तेलनगरीका कविताहरूःएक अध्ययन-माथि छोटो मन्तव्य

- किशन प्रधान

साहित्यकार सुकराज दियालीले साहित्यका विभिन्न विधाहरूमा कलम चलाउंदै आइरहेका छन्।एक सक्रिय सर्जक सँधै सकारात्मक सोंच र विचारहरूमा विश्वास गर्दै सिर्जनाका कार्यहरूमा अनवरत यात्रा हिंड़िरहेका छन्। उनका लेखनबाट कविता, गीत, कथा, निवन्ध, समालोचना संस्मरण, सोधपूर्ण लेख आदि आदि हरामीलाई प्राप्त भिरहेको छ। लेखन क्षेत्रमा अथक सर्जक भनेर भन्नुपर्छ। सर्जक दियालीलाई धेरै विशेषणले विभूषित गर्न सकिन्छ। थुप्रै पत्र-पत्रिकासंग संलग्न भई धेरै कार्यहरू पत्र-पत्रिकारिमा पनि लागिपर्दै आइरहेका छन्। थुप्रै-थुप्रै पुरस्कार र सम्मानहरूले अलंकृत भइसकेका सर्जक सुराज दियाली अत्यन्त आत्मीय र मिलनसार व्यक्तित्वका धनी पनि हुन्। उनको बारे डा. जीवन नामदुंग लेख्छन्- सुकराज वरिष्ठ होइन, विद्वान पनि होइनन् तर वरिष्ठ र विद्वानहरूले भरिभराउ भएको हाम्रो साहित्यमा कुनै पनि विद्वानहरूले नभ्याउनु भेको काम चाँही सुकराजले विद्वानले जस्तै गरिदिएका छन्। नामलाईभन्दा कामलाई मान्याता दिने सुकराजको हात कतै कतै सुकराजका हातहरू जस्तै छन्। सत्य बोल्दा विष खुवाउने समाज सुकरातको समयमा पनि थियो, सत्य लेख्दा ईख राख्ने समाज सुकराजको समयमा पनि छ, पछिसम्म रहला।
अतः यस लेखमा सर्जक सुकराज दियालीको समालोचना कृति भारतीय नेपाली कविताको सन्दर्भमा तेलनगरीका कविताहरूः एक अध्ययन-माथि आफ्नो छोटो विचार राख्ने धृष्टता गरिएको छ। कृतिलाई थुप्रै उप-शीर्षकहरू दिएर पुस्तकको लेखन धर्मिता निर्वाह गरेका छन्। प्रथममा तरल सुनको भूगोलमा कविता खेती राखिएको छ। तेलनगरीको पृष्ठभूमिसंगै त्यहाँको भाषा-साहित्य, शिक्षा, सर्जक, प्राज्ञ विद्वतजन बारे चर्चा गरेको छ। साहितत्यि संघ-संस्थान र पत्र-पत्रिकाको अहम भूमिकाबारे परिचर्चा गरिएका छन्। सम्पूर्ण लेखहरूको फेहरिस्त यस पृष्ठमा राखिएका छन्। दुलियाजानबाट प्रकाशित सबै पुस्तक पत्रिकाहरूको नामावाली पनि यस पृष्ठमा सम्मिनित गरिएको छ। दोस्रो तेलनगरीका कविताहरू अनि होमबहादुर छेत्रीको योगदान –उपशीर्षक समावेश गरिएको छ। यस पृष्ठमा डिगबोई र दुलियाजान असमबाट प्रकाशित तेलनगरीका कविताहरूबारे विशेष जानकारी दिएका छन्। होम बहादुर छेत्रीको अतुल्नीय योगदानबारे विस्तारण गरिएको छ।
दोस्रो तेलनगरीका कविताहरूको परिचय उपशीर्षक समावेश गरिएको छ। यस पृष्ठमा उक्त कृति सन् 2012-मा अभि-जमान स्मृति ट्रष्ट दुलियाजानद्वारा प्रकाशित भएको थाहा लाग्दछ। सम्पादकद्वय खड़काराज गिरी अनि बालकृष्ण उपाध्यायको सतप्रयासमा यो कृति पाठकसमक्ष आउन सकेको जानकारी यस पृष्ठमा पाइन्छ। मोठ सत्तरजना कविहरूको कवितालाई यस कृतिमा समावेश गरिएको जानकारी पनि प्राप्त छ। दुईभागमा विभाजित कृति तेलनगरी डिगबोई अनि तेलनगरी दुलियाजान क्रमशः खड़कराज गिरी अनि बालकृष्ण उपाध्यायले सम्पादन गरेका जानकारी यहाँ पाउन सकिन्छ।
चौथो उपशीर्षक रहेको छ- तेलनगरी डिगबोईका कविताहरू। यस पृष्छमा जम्मा एकत्तीसजना कविहरूको कविता समावेश गरिएका छन्। कविताका केही पंक्तिहरू उद्घृत गरिएका छन्। सम्पूर्ण कविहरूको नामवली पनि प्रकाशमा ल्याएका छन्। तीमध्ये नेपाली कविताका सुप्रशिध्द कवि हरिभक्त कटुवालको नाम उल्लेख हुनु अत्यन्त गर्व हुनु हो। तर कवि कटुवालको कविता उद्घृत नहुनु बढ़ो दुर्लभ हुन गएको महसूस हुन्छ-पाठकीय दृष्टिकोणमा।
तेलनगरी दुलियाजानका कविताहरू अघिल्लो पाँचौ उपशीर्षकमा राखिएको छ। जम्मा उन्चालीसजना कविहरूको कविता समावेश गरिएको जानकारी यस पृष्ठमा पाउन सकिन्छ। नवराज छेत्रीद्वारा रचित-मेरा केही गीतहरू- प्रथम मौलिक कृति मानिएको छ। विशिष्ठ कविहरू नामवली पनि यहाँ सम्मिलित गरिएको छ।
अघिल्लोपाटोमा तेलनगरीका कविताहरूको संरचना उपशीर्षक समावेश गरिएको छ। उनिहरूको परिचयसंगै कृतिहरूको फेहरिस्त राखिएका छन्। कृति विशेषता, ढाँचा र बनोट र बुनोटबारे चर्चा गरिएको छ।
अघिल्लो पृष्ठमा तेलनगरी डिगबोईका कविताहरू विश्लेषणात्मक अध्ययन उपशीर्षक समावेश गरिएको छ। यस पातोमा सर्जक दियालीले कवि र कविताहरूको विशद् विश्लेषण एवं चर्चा-परिचर्चा गरेका छन्। कविताका विविध पक्षहरूलाई कलात्मक ढंगमा, सरल प्रकारले समीक्षण गरिएको पाइन्छ। कविता विविध आयाम, वाद र जीवन दर्शनका पक्षलाई विशेषतरूपमा समीक्षण गरिएको भेटिन्छ। यस पातोमा विशेषतः जीवनवादी कवि हरिभक्त कटुवालका एक कविता र एक गीत उद्घृत गरिएका छन्। कटुवाल भन्ने वितिकै हामी- यो जीन्दगी खै के जीन्दगी-भन्ने बुझ्छौं। यसले यो पृष्ठलाई थप उर्जा प्राप्त भएको छ। तत्कालीन समयका प्रवृतिगत् कविताहरूको विस्तृत समीक्षण गरिएको छ। प्रत्येक कविको व्यक्ति परिचय एवं साहित्यिक क्रिया-कलापबारे पनि सर्जक दियालीले यस पृष्ठमा विस्तारण गरेका छन्। कविहरूप्रति प्रोत्साहन हुन सकोस् एवं लेखनकलामा निरन्तर अघि बढ़न सकून् भन्ने भाव पनि थप अभिव्यक्त गरिएको छ।
अर्को पृष्ठ तेलनगरी दुलियाजानका कविताहरूको विश्लेषणात्मक अध्ययन आठौं पातोमा समावेश छ। यस पृष्ठमा पनि समालोचक दियालीले उनचालीस जना कविहरूको कविताहरूबारे बृहत विश्लेषण गरेका छन्। प्रवृतिगत काव्यिक विचारधाराका कविताहरूको समीक्षणसंगै उदाहरण पनि उद्घृत गरेका छन्। कवितामा प्रयोग गरिएका सरल भाषिक सन्दर्भ पनि व्याखा गरिएको छ। कविताका भाव, अनुभूति एवं सामसामयिक अभिव्यक्तिबारे पनि यस पृष्ठमा विशेष व्याखा-विश्लेषण गरिएको छ। प्रत्येक कविको कविताबारे साराशं लेखिएको पाइन्छ। हरेक कविलाई यथाशक्य न्याय दिन सकून् भन्ने धारणा भेट्न सकिन्छ।
अघिल्लो पृष्ठ-तेलनगरीका कविताहरू-भित्रका विषयवस्तुहरू सम्मिलित गरिएको छ। जम्मा अठारवटा बूँदाहरूभित्र कविताका विषयवस्तुलाई संरचनात्मक दृष्टिकोणले केलाउने सत्प्रयास गरिएको छ। अन्तिम बूँदामा समालोचक दियालीले आफ्नो अभिव्यक्ति दिएका छन्-मान्छेको दुःखको कारण मान्छे नै हो। मान्छेको मृत्युको कारण मान्छे नै हो मानवीय भावको जड़त्व हृदयमा अटाउन सके स्वर्ग झैं आनन्द संसारमा फर्की आउँछ। मान्छे पहिला जीवनका ज्ञानि अपरिहार्य न्यूनतम कुराहरूको अभावबाट मुक्त हुन चाहन्छ, त्यसैले मानव समाजमा संघर्षको प्रारम्भ हुन्छ। समाजको भेदभावमूलक व्यवस्थाको प्रतिवाद लेखनको अभीष्ट रहे तापनि व्यवहारिक रूपमा भेदभाव समाजको रूढ़ीवादी विचारलाई कवितामा विरोध गरेका छन्। काव्यिक विचारधाराको समग्र अभिव्यक्ति भनेर यहाँ अड़कल काट्न सकिन्छ।
अघिल्लो पृष्ठमा तेलनगरीका कविताहरूका अन्तरस्वरहरू समावेश गरिएको छ। समालोचक दियालीले यस पृष्ठमा विविध कविताहरूको अन्तर्निहित स्वर अभिव्यक्तिबारे संक्षिप्तरूपमा विश्लेषण गरेका छन्। अत्यन्त पठनीय एवं प्रशंसनीय पृष्ठहरूमध्ये एक यस पृष्ठलाई लिन सकिन्छ। उनी लेख्छन्-डिगबोई र दुलियाजानका गोर्खे सन्तानको जीवनशैलीको फ्ल्यासव्याक हुन्-तेलनगरीका कविताहरू।
अघिल्लो पृष्ठमा तेलनगरीका कविताहरूमा निहित संज्ञान सन्दर्भ समावेश गरिएको छ। यस पृष्छमा समाज, परिवेश र क्षेत्रीयताबारे कविहरूको जीवनशैलीबारे विशेष विश्लेषण गरिएको छ।
अघिल्लो पृष्ठमा तेलनगरीका कविताहरूका भाषाशैलीको अध्ययन सम्मिलित गरिएको छ। कवितामा प्रयोग हुने सबैभन्दा महत्वपूर्ण तत्व हो-भाषाशैली कवितालाई सरल भाषाशैलीमा प्रयोग हुन सके कविताको वचर्स्व अझ दीर्घ र कवितामय हुन सक्ने सम्भावना देखिन्छ। समीक्षित कविताहरूमा असमीया, संसस्कृत, हिन्दी एवं अंग्रेजी भाषाका शब्दहरू पनि आंशिकरूपमा प्रयोग गरिएको बताइएको छ। उत्तरपूर्वीय राज्यमा प्रयोग गरिने नेपाली भाषाको पनि आंशिक सुगन्ध भेटिएको बुझिन्छ।
पुस्तकभित्र अन्तिम पृष्ठ रहेको छ-मूल्याङ्कन-उपशीर्षक। सम्पूर्ण कविताहरूको बृहत विवेचना भइसकेपछि समग्रमा उपसंहारको रूपमा यो पृष्ठ राखिएको छ। कृतिगत विश्लेषण भिसकेपछि पुनः दोहोऱ्याउने प्रकिया भेको जस्तो देखिन्छ। उनी लेख्छन्-तेलनगरीका कविताहरू-भित्र केही कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पाइन्छ। असमका खोला-नाला, गाउँ-घरको सुन्दर वातवरण, बन-जङ्गल आदिको सौन्दर्यलाई प्रकृतिको अनुपम सृष्टिको गुणगाणसहित दर्शाएको छ।
निष्कर्षमा-समालोक सुकराज दियाली एक चिरपरिचित सर्जक हुन्। उनी अत्यन्त जाँगारिलो प्रतिभाशाली व्यक्तित्व हुन्। उनको लेखनकलाबाट यति स्तरीय समालोचना कृति पुनु भनेको हाम्रो निम्ति गर्वको विषय हो। भारतीय नेपाली साहित्यमा उनको लेखनकलाबाट थुप्रै कृतिहरू प्राप्त भइसकेका छन्। यस कृतिलाई समालोचनाको फाँटमा एक थप कृति मात्रै नमानेर सङ्ग्रनीय कृतिको रूपमा लिनुपर्ने देखिन्छ। यस कृतिको निम्ति उनलाई यस वर्ष 2019-को तेस्रो तुलसी कश्यप स्मृति पुरस्कार 2019-ले अलंकृत गरियो। अतः पुरस्कार पाउन योग्यको कृति लेखिनु भनेको पनि साहस कै कुरो हो भन्न सकिन्छ।

नागरी फार्म,दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु