मान्छे

- मन्दिरा मधुश्री

धेरै पछि म यात्रामा निस्किएँ । मान्छे र मान्छेको बस्ती भन्दा पर । मसँगै मेरो निडर "मन" पनि थियो ।

यात्रा गर्नुजस्तो आनन्द अहँ के होला र ? पाइला पाइलामा जीवनको महशुस हुन्छ यात्रामा । नहिड्नेलाई के थाहा र यात्रामा हुने आनन्द !
आहा ! बाहिरी संसार कति रमाइलो ।

अकस्मात हिँड्दै गरेको बाटोको हाँगो फाट्टियो ।

दुवै बाटोको अगाडि सूचना बोर्ड टाँसिएको थियो ।

- खतरनाक जङ्गलको छोटो अर्गानिक बाटो ।
- मानव निर्मित विकासे सजिलो बाटो ।

म थोरै डराएँ । दोस्रो बाटो नै रोजेँ एक्लै भएकोले ।
"पहिलो बाटो नै जानुपर्छ, के को डर र ...?" मनले ढाडस दियो ।

जङ्गल भित्रको बाटो साँच्चिकै अर्गानिक । प्राकृतिक सुन्दरलाले भरिपूर्ण र चारैतिर उन्मुक्त आनन्द ।
खोलामा निर्मल पानी कलकल बगिरहेको थियो ।
मन्द मन्द स्वच्छ हावा चलिरहेको थियो ।
न कुनै उच्चाटलाग्दो कोलाहल न त निसास्सिने प्रदुषण ।
कति सुरम्य मनोहरता ।कति सौम्य शान्ति !

प्रकृतिको यो अलौकिकता देखेर मभन्दा बढि मेरो मन पुलकित भयो ।
म स्वर्गीय आनन्दमा हराउँदै हिडिरहेको थिएँ ।

फूलहरू विविध रङ, आकार र सुगन्धमा फूलिरहेका थिए । "बिषालु पनि हुन्छन् रे फूलहरु र फूलको सुगन्ध" कुनैदिन सुनेको कुरा याद आयो । म डराएँ तर मन डराएन ।

यात्रामा अनौठा किराहरु भेटिए । म डरले उफ्रेँ । मन चुपचाप रहिरह्यो ।
जङ्गल घना थियो । दाँत, सिङ, नङ्ग्रा भएका डरलाग्दा जन्तुहरु भेटिए । मेरो सातोपुग्लो उड्यो ।
अहँ ! मन टसको मस भएन ।

अजिङ्गर सर्प, बिच्छीजस्ता विषैला जीव थिए पाइला पाइलामा । म थुरुरु कापेँ । फर्कनु जस्तै लाग्यो । मन अझै किन्चित विचलित भएन ।
म डरको उत्सर्गमा पुगेको थिएँ ।
त्यस्तो निर्जन, भयावह जङ्गलमा अकस्मात एउटा आकृती देखेँ ।
आहा ! आफ्नोपनको कति ठूलो भरोसा । खुसीले झन्डै चिच्याइनँ ।
उफ् ! बल्ल डर भाग्यो । ढुक्कसँग सास फेरेँ ।
अचम्म ! मेरो मन भने बेपत्तासँग डराइरहेको थियो ।
अगाडि ठिङ्ग उभिएको मान्छेलाई देखेर ।

भोजपुर, हालः काठमाडौ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 बैशाख, 2077

लेखकका अन्य रचनाहरु