पत्थरलाई देवता हुन भन्यौ चित्त बुझेन |
अरु पित्तल आफु सुन भन्यौ चित्त बुझेन ||
उज्यालोको आशनै थिएन बन्द आँखाहरुलाई
औशीमा पनि आउछ जून भन्यौ चित्त बुझेन |
उसका लागि त समान थिए देवीजस्तै ती नारीहरु
आमा र श्रीमतीमा एक चुन भन्यौ चित्त बुझेन |
गड्गडाउदै बादलले स्वार्थ बर्साउछ बेलाबखत
बेमौसमी झरीलाई मनसुन भन्यौ चित्त बुझेन |
पक्षपातीहरुले तराजु के ढल्काईदिएथे तिमीतिर
भाई लडाउने खेल गुन भन्यौ चित्त बुझेन |
सिनोको लागि राजनीति गर्छन गिद्धहरु अचेल
महान आदर्श नायक हुन भन्यौ चित्त बुझेन |
भोकप्यास दुख त सहेकै थिए ती मजदूरहरुले
आफ्नै घर फर्किन नि कानुन भन्यौ चित्त बुझेन |
प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 बैशाख, 2077