प्रतिशत

- राजु “हिमांशु”

कम्प्युटर बिग्रिएको जस्तो छ। शिकायतपत्र प्रशासन अनुभागलाई दिइयो । कम्प्युटर प्राविधिज्ञलाई बोलाइयो । उनी आएर हार्ड डिस्क फेर्नुपर्छ भनेर गयो । त्यसै गरियो। तर कम्प्युटर ठीक भएन । फरम्याट गरेर महत्त्वपूर्ण फाइलहरू सबै डिलिट गरिदियो उसले । फाइलहरू पुन: नयाँ गरी खोल्नुप-यो । कर्मीहरूलाई दु:ख भयो । तर कम्प्युटर ठीक भएन । प्राविधिज्ञले भाइरस पसेर त्यस्तो भएको छ भनेकोले एन्टी भाइरस सॉफ्टवेरलाई अपडेट पनि गरियो। तर पनि ठीक भएन कम्प्युटर ।
मैले भनें –“एकपल्ट मनीटरलाई पनि चेक गर। अर्को मनीटर लगाएर हेर।”
प्राविधिज्ञले भन्यो-“मनीटर ठीक छ।”
भोलिपल्ट फेरि प्राविधिज्ञ आयो र कम्प्युटर बनाउन थाल्यो। अर्को मनीटर जोड़ेर
हे-यो।कम्प्युटर खोलियो। मनीटर खराब भएको बुझियो ।
त्यसपछि उसले मलाई सोध्यो-“मेरो चेक रेडी भयो सर ?” उसले यसअघि गरिएको मरम्मतीको बिल जमा गरेको थियो । त्यसैको चेकबारे उसले सोधेको थियो।
मैले भनिदिएँ-“क्यासियरलाई सोध्नुपर्छ।”
त्यसपछि गयो ऊ । म पनि आफ्नो कामले उसको पछि पछि तल्लो तलातिर गएँ।
प्रशासन अनुभागमा केयरटेकरलाई उसले भन्दै थियो –“मनीटर खराब भएको थिएछ । अर्को लगाइदिएँ । कम्प्युटर ठीक भयो । भोलि पुरानो मनीटर लान्छु । मेरो अन्य सबै बिलको चेक तयार पारिदिनुहोला।”
मैले बीचमा प्याच्चै भनिदिएँ—“यो पीसी पुरानो भयो। एन्टी भाइरस पनि निकालिदिएको छ फेरि । फरम्याट गर्दा पेन ड्राइभबाट भाइरस पसेको हुनुसक्छ । कारण अनलाइन काम हुन्छ । पेन ड्राइभहरू थरी थरीका प्रयोग गरिन्छन्। भाइरस पनि पस्न सक्छ । नयाँ पीसीमा एन्टी भाइरस लगाएर दिनुपर्छ। ”
उसले केयरटेकरलाई सोध्यो—“यसै पीसीमा एन्टी भाइरस फेरि लगाइदिनु ?”
केयरटेकरले भन्यो-“लगाइदेऊ।”
“अस्ति त मनीटर ठीक छ भन्दै थियौ त। तर आज ठीक छैन रहेछ भनी अर्को मनीटर लगाएर कम्प्युटर ठीक भयो भन्यौ । मनीटर खराब रहेछ। तर नयाँ हार्ड डिस्क लगाइयो । फरम्याट गरियो। भएको एन्टी भाइरस पनि निकालियो । यस्तो गर्नु किन प-यो ?मैले त मनीटर एकपल्ट चेक गर भनेकै थिएँ । हावामा यत्रो खर्च भयो। ” मैले भनेँ। केयरटेकर र कम्प्युटर प्राविधिज्ञले एकअर्कालाई हेराहेर गरे।
केही दिनपछि नयाँ हार्ड डिस्क लगाएको,फरम्याट गरेको,एन्टी भाइरस अपडेट गरेको इत्यादि कामसम्बन्धी बिल मेरोमा आयो। चेक अनुमोदन गर्न अघि एकपल्ट सोचेँ र नयाँ पीसी किन्नुपर्ने टिप्पणी प्रशासन अनुभागलाई दिएँ ।

शनिबार कार्यालय बन्द हुन्छ । छुट्टीको दिन हो शनिबार । दिनभरि थुप्रिएका लुगाहरु धोएर सुकाएँ । बिलुकी पख थकान मेट्नलाई बारभित्र पसेर ह्विस्की पिउदै थिएँ । केही क्षणपछि केयरटेकर र कम्प्युटर प्राविधिज्ञ पनि बारभित्र पसे र उनीहरू म बसेको ठाउँदेखि पछिल्लो टेबलमा गएर बसे । उनीहरुले पनि ह्विस्की मगाए । केही क्षणमा ह्विस्की आइपुग्यो र उनीहरू पनि पिउन थाले । उनीहरू बोलेका कुरा मेरो कानमा परिरहेको थियो । उनीहरुको आवाज मात लागेर चर्को हुँदै गयो। अहिले उनीहरुले बोलेका कुरा स्पष्ट बुझिन्थ्यो ।उनीहरुले मलाई त्यहाँ देखेका थिएनन्।
केयरटेकरले भन्दै थियो –“अर्को पालि पनि सानो खराबीलाई ,समस्यालाई तुरुन्तै ठीक नपार्नू। राम्ररी जाँच्ने र हेर्ने अभिनय गर्नू । सानो चीज खराब छ भने त्यसलाई ठीक नपारी हाल्नू । अरू नै खराबी देखाएर त्यसलाई परिवर्तन गराउनू र रकमले चाहेको सीमा ननागेसम्म त्यो खराबी तुरन्त ठीक नपार्नू । त्यसपछि बिल जमा गर्नू । तर मेरो कमिसन चाहिँ पहिला पाउनुपर्छ । तिमीलाई काम दिलाउन म सदा तयार छु ।तिमीलाई बिलको रकममा मेरो पर्सेन्टेज त थाहै छ।” यसरी भ्रष्टाचारी योजना केयरटेकरको मुखबाट निस्किरहेको थियो ।
" हुन्छ। त्यसै गर्दैछु । तर मेरो चेक चाहिँ छिट्टै छोड़िदिनुहोला। त्यसको कोटेसन पनि सबै ठीक पारेको छु।" कम्प्युटर प्राविधिज्ञ बोल्यो । म यिनीहरूका कुरा सुनेर छक्क परेको थिएँ ।
सरकारी रुपियाँ यसरी पनि लुट्न सकिन्छ भन्ने दृष्टान्त यी दुवैको बातचीतबाट स्पष्ट भइरहेको थियो । ह्विस्कीले मातेर उनीहरू ठूलो आवाजमा कुरा गर्दै ,हाँस्दै ,ह्विस्कीसित अन्य स्न्याक्स खाँदै थिए । म भने चुपचाप अन्तिम पेग पिएर बिल तिरी त्यहाँबाट बाहिरिएँ ।
यस्तो भ्रष्टाचारयुक्त परिवेशबाट पो बाहिरिन सक्छु के त? पानमौरीको चपाइसितै उन्मुक्तिने सोचाइ पनि पिसिदै जाँदैथ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 जेठ, 2077

लेखकका अन्य रचनाहरु