दुरी बढेकै जाती

- नम्रता गुरागाईं

यो कस्तो युद्द हो
न गोला बारूद छ, न त ट्याँकर
न सैनिकहरू छन, न त फाइटर
न कसैको झ्यालढोका फोरेको छ
न कसैको गोजीको पैसा चोरेको छ
न दिउसै पसल लुटेको छ
न कसैले कसैलाइ कुटेको छ
तैपनि डरको पारो हजारौ गुँणा बढेको छ
देखिनेभन्दा नदेखिनेको त्रास भित्र कतै गढेको छ ।

सबैकुरा तयार छन दिन शुरू गर्न
आँखाहरू आतुर छन परपरसम्म हेर्न
रूमालमा मुख लुकाएरै भएपनि केही कोष हिडन मन छ
जहाँसम्म पुगिन्छ पुगियोस
आफनै भरोषाको बाटो तय गर्न मन छ
तर अदृश्य माहामारी
मान्छेसंगै बोकिएर संसार पसेको बेला
खुट्टाहरू तयार छैनन पाइला अघि सार्न ।

मान्छेले बनाएका पर्खाल त केवल मान्छेकै लागि रहेछन
उसलाइ कुनै पहाडले रोकेन,
न सिमानाले छेक्यो, न राहदानीले
न घामले छेक्यो न पानीले
न चिसोले छेक्यो, न तातोले
कहाँ उठछ कहाँ सुत्छ, मान्छेले देखेन ।

भित्र पस्दैन उ
बाहिर ढोकामा बसेको छ
उ बाहिर बसेकोले होला भित्र अनाैठो अध्यारो पसेको छ
न जातभातका कुरा सुन्यो उसले, न धन सम्पतिका
न एकलको कुरा सुन्यो उसले, न दम्पतिका
भेटेसम्मलाइ डसेको छ
घाइतेहरू जीवनको मूल्य माग्न अस्पताल पुग्दा
उसले अस्पतालमै मृत्युको मोल कसेको छ ।

ए मित्रहरु !
स्वास्थ्य सेवकहरू भन्छन
घरभित्रै बसी
हामीले भेटघाटको दुरी बढाउंदा उसले घटाउंछ रे !
बरू थोर दुरी बढेकै जाती
हामीले फेरी अनुहार देखाएर
निस्फिक्री हिडन पाउनु पर्छ
चिन्ताले पाकेका जिर्ण मनहरूमा फेरी खुशी छाउनु पर्छ ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु