कविन्द्रमा बिन्तीपत्र

- विजय देवकोटा

कविन्द्र !
अब श्रीपेच धारण गरिबक्स्योस,
राजदण्ड उठाइबक्स्योस्,
राज्यभिषेक घोषणामा बिलम्ब नगरी
वसन्तपुरको आँगनमा सवारी होइबक्स्योस् !

डबलीमा खर्पन बिसाएर
टुक्रुक्क बसेका भोकाहरूलाई हेर्दै
मौसुफले चौरासीव्यञ्जन ज्युनार गरिस्योस् !
गाथलाई गद्दीमा आराम दिएर
समृद्धिका टुक्का गाँसिबक्स्योस् !
राजशिंहासनबाट अत्याचारका फर्मान जारी गरेर
चराहरू उडेका गीत लेखिबक्सियोस् !

हात्ती चढेर बाघ मार्न नहिँड्ने,
मचानमा बसेर बन्दुक नचलाउने,
शिकारीदलले मारेको बाघको जुङ्गो नउखेल्ने,
सुहाएन राजेन्द्र ! पटक्कै सुहाएन !!

नारायणहिटीको मुलायम शयनकक्षमा
कहिले सुकला होइसिन्छ ?
सुन्दर रारातालको लालपूर्जा
कहिले आफ्नो बनाइसिन्छ?
दुईचार जङ्गल र दुईचार हिमाललाई
आफ्नै नाम कहिले दिइबक्सन्छ?

सरकार !
अब निरोले झैं बाँसुरी बजाउन छाडिबक्स्योस्
चरणकमललाई शहरतिर लम्काइबक्स्योस्
मौसुफले पोशाक लगाएपनि,
प्रजाले त नाङ्गै पो देख्दैछन्
बरु सर्वाङ्ग देखाएर कुदिबक्सियोस्
'राजद्रोही'हरुले आफ्नै आँखा ढाक्नेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 31 बैशाख, 2077

लेखकका अन्य रचनाहरु