एक घुट्को मातृअमृत

- अशोक घिमिरे

भर्खरै जन्मयो एउटा शिशु अस्पतालमा
मेरो इजाजतविना........
तिमी आखिर जन्मियौ
तिमी नजन्मेको भए पनि हुन्थ्यो ।

विष मिसिएको हावामा पहिलोपटक
तिमीले लामो सास फेर्यौ
र सासले धान्नै नसक्ने गरी
चर्को स्वरमा गला नै अवरुद्ध हुने गरी
चिच्चयाई च्याँ च्याँ रोईरह्यौ
तिमी नरोएको भए पनि हुन्थ्यो ।
किनकी तिम्रो शिशु आँसु बग्ने नदी
यहा“ कतै छैन
यहा“ त विदेशी स्याल र हुइँचिलहरु रुने गर्छन्
तिम्रा वरिपरि ।

तिमीले पहिलो पटक चुसेको आमाको
दुधमा संदेह मलाई पटक्कै छैन
आखिर दुध नपिएर अस्पतालको
स्लाइनपानीमा त तिमी
रमाउन सक्तैनौ नि..............।

थाहा छैन तिमीलाई शायद
तिमीले घुट्घुट् पिएको
दुधमा विदेशी विकृत दुर्गन्ध छ
तिम्री आमा भर्खर विदेशी मरुभूमिमा
बैँश पखालेर विशुद्ध नेपाली भई
फर्केकी हुन् स्वदेशमा ।
अनि तिम्रा बाबु यो बाटुलो ग्लोबको
कुनै कुनामा हराएको हुनुपर्दछ ।
अहँ म पटक्कै देख्नसकिरहेको छैन
कहाँ हराएकोछ ऊ यो बाटुलो ग्लोबमा ।

थाह छैन शायद तिमीलाई
किन जन्माइएकी हौ तिमी ।
हुनसक्छ तिम्रा बाबु झैँ यो ग्लोवमा हराउन
या विदेशी मरुभूमिमा हलो गाड्न
अनि पसिनाको अमेजन नदी बगाउन ।

थाहा छैन शायद तिमीलाई
जन्मने त पूर्ण अधिकार छ यहाँ
तर पसिना बगाउने कुनै अधिकार छैन यहाा ।

ए चुस, खुब चुस आमाको स्तन
तिम्री आमाको स्तनबाट अब
दुध झर्ने छैन ।
बन्द बोतलको विदेशी दुध उघ्रनेछ
र वग्नेछ तिमी माथि..............
अनि तिमी पिउनेछौ घुटघुट रसायन दुध
मलाई त्यो दिन पटक्कै अवशोच हुनेछैन
जब तिमी विदेशी श्रमिकका लागि पूर्ण अयोग्य हुनेछौ ।

यसर्थ तिमी सुतेको यो रछ्यान
अस्पतालको शैया नभएर
एक मृत्यु शैया हुनेछ ।
के मृत्युलाई जितेर सगर्व
बाँच्न सक्ने दृढता छ तिमीमा
जवाफ देऊ........
म तिमीलाई पिलाउनेछु एक घुट् मातृअमृत
अनि तिमी सच्चा नेपाली हुनेछौ
सधैका लागि
अनि मर्नेछैनौ कहिल्यै पनि
के त्यो मातृअमृत तिमी पिउन चाहन्छौ ?

धरान, हालः काठमाण्डाैं

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु