जहाँ छनछनी त्यहाँ फनफनी

- राजु “हिमांशु”

सर्जकका प्रकाशित पुस्तकहरू आउँछन् मकहाँ । कतिले साहित्यिक कार्यक्रमको समयमा भेट हुँदा दिन्छन् त कतिले डाकद्वारा प्रेषित गर्छन् । कतिले चाहिँ कुनै दोकान / स्थानमा छोडेर फोनद्वारा मलाई सूचित गर्छन् । पुस्तक पाएँपछि पढ़ने काम मेरो । प्रतिक्रिया पोख्ने काम मेरो । मबाट आशा पनि गरेका हुन्छन् सर्जकले आफ्ना कृतिहरूको प्रतिक्रिया आउँछ भनेर । कतिले सोझै भन्छन् –“समीक्षाको आशा गरेको छु। लेखिदिनुहोस् है।”
म अटेरी गर्छु । खालि प्राप्ति सूचना दिने औपचारिकता पालन गर्छु फोनद्वारा कि त सामाजिक सञ्जालको माध्यमबाट अनि “निकट भविष्यमा मूल्याङ्कित हुनेछ कृति” पनि भनिदिन्छु तर त्यो ‘निकट भविष्य’ आइपुगेको नै हुँदैन समयहरू बिते पनि । बेरमाइलो लाग्छ सम्झँदा। तर कति कृतिले भने पढ्दापढ्दै लेख्न लगाउँछ प्रतिक्रिया । दुई तीनपल्टको पठनपछि पूरा पनि हुन्छ पाठकीय प्रतिक्रिया । एकपल्ट सरर पढ्ने कोशिश गर्छु हात परेका पुस्तकहरू । कति पुस्तकले घच्घचाइरहन्छ लेख्नलाई तर लेख्न सकिरहेको हुँदिनँ ।
वास्तवमा केही लेखिदिनुहोस् है भनी पाएको पुस्तकबारे मलाई लेख्न चर्को पर्छ । ममा अह्राएको कुरो नमान्ने प्रवृत्ति विद्यमान छ कि कसो ! पढेर आफूलाई लेख्न मन लागे त्यो लेख राम्रो हुन्छ जस्तो लाग्छ। अह्राएको कृतिमाथि मनमस्तिष्क केन्द्रित हुन नसके लेख्नु कसरी ?
पढ्नुपर्ने धेरै छन् । लेख्नुपर्ने पनि धेरै छन् । समय बितिरहेछ कार्यालयीन कार्यमा नै व्यस्त भएर । घरीघरीको स्थानान्तरणले त झन मभित्रको लेखकलाई छेकाबार लगाउन खोज्दै छ । जसोतसो लेखिटोपल्न खोज्छु तर निरन्तरताको घाँटी निमोठिरहेछ कार्यालयीन कार्यको व्यस्तताले । किश्तीमा लेख्दैछु, लेख्ने कोशिश गर्दैछु । एकै बैठकमा सप्पै लेखी सिद्धयाउन खोज्ने र सक्ने म अचेल लेख्न नभियाउने स्थितिमा परेको छु । साहित्यिक कार्यक्रमतिर त मेरो उपस्थिति नगण्य छ । माया र सम्मान गरेर रिसाउनेहरूलाई म समय दिन सकिरहेको छुइनँ । भन्नु नै हो भने छुट्टीको दिनमा घरमै बसेर केही पढ्न र लेख्न मन पराउँछु र कहीं जाँदिनँ । दिनहुँ घरदेखि बाहिर रहेर कार्यालयमा असाहित्यिक परिवेश र केवल अङ्कहरूको बथानभित्र गुम्सिएर जोड्नु,घटाउनु,गन्नु,भाग र गुणा गर्नु र भक्कु पत्राचार र टिप्पणी अङ्ग्रेज़ी भाषामा लेख्नु, भर्खर पाएको ईमेलमा वाञ्छित सूचना त्यही पनि दस-एघार वर्षअघिको दुई घण्टाभित्रै ईमेलद्वारा सम्बन्धित मुख्यालयमा प्रेषित गर्नुबाहेक दैनिक अन्य अनुभागहरूका अतिरिक्त कार्यभार पनि सम्हाल्नुपर्ने स्थितिको दास भएर जोतिन्छु । दिउँसोको खाना तीन बजेतिर खानुपर्ने र बेलुकी सात बजेतिर अफिसबाट बाहिरिएर बसगाड़ीमा चढ़ी कहिले दुई घण्टा त कहिले ट्राफिक जामले चार घण्टा बसगाड़ीमै बिताई घर पुगेपछि थकानले मभित्रको लेखन्तेलाई छिटै सुताउँछ। भोलिपल्ट सखारै उठी फेरि त्यही दिनचर्याको पासोभित्र परेर छटपटाउँछु ।
तर दिनहुँ केही न केही अलिकति भए पनि लेख्नुपर्ने रोगका जीवाणुहरू भने सल्बलाई
रहेछन् । फलत: कागज़को टुक्रामा,नोटबुकमा सानासाना टिप्पणी,कविता एवं कथा र नाटकका प्लटहरू भने लेख्ने गर्छु। अधूरा-अपुरा यी कुराले पूर्णता कहिले पाउँलान् ? थाहा छैन। तर पूर्णता पाएर छापिँदै छन् कति।पुस्तकभित्र पनि सङ्गृहीत पनि हुँदै छन् कति। त्यसरी मभित्रको लेखक बाँच्दै छ कि अचेल?
वर्षमा एउटा कृतिप्रकाशन कार्यमा भने लाग्नैपर्छ भन्ने सोचले आक्रान्त छु। हठात् पहाड़बाट समतलमा स्थानान्तरित हुँदा मभित्रको लेखकसत्ता कसरी हल्लियो?त्यो म नै बुझ्छु राम्ररी । तर फलदायक नै साबित भयो स्थानान्तरण । ई० सन् २०१८ मा दुईवटा पुस्तक प्रकाशित गर्न सक्षम भएँ । कथा र नाटक विधाका पुस्तकहरू छापिए । केही ठोस लेख्न नसकिए पनि ई० सन् २०१९ मा एउटा कवितासङ्ग्रह पनि छापियो । नयाँ ठाउँले नयाँ अनुभूति पनि गरायो । त्यहाँका दृश्य र स्थितिले मअघि धेरै खुराकहरू पस्किदिए । कति लेखिए पनि अनि भविष्यमा ती सङ्कलित भई पुस्तकाकारमा आउने पनि छन् निश्चय ।
एउटा कुरो चाहिँ के बुझियो भने; जहाँ गए पनि, जे जस्तो स्थितिमा चेप्टिए पनि आफूभित्रको “लेख्नै पर्ने रोग” बल्झिहाल्दोरहेछ । साहित्यपठन र लेखन पाठकहीन स्थितिमा पनि निराशित र मृत भएनन्। । साहित्यलेखन भनेको एउटा जाती नहुने रोग नै रहेछ । सोख भएर सुरू भए पनि अहिले आएर आत्मसन्तुष्टि प्रदान गर्ने र शान्तिमय परिवेश दिने माध्यम बनेछ मेरो लेखन । रिसले,आरिसले, मायाले,ईर्ष्याले,खुसीले, दु:खले ,पीडाले.......... अर्थात् सप्पैले मेरो लेखनमा सहयोग दिँदै आएका छन् । तर अचेल जथाभावी दायित्वहीन भएर लेख्नु उचित हुँदैन । दायित्वशील भएर समुचित,न्यायसङ्गत,सामाजिक जागृतिबोध गराउने लेखनरत हुनु आवश्यक छ । म पो कति दायित्वशील भएर गतिशील छु? मन परेकै छैन र पनि प्याच्चै भन्न र लेख्न नसक्नुले के मभित्रको लेखक लाजपचाहा हुँदैनन् र ?
साहित्य समाजको दर्पण हो भनिन्छ । मेरो लेखनमा कति जीवन्त छ मेरो समाज? मेरो लेखनले बिग्रिएका कति सुध्रिए ? बिग्रिएकालाई सुधार्नु के नै पो उपाय पस्किन सकेँ र ? सल्लाह र उपदेश लेख्न सजिलो हुन्छ तर त्यसलाई व्यावाहारिक रुपमा पालन गर्नु कठिन हुन्छ । सर्जकले आफ्नो सिर्जनाद्वारा विकृत मानसिकतामा सुधार ल्याउन सक्छु र त्यसैले लेख्छु नभने पनि भयो अटेरी,बाठे र स्वार्थी वर्तमानमा । अरूलाई सुधार्न सहजै सकिन्न। बरु आफ्ना कमी,कमजोरीहरू बुझेर आफैलाई सुधार्नु बेस।
“Money is sharper than the sword”-को जमानामा कलमले तरबारलाई सधैँ जित्छ भन्नु पनि सर्वमान्य नहोला। कलमको घाँटी रेटिएका छन् धेरैपल्ट। निर्भीक लेखकको विरोधिताले, विद्रोहले लेखक स्वयंलाई साह्रोगाह्रो परेका किस्साहरू सुन्नमा नआएका होइनन् । मारिएका छन् घर-आँगनमै निर्भीक सोच बोकेर विरोधिता गर्ने रहस्योद्घाटकहरू,मार्गदर्शक बन्नेहरू। साँच्चैको विरोधको सङ्ख्या कति हुन्छ अचेल ? जोखिम उठाउन सहासी को हुन चाहन्छ र अचेल ? त्यसो भए आजको लेखनमा कति निर्भीकता निहित हुन्छ त? साहित्यको सही अर्थ कायम गर्ने क्रममा कति साहित्यकार अर्थहीन भएर विपन्न भए होलान्? साहित्यकारको बूढ़ेसकाल पीढ़ामय र छटपटीपूर्ण भएको देख्नेले केही हदसम्म साहित्यकारको बूढ़ो बिजोगलाई बुझ्लान्।
“के को निम्ति लेख्नु हुन्छ ?” भन्ने प्रश्नको उत्तरमा अचेल मेरो ओठले यस्तो उत्तर बरबराउँछ –“लेख्नुकै लागि मात्र लेख्छु अचेल। ”
“लक्ष्यहीन र उत्तरदायित्वहीन लेखनले समाजमा उलटफेर ल्याउन सक्छ त?” यस्तो प्रश्नले साहित्य र साहित्यकारलाई डाम्छ । तर सामाजिक उलटफेर हुनुमा अथवा कुनै परिवर्तन गराउनमा साहित्य र साहित्यकारमात्रै दायी हुनै सक्दैनन्। सत्तारूढ़ राजनेताहरूको स्वार्थी चलखेल बुझे पनि, देखे पनि त्यसको सोझै प्रतिवाद पस्कन नसक्ने भएको छ अचेल कलम। राजनीतिक धारिलो तरबारअघि तीखो कलम भाँचिएर कलम तरबारभन्दा धारिलो नभएर दुर्बल र दास बनेको किस्सा पनि नसुनिएको होइन।
इतिहासमा अर्थात् विगतमा देखिएका पुर्खाका वीरता र वर्तमान पीढ़ीको शौर्यमा आकाश पातालको भिन्नता छ ।तर युवा शक्तिमा पनि त्यो तागत देखिएको छैन;जसले सत्तामा उलटफेर ल्याउनु सक्छ। क्षणिक मजामा रम्ने युवा मनमा त्यो जाँगर र आँट पनि देखिन्न ;जसले भविष्य उज्यालो पार्ने सङ्केत मात्र पनि दिन सक्छ। रुपियाँको छनछनीमा फनफनी घुम्ने र मादक पदार्थको तलतलीमा रम्ने युवा जमातको आकार बढ्दो देखिन्छ । सर्जकहरू लेख्छन् त्यो। तर खै सुधार आएको?
लेखकभित्रको कुण्ठाको गुन्टा र पीड़ाको गाँठो फुकाउन हम्मे पर्दैछ । उसको अघि जिम्मेवारी पनि अधिक छ । लेखकलाई लेख्नमात्र लगाउने काम र त्यसबाट आय पनि दिइयो भने लेखनमा निरन्तरता कायम रहला तर आयस्रोतको व्यतिक्रम देखेर ऊबाट त्यसको उन्मूलनको निम्ति लेखन हुन सक्छ र ? अन्याय देखेर पनि चुप बस्नुपर्ने बाध्यता बोकेर लेखन कति सफल हुन
सक्छ ? भयभीत वातावरणमा लेखकको आँटले सोचाइमा परिवर्तन दर्शाउने कार्य भए तापनि कालान्तरमा त्यो निरस्त भएर जाने गर्छ भने लेखकको धर्म पालन हुँदैन र लेखनबाट सन्यास लिन बाध्य होइन्छ अथवा चुपचाप बसिन्छ भने किंवा केही गर्नु नसक्ने अवस्थामा रहेर अशक्त लेखन कायम राख्नुभन्दा बरु कलम बन्द गर्नु नै उचित हुन्छ भन्ने सोचले लेखकहरूको दिमाग दुखाउँदेन भन्न मिल्दैन । यस प्रसङ्गमा टाउको दुखाई हेर्दा मेरो लेखनले समाजमा कति परिवर्तन ल्याउन सक्यो(?) भन्ने प्रश्न मअघि खडा हुन्छ। अथवा मेरो लेखनबाट कति जना सुध्रिए? सचेतता जगाउन लेखिएका पुस्तकहरू कतिले पढेर आफूमा सुधार ल्याए त ? यी प्रश्नहरूका सकारात्मक उत्तरहरू कस्ता हुन्छन् ? मलाई थाहा छैन । मेरो लेखनको सार्थकता कतिसम्म रहेको छ ? मरेर पनि नमरूँ भनी लेख्नु पनि बेकार भएको जस्तो लाग्छ। साहित्यकै निम्ति मरिमेट्ने प्रोलिफिक राइटरहरूको नेपाली साहित्यमा धेरै महत्त्वपूर्ण योगदान रहे पनि उनीहरु बितेर गएपछि उनीहरुका कृतिहरुबारे कति सम्यक चर्चा-परिचर्चा हुन सकेको छ ?
पाठकको निम्ति लेखिन्छ पुस्तक लेखकद्वारा। पठनको निम्ति पाठकको सङ्ख्या
खोइ ?साहित्यिक कार्यक्रमहरूमा पाठकश्रोताहरूको सङ्ख्या न्यून देख्ता साहित्यको हार भइरहेको हो कि जस्तो लाग्छ वर्तमान प्राविधिक प्रवर्धनको समयमा । कि आयोजकवर्गको कमी-कमजोरी र पुरातन सोच र शैलीले गर्दा हो? पाठकलाई पढूँपढूँ लाग्ने साहित्य नै कति लेख्न सकियो र पाठकहरूको घुइँचो खोज्नु? फेरि सोध्लान्- पाठकको निम्ति लेखिएको साहित्यको स्तर कस्तो हुन्छ? साहित्यिक स्तर भनेको फेरि के हो ? स्तरीय भएनन् कृतिहरू भनेर पुरस्कार नै नदिने विचारहरु पनि नदेखिएका होइनन्। फेरि अर्कोतिर अस्तरीय कृतिले पनि कसरी पुरस्कार पायो(?) भन्ने प्रश्न पनि खड़ा नभएको होइन। साहित्यिक मापदण्ड कस्तो हुनुपर्ने पुरस्कारको निम्ति ? वास्तवमा पुरस्कारलाई सोचेर लेख्दैनन् सर्जकले । तर लबी लगाइन्छ पुरस्कारको निम्ति पनि भनिन्छ । त्यस्तो सुनिन्छ पनि । वास्तवमा स्तर भनेको के हो ? मेट्रोपोलिटिन सिटीमा बसेर आएको सोचले ग्रामीण अविकसित अवस्थालाई जोख्दा विकसित शहर र देश हेरेर जोख्छन् त ग्रामीण ग्राउन्ड रियलिटि नबुझी ? सर्जक छ र कृति छ। कृति छ र पुरस्कार गुठी गठित हुन्छ। तर कुन्नि कसरी कृतिभन्दा पुरस्कार पहिलो र ठूलो भइरहेको सोचाइहरू डुक्रन्छन् । पुरस्कार भनेको तिरस्कार बराबर हो भन्ने सोच पनि सर्जकको मस्तिष्कमा नउफ्रिएको होइन । तर पुरस्कारको अर्को अर्थ सम्मान पनि हो । पुरस्कारहरू कसरी तिरस्कार बराबर बन्दैछन् त (?) प्रश्न पनि जागेकै हो।पुरस्कार तिरस्कार बराबर हो भने “म त्यो पुरस्कार ग्रहण गर्दिनँ” भन्ने आँटिला ओठहरू भने मौन छन् । छनछनीले घुमाउँदैछ कि फनफनी?
सप्पै सही होइनन् र पनि सप्पै सही हुन् भनेजस्तो अथवा यहाँ सप्पै हाम्रा हुन् र पनि हाम्रा होइनन् भनेजस्तो मेरो लेखन पनि सप्पै सही र राम्रा होइनन् होलान्। आफूले आफैलाई सर्काउनु उचित हुँदैन। अति प्रशंसा र आत्मश्लाघाले पतन देखाउँछन् । मपाई र विज्ञापनबिना मूल्य र उपस्थिति नै भुल्ने समयमा मपाई र विज्ञापन गरिनु पर्ने बाध्यता देखापर्दैनन् भन्न सकिँदैन ।तर त्यसो गर्न सकिएन ।
यहाँ सप्पै कुरा नै रुपियाँमाथि निर्भरित हुन्छ। सोचाइ उफ्रन्छ । रुपियाँ सबैथोक होइन तर केही त हो । वर्तमानमा रुपियाँको पर्यायवाची शब्द रहेछ “दोस्रो भगवान्” । यो दोस्रो भगवानले गर्नु गरिसक्यो । विपन्नता र सम्पन्नताको माझमा खाडल यही भगवानले त खनेको छ । राम्रा लेख्नेहरू धेरै छन् । प्रतिभासम्पन्न पनि धेरै छन् । तर राम्रा लेख्नेहरू सम्पन्न नभएर छपाउन सकिरहेका छैनन् । पेटकै निम्ति छनछनीमा फनफनी घुम्दै छन् । कति प्रतिभासम्पन्नहरू विपन्न भएर मृत्यु कुर्दै छन्। विपन्नताको अँध्यारो ओड़ारभित्र गुम्सिएर विलोपित हुँदै जाँदैछन्। व्यक्तिसितै प्रतिभाको इतिहास पनि मर्दै जाँदैछ जस्तो लाग्छ ।
Silence is golden अर्थात् चुप बस्नु नै उत्तम उपाय हो भनिन्छ । सायद कतिपय स्थितिमा सही पनि साबित हुँदो हो यो कथन। तर वर्तमान समयमा को (?), कसरी, (?) किन (?) चुप बस्न सकेको छ? यस्तो प्रश्नले टाउको दुखाउने समय पनि लेखकसित नै त होला? तर “Crown is no cure for headache” भने जस्तो मेरो बेफ्वाँकको सोचाइ र लेखाइले कति उपचार दिन सक्ला सधैँ मौद्रिक प्रलोभनमा पर्ने रुग्ण मगजलाई ?
जहाँ छनछनी त्यहीँ फनफनी घुम्दै रहेछन् प्राय: सबै ।

डाउहिल,खरसाङ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु