पहाड़बुढ़ो-को कविताहरूभित्र आवेगका समीकरण

- सुकराज दियाली

नेपाली साहित्यमा देश विदेशसित जोड़ने काठमाण्डौको सेतु हो-शशी लुलुम्बु। हामीले लुमुम्बूलाई कवि मात्रै भनी बुझीरहँदा अधुरो र अपुग बन्छ। उनीभित्र कवि व्यक्तित्वसित अनेकौ व्यक्तित्व जड़िएको एउटा सिङ्गोरूपमा हेर्दा पाएको नाम हो शशी लुम्बु। उनको खास नाम शशी खड़का भएतापनि उनलाई जनसाधरणले जान्ने /बुझ्ने नाम हो शशी लुमुम्बू। नामै अप्ठ्यारो, उच्चारणनै साह्रो/गाह्रो। गाह्रो र साह्रोभित्र कोमल सुन्दर द्रव्यमान हुन्छ भनी ओखर र बदामबाटै उदाहरण पाईरहेको छौं ।उस्तै लुमुम्बू साह्रोभित्रको सजिलो नाम हो-काम हो।
मान्छेभित्रको मान्छेलाई जान्न र बुझ्न धेरै समय लाग्छ। हामीले सजिलोसित बुझ्न र जान्ने सकेका कुराहरू त्यति महत्व रहँदै भन्ने कुराको संकेत हुने विम्बात्मक नाम शशी लुमुम्बू। आफ्नो वास्तविक नाम छोड़ेर एउटा छुट्टै नाममा पाठकमाझ आएका छन्। जुन नाममा जात थर एवं खलक रूपरङ्ग दर्शीन्दैन। समग्र नेपाली भाषा साहित्यको नेपाली मन झल्किन्छ भन्ने उदेश्यमा आजभोलि यस्ता नाम राख्ने चलन बढ़ेर गएको भेटिन्छ। यो एउटा सुन्दर सोंच हो।जुन सोंचले नाममाथिको धारणालाई सजिलो प्रकारले बुझ्ने जान्ने जातिप्रेमीको मन हो भनी अड़कल काट्न सकिन्छ। साहित्यमा होस य़ा राजनैतिक शिक्षा,व्यापारमा, आदिमा जात गोष्टीको(चेपाई) काखी चेपाईदेखि हामी माथि उठेर वा हाम्रो साहित्य माथि उठोस् भन्ने सोंचको संकेत पनि होला। हुन त यस्ता छुट्टै नाम लिएर साहित्य सिर्जना गर्ने साहित्यकारहरू यतातिर पनि अलिकति रहेकै हो-विरेन्द्र कवि, पारिजात, खडकसिंह काँड़ा उताकोपनि जानिरहेकै छौं। यसैक्रममा शशी लुमुम्बूलाई पाईरहेका छौं। लुमुम्बूको साहित्यिक सेवा मैले सुन्दै आएको थिएँ तर भेट गर्ने अवसर नमिलिरहेको बेला अगस्त महिनाको दोस्रो सातामा नेपालमा भएको अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा भेट गर्ने समय जुऱ्यो। उनको उपस्थितिमा तीनको सह-बासमा उनलाई धेरै बुझ्न र जान्न पाइयो। त्यतिबेला आफैलाई भाग्यमानी सम्झें।
शशी लुमुम्बू को हुन्? भन्ने साहित्यिक मनलाई-उनी कवि हुन् भनेर सर्वप्रथम बुझ्नुपर्ने हुन्छ। त्यसपछि उनी राम्रा भूमिकाकार पनि हुन्। नव पुस्ताका नेपाली साहित्यको उज्जवल तारा पनि हो। उनी असल र दक्ष/योग्य सम्पादक पनि हुन्। उनीद्वारा सम्पादित पत्रिकाहरू उत्सव, गोलार्द्ध, रहस्यकथा, कलापुञ्ज, विमोचन, सुनौलो स्वर्ग नेपाल आदिलाई लिन सकिन्छ। फुटकररूपमा कविता, कथा निवन्ध, समीक्षा आदि नेपाल र विभिन्न देश-विदेशबाट प्रकाशित हुने पत्र-पत्रिकामा प्रकाशित भइरहेका छन्-आजसम्म।
दर्जनौ साहित्यिक संघ-संस्थासित जोड़िएर विभिन्न प्रकारको साहित्यिक कार्यक्रम गर्ने असल संयोजक पनि हुन्। त्यति मात्रै होइन नेपालसित भारत, बर्मा, अमेरिकाको कुवेत, हङ्कङ, जापान, जर्मनमा बसेर नै साहित्य सिर्जना गर्ने सर्जकलाई जोड़ने सेतू पनि हुन्। यसर्थामा उनी साहित्यिक उत्प्रेरक पनि हुन् भनी जानीराख्दा भयो। उनी भोजपुरको याकुमा जन्मीएका भोजपुरी साहित्यको ज्ञाता पनि हुन्।
