आँखा

- अलका मल्ल

आँखामा लाग्ने आँखाको नशा
आँखानै अन्जान भइदिने ।
आँखाले खेल्ने आँखाकै कथा
आँखाहरुलेनै अल्झाइ दिने ।।

थुप्रै आँखीहरुको हेराइमा
एउटा आँखा चंचल भएछी ।
अनेकौं आँखीहरु उन्मादमा
मात्तिएर लडबडाएपछि ।।

भन्छन् जे अड्कल काट्छ
आँखालेनै खोजी गर्छ सत्य ।
आँखाको हेर्ने भावमा देखिन्छ
जे बोल्न खोज्छ सब तत्थ्य ।।

स्वछन्दता अन्वेषण गर्छ संधै
गगन चुम्बी छन्दबन्द आँखा ।
माधुर्यताको बोध गराउँदै
मन माफिकको शितल आँखा ।।

दिन चर्या नियाल्दै रुङ्ने
सत्यतथ्य छुट्टाउने आँखा ।
सदा सुनियोजित मौजुद हुने
चतुराइ गर्छन् सब आँखा ।।

कहिले चिराक हुने आँखा
कहिले भइदिने शान्तिवादी ।
सफलताको प्रतीक आँखा
साहसका मनोरम अनुकृति ।।

काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु