‘पोहोर साल खुशी फाट्दा’ गीतको संरचनात्मक अध्ययन

- नवीन पौड्याल

१. आमुख-
गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। गीतमा विरह भाव सबैभन्दा प्रभावकारी मानिन्छ। मान्छेभित्रको पीर वेदना, पीडा, संवेदनालाई गीतले सबैभन्दा बढी अभिव्यक्ति दिन सक्छ। हिन्दीका एक कवि सुमित्रानन्दन पन्तको प्रसिद्ध पंक्ति छन्-
वियोगी होगा पहला कवि
आह से उपजा होगा गान
निकलकर आँखों से चुपचाप
बही होगी कविता अनजान
मनको औडाहालाई व्यक्त गर्न गीत सबैभन्दा सशक्त माध्यम हो। आफ्ना प्रियजनको विछोड़को पीडाबाट धेरै कविका अमर काव्यको सिर्जना भएको इतिहास पाइन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, संगीतात्मकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार, संवेग, कल्पना, जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, संक्षिप्तता, भावुकता, वैयक्तिकता, आत्मपरकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टी गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा भाव वा विचार , उद्देश्य, भाषा र शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।
२. विषय प्रवेश-
नेपाली सांगीतिक जगतमा अरूणा लामा एउटा अजर अमर नाम हो। उनको जन्म सन् १९४५ मा घुम पहाड दार्जिलिङमा भएको थियो। उनको बाबुको नाम सूर्यबहादुर लामा र आमाको नाम सनमाया लामा थियो। उनी स्नातकसम्म अध्यययन गरी दार्जिलिङको ट्राइबल अफिसमा कार्यरत थिइन। एघार वर्षको उमेरदेखि नै गाउने गर्थिन्। सन् १९६३ मा आफ्ना सङ्गीतकार प्रेमी शरण प्रधानसित उनको बिहा भएको थियो। शरण प्रधानको सङ्गीतमा अरूणा लामाका गीत चम्केका थिए। यद्यपि बिहा गरेको एघार वर्षमा सन् १९७४ मा शरण प्रधानको निधन भयो। यस निधनले अरूणा लामाको जीवनमा ठुलो उतार-चडाउ आयो। त्यसपछि उनको गायन नै विरह-व्यथालाई पोख्ने माध्यम बन्यो। उनको स्वर नै विरह र पीडालाई सठिक रूपमा समेट्न सक्ने उत्कृष्ट मानिन्छ। केही गीतकारहरूले लेखेका विरह भावका धेरै गीतहरू आफ्नो पतिको निधनपछि गाएकी हुन्। अम्बर गुरूङ, गोपाल योञ्जन, विश्व वल्लभ, राजेन्द्र थापा, नरेन्द्रराज प्रसाइँ, गणेश रत्न, नरेन्द्रराज प्रसाइँ आदिले लेखेका गीतहरू अरूणा लामाको आफ्नो पतिपीडाको वियोगलाई सठिक सम्बोधन गरेका छन्। यसै क्रममा “पोहोर साल खुशी फाट्दा’, ‘भाग्यले खुशी फाटेर लग्यो’ (शब्द विश्व वल्लभ), ‘कैले काँही मलाई तिम्रो याद आउँछ’ (शब्द- नरेन्द्रराज प्रसाइँ), ‘एक्लै बस्दा सधैं मलाई’, ‘भेट्नु र छुट्नु के हो र?’, ‘उदास मेरो जीवनकथा’, ‘विरहले रोएको रातमा’ (नरेन्द्रराज प्रसाइँ), ‘चौतारीमा बसेर रून पाउँ’ (शब्द- गणेश रत्न), ‘हाँसी हाँसी जलिरहेछु’ (शब्द नरेन्द्रराज प्रसाइँ)। ‘पोहोर साल खुशी फाट्दा” राजेन्द्र थापाद्वारा लिखित अम्बर गुरूङको संगीतमा सन सत्तरको दशकमा लोकप्रिय गीत नेपाली जनमनमा छाएको थियो। नेपाली सङ्गीत क्षेत्रमा एउटा सबैभन्दा उक्कृष्ट गीतका रूपमा यसलाई पनि मान्न सकिन्छ। अरूणा लामाको स्वरमा रहेको गीत अजर अमर बनेको छ। बालवृद्ध सबैका निम्ति मनले छुने यस गीतको शब्दको अर्थ कोमलता र संवेदना शक्ति बेजोडको छ।
३. रचनाकार राजेन्द्र थापा- नेपाली सांगीतिक क्षेत्रमा केही गीतकारहरूको स्थान अति उल्लेखनीय रहेको छ । तीमध्ये राजेन्द्र थापाको नाम विशिष्ट रहेको छ। उनले धेरै मात्रामा गीत लेखेको छन् औ जति लेखेका छन् ती गुणात्मक र गीतमा हुनुपर्ने सबै गुणले युक्त छन्। पर लैजाउ फूलहरू, पोहोर साल खुशी फाट्दा जस्ता भावगम्भीर गीतहरूको रचना गरेका छन्। उनका गीतहरू प्रेमधोज प्रधान, नारायण गोपाल, अरूणा लामादेखि लिएर हालसम्मका युवा गायकहरूले पनि गाइरहेका छन्। उनी आफु कलेज पढ्दादेखि गीत लेखनमा लोकप्रिय भइसकेका थिए। साठीको दशकमा उनी प्रसिद्ध भइसकेका थिए। उनी अहिले पनि नाली चलचित्र र मुक्त रूपमा गीत लेखिरहेका छन्। गीतमा उनले विभिन्न विषयलाई लिएर गीत रचना गरेका छन्। मानिसको पीडा विरह भावलाई उनले राम्ररी अभिव्यक्त गरेका छन्।
४. मूल गीत- गीतकारले मूलमा लेखेको गीत भने गाइएको गीतभन्दा लामो छ । यसमा स्थायी र अन्तरा गरी जम्मा पाँचवटा पद र उन्नाइस पंक्ति रहेको छ। यो गीत जम्मा तीन खेपको अलग अलग समय र स्थानमा बसेर लेखिएको हो भनेर गीतले एक अन्तर्वार्तामा भनेका छन्। उनले लेखेको मूल गीत यस्तो छ-
पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो?

आँसु झारी कोही रून्छन् बेदनालाई धोएँ भन्छन्
धुँदाधुँदै मन फाटी आँखाभरि रोएँ भन्छन्
आँखाभरि रोएँ भन्छन् मुटपभरि रोएँ भन्छन्
आँखा फाटे सिउँथें बरू तर मन सिउने केले हो
(यो अन्तरा गीतमा असमावेश)

सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो?
भावीले निधारमा कर्म लेखिदिने मसी के हो?
कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ?
कर्म फाटे जोँड्थे बरू मन जोड्ने केले हो?
(गीतमा यो तेस्रो अन्तरालाई दोस्रो अन्तरामा राखिएको छ)

सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस्
तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्।
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगाना छैन।
भाग्य फाटे जोड्थेँ बरू तर मन सिउने केले हो?
(गीतमा यो तेस्रो अन्तरलाई पहिलो अन्तरामा राखिएको छ)

लुछिएको थिचिएको थिलो थिलो मान्छे म है
रगतपच्छे भई भई बाँच्न खोज्ने कस्तो म है
निष्काषित जीवनलाई शिकायतको हकै हुन्न
जीवन फाटे सिउँथें बरू तर मन सिउँने केले हो
(यो अन्तरा गीतमा असमावेश)

५. गायनमा उतारिएको गीत- गायनमा सुबिधाका निम्ति मूल गीतका दुइ अन्तरालाई हटाएर अनि पहिलोलाई दोस्रो अनि दोस्रोलाई पहिलो अन्तरा बनाइएको छ। यसमा एक अन्तरा र दुईवटा पद गरी जम्मा तीनवटा पद र एघारवटा पंक्ति समावेश गरिएको छ।
पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो केले सिउने? केले टाल्ने हो?

सास फेरे जस्तो लाग्छ, तर भन्छन् मरी सकिस्
तेरो भाग्य यति नै हो, भोग चलन गरी सकिस्।
सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगाना छैन।
भाग्य फाटे जोड्थेँ बरू तर मन सिउने केले हो?

सुख के हो? दुःख के हो? मनले खोज्ने खुशी के हो?
भावीले निधारमा कर्म लेखिदिने मसी के हो?
कर्म लेख्ने मसी के हो? भाग्य तोक्ने कसी के हो ?
कर्म फाटे जोँड्थे बरू मन जोड्ने केले हो?

पूर्व सन्दर्भ- गायिका अरूणा लामाको पति शरण प्रधानको निधनले उनलाई धेरै विचलित तुल्यायो। शरण प्रधान उनका आड थिए, आफैं सङ्गीतका दक्ष थिए। दुईजना मिलेर धेरै गीत संयोजन र रेकर्ड गरेका थिए। उनको निधनले उनलाई धेरै शोकित बनायो। ती दुईको दाम्पत्य जीवन दस वर्षजति मात्र रह्यो। त्यति छोटो समयमा पनि दुईजनाबाट केही गीतहरू सिर्जित भएका हुन्। त्यति बेला नै सम्भवतः राजेन्द्र थापाले अरूणा लामाकै स्थितिलाई लिएर गीत रचे- ‘पोहोर साल खुशी फाट्दा’। यस गीतको शब्दभित्रको मार्मिकता, भाव गहिराइ र तीब्र संवेदनशीलता पाइन्छ। अक्षर र शब्द संयोजन पनि अत्यन्त कुशलतासँग गरिएको छ। यसमा विछोड़को पीडाको घनीभूत संवेदना छ। पीडाको तीब्र विरह वेदना छ, करूण रसको प्रबलता पाइन्छ। यसका प्रत्येक पंक्तिमा एउटा प्रस्ताव प्रसङ्ग र त्यसको पुष्टि पाइन्छ-

पूर्व वाक्य (प्रस्तावक)--------उत्तर वाक्य (पुष्टि)--------अर्थ सापेक्ष
पोहोर साल खुशी फाट्दा---जतन गरी मनले टालें----समस्या र निवारण
त्यही साल माया फाट्यो --त्यसलाई पनि मनले टालें--समस्या र निवारण
यसपालि त मनै फाट्यो---के ले सिउँने केले टाल्ने हो?--समस्या उठान
सास फेरे जस्तो लाग्छ,--तर भन्छन् मरी सकिस्--विपर्यास (मरेतुल्य)
तेरो भाग्य यति नै हो---भोगचलन गरि सकिस्---विपत्ति (मरेतुल्य)
सलहको भाग्य मेरो---मर्ने बाँच्ने ठेगान छैन---अनिश्चितता
भाग्य फाटे जोड्थें बरू---तर मन सिउने केले हो?---समस्या उठान
सुख के हो? दुःख के हो?---मनले खोज्ने खुशी के हो?---समस्या उठान
भावीले निधारमा कर्म लेखिदिने ---मसी के हो? ---समस्या उठान
कर्म लेख्ने मसी के हो?---भाग्य तोक्ने कसी के हो ?---समस्या उठान
कर्म लेख्ने जोँड्थे बरू---मन जोड्ने केले हो?---विकट समस्याको अनिश्चितता

५. भाव -
गीतमा स्वकथन र परकथन दुवै पाइन्छ। गीतमा कथायिकाले आफ्नो पीडामय विषाद्लाई कुनै काल्पनिक श्रोतासित संवाद गरिएको छ। आफ्नो भाग्य खोसिएको जनाउन परकथनलाई पनि आधार लिइएको छ। त्यो काल्पनिक र अदृश्य समाजले आफुअघि प्रतिद्वन्दी भएर आइदिन्छ। आफु जिउँदै भएको लाग्दासमेत त्यसले “तँ त मरी सकिस्, तेरो भाग्य यति नै हो, भोगचलन गरिसकिस्” भन्छन्। यहाँको जीवनको गहिरो चिन्तन छ। उमेर जतिनै भए पनि भोग चलन गरिसकेपछि मरेतुल्य होइन्छ। सास फेर्नु मात्र जीवितता होइन। भाग्य र खुशीभन्दा मन अझ प्रबल हुन्छ। मन मर्नु भनेको मरणवृति हो। मनको बलमा जीवन बाँच्छ, मन मरे तनलाई कुनै औषधीले जाती पार्न सक्दैन। आशा, भरोसा गुमेपछि मान्छेमा चरम विरक्ति र विरह जाग्दछ।
प्रस्तुत गीतमा वर्ण, शब्द, वाक्य सबैको कुशल संयोजनले गात्मक तत्त्व सिर्जना भएको छ। गीतमा गति, विराम, भाव, वर्ण आदिबाट लयको सिर्जना भएको छ। यसमा विषयोन्मुखता विषयात्मक केन्द्रीयता पाइन्छ। यहाँ एउटै विषय रहेको छ मन फाटेको । त्यो फाटेको मनलाई सिउने कुनै साधन छैन।
६. उपसंहार -
राजेन्द्र थापाले रचेको र अम्बर गुरूङले संगीत भरेको र अरूणाले लामाले गाएको पोहोर साल खुशी फट्दा भन्ने गीत अत्यन्तै लोकप्रिय बनेको छ। मानिसको विरह व्यथा, पीडालाई यसले तीव्ररूपमा उतारिएको छ। मानिसको भाग्य, खुशी र मन फाटेको दुखद् अवस्थाको चित्रण पाइन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु