जापानमा चारदिने साहित्यिक यात्रा

- कृष्ण बजगाईं

वर्ल्ड हाइकु एशोशियसनको दशौं सम्मेलनमा सहभागी हुन टोक्योतर्फ जाँदै गर्दा मेरो मन हाइकुमय बनिसकेको थियो । साहित्यिक पर्यटक भएर वर्ष दिनभित्रै दोस्रो पटक जापानको यात्रामा थिएँ । जहाज आकाशमा बेगिदै थियो, मनमा हाइकुका पंक्ति र बिम्बहरु आउँदै थिए ! स्मृतिबाट हराएर जालान् कि भन्ने डरले हतारहतार तिनलाई प्रेमपूर्वक डायरीमा टिप्दै पनि थिएँ ।
नेपाल भ्रमण वर्ष सन् २०२० को सँघारमा साहित्यिक पर्यटक भएर जापानतर्फ उडिरहेको थिएँ । मातृभूमीको सम्झना मनभरि बयेली खेल्न थाले । अचानक सम्झँे आफ्नै देशको पर्यटन उद्योग । नेपालमा साहित्यले पनि पर्यटक आकर्षण गर्न सक्दछ भन्ने कुरा थाहा नभएको हो वा त्यसतर्फ ध्यान नदिइएको हो ? पर्यटनका नाममा किन हामी हिमाल र पहाड मात्र देखाउँछौं ? मनभित्र यस्तै प्रश्न उठिरहेको बेला जहाज बादलभित्र बतासिदै थियो ।
विदेशतिर साहित्यिक पर्यटन लोकप्रिय छ । साहित्यिक पर्यटन भन्नाले कुनै लेखक साहित्यकारको जन्मस्थान, घर, डेरा र तिनको समाधिस्थलसम्मको यात्रालाई बुझाउँदछ । कुनै उपन्यास वा कथाका काल्पनिक पात्र हुन् अथवा लेखक स्वयँ हिँडेको बाटो र बास बसेको स्थानको भ्रमण समेत साहित्यिक पर्यटन अन्तर्गत पर्दछ । साहित्यिक पर्यटक धर्म निरपेक्ष यात्री पनि हुन् । निरपेक्ष भएर चाड, पर्व, जात्रा, संस्कृति आदिको अवलोकन गर्न जानु पनि साहित्यिक पर्यटन भित्रै पर्दछ । लाखौं साहित्यिक पर्यटक संसारभर यात्रा गरिरहन्छन् ।
विदेशमा साहित्यिक पर्यटन स्थलको राम्रो विकाश गरेको देखेको छु । त्यसको ब्यापक रुपमा प्रचारप्रसार गरिएको छ । साहित्यिक पर्यटनलाई मैले बौद्धिक यात्रा मानेको छु । त्यस्ता यात्रामा मनोरंजन र आनन्द भन्दा पनि ज्ञान प्राप्तीको अभिलाषा हुन्छ । त्यसैका लागि म आफै पनि विभिन्न देशमा लेखकको निवास र म्युजियम चाहार्ने गरेको छु । चाड, पर्व, मेला आदिमा पुग्ने गरेको छु ।
मेरो विचारमा नेपाल भ्रमण वर्षमा संसारभरका लेखक, साहित्यकार र पाठकहरुलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय स्तरको विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्नु पर्दछ । ख्यातिप्राप्त साहित्यकारको निवास र म्युजियमको प्रचारप्रसार गर्नु पर्दछ । विविध सास्कृतिक चाड, पर्व, जात्रा आदिको विशेष अवसरमा पर्यटक लक्षित कार्यक्रम बनाउनु पर्दछ ।
ती साहित्यिक पर्यटकले नेपाल भ्रमण पश्चात आफ्ना सिर्जनामा नेपालका बारेमा अवश्य लेख्ने छन् । बोल्ने छन् । केही नभए पनि सामाजिक संजालमा तिनका बारेमा भिडियो, तस्बिर आदि राखेर आफ्ना अनुभव पोख्ने छन् । साहित्यिक पर्यटन प्रर्वद्धन गर्ने यो अवसरलाई हामीले गुमाउनु हुँदैन भन्ने लागेको छ ।
गत वर्षको जापानमा भ्रमणमा जस्तै यसपटक पनि जापानका साहित्यकारको निवास, म्युजियम, बुद्ध र सिन्तो धर्मका मन्दिर लगायतका ठाउँहरुमा भ्रमण गर्ने लामो सूची बोकेर निस्कको थिएँ । आफ्नै नियात्रासङ्ग्रह ‘दाइबुचु’को विमोचन र वल्र्ड हाइकु एशोशियसनको तीन दिने साहित्यिक कार्यक्रममा सहभागी हुनका लागि यात्रारत थिएँ । वास्तवमा म विशुद्ध साहित्यिक पर्यटक भएर जापान यात्रामा निस्केको थिएँ ।
सेप्टेम्बर १३, २०१९ बिहान सूर्यको प्रथम किरणले टोक्योको हानेदा एयरपोर्टमा मलाई स्वागत गर्यो । टोक्यो–वे हुँदै आएको प्रशान्त महासागरको समुद्री हावाले मायालु स्पर्श गर्यो । एयरपोर्टमा मलाई लिन आएका प्रकाशले स्वागतार्थ न्यानो हातले फैलाए । ती हार्दिकता र आत्मियताले मनमा अथाह खुशी उर्लियो ।
टोक्यो पुगेको पहिलो दिनमै साहित्यिक कार्यक्रममा सहभागी हुनु थियो । साँझ वर्ल्ड हाइकु एशोशियसनले विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन आएका सबैका लागि स्वागत कार्यक्रम तथा रात्री भोजको आयोजना गरेको थियो । हाइकुमय उक्त रात्रीभोज मेरो मानसपटलमा ताजै छ ।
बेलायत, हंगेरी, इटली, मोरोक्को, अमेरिका, इराक, मलेशिया, चीन, भियतनाम, मंगोलिया, पोर्चुगल, काजकिस्तान आदि देशका पचास भन्दा बढी सहभागीको हुलमा म, प्रा. रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ मिसिएका थियौं । अतिथि सत्कार गर्ने आफ्नै विशिष्ट शैली भएका विनम्र जापानीहरुको हार्दिकतापूर्ण स्वागतले प्रफुल्ल भएँ । परिचय कार्यक्रम भयो । एकछिन् मै मित्रताको कुम जोडियो । कार्यक्रममा वल्र्ड हाइकु एशोसियनका अध्यक्ष प्रा. बान्या नाचुइसी, टादो शिमोमिया, कोसाइ होरी र जापानका लागि इराकी राजदूत खलिल अब्दुलले सम्बोधन गरे । उपस्थित सबैले आआफ्ना हाइकु वाचन गर्यौं । हाइकुमय साँझ छिप्पिदै थियो । मध्यरातमा हुनु अघि भोलिको महत्वपूर्ण कार्यक्रम सम्झेर हामी छुट्टियौं ।
सुनौलो बिहानले झ्यालबाट चिहायो । उत्साहित मन लिएर उठेँ । होटेलमै ब्रेकफास्ट खाए पश्चात दोस्रो दिनको कार्यक्रमका लागि निस्केँ । टोक्योमा अवस्थित जिम्बोच्यो ट्रेन स्टेशन नजिकै रहेको कार्यक्रम हलमा अन्तर्राष्ट्रिय सहभागीहरुको भीडमा मिसिएँ । मनमा एक खालको उमङ थपियो । वर्ल्ड हाइकु एशोशियसनको लोगो अंकित झोला, ब्याच, कार्यपत्रका फोटो कपि र सम्मेलनको विशेष अवसरमा प्रकाशित बहुभाषिक हाइकुसङ्ग्रह कोशलीको रुपमा पाएँ । मन फुरङ्ग भयो ।
अंग्रेजी, जापानी र आआफ्नो मातृभाषामा लेखिएका संयुक्त हाइकुसङ्ग्रहमा आफू पनि समावेश भएको थाहा पाएँ । सभा कक्ष सम्म पुग्ने धर्यता भएन, त्यहीँ छेउमा उभिएर सङ्ग्रहको पाना पल्टाउन थालेँ । आफ्ना दशवटा हाइकु तीनवटा भाषामा छापिएको देखेर पुलकित भएँ । मेरो हाइकु लेखन यात्राले विश्व हाइकु मञ्चमा एउटा पाइला राखे जस्तो लाग्यो । नेपाली भाषाको हाइकु मात्र होइन म आफै पनि हाइकुको अनन्त आकाशको एक कुनामा पुगेँ कि क्या हो जस्तो भ्रम भयो । दंग पर्दै एक्लै फिस्स हाँसे ।
प्रसिद्ध निबन्धकार शंकर लामिछानेले वि.सं. २०१९ सालमा नेपालमा भित्र्याएको हाइकु पचासको दशकपछि विकशित भएर ब्यापकता पाएको हो । तर पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाली हाइकु र हाइकुकारलाई पुर्याउन सकिएको थिएन । हामी तीनजना नेपाली हाइकुकारको पहिलो पटक हाइकुको कार्यक्रममा भएको सहभागिताले अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध र नेपाली हाइकुको विस्तारको लागि नयाँ ढोका खोलेको छ । विश्व हाइकु मंचमा नेपाली हाइकुले नयाँ उचाई लिने निश्चित छ ।
कार्यक्रम औपाचारिक रुपमा सुरु भयो । वर्ल्ड हाइकु एशोसियनका अध्यक्ष प्रा.बान्याले विशेष सम्बोधन गरे । कार्यक्रममा संस्थाको आयब्यय प्रस्तुत गरिए । एशोसियसनको साधारण सदस्यका नाताले म लगायत अन्य सदस्यहरुले केही कुरा पनि राख्यौं ।
कार्यक्रम महत्वपूर्ण चरणमा प्रवेश गर्यो । अमेरिका, युरोप, मंगोलिया, चीन र अरब देशका हाइकुका बारेमा कार्यपत्र प्रस्तुत भए । मेहनतसाथ लेखिएका कार्यपत्र मार्फत ती देशका हाइकुको विगत र वर्तमान अवस्थाका बारेमा थाहा पाएँ ।
नेपालको पालो आयो । नेपाल सेसन भनेर हाम्रा लागि विशेष समय दिइएको थियो । सोही सेसनमा केही नेपाली हाइकु कृतिको विमोचन गरियो । प्रा. पाँडेको हाइगा प्रदर्शनी भए । हामीले अंग्रेजी र नेपाली भाषामा आआफ्ना हाइकु वाचन गर्यौं । सहभागीहरुले नेपाली स्वादको हाम्रा हाइकु मन पराए ।
नेपाल हाइकु केन्द्रका अन्तर्राष्ट्रिय संयोजक तथा वल्र्ड हाइकु एशोसियनका सदस्य प्रकाशले नेपाली हाइकुको गतिविधी बारेमा जानकारी दिए । मैले हाइकुले ल्याएको परिवर्तनको सन्दर्भ उठाएँ । प्रा. पाँडेले नेपाली हाइकुको विकाश र वर्तमान अवस्थाका बारेमा कुरा राखे ।
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको अवसर पारेर संसारभरका हाइकुकारलाई आकर्षित गर्न सोही वर्ष सेप्टेम्बर महिनामा वर्ल्ड हाइकु एशोशियसनको विशेष कार्यक्रम नेपालमा गर्ने पाँडे सरले प्रस्ताव राखे । उनको प्रस्तावलाई सबैले थपडी बजाएर स्वागत गरे । आलोक चालिसे कार्यक्रम संचालक रहेको नेपाली सेसन त्यस दिनको मुख्य आकर्षण बनेको थियो ।
वास्तवमा हाइकुको माध्यमले पनि नेपालको पर्यटन उद्योगको प्रचारप्रसार गर्न सकिन्छ । त्यसको सम्भावनाका बारेमा मैले बोल्दै र लेख्दै आएको छु । तीन लाइनमा लेखिने सत्र अक्षरको सुक्ष्म कविता हाइकुले पार्ने विशाल प्रभावका बारेमा हाइकुका पाठक परिचित छन् । चित्रमाथि हाइकु लेखिने जापानी साहित्यको अर्को विधा ‘हाइगा’का जानकारले त्यसले पार्ने प्रभावका बारेमा बुझेका छन् । नेपालको मनोरम प्राकृतिक स्थल, हिमाल, पहाड, नदी, फूल, आदिका चित्रसँग सम्बन्धित हाइकु लेखेर हाइगाको सिर्जना गर्न सकिन्छ । ती हाइगा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनी तथा विक्रि वितरण गर्ने हो भने थप पर्यटकलाई आकर्षित गर्ने कुरामा म विश्वस्त छु ।
हाइकु र प्रकृतिबीच नजिकको सम्बन्ध हुन्छ । प्रकृति हाइकुको प्राण हो । जापानी शास्त्रिय काव्य हाइकुमा प्रकृति कुनै न कुनै माध्यमबाट बिम्बको रुपमा आउनु पर्दछ । सोही कारण उत्तम हाइकु सिर्जना गर्नका लागि जापानी कविहरु प्रकृतिको नजिक पुग्नका लागि यात्रा गर्दछन् । नेपाल जस्तो छोटो दूरीमा प्रकृतिको विविध रुप हेर्न र अनुभूति गर्न पाइने ठाउँ संसारमा विरलै छ । तसर्थ नेपाल हाइकुको अजस्र स्रोत हो । हाइकुकारका लागि प्रेरक स्थल हो । साहित्यमा रुची राख्ने पर्यटकलाई आकर्षण गर्ने चुम्बक हो । म आफैले पनि नेपाल सम्झेरै कैयौं हाइकु लेखेको छु । नेपालको पदयात्रा गरेर अझ गहन हाइकु लेख्ने योजना बनाएको छु । अहा, प्राकृतिक सुन्दरताले भरिएको मेरो देश ! स्मृतिपटमा नेपालका सुन्दर तस्बिरहरु क्रमशः आउन थाले ।
योजनाबद्ध रुपमा विशेष कार्यक्रम बनाउने हो भने हाइकु र प्रकृति सम्बन्धी कविता लेख्नैका लागि कविहरु नेपाल आउन सक्छन् । हाइगाको माध्यमले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन गर्ने यो नयाँ तरिकालाई सम्बन्धित निकायले कहिले र कसरी लागु गर्लान् ? मनमा एउटा अनुत्तरित प्रश्न उठिरहेको छ ।
हाइकु सम्मेलनको दोस्रो र तेस्रो दिनमा ‘जर्मनी दर्शनशास्त्र र हाइकु,’ ‘आधुनिकतावाद र हाइकु’, ‘अमेरिकी आधुनिक कवितामा हाइकुको प्रभाव’, ‘जापानी हाइकुको चिनिया कवितामा प्रभाव’, ‘विगत बीस वर्षमा विश्व हाइकु’, ‘अरब कवितामा जापानी हाइकुको प्रभाव’, ‘बासोको विविधता र बहुसास्कृतिक सिद्धान्त’, ‘जापानी स्कूलमा हाइकु’ जस्ता महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत भए ।
कार्यक्रमको अन्तिम दिनको उत्तारार्धमा हाइकु लेखन कार्यशाला र अनुवाद कार्यशाला जस्ता कार्यक्रम मेरा लागि मात्र होइन जापान बाहिरका सहभागीका लागि समेत नयाँ, रोचक र उपयोगी थिए ।
उक्त दिन क्यालीग्राफीमा खुब रमाएँ । जापानी परम्परागत क्यालिग्राफीमा कालो मसीमा पेन्टिङ ब्रसले चोपेर सुन्दर अक्षरहरु लेखिन्छ । यसरी लेखिएका जापानी अक्षरहरु मलाई चित्र जस्तै लाग्दछन् । जापानमा क्यालिग्राफी स्कूलमै सिकाइन्छ । तर म चाहीँ त्यस दिन स्कूलको बच्चा भन्दा पनि कमजोर थिएँ । वास्तवमा मैले पेन्टिङ गर्ने ब्रस जीवनमा कहिल्यै समाएको थिइन । कार्यक्रम अनुसार सहभागी सबैले आआफ्नो लिपिमा पेन्टिङ ब्रसले हाइकु लेख्नै पर्ने थियो । म पनि हाइकु लेख्नका लागि अगाडि बढेँ । एक मनले डर मान्यो । कहीँ बेइज्जतै त हुने होइन ? अर्को मनले भन्यो प्रयासै नगरे कसरी थाहा हुन्छ ? अन्ततः मैले पेन्टिङ ब्रस समातेँ ।
पाँडे सर चित्रकार समेत भएकोले टेवलमा राखिएको लामो तथा चौडा सेतो कागजमा नेपाली हाइकु लेख्न थाले । प्रकाशले पनि ब्रस समाए । म पनि के कम ? मैले पनि पेन्टिङ ब्रसले एउटा हाइकु लेखेँ । यसो अरु टेवलतिर नजर लगाउँछु, विभिन्न देशका सहभागीहरु आआफ्नो लिपिमा हाइकु लेखिरहेका थिए । केहीले त अघि नै लेखिसकेका रहेछन् । विभिन्न लिपिमा लेखिएका हाइकुको भीडमा देवानागरी लिपिको हाम्रा हाइकु कम थिएनन् । मेरो मन खुसीले साकुरा जस्तै ढकमक्क फुल्यो । शिर माउण्ट फुजीभन्दा पनि अग्लो भयो ।
साँझमा वर्ल्ड हाइकु एशोसियसनको सम्मेलन समाप्त भयो । भोलिपल्ट हुने अर्को महत्वपूर्ण साहित्यिक कार्यक्रमलाई ब्यग्रतासाथ प्रतिक्षा गर्न थालेँ ।
तीनदिने हाइकुमय समय सकिए लगत्तै चौथो दिन नियात्रामय दिनले स्वागत गर्यो । टोक्योमा अवस्थित सोलमारी रेष्टुरेण्टको सभा कक्षमा जापान सम्बन्धी मेरो नियात्रासङ्ग्रह ‘दाइबुचु’ प्रमुख अतिथि प्रा.पाँडेले विमोचन गरे । जापान सबन्धी नियात्रा जापानमै विमोचन हुनु बेलायत निवासी लेखकका लागि त्यो भन्दा ठूलो सौभाग्य के हुन सक्थ्यो र ? जापानका साथीहरुबाट पाएको साहित्यिक मायाले मनमा छचल्किए खुशीका असंख्य छालहरु ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रममा प्रा. पाँडे, एनआरएन जापानका अध्यक्ष देविलाल भण्डारी, बेलुकाजी थापा, दीप पाठक, श्याम ‘अतिथि’ सेढाइ, प्रकाश र आलोकले दाइबुचुका बारेमा बोले ।
नेपाली डायस्पोरामा जापान साहित्यको उर्वर भूमि हो । त्यस कार्यक्रममा दाइबुचुलाई थुप्रै सर्जकहरुले साथ दिए । कार्यक्रमको बीचबीचमा डा.भूपालमान श्रेष्ठ, के वी पारखी, रामकृष्ण बम मल्ल, हेमन्त गिरी, ध्रुव बन्जाडे, गृष्मा पौडेल, भगवती उप्रेती, राजेन्द्र पौडेल, गंगा गगन, दीपा घिमिरे, गिरिजा गैरे, हरिश कल्पित, अरुण पौडेल आदिले आआफ्ना रचना पनि सुनाए । चारदिने साहित्यिक म्याराथुन साँझ अबेरमा सकियो । असीम आनन्दमा रमाएँ ।
चारदिने साहित्यिक कार्यक्रम सकिएपछि बल्ल स्वतन्त्ररुपमा घुमफिर गर्ने समय आएको थियो । करिव एक हप्ताको बसाईमा जापानका साहित्यकारको म्युजियम र अन्य साहित्यिक तिर्थस्थलमा पुग्नु थियो । जापानी संस्कृतिलाई नजिकबाट हेर्नु थियो । बुद्ध र सिन्तो धर्मको आफ्नै विशिष्ट परम्परा भएको जापानलाई सानो आँखी झ्यालबाट चिहाउनु थियो । रहश्यमयी लाग्ने जापानी कला र कौशललाई नजिकबाट बुझ्नु थियो । भोलिदेखि साहित्यिक पर्यटक भएर जापानका विभिन्न सहर घुम्ने कुरा मनमा खेलाउँदै गर्दा कतिखेर निदाएँ पत्तै भएन ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु