भारतका लक्ष्मीप्रसाद देवकोटा – कवि छविलाल उपाध्याय

- नवीन पौड्याल

भारतमा पनि एकजना कविछन् लक्ष्मीप्रसाद देवकोटा झैं प्रतिभावान, कवितामा नै रमाउने, कवितालाई नै जीवनको लक्ष्य बनाएका, कवितामा डुबेका। उनी हुन असमका ढेकियाजुलीका कवि छविलाल उपाध्याय खतिवडा। भारतमा नेपाली शास्त्रीय कविताको श्रीवृद्धिमा उनको पनि वशिष्ट योगदान रहेको छ। उनको जन्म असमको शोणितपुरको विश्वनाथ घाट भन्ने ठाउँमा ३ नोभेम्बर, १९४६ मा भएको हो। उनी रङ्गगाडा हाइस्कुलबाट सन् १९९५ मा सेवानिवृत्त भएर हालमा ढेकियाजुलीमा आफ्नो स्वतञ्त्र लेखनमा एकनिष्ठ भएर रहेका छन्। उनले आफ्नो घरको नामसमेत कविनिकेतन राखेका छन्। हालसम्म उनका कविता, निबन्ध र समालोचना गरी जम्मा २६ वटा जति पुस्तक प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूको सूचि र विवरण यस प्रकारको छ -
सङ्ख्या--पुस्तकको नाम--प्रकाशन वर्ष---विधा--पुस्तकको प्रकार---प्रकाशक--मन्तव्य

१. लीलबहादुर क्षत्री तथा उनको ब्रह्मापुत्रका छेउछाउ १९९० समालोचना मौलिक हरिप्रसाद पौडेल
२. पवनदूत १९९० खण्डकाव्य मौलिक हरिप्रासद पौडेल
३. अस्तित्वबोध १९९१ खण्डकाव्य मौलिक हिरालता शर्मा
४. चन्द्रगुप्त १९९२ नाटक अनूदित देवराज उपाध्याय जयशङ्कर प्रसादको मूल हिन्दीबाट
५. कामरूपा १९९५ काव्य मौलिक देवराज उपाध्याय
६. छवि कविता सङ्ग्रह २००० कवितासङ्ग्रह मौलिक गोपाल अत्रि
७. शाकुन्तल महाकाव्य एक दृष्टि २००१ समालोचना मौलिक निर्माण प्रकाशन, नाम्ची, सिक्किम
८. देवकोटा २००२ महाकाव्य मौलिक देवराज उपाध्याय जीवनीपरक
९. स्कन्दगुप्त २००३ नाटक अनूदित देवराज उपाध्याय जयशङ्कर प्रसादको मूल हिन्दीबाट
१०. मिरीकन्या २००५ उपन्यास अनूदित स्वयम् रजनीकान्त बरदलैको णूल असमीयबाट
११. देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन २००५ समालोचना मौलिक विष्णुमाया उपाध्याय
१२. कवि र कविता २००८ कवितासङ्ग्रह मौलिक गोपाल उपाध्याय
१३. कीर्तनघोषा २००८ कविता अनूदित श्रीमन्त शङ्कर सचेतन मञ्च, असम संयुक्त रूपमा अनुवाद
१४. मृत्युञ्जय २००९ उपन्यास अनूदित स्वयम् वीरेन्द्रकुमार भट्टाचार्यको मूल असमीयबाट
१५. गुरूपुत्र २०११ बालउपन्यास अनूदित स्वयम् डा भृगुमोहन गोस्वामीको मूल असमीयबाट
१६. कल्पनामाधुरी २०११ कवितासङ्ग्रह मौलिक स्वयम्
१७. छन्द र अलङ्कार २०११ लक्षण ग्रन्थ मौलिक गोपाल खतिवडा
१८. उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधि एक दृष्टि २०१२ समीक्षा- सर्वेक्षण मौलिक देवराज-गोपाल खतिवडा
१९. समीक्षात्मक निबन्धहरू २०१२ समालोचना मौलिक गोपाल खतिवडा
२० निबन्धावली २०१३ निबन्धसङ्ग्रह मौलिक देवराज-गोपाल खतिवडा
२१. लौहित्य २०१४ काव्य मौलिक देवराज-गोपाल खतिवडा
२२. सम्झनाका लहरहरू २०१४ निबन्ध मौलिक देवराज-गोपाल खतिवडा
२३. भूमिकै भूमिका २०१५ भूमिका-समालोचना मौलिक स्वयम्
२४ औडाहामा बाँचेको जीवन २०१६ कथासङ्रग्रह मौलिक विष्णुमाया उपाध्याय
२५ काव्यसेतु २०१७ कवितासङ्र्ग्रह मौलिक देवराज-गोपाल खतिवडा
२६. उषा अनिरूद्ध २०१८ महाकाव्य मौलिक देवराज-गोपाल खतिवडा
यसरी हेर्दा उनलाई कवि, समालोचक, निबन्धकार, कथाकारका रूपमा देखिए तापि उनी मूलतः कवि नै हुन्। पुस्तक सूची हेर्दा उनका मौलिक कृतिहरूमा कविता विधाको नै आधिक्य देखिन्छ। उनको मूल साधनाको साध्य कविता र काव्य नै देखिन्छ। यसमा पनि चारवटा कवितासङ्ग्रह, दुईवटा महाकाव्य, तीनवटा खण्डकाव्य प्रकाशित छन्। उनी लक्ष्मीप्रसाद देवकोटाबाट पनि निकै प्रभावित देखिन्छन्। उनले देवकोटाको जीवनी र काव्यसाधनामाथि आधारित एउटा सिङ्गै महाकाव्य देवकोटा लेखेका छन्, देवकोटाका मुनामदन खण्डकाव्य र शाकुन्तल महाकाव्यलाई लिएर एकेकवटा समालोचनात्मक पुस्तक लेखेका छन्। दिनरात अध्ययन र लेखनमा डुबेका उपाध्यायले आफ्नो कमाइको सबै अङ्श पुस्तक प्रकाशनमा लगाएको छन्। यसका साथै आफ्ना दुई छोराहरूले पनि प्रकाशित गरिदिएका छन्। यस्ता साहित्य साधकले हालसम्म सानातिना पुरस्कारमा नै चित्त बुझाउनु परेको देखिन्छ। चन्द्रगुप्त नाटकका निम्ति उनले साहित्य अकादमीको अनुवाद पुरस्कारका साथै कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार पाएका छन् भने असम, महाकवि देवकोटा शताव्दी सम्मान-काठमाडौं, मदन स्मारक सम्मान-वाराणसी, निर्माण प्रकाशन सम्मान आदिद्वारा अभिनन्दित-सम्मानित भएका छन्। उनले असम सरकारद्वारा प्रदान गरिने आजीवन साहित्यिक भत्ता पाइरहेका छन्। यसै वर्षको कालेबुङको नेपाली साहित्य अध्ययन समितिले यसै वर्षको पारसमणि प्रधान पुरस्कार दिएको छ, जो स्तुत्य छ। अझै उनको योगदानको समुचित कदर भएको छैन। उनका काव्यहरूको यथोचित समालोचना-समीक्षा भएको छैन, हाम्रोतिरको नेपाली पाठ्यक्रममा उनको काव्य रहेको छैन। उनका काव्य-कविताको गम्भीर पाठक प्रशस्त छैनन्। उनलाई आम नेपाली समाजले चिन्दैन, युवा पुस्ताले बुझ्दैनन्, साहित्यको विद्यार्थीले चिन्दैनन्।
कवि छविलाल उपाध्याय मूलतः शास्त्रीय धाराका कवि हुन्। उनका कवितामा शास्त्रीय छन्दप्रयोगका साथै शास्त्रीय चिन्तन, अध्ययन र पौल पाइन्छ। उऩी सजिलैसँग छन्दमा कविता लेख्न सक्छन्, छन्दमा नै आफ्ना भावलाई व्यक्त गर्न सक्छन्। उनका निम्ति छन्द साधन हो तर बाधक होइन। उनले आफ्ना सहजानुभूतिलाई छन्दमा नै पाठकसमक्ष अभिव्यक्त गरेर काव्यानन्द दिन्छन्। छन्दको पालन मात्र नगरेर उनका कवितामा भावको सघनता, अर्थगत गम्भीरता, आधुनिक विचारधारा र युगीन चेतना पाइन्छन्। यसका साथै उनका कवितामा इतिहास चेतना, जातीय उत्थानका चिन्तन, समाज अध्ययन, आदर्शको परिपालन, कवि-प्रतिभाको गुणगान, प्राकृतिक सौन्दर्य वर्णन जस्ता विषयवस्तु पाइन्छन्। उनले पूर्वीय काव्य परम्परालाई जोगाइराखेका छन्, काव्यको भव्य गरिमालाई पालन गरिरहेछन्। हुनता भारतमा छन्दमा कविता लेख्ने आजकाकविहरूमा उनीबाहेक विदयापति दाहाल, डा. खेमराज नेपाल, कपिलमनि अधिकारी, प्रकाश भट्टराई, टार्जन भट्टराई, भवानी घिमिरे आदि पनि सक्रिय देखिन्छन्। कवि उपाध्यायले कवितालाई आफ्ना स्वान्तः सुखायःका निम्ति हो भन्ने कथन व्यक्त गरे तापनि उनका कवितामा नीति, ज्ञान, उपदेश, देश–जाति-भाषा प्रेमको सन्देश, आर्य-भारतीय-असमीय-गोर्खाली सभ्यता, संस्कृतिका उत्थान-उन्नयनका पक्षधर र चिन्तक देखिन्छन्। यस २०२० को अप्रेल महिनामा उनको जीवनकालभरिको कविता र साहित्यकै सेवा र साधनाको कदर गर्दै असम नेपाली साहित्य सभाले उनको अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने जमर्को गरेको खबर छ, जो प्रतिभाको परिचानको निम्ति स्तुत्य कदम हो।। अहिले पचासी वर्षको उमेरमा पनि उनी कविता र साहित्यमा लागिपरेका, साधना र साहित्यिक चर्या गरिरहेका छन्। उनको सुस्वस्थ्य र दीर्घायुको कामना गरौं।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 जेठ, 2077

लेखकका अन्य रचनाहरु