नेपाल काठमाण्डौमा शब्द शताब्दी नेपाल साहित्यिक संस्थाको अध्यक्ष पनि हुन्। अब हामी नबुझीकन झ्याप्पै जानिराख्नु पर्ने कुरा उनी समकालीन कविताको सुन्दर नाम हुन्। शशी लुमुम्बू स्वयंमा एउटा प्रिय विम्ब हुन्, आफै मिथक पनि हुन्। सन्तले बेला-बेलामा सच्चरित्रको सन्देश सुनाए जस्तो कविको नाम हो शशी लुमुम्बू।

कवि शशीका कविताहरू तगड़ा छन् । पठनमा पनि अलिक खतरा छन् । कविता पढ़दा पहिला त अलिक बोरिङ सिर्जना गर्ला जस्तो देखिन्छ । किनभने कविता ग्रहण गर्ने संवेदनशील मन चाहिन्छ उनको कविता बुझ्नलाई । विम्ब प्रतीकसंग साँठगाँठ गर्ने मन चाहियो अर्थ पछिल्लितिरको पुग्ने साहस र आँट चाहियो । शब्दसित घोटिने ताकत चाहियो भाषासित साउतीमा कुरा गर्ने जागर चाहियो जस्ता कुराले मनमा बलियो बाँध बाँध्नुपऱ्यो । तब मात्रै ती कविताहरू हृदयमा भिजेर मस्तिष्कमा चित्र सिर्जना गर्छ । लुमुम्बु जस्तै उच्चारणभित्रको ध्वनितरङ्ग कवितामा खोज्नुपऱ्यो। ओखर जस्तो कठोर कभरलाई नरम कोमल पोषणदायक कविताको रस लिन ओखर फुटाउनु पर्ने हुन्छ । तब मात्र लुमुम्बूको कवितालाई जिब्रो पड़काई-पडकाई स्वाद लिन सकिन्छ । उनको कविताहरूमा तरल ध्वनि र रस पाइन्छ । जसले जस्तो प्रकारले ग्रहण गर्छ उसरी नै उनका कविताहरूले आकार लिन्छ, तरङ्ग उठ्छ । उनको कविता सिर्जना धर्मितालाई विप्लव ढकालले यसरी दर्शाएका छन्- तपाईसंग काव्यिक शाक्षरता छैन भने शब्द चेतना पीड़ालाई आत्मवोध गर्ने अर्न्तदृष्टि छैन भने नयाँ कविताहरूका चुनौतीलाई समना गर्न सक्ने सामार्थ्य छैन भने शशी लुमुम्बूका कविताहरू पढ़ने गल्ती नगर्नुहोस। किनभने उनका कविताहरूले तपाईँको मस्तिष्कलाई अझ एक्लो र निरिह तुल्याउने छन्। शशी एउटा कविता हो - आफैभित्र।
करूणाबाट रहस्यमय र पीड़ायुक्त कविता उनका शब्दहरू रोएको र जीवनबाट कठोर युद्धशालामा साङ्गिनको धारमाथि टेकेर शब्दहरूले आगो ओड़दै हिँड़ेको एउटा भीषण आत्मसंघर्षलाई नजिक अझ नजिकबाट हेर्नुहोस। शशीभित्र रहेको कवितालाई बुझ्न अप्ठ्यारो र गाह्रो बाटो हिँड़नपर्दैन। कवितामा जीवन दर्शनका चकिलो स्वरहरू पाइन्छ। सभ्य भाषामा साधारण विम्बद्वारा कविताको निर्माण भएको पाइन्छ। विम्ब प्रतीकको पारदर्शक अर्थबाट कविताले बोलेका कुराहरू झट्टै नबुझेतापनि गहिरो प्रभाव मस्तिष्कमा रहीरहन्छ। यसरी रहीरहनु भनेको कवितामा आवेग हुन् । यस्ता आवेगहरू कविताको द्रव्यमानमा रहेको पाइन्छ ।
काँड़ा मुस्कुराउने सड़कमा
मेरो सपनाहरू खोजीरहेछु [मेरो छात्ती किनार-बाट)
म तिम्रो कुरूप हाँसोको
विपक्षमा उभीएको छु (कोरकोर्राले डामेर-बाट)
सुस्तरी मेरो चेतनामा
शब्दका तारहरू जोड़्यो(समुद्रको मृत्यु-बाट)
वोधीवृक्षको काखमा
ध्यानमग्न बुध्दका आँखाबाट
सातौं दिन विहान
भुर्र उड़े सेता परेवाहरू(समकालीन दृष्य-बाट)
कवि लुमुम्बूको कवितामा समकालीन स्वरको प्रखरता पाइन्छ। आजको युगमा छाएको मानव समाजबाट देखापरेको असमीरकणहरू। व्यक्तिवादी जीवनले सिर्जना गरेको वातावरण र परिवेशको वस्तुगतरूपमा कवितामा छाइको पाइन्छ। सामाजिक राजनैतिक व्यवस्थामा होचिएर, चेप्टिएर बाँच्ने जीवनको प्रतिशोधहरू सुन्दर प्रकारले कवितामा उतारेका छन्।
कविताकृति पहाड़बूढ़ोको अवलोकनः
शशी लुमुम्बूको प्रकाशित पहिलो काव्यकृति पहाड़बुढ़ो हुन् । शब्द-शताब्दी नेपालका लागि जगतबहादुर वान्तवाद्वारा प्रकाशित कृतिको प्रकाशन सम्वत् वि.स.2063 रहेको पाइन्छ । यस काव्यकृतिमा विवेक मुराङ्गको आवरणकालले सुसज्जित छ भने आवरण सज्जा वसन्तराज अज्ञातले गरेका छन्। यस कविताकृतिभित्र मोठ 58 वटा कविताहरू भिन्ना-भिन्नै शीर्षकमा समावेश रहेको पाइन्छ। ती 58 वटा कविताहरूका सङ्ग्रहमा पहिलो कविताको शीर्षक फहाड़बुढ़ो नाम दिएका छन्। पहाड़बुढ़ो-पहाड़ र बुढ़ो मिलेर बनिएको अट अमिल्दो अर्थगत् सन्दर्भमा यो शीर्षकले हामीलाई सोच्न बाध्य गराउँछ । पहाड़ स्थिर र बलवानको प्रतीक हो, यसले आफूसित युगमा बाँचेका थोरै परिवर्तनको लहर बोक्ने एउटा विम्वलाई दर्शाएको छ । बुढ़ो समयको चेतना हो। जीवन स्थिर बाँच्न खोज्दा-खोज्दै पनि परिवर्तन र अनुकुलको सापेक्षतामा एउटा बुढ़ो मान्छेको समय चेतनालाई अँगाल्नु सुगम बाँच्नुको अर्थहरूलाई कविले यसरी दर्शाएका छन् कवितामा -

म पहाड़बुढ़ो
टेकेर इन्द्रेणीको लौरो
हिँड़िरहेछु काँड़ काँड़को यात्रा
पहाड़ स्थिर युगौंयुगदेखि रहेपनि आफ्नै स्थितिमा स्थिर नरहने, घाम-पानी, हिउँदो बर्खा सहँदै अनेकौं प्रकृतिको यातनाहरू झेल्दै सँधै हाँसीरहने जीवान्त उदाहरण हुन् पहाड़। पहाड़ शिरिरिरि हावा-वतासमा थेकिरहने अवस्था पनि हो। संसारको सुन्दर वस्तुका प्रतीक हुन् पहाड़। बुढ़ो प्रभावले पाकेका उमेर पचाएका समयले परिपक्क मानव अवस्थालाई संकेत गर्छ । दुःख-सुखमा आइपरेका अप्ठ्यारा असजिला झेलिसकेका साठ्ठीभन्दा ज्यादा घाम खाईसकेका ज्यानहरू समयका परिवक्क बँचाई हुन् ।
ती पहाड़ र बुढ़ोको संयुक्त शब्दले बनेको पहाड़बुढ़ो भनी सचेत अनुकुल हासिल गरीसकेका नयाँ जेनेरेशको अर्थलाई अघिलाउन खोजेका छन् कविले। आजको युगमा बाँच्न सक्ने, अप्ठ्यारो जीवन भोग्न सक्ने जीवनशैलीका कुरा गरेका छन् कविले । पहाड़बुढ़ो-लाई साक्षी राखेर युग परिवर्तनको लहर प्रस्तुत गरेका छन् ।
वर्तमान युगमा देखापरेका, भेटेका, बुझेका विषयवस्तुप्रति केन्द्रित बनेर कविले आफ्नो भाव पोखेका छन्। यसयुगमा नामको लागि बाँचेका जीवनलाई चित्रण गर्दै कठिन जीवनका स्थिति र समस्यावोधलाई कवितामा वोध गरेका छन -
कहाली लाग्ने भुत्याहा पहरा
बाँदर लड़्ने तीनतले भीर
सन्तीबयरको झ्याङ्गमा चैत मध्यान्ह
समाउदै बाबिया बुट्टा
थर्थर काप्दै बेनाम भयले
चढ़िरहेछु खुरखुर्र डाँड़ै-डाँड़ा
ताकेर कुनै कुनाली वस्तीमा।(पहाड़बुढ़ो-बाट)
यहाँ बेनाम जीवनको भय, समाउँदै बाबियोको बुट्टा-को संकेतमा जीवनका रङ्गहरू स्थितिसितको समीकरण हुन पुगेको छ । डाँड़ै-डाँड़ा कठिनाइको प्रतीक। हाम्रो जीवनको बचाईको लक्ष्यलाई कविले कुनाली बस्ती-मा देखाएका छन्। जीवन कर्मवादी रहनुपर्छ। काम आफै बोल्दा फरमूलामा जीवनले समेटेको पोजिटिभ धारणालाई कवितामा प्रस्तुत गरेका छन्। हामी र हाम्रो स्थिति युग सापेक्ष सुगा जस्तो भएका छन् । अझ सुगावादी जीवनप्रति कविले कवितामा भनेका छन्-
भर्खरै अज्ञात दिशातर्फ बेगिए
यही युगका सुत्केरी सुगाहरू
म पहाड़बुढ़ो
भूईँभरि खसेका
सालका मृत पातहरू कुल्च्यो
सऱ्याङ-सऱ्याङ हिँड़िरहे
बनको कुनै तस्कर जस्तो।
मृत पातहरू कुल्चदै-हिँड़नुको अर्थमा कविले एउटा युगको समय संकेत गरेका छन्।
जीवनप्रेमको सन्दर्भलाई जोड़ेर कविले आधुनिक युगमा भईरहेको मानवप्रेमलाई यसरी दर्शाएका छन्-
आध्यात्मिक सपरूङ-मार्गबाट निस्केर
समयलाई चुनौती दिँदै
महानगरको छातीमा
एकाविहानै-
चखेवाका एक युगल जोड़ीले
संयुक्त आत्महत्या गरे( अन्तिम दृश्य-बाट)
ओ आधुनिक यवती
तिम्रो तरूणी ओठबाट
विषाक्त मुस्कान पग्लिरहेको
र, म प्रेमपत्र च्यातेर
यो क्षतिग्रस्त प्रेमपथमा
आतङ्कित उभिरहेछु।(दुर्घटनीपछि-बाट)
देशकालको स्थितिलाई कविले दर्शाउँदै परिमयकरणको उद्घाटनमा भाव अभिव्यञ्जना कवितामा यसरी पस्कीएका छन्-
तेजाबको शराब पिउँदै आधारातमा
दोबाटोमा हिल्लिरहेका छन् बादशाहरू
र, हातमा भोको तरवार नचाउँदै
यतैतिर आईरहेछ मुर्दाहरूको जुलुस
राष्ट्रियभाव तथा देशप्रेमको प्रगाढ़ भाव उनको कविताहरूमा पाइन्छ। प्रकृतिदृष्टिबाट अति सुन्दर देश, खोला-नालाले भरिएको देशले ईश्वरको वरदान पाएका हुन् भन्ने भावलाई प्रस्तुत गरेका छन् । देशको उन्नति र विकासमा कविताहरू बोलेका छन् । यसरी अत्यासलाग्दो विहानीको सुरूङमा म घाम फर्काउन निस्किरहेछु-शशी लुलुम्बुको पहाड़बुढ़ो सङ्ग्रहमा रहेका कविताहरूमा विभिन्न विम्व र प्रतीकहरूको प्रयोग गरी भाव अभिव्यञ्जना व्यक्त गरेका छन्।
हिमाल, पहाड़को जीवनशैलीमा देखापरेको सामाजिक असमानता सामाजिक कुरीति, सामाजिक शोषण –दमन अन्याय अत्यचारमाथि भाव व्यक्त गरेका छन्। राष्ट्रको उन्नति, विकासमा घाम खोजेका भावहरू कवितामा पोतिएको छ। आर्थिक व्यवस्थामा छाएको खिन्नताहरू कवितामा देखिन्छ। राजनैतिक परिच्छेदमा रहेका अव्यवस्थित समयलाई टिपेका छन्। बढ़ो जटिल छन् उनका कविता ग्रहण गर्न भने जस्तै भान भएपनि कवितालाई घोरिएर पढ़ीरहँदा शशी लुलुम्बुको जीवन र उनले बाँचेको समयलाई बुझ्न कठिन पर्दैन। जे होस पहाड़बुढ़ो कविताकृतिले कविता लेखनको नयाँ दिशालाई संकेत पनि गरेका छन्। पहाड़बुढ़ो कविताकृति नपढ़दा एउटा साह्रै राम्रो कविताकृति पढ़नदेखि वञ्चित रहेको महसुस हुन्छ ।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु