्नलाई रगत लागेको खुकुरी छ
तर मेरा निम्ति चोट लागेको इतिहासबाहेक अरु केही छैन
मुटु फुटाउने उपहासबाहेक अरु केही छैन।

अझ हेरौँ,
अब मेरा उठ्न लागेका हातहरुमा विषालु सर्पहरु मात्र सलबलाउँछन्
र मलाई डस्न लिपलिप आफ्ना जिब्राहरु निकाल्छन्
तब भन्नुहोस् बल्लभ दाइ !
तपाईंकी आमाको रगतले लटपटिएको इतिहासमा तपाईं आफ्नु अनुहार हेर्नुहुन्छ
तर मैले डुबाइसकेको इतिहासमा म मेरो रगत चिन्न सक्दिनँ
अनि जब म मेरो इतिहास खोज्छु
मेरो आँखामा म प्रकाशहीन हुन्छु
मेरा दाँतहरु फुक्लन्छन्
मेरा हातहरु काटिन्छन्
र मेरा डुँडे हात आकाशमा कीला भएर ठोकिइन्छन्
र म बाट निष्कासित मेरै कथा झुण्ड्याइन्छन्।
छोटकरीमा बल्लभ दाइ ! तपाईंभन्दा म धेरै अभागी कविताको रचनागर्भ वा निष्पादन प्रक्रियालाई यसरी चरणगत रूपमा बुझौँ,
- मेरी माले आत्महत्या गरेको देश कविताको पठन
- साझीकरण
- स्वपीडासँग त्यसको दजाईँ
- सम्प्रभुताहरणको पीडा महापीडा हो भन्ने निस्कर्षँण
बल्लभ दाइ ! तपाईंभन्दा म धेरै अभागी लामा आयामको गद्य कविता हो । लामा कविताको तात्पर्य औसत कविताहरूको लम्बाइभन्दा लामो हुनु हो । यो कविता मोठ १२१ वटा पङ्क्ति र ७ वटा भागमा संरचित छन् । भागहरू लामा-छोटा वा अनेकरूपी छन् । यस कवितालाई भाग वा खण्डहरूमा विभाजन गर्नुको पछाडि कुनै ठोस आधार देखिँदैन । मेरी आमाले आत्महत्या गरेको देश पनि लामा आयामको कविता हो । यो कविता त झन लगभग ६०० पङ्क्ति, अनेकन पङ्क्तिपुञ्ज र ४ वटा भागमा संरचित भीमकाय आकरको कविता हो।
विवेच्य दुवैवटा कविता नै विभत्स रस प्रधान कविता हो । आत्महत्या, रगत, खुकुरी, विषालु सर्पहरू, रगतका राता प्याला, तिरस्कार, मृत्यु आदि शब्दहरू दुइवटै कवितामा पटक पटक प्रयोग भएर प्रतीककै श्रेणीमा रूढ हुनपुगेका देखिन्छन् । अझ आमाको आत्महत्या कवितामा त आत्महत्या-रगत आदि शब्दहरू असङ्ख्य पटक दोहोरिएको छ । याद राख्नपर्ने कुरा चाहिँ के छ भने यस्ता पुनरावृतिहरूले कवितामा अधिकपदता-कथितपदताजस्ता काव्य दोषहरू सिर्जन गर्नको साटो अनौठो लयात्मकता सिर्जना गरेको छ । गद्य कवितामा अन्तर्लय उत्पादनको एउटा कारक पुनरावृत्ति (घटना, शब्द, बिम्ब, मिथक, पङ्क्तिजन्य पुनरावृत्ति) पनि हो, यसको सबल उदाहरण हो मेरी आमाले आत्महत्या गरेको देश ।
आमाले आत्महत्या गरेको देश कवितामा युनानी मिथकहरूको लछेप्रै प्रयोग छ । बल्लभ दाइ ! तपाईभन्दा म धेरै अभागी कवितामा पनि एकाधिक युनानी मिथकहरूको सन्दर्भानाकूल प्रयोग छ । प्रथम पुरूष दृष्टिबिन्दु, एकालापपीय अन्तर्सम्वादात्मक शैली, व्यङ्ग्यात्मकता, अनुप्रासीय सङ्गीतात्मकता, आख्यानात्मक संरचना, द्वन्द्वको बाक्लो बुनोट आदि विवेच्य कविताहरूका साझा विशेषता हुन् ।
रहलपहल सान्दर्भिकता केही पनि भनिराखौँ,
- बल्लभ दाइ ! तपाईँभन्दा म धेरै अभागी कविता मेरी आमाले आत्महत्या गरेको देश कविताको प्रतिस्पर्धी कविता होइनन् । एकार्काका पीडामा एकाकार हुने मानवसुलभ प्रवृत्ति अनि कविताबाट चिन्मयता प्राप्त गर्ने वृत्तिका सुन्दर फल हुन् ।
- विरोध, विद्रोह र क्रान्ति एकार्काका सम्पूरक भए तापनि नानाविद्य कारणहरूले विवेच्य दुइवटा कविता नै विरोध-विद्रोहसम्म सीमित छन् ।
- मेरी आमाले आत्महत्या गरेको देश आयामेली कविता हो । यसमा वस्तुको स्वतन्त्र अस्तित्वलाई जस्ताको तस्तै हेर्ने उद्यम छ । यसमा आमाको आत्मत्यालाई प्राज्ञवास्थाबाट बोधन गर्ने प्रयत्न छ । बल्लभ दाइ ! तपाईभन्दा म धेरै अभागी कविता चाहिँ सिक्किमले सम्प्रभुता गुमाउनुको अन्तर्पीडाको सचेतन उच्छवास हुन् ।
- प्रस्तुत दुइवटा कविता नै आआफ्ना कवितात्मक मौलिकताको कूलो निखन्ने समर्थ र सशक्त कविता हुन् । राष्ट्रिय सञ्चेतनाले सरोवर कविता हुन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 जेठ, 2077

लेखकका अन्य रचनाहरु