निर्विकल्प जीवन

- कल्पना पौडेल आचार्य

कहर भित्रका रहरहरु माझ हुन् चाहे
बैकल्पिक कन्क्रिटका शहरहरु माझ हुन्
यहाँ त्रास अनि त्रासदी बिच पनि
एक फूल सदैब मुस्कुराईरहन खोज्छ
जुधिरहन खोज्छ हरेक
भवितब्यका यामहरु सङ्ग
मुर्झाउन चाहँदै चाहन्न कहिल्यै
फूल न हो अनेकौ
रङ्ग अनि सबनमले सिङ्गारीन खोज्छ
बाहिरी दुनियाँ लडिरहेको छ
कोरोना कि कोभिड १९ सङ्ग
तर यो बन्द कोठाको फूल
आँफैलाई सिङ्गार्दै बस्न खोज्छ
अनि आत्मसाथ गर्न खोज्छ
आफु र आफ्नै अस्तित्वको।
बोध,गुण,दोश
आफ्ना अनि दुश्मन छन्
र पो फूल, फूल भएको छ
नत्र यो पनि
निर्जिव तत्व हुन्थ्यो होला नि
हैन र?
कल्पना प्रतिप्रश्न गर्छे आँफैलाई
किन कि आजको फूलको बोध
भन्नु नै जीवन हो,
सुन्दर जीवन
केबल, फूल शब्द चयन त
उपमा मात्र थियो।
आखिर किन?
यति धेरै भावुक बनाएको छ
जीवन प्रति,
हिजो पनि त बाँचेकै थियौं नि
निर्बाध,
निर्बिकल्प
नि:सन्देह
तर हिजोआज एक्कासी
किन यति धेरै मोह जागेको छ
यस जीवन प्रति?
पहिले पनि नभएका हुन् र?
जीवन मोहहरु?
निचोड निकाल्न सक्दैन मनले
परन्तु,
बास्तविकता यही नै हो,
जीवन केही तर्सिएको छ
जीवनकै भवितब्य मोडहरु सङ्ग
जिन्दगीकै अभिशप्त खण्डहरहरु सङ्ग
अनि असहज मृत्‍युहरु सङ्ग।
अकाट्य छन्, स्व:दर्शनहरु
कि जीवन फूल नै हो
सौन्दर्यताले भरिपूर्ण
असहज मृत्‍युहरु त केवल बहानाहरु नै हुन्
केही जीवन सुस्ताउन चाहन्थे।
अहो! कति गहिराइमा पुगेछु।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 बैशाख, 2077

लेखकका अन्य रचनाहरु