सुदर्शन अम्बटेको झ्याउँकिरी र जूनकिरीको एक अध्ययन

- सुकराज दियाली

आमुखः
अम्बटे चियाकमान खरसाङ बजारको नजिक रहेतापनि नागरी फार्म, धजे चियाबारीसित सम्बन्धित छ मैत्रिकता, वैवाहिक सम्बन्ध इत्यादि।
आवत्-जावत् भइरहन्छ। सानैदेखि सुनेको,जानेको। नवौ-दशौं(सन् 1991)अध्ययनरत रहँदा पहिलो चोटि अम्बटे चियाकमानमा पाइला टेक्ने भाग्य जुऱ्यो। अम्बटेको मन्दिर र पैह्रोले अझ परिचित थियौं। पारीबाट पैह्रो हेर्थ्यौ। मन्दिर जाने आजसम्म भाग्य जुटेन। पाँचघरे मावली घर। दोस्रो चोटि हिज-अस्ति अम्बटे पुग्ने अवसर प्राप्त गरें। विकास घतानी, दिपक घिमिरे दाईसित त्यतिबेला अनुरोध गरें-दाई हिरा वाइबा जन्मिएको गाउँमा जाउन भनी। यसचोटि अम्बटेको यात्रा सार्थक भयो। त्यतिबेला सुदर्शन अम्बटे दाइलाई भेट्ने प्रयास गऱ्यौं तर उहाँ गाउँदेखि बाहिर भएकोले भेट्न सकेनौ। जुलाई महिनाको अन्तमा दाई मेरै डेरामा आइपुग्नु भएछ। असम तेजपुरका मित्रदेव शर्माको अभिनन्दन ग्रन्थ मेरो हातमा पठाइदिनु भएको थियो। उक्तदिन अभिनन्दन ग्रन्थ उहाँलाई हात पारिदिएँ, अम्बटे दाईले पनि उहाँको बालकविता सङ्ग्रह-झ्याउकिरी र जूनकिरी-उपहार दिनु भयो। पहिलो चोटि कितापको रूपमा उहाँको कृति पढ़ने भाग्य जुऱ्यो। हुन त सुनचरी-मा परसात राई अम्बटेको हास्यँव्यङ्ग खूबै चासो मानेर पढ़िन्थ्यो। व्यक्तिगतरूपमा एकदिन खरसाङमा अरूगि पुरस्कार समारोह भेट भएको थियो। त्यसरी नै सुनचरी दैनिकमा व्यङ्ग्यलेख/बालकविताहरू सुदर्शन अम्बटे पढ़िरहन्थ्यौं तर भेट भने भएको थिएन। यसरी घरमा नै भेट्न पाउँदा गद्गद् भएँ।
सुदर्शन अम्बटेः
सुदर्शन अम्बटे चियाकमानमा सन् 1960-सालको मार्च1 तारिक जन्मीएको रहेछ भन्ने जानकारी उनकै कितापबाट भयो। साहित्यिक जीवनको थालनी बारे उक्त कितापमा कहींपनि उल्लेख छैन। उनले नामको पछाड़ि जात वा थर लेखेका छैनन्। उनले आफू जन्मीएको ठाउँलाई श्रध्दा र प्रेमले आफ्नो नामसित ठाउँ जोड़ेका रहेछन्। यसले हामीलाई एउटा सुन्दर सन्देश दिएरहेका वोध भयो। अर्को आफ्नो ठाउँ-गाउँ जतिको प्यारो संसारमा नहोला। आफ्नो जन्मथलोमा हाम्रो जरा गाड़िएको हुन्छ, जरालाई भूल्दैन। आफू जन्मिएको गाउँ-ठाउँलाई आफूसित बोकेर चिनाउने साहित्यकार हुन् सुदर्शन अम्बटे। आफ्नो नामको पछाड़ि जात,थर नलेख्ने चलन पनि एउटा आन्दोलन नै हो। व्यक्तिवादी, जातिवादीको परिसीमाबाट उठेर जाति र भाषाको, साहित्यको सेवामा समर्पित रहेको बुझिन्छ। नेपालतिर यस्ता प्रथा खुबै भेटिन्छ।यतापनि विचन्द्र, खड़कसिंह काँड़ा, विरेन्द्र, वैरागी साईँला, विद्रोही साइँला, सुरज रोसरि आदि। उनको नामबाटै प्रभावित छु। यतिबेला अम्बटे सम्झीएँ। अम्बटेको झ्याउँकिरी र जूनकिरीलाई बुझ्नु छ बाल-बालिकाको मन लिएर।
अम्बटेको झ्याउँकिरी र जूनकिरीः
यी दुवै किराहरू चियाबारी र बस्तीमा हुने हो। शहरमा नानीहरूले इन्टरनेटमा मात्रै देखेका होलान्। कतिले त सुनेको पनि छैन होला ठूला-ठूला शहरमा बस्ने नानीहरूले। झ्याउँकिरी विशेष हाम्रोतिर मकै पाक्ने समयमा साँझ पाखा खूब कराउँछ। हामीलाई भित्रबाटै खुशी लाग्थ्यो झ्याउँकिरी कराउँदा, किनभने अब मकै पाक्ने रहेछ भनेर। काँचो मकै पोलेर खानुपर्ने मज्जा आउँथ्यो। जूनकिरी रातपरेपछि घरभित्र अध्यारो कुनामा फिलिक-फिलिक उज्यालो छर्दै उड़िरहेको हुन्य़्यो। हामीले समात्थ्यौं, खुब मजा लाग्थ्यो। दुवै किरा हाम्रो जीवनको विशेष बाल्य जीवनको नजीक रहेको हुनाले कितापको नाम झ्याउँकिरी र जूनकिरी राखेको होला। ती बाल कविताहरू जूनकिरी जस्तै उज्यालो छिर्ने। झ्याउँकिरी झै एकसूरमा मकै तथा अन्नबाली पाकेको संकेतमा उभिएको होला। अति सुन्दर नाम बालकविता सङ्ग्रहको झ्याउँकिरी र जूनकिरी, बधाई छ सुदर्शन अम्बटेलाई।
झ्याउँकिरी र जूनकिरी-बाल कविता परिचयः
सुदर्शन अम्बटेको पाँचौं प्रकाशित कृति बालकविता सङ्ग्रह झ्याउँकिरी र जूनकिरी। लाशा प्रकाशन खरसाङबाट सन् 2092-मा प्रकाशित यो कृतिमा बाहिरी आवरणमा खुबै सुन्दर तरिकामा रङ्गीन रङ्गमा माथिल्लोपट्टि झ्याउँकिरी र तल्लोपट्टि जूनकिरी किराको नक्सा बीचमा अस्ताउँदै गरेको घामको चन्द्राकार रहेको छ। यस कविता सङ्ग्रहमा मोठ 46-वटा कविताहरू समावेश छन्। ती 46-वटा कविताहरूलाई 6-वटा खण्डमा विभक्त गरेर प्रस्तुत गरेका छन् बालबालिकाको सुविधाको निम्ति।
बाल साहित्यमा कलम घसार्दै शीर्षकमा कवि अम्बटेले आफ्नो कुरालाई पाठकसम्मुख गरेका छन्। उनले यो बाल कविता सङ्ग्रह प्रकाशित गर्नको उदेश्यलाई प्रष्ट पार्दै लेखेका छन्- आज हामीले नानीहरूलाई बाल साहित्यरूपी ऐना देखाइदिन सके मात्र भोलि साहित्यप्रेमी युवाको जमात खड़ा गर्न सकिएला कि-यस्तै छ मेरो भनाई। अनि यो भर्खरै उब्जिएको धारणा पनि होइन। लामो समयदेखि केही गर्दै आएको छु बाल र बालिकाका साहित्यको निम्ति। यसरी लामो समयदेखि बाल कविता लेख्दै आएतापनि एकमुस्ट कविताको किताप पाठकको हात लाग्न लाशा प्रकाशन खरसाङको अवदान रहेको कुरोलाई स्वीकार गरेका छन्। एसपी पक्षमा लाशा प्रकाशन खरसाङले आर.जी,पी छोटो कैरन शीर्षकमा तथा अम्बटेको राम गोपालमाथि रचना प्रस्तुत गरेका छन् जसले गर्दा अम्बटेलाई मोटा-मोटी बुझ्न सकिन्छ।
प्रार्थना-बन्दना(आध्यात्मिक पक्ष) नानीहरूलाई भक्तिभावको ज्ञान हुनु आवश्यकता रहन्छ। अनिवार्य रूपले नानीहरूलाई आध्यात्मिक ज्ञान दिनुपर्छ। भजन कीर्तनमा सहभागिता गराउँनपर्छ भनी विद्वानहरूको भनाई छ। यसार्थमा या कविको स्वइच्छाबाट प्रकट भाव हो कितापको प्रारम्भमा ईश बन्दना-
हे जगदीश्वर सबका ईश्वर
जल-थल-नभमा क-पा तिम्रै
सूर्य-चन्द्र-पृथ्वी तलमा
जे जति बनियो तिम्रै वलम्व
प्राणी सम्बन्धी बाल कविताः
बाल बालिकाको हाइटमा बाल कविता हुनपर्छ भन्ने चेतलाई कविले राखेका छन्। हाम्रो जीवनको महत्वलाई कवितामा दर्शाएका छन्। पर्यावरणमा ती पशु प्राणीको त्यति नै महत्व छ जति रूखपात र हावा पानीको छ हाम्रो जीवनमा। धेरै पशु प्राणीलाई आजको नानीहरू जान्दैनन्. बालबालिकाको मन-मस्तिष्कमा यस्ता कुरालाई हालिदिनुपर्छ जसले प्राणी र त्यसको महत्वलाई भविष्यमा बोकेर असल देशको असल नागरिक बन्न सकोस्।
अब फेरि चिउरी-काउलो, जङ्गलमा रोपिदेऊ
दाउरे आई काटिदेला राम्ररी छोपिदेऊ
डढ़ेलोलाई रोकथाम गरी शिकारी भगाइदेऊ
अनि फेरि बघैंचाले जङ्गललाई सजाईदेऊ।
गाई-घोड़ा जस्ता घरेलु पशु प्राणीमाथि खूबै प्रभावशाली र मिठो लयात्मक कविता रचना गरेका छन्।
कातर भ्यागुतो- कवितालाई नानीहरूको रूचीलाई ध्यानमा राखेर सिर्जना गरेका छन्।
चेपेगेंड़ा बढ़दै-बड़दै
बेंकपाटामा पुग्छ
फालक-फिलिक मान्छे देखे
कुवाभिभ लुक्छ।
कातर हुन्छ भ्यागुतो
उफ्री-उफ्री भाग्छ
छुन हुन्न भ्यागुतोलाई
हातमा विष लाग्छ।
चरा-चुरूङ्गीहरूको कविताहरूमा दिदी भङ्गेरा, बैनी कोटेरा, पहाड़े चुरूङ्गी जस्ता उच्चकोटीको बाल कविताहरू समावेश छन्। उसरी नै किरा फटेङ्ग्रामा –पुतलीको हूल, परिश्रमी मौरी, दुच्छड़ मच्छर, झिंगा फोहोरी र झ्याउँकिरी र जूनकिरी जस्ता बाल कविताले नानीहरूलाई पठन-पाठनमा ध्यान पुऱ्याउँछ।
झ्याउँकिरीमाथिको-
दशैं नजीक आउँदै छ
झ्याउँकिरीले गाउँदै छ
ऱ्याईँ- ऱ्याईँ बाजा बजाउँदै
पखेटालाई रेट्दै छ।
जूनकिरीमाथिको मिठो कविता-
साँझपख याद गर
हल्ला-खल्ला बन्द गर
बिन्दुल झैं टिलिलि
जत्ताततै जूनकिरी।
शिक्षा सम्बन्धी
यस झुण्डको कवितामा नानीहरूलाई विशेषरूपमा स्कूलसित सम्बन्धीत विषयमा ध्यानाकार्षण गरेका छन् जस्तै घड़ी,पुस्तक, बानी, स्कूल र छाता। त्यसबाहेक अनुशासन र प्रकृतिप्रतिको अनुकुलनमा बर्खा लाग्यो कविताहरूले बाल-बालिकाहरूमा नबिर्सिने एउटा भाव मस्तिष्कमा सिर्जना हुन्छ। प्रकृति सम्बन्धी बाल कविताहरूमा वृक्षको महत्व जीवनमा, इन्द्रेणी जस्ता प्रकृति घटनाले उत्पन्न रङ्गको ज्ञान नानीहरूमा पर्छ। बादल र घट्टे खोला जस्ता कविताले बाल-बालिकामा पानी र हाम्रो जीवनसित रहेको प्रकृति महत्वलाई दर्शाएका छन्। रोप विरूवा, फूलको बघैंचा आदिले नानीहरूमा सानैदेखि पर्यावारण सचेतनाको भावको विजारोपण गर्ने प्रयास गरेका छन्। हरियो बन सबैको धन मन्त्रलाई रोपेका छन् मलिलो भूमिमा। संस्कृति-परम्परा कुनैपनि जातिगोष्ठीको मुख्य पहिचान हो भन्ने पक्षमा भाषा सांस्कृतिमा कविले बाल-बालिकालाई आफ्नो भाव सम्प्रेषण गर्न खोजेका छन्। जस्तै कविता नय़ाँ वर्ष, दशैं-तिहार, भानुभक्त इत्यादिलाई लिन सकिन्छ।
मालश्रीमा लय हाली
बाबै गीत गाउँछन्
स्वर थप्न थापा मामा
बाबै छेवमा आउँछ ।

सयपत्रीको माला सँगै
माया हामी साटौंला
टीका लगाइसकेपछि
फन्के रोटी चाखौंला

उनीभन्दा अघि पनि
धेरै कवि थिएछन्
सरल भाषा हामीलाई
भानुले नै दिएछन्।
विचार सम्बन्धी र व्यक्ति सम्बन्धी कविताबाट बाल-बालिकालाई ठूलो विचार हृदयमा सिर्जना गराउँने भविष्यमा असल नागरिक बन्ने दिशातिर प्रेरित गरेका छन्। व्यक्तिको महत्वलाई दर्शाएर उनीहरूको जीवनरूपी मार्गदर्शनलाई बाल-बालिकामा उमार्ने उत्प्रेरक कविताहरू रचना गरेका छन्। उदाहरण सबैकी आमा, कवि बन्ने इच्छा, हामी हौं गाउँले, च्याफ्लावाला, तिरङ्गा झण्डा, खिलिराख मनमा जस्ता कविताहरू हुन्।
झ्याउँकिरी र जूनकिरी कविताको सरल भाषा मिठो लयात्मक शैलीले बाल-बालिकामा कविताप्रति आकर्षित गर्ने कसूर छोड़ेको छैनन्। बाल-बालिकाकै भाषा जस्तै सरल र सहजमा मिठो गयात्मक कविताहरू यस सङ्ग्रहले दिएको छ।जुन कविताहरू बाल-बालिकाको हृदयमा छ्याप्प बस्न सक्नेछन्। झ्याउँकिरी र जूनकिरी-बाल कवितामा कविले बाल-बालिकाको मनोभावलाई ध्यान राखेर रचना गरेका छन्। सिधै भन्नपर्दा उनीहरूको रूची र चासोलाई पनि प्रथमिकता दिएको तथ्यलाई कविता पढ़िसक्दा थाह लाग्छ। बाल-बालिकाको मनोविज्ञान र उनीहरूको जिज्ञासा प्रवृतिमा समरेख सम्वृध्दि गर्ने क्षमतादारी बाल कविताहरू सुदर्शन अम्बटेको झ्याउँकिरी र जूनकिरीभित्र पाइन्छ।बाल मनोविज्ञानको समीकरणमा कविमा कति रहेछ भन्ने अड़कल यो कृतिबाट पाउन सकिन्छ। आजसम्मको बाल कविताहरूमा खुमान सोनारको धानचराको गुँड़-पछि रम्रो र सुन्दर बाल कविता सुदर्शन अम्बटेको झ्याउँकिरी र जूनकिरी-लाई मानिरहँदा फरक नपर्ला। यस्ता उपयोगी र बाल-बालिकालाई फीट हुने बालकविताको कितापलाई पाठ्य पुस्तकमा राख्न सके खूबै समायोजित रहने थियो। बारतीय नेपाली बाल साहित्यमा झ्याउँकिरी र जूनकिरीले सुदर्शन अम्बटेलाई खाँट्टी बाल कविताकारको रूपमा परिचय गराएका छन्।

नागरी फार्म,दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु