राहत

- प्रा. डा. कपिल लामिछाने

दिनभर राहत वितरण गरी लखतरान भएर भरखर घरभित्र छिरेको मात्र थिएँ, बाहिर कोही आएजस्तो लाग्यो । ‘सर’ भनी बोलाएको आवाज पनि सुनेँ । हत्तरपत्त बाहिर निक्लेँ । ऊ रहेछ ऊ । कोरोना कालमा मान्छेको नाम भनिन्न । ऊ रहेछ ऊ ।
बाहिर घुर्मैलो अँध्यारो भइसकेको थियो ।
उसले मलाई देख्नेबित्तिकै एक मिटर परैबाट हात जोडेर भन्यो, “मेरसाप ! चुलो बलेन ।”
“बिग्रियो ?”
“होइन, चुलो त ठीकै छ ।”
“अनि ?”
“पकाउने अन्न छैन ।”
“राहत वितरण भएको थियो । मैले यिनै हातले दिनभर हजारौँलाई बाँडेँ । तपाईंले लिनुभएन ?”
“लिइनँ ।”
“किन ?”
“परिस्थितले म अहिले गरिब छु । लकडाउन खुलेपछि रातदिन एक गर्छु । मिहिनेत गर्छु । स्थिति सुधार्छु । म पनि मान्छे बनुँला भन्नेछ । हातखुट्टै भाँच्चिएझैँ यस्तो महामारीमा त्यस्तो हुलमा ठेलमठेल गरेर राहत लिन चाहिन । त्यो पनि त्यत्रा मान्छेका माझाँ अपराधीलाई झैँ फोटो खिचाएर । हो, मैले त्यसो गर्न सकिनँ ।”
“अनि म के गरूँ त ?”
“म तपाईंकै नगरबासी हुँ । आफ्नो मतदातालाई पक्कै चिन्नुहुन्छ । मलाई केही चामल र दाल सापट दिनुहोस् । पछि पक्का बुझाउँछु, तर त्यस्तो गरी राहत लिन्न ।”

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 31 बैशाख, 2077

लेखकका अन्य रचनाहरु