फुल र काँडाका लस्कर जस्तै छायाँको लस्कर

- पुण्य खरेल

आदरणीय केआर खम्बूको अत्यन्त पठनीय पुस्तक ‘छायाँको लस्कर’ आद्योपान्त पढें । मैले त यसलाई ‘काँडा र फूलहरुको लस्कर’ नाम दिएँ । आख्यानहरु, साहित्यिक सृजनाहरु त्यति नै रसिला र पठनीय हुन्छन् जति ती द्वन्द्वपूर्ण हुन्छन् । वास्तवमा यो कृति खम्बूसरको आत्मवृत्तान्त नै हो र उहाँको जीवन कति द्वन्द्वपूर्ण रहेछ भन्ने कुरा हामी यसबाट बुझ्दछौं ।
यो पुस्तक यसै पनि नेपालको कम्निस्ट आन्दोलनको अप्रत्यक्ष एउटा ऐतिहासिक दस्तावेज बनेको छ । राजनीति र अध्ययन अध्यापन जस्ता दुई विशाल पाटालाई खम्बूज्यूले कसरी मिलाएर आफ्नो जीवनको यो अवस्थासम्म ल्याउन सफल बन्नुभयो भन्ने अपार प्रमाण पनि हो । कसैले पनि अनुमान गर्न सक्तैन कि त्यस्तो द्वन्द्वपूर्ण अवस्थामा मान्छे कि राजनीतितिर पूर्ण रुपमा हुत्तिँदैन, या राजनीति चटक्क छोडेर अध्ययनतिर समर्पित हुँदैन भनेर । दुबैतिर सन्तुलित मिलाएर चल्नु अनि फेरि अध्ययनमा पनि सफलता हासिल गर्नु उता राजनीतिमा पनि उत्तिकै इमान्साथ टिकीरहनु ।
विद्यालयको विद्यार्थी हुँदादेखि झापाली राजनीतिजस्तो हाँकपूर्ण राजनीतिको कार्यकर्ता पनि बन्दै, गान्धीवादी बाबुको छोरो कट्टर कम्युनिस्ट राजनीति गर्दै पढाइमा अब्बल हुँदै खुकुरीको धारमा जीवन अगाडि बढाउनु कति ठुलो कुरा हो ? यात्रामा कस्ताकस्ता लुच्चा आइपर्छन् ? जुजुराम जस्ता, सुवोध जस्ता ! यस्ता लुच्चा, गुण्डाहरुबाट पनि जीवनलाई ठेस लागेपछि बुद्धि बढ्छ भन्ने कुरा जस्तै अनुभवसमृद्ध बनाउँदै महत्त्वपूर्ण कुरा हो ।
यो ‘छायाँको लस्कर’ले मलाई नेपालको एउटा महान सपुतको पहिचान गरायो । मोरङ कलेज पढ्दाका दिनहरु, विद्यार्थी आन्दोलनका कारण प्रवेश परीक्षाको विरोध गर्दा सेमेस्टर नै पछाएको कुरा, विद्यार्थी राजनीतिमा सधैं प्रमुख भूमिका निर्वाह गर्ने तर आफू पदको महत्त्वाकाक्षी नबन्ने कुरा म त सारै प्रभावित भएँ ।
पढेर डिग्री सकेर पनि क्याम्पसमा प्राध्यापनको जीवन सुरु गरेर पनि खम्बूज्यूको जीवन अहो ! हात्तीसार क्याम्पसमा क्याम्पस प्रमुख जगत केसी जो विद्यार्थी जीवनमा प्रगतिशील विद्यार्थीका अगुवा थिए उनले उहाँको म्याद नथप्दाको अवस्था, अनि काठमाडौं डिन सरस्वतीप्रसाद रिमालसँगका सवाल–जवाफ, टेवल ठटाउँदै कराउनुपर्ने अवस्था अनि फेरि वीरगञ्जका लागि अर्को पत्र आदि सधैं हाँकपूर्ण जीवन । प्रगतिशील भनिएको त्यो जगत केसीको व्यवहार र मण्डले भनिएको मोहनप्रसाद लाखेको व्यवहारबाट “वामपन्थी विग्रिएपछि कुहिएको अण्डाजस्तै गनाउँछ भन्थे हो रहेछ । खुङ्खार भनिएका दुई क्याम्पस प्रमुखलाई मनमनै दाँजें” (पृष्ठ ३२२) भोग्नुभयो ।
पछि घरपायक मेची बहुमुखी क्याम्पस आएर पनि एक वर्षपछि नेकाको सरकारको ‘प्रजातन्त्र’ बेहोर्दै वीरगञ्ज नै पठाउन लाग्दा कीर्तिपुर गई थमौती पत्र ल्याएर आउनु परेको कुरा पढ्दा खम्बूज्यूका पाइलाहरुका अनेकन काँडाहरुको पहिचान मिल्छ । उहाँले निर्वाचनमा देखेको दृश्यको कुरा अलिकति यहाँ उद्धृत गरुँ– “म नागेन्द्र चौधरीलाई सघाउन उनकै गाउँ गएर बसें । त्यस क्षेत्रमा कांग्रेसबाट जमिनदार रामचन्द्र कुशवाह उठेका थिए । कांग्रेसको दाँजोमा नागेन्द्र प्रचारप्रसारमा अगाडि थिए । तर, भोट खसाल्ने दिन फिल्मी शैलीमा चारवटा मतदान केन्द्र कांग्रेसले कब्जा गर्यो । आँखै अगाडि एउटैले मतपत्र मतपेटिकामा हालेको देखें । सक्तो बिरोध जनाएँ तर कसैले पत्याएनन्” (पृष्ठ ३३९)
तर योगेन्द्र थापा जस्ता विद्यार्थीसँगको भेटको चर्चा, पछिबाट बिभिन्न विद्यार्थी तथा साथीसङ्गती सँगको भेटको चर्चा गर्दा अत्यन्तै रोमाञ्चक भएको चर्चा पनि पढ्न पाइन्छ । मलाई फेवा तालमा आफै नाउ ख्याउँदाख्याउँदै पार्दी बाँधको मुखमा आइपुगेपछि झन्नै घटेको त्यो डरलाग्दो घटनाबाट बचेकोमा खुसी लाग्यो । जति नै खुसी लागेपनि खम्बूसरका आँखा जसरी गुमे मलाई यस्तो बिस्मत भयो नि ? मलाई मेरा आँखा देखेर पनि कुनै सार्थकता छैन जतिकै वोध भयो । त्यस्तो देशकै एउटा क्षेत्रमा विख्यात हुनसक्ने व्यक्ति फेरि पोस्ट डक्टरेट गर्न जान पाउनुभएन । देशले एउटा गतिलो विद्वानका आँखा गुमेको कारण यतिमै ठगिनु पर्यो ।
जेहोस् । यस कृतिले आदरणीय खम्बूसरको व्यक्तित्व उजागर गरेको छ । शुभलक्ष्मी ज्यूको योगदानको पनि संक्षिप्त जानकारी आएको छ । अब कशिमु र विश्वहाङ सिंहको सुन्न बाँकी छ ।
म यो कृति पढेर ज्यादै सन्तुष्ट भएँ । लेखाइ पूर्ण रुपमा विज्ञानको विद्यार्थीको होइन, नेपाली साहित्यको विद्यार्थीकै जस्तो राम्रो, उहाँ पहिले देखिनै कविता लेख्ने, साहित्यमा अभिरुचि राख्ने, गाउने बजाउने कुरा त आएको पनि छ ती कुराको सबुदको रुपमा यो कृति छ । राम्रो एउटा दस्तावेजीय कृतिका लागि खम्बूसरमा फेरि हार्दिक बधाइ !

बिर्तामोड, झापा (नेपाल)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 जेठ, 2077

लेखकका अन्य रचनाहरु