आश्रय शिविरका वेश्याहरू

- अरूपा पटङ्गिया कलिता

(असमीया कथा)
जापानले चीनमाथि आक्रमण गऱ्यो । युद्धले मान्छेहरूको मान्छेझैँ बाँच्ने स्वतन्त्रता खोसेर लग्यो । अर्काको देश आक्रमण गर्न आएका सैन्यहरूलाई युद्धले अस्वाभाविक तुल्याएको थियो । बथानका बथान बिरामी कुखुरा मरेझैं मान्छे मरेका थिए । आफ्नो घर-सन्सार, परिवार र खेत-बारी लिएरै व्यस्त रही जीवन निर्वाह गरिरहेका आइमाईहरूले कहिल्यै नदेखेका कुराहरू देखे । सबै उलटपुलट भएको थियो । आइमाईहरू डराइ डराइ एक अर्कासँग कानेखुसी गरेर भन्थे- यी विदेशी सैन्यहरूको मनभन्ने वस्तुनै छैन, यिनीहरूको कम्मरदेखि तल्तिर मात्र छ । सारै डराएका थिए मान्छेहरू । सिधासादा, सरल जीवनमा अभ्यस्त चीनदेशका आइमाईहरूले नयाँ कुराहरु केही बुझ्नसकेका थिएनन ।

कुभिन्डोझैं तलदेखि माथिसम्मै समान जिउकी थसुल्ली, छजना छोराछोरीकी आमा, चौधजना नातीनातीना, तीनजना पनातीपनातीना भएकी उलिएनकी आमालाई कसैले नराम्रो आँखाले हेर्नसक्छ भनेर कस्लेपो सोचेको थियो र ? उनको आधी उमेरदेखी शरीरमा केही भयो, सारै मोटी हुन थालिन । मोटि हुँदै हुँदै हात्तीको बच्चो जस्तो भइन । जति उमेर बढदै गयो उति मोटी हुँदै गइन । थपथप गर्दै हिँडेर घुमफिर गर्छिन, वल्लोघर पल्लोघर जान्छिन, सकेजति कामपनि गर्छिन। सबैले उनलाई थसुल्ली दिदी भनेरनै जान्दछन । अस्वाभाविक रूपले मोटी ती आइमाईका कपाल, आँखिभौं, परेला सबै सेतै फुलेका थिए । ओठमा सधैँ एउटा मुस्कान टाँसिइरहने थसुल्ली दिदी उ-लिएनकी आमालाई सबैले माया गर्थे । शरीरजस्तै उनको मनपनि फराकिलो थियो, सबैलाई मायाले अँगालेर राख्ने । मर्नलाई अब केहीदिन मात्र बाँकीरहेकी उनी आफ्नो सानु सन्सारमा ठुलो शरीर लिएर सुखशान्तिले हिँडडुल गरिरहेकी थिइन ।

त्यसदिन लिङ्टेन र लिङ्चाउका घरमा थसुल्लीदिदी सुद्धै केहीजना आइमाई बसेर बातमारिरहेका थिए । बातमार्नु पनि के थियो र, तिनै एकैखाले कुरा, युद्धका कुरा, डरका कुरा, सैन्यका कुरा । अकस्मात केहीजना विदेशी सैन्य घरको गौँडोसम्म आइपुगे । लिङ्टेनले तत्कालै आइमाईहरूलाई पछाडीको ढोकाबाट निकालेर भगाए । लिङ्चाउहरूको कोठेबारीको पुछारमा इनारको छेउमा एउटा सानो बाहिरी ढोका थियो, आइमाईहरू त्यतैबाट भाग्नभनेर दगुरे । तर थसुल्ली दिदीलाई लिएर समस्या भयो, त्यो सानो ढोकाबाट ऊ कसैगर्दा छिरिनन । लिङ्टेनले हतारहतार रूखका हाँगाबिँगा, पातपतिङ्गर भेला पारेर थसुल्ली दिदीलाई छोपिदिए । ऊ निश्चल भएर त्यहीँ बसि रहिन । लिङ्टेन आफुपनि एकातिर लुके । लुकेकै ठाउँबाट उनले अकस्मात सुँगुरलाई रेटिरेटि काट्दा जस्तो शब्द हुन्छ त्यस्तै एउटा शब्द सुन्न पाए । त्यसपछि गलाको घ्याँरघ्याँर अनि एउटा गहिरो चित्कार । एकछिन पछि सबै सानसुन, चकमन्न भयो । लिङ्टेनलाई थसुल्ली दिदीलाई पक्कै केही भयो भन्ने बुझ्न बाँकी रहेन । सैन्यहरू गइसकेपछि लिङ्टेन, लिङ्चाउ र आइमाईहरू फर्केर आए । सबैले इनारका छेउको सानो ढोकानेर जुन दृश्य देखे त्यसले सबैका शरीरको रगतलाई हिउँ बनाइदियो, आँखा चिम्ल्याई दियो । निर्वस्त्र भएर उलिएनकी आमाको थसुल्लो बृद्ध शरीर पातपतिङ्गरमाथि लडिरहेको थियो । उनको प्राणहीन शरीरको सर्वत्र चोटै चोट थियो, रगत जमेको थियो । धेरैवटा सैन्यको निष्ठुर यौन अत्याचारले उनको शरीर थङ्थिलो भएको थियो ।

यस घटनापछि लिङ्चाउहरू आफ्नो घरमा बस्न डराए । एउटी श्वेताङ्गी महिलाले एउटा आश्रय शिविर खोलेकी थिइन । त्यस शिविरमा उनीहरू महिलालाई आश्रय दिन्थे । गोरा मान्छेले सञ्चालन गरेको हुनाले त्यस शिविरमा जापानी सैन्यहरु पस्न साहस गर्दैनथे । लिङ्चाउहरू गएर त्यही शिविरमा आश्रय लिए । एकदिन लिङ्चाउले शिविरमा चुचाउ शहरबाट सातओटी राम्री राम्री कम्ति उमेरका केटी आएको देखिन । उनीहरूको पहिरन, कुराकानी, हाउभाउ देखेर लिङ्चाउले यिनीहरू घरायसी केटी होइनन भन्ने बुझिन । उनीहरूमाथि लिङ्चाउलाई रिस उठेर आयो । किन आएका यिनीहरू आश्रय शिविरमा | बाहिरै बसेकाभएपनि त हुन्थ्यो, सैन्यहरू ग्राहक बनेर लाइनमा लाग्ने थिए । प्रसस्त रुपियाँपैसा कमाउन सक्ने थिए । बरू सैन्यहरूले घरायसी आइमाईहरूलाई छाडीदिने थिए । लिङ्चाउले खुलस्तै ती राम्रा राम्रा केटीहरू प्रति आफ्नो घृणा देखाइन । यस्ता नकच्चरीले किन आश्रय शिविरमा आउनुपरेको ? केटीहरूले पनि अरु आइमाईहरूको मनोभाव बुझे । शिविरको एउटा कुनामा उनीहरू एकान्तमा बस्न थाले । उनीहरू आफैँ अघिसरेर कसैसँग बोल्न गएनन, अरु पनि उनीहरूसँग बोल्न आएनन । एकदिन लिङ्चाउले ती केटीहरूलाई सोधिन, “तिमिहरूचैँ यहाँ किन आएका ? लोग्नेमान्छेदेखि तिमिहरूलाई केको डर ?” उत्तरमा एउटी चिटिक्क राम्री केटीले भनी, “हामीले जब गोरामान्छेले एउटा शिविर खोलेका छन, त्यहाँचैँ विदेशी सेना पस्न पाउँदैनन रे भन्ने सुन्यौं, तब तत्कालै हाम्फालेर यहाँसम्म आइ पुग्यौँ ।“ अर्कीले भनी, “हजुरले ठिकै भन्नुभो आमै, हामी लोग्नेमान्छे चिन्दछौँ । तर यी सैन्यहरु, विदेशबाट आएका युद्धगर्ने यी लोग्नेमान्छेहरू – यिनीहरूलाई हामी चिन्दैनौँ । यी मान्छेहरू हामीले चिनेका पुरुषहरू होइनन ।“ अर्की एउटीले भनि, “ हामीपनि हाम्रो देश आक्रमण गर्ने विदेशी शत्रुलाई घृणा गर्दछौँ ।“

त्यसैदिन राती आश्रय शिविरमा एउटा ठुलो आपद्‍ आइलाग्यो । मध्यराती सबै आइमाईहरू ब्युँझिएर उठे । बाहिरको गेट्मा ढ्याम्‍ढ्याम्‍ आवाज भइरहेको थियो, सँगसँगै बन्दुक पड्किएको शब्द पनि । शिविरकी श्वेताङ्गी महिला हातमा लालटिन बोकेर गेटसम्म जाने भइन । सबै आइमाईहरू एकैठाउँमा थुप्रिएर डरले थरथर काम्न थाले । आश्रय शिविरको गेट्‍मा सयजनाजति सशस्त्र सैन्य खडा थिए । नारी शरीरको गन्ध पाएर तिनीहरु यहाँ आएका थिए । शिविर सञ्चालन गर्ने ती श्वेताङ्गी महिला बाहिरका सैन्यहरूलाई भेटेर आएर शिविरका आइमाईहरूका अगाडी मुन्टो निहुराएर उभिइ रहिन । सैन्यहरूले भनेका रहेछन, उनीहरूलाइ पाँच-छओटी आइमाई दिनु पर्ने, नत्र उनीहरू भित्र पस्नेछन । गोरी महिलाको कुरा सुनेर शिविरका आइमाईहरू थरहरी भए । बाहिर गेटमा ढ्यामढ्याम कुटेको आवाज बढ्दै गयो । शत्रु सैन्यहरू पसिहाल्नेपो हुन कि भन्ने त्रास भयो । सबैले देखे, श्वेताङ्गी महिलाका हातको लालटिन हल्लिइरहेको थियो, उनी थरथरी कामीरहेकी थिइन । काँपेको बोलिले ऊ भन्न थालिन, “म कस्लाई, कसरि भनुँ तिमिहरू शिविरबाट जाओ भनेर, त्यो पनि यस्तो कामका लागि । तैपनि भन्छु, त्यस्तो कोही छ भने, यदि कसैलाई उनले त्यो काम गर्न सक्छिन भन्ने लाग्छ भने , यी घरायसी आइमाईहरुलाइ रक्षागर्न सक्छिन भन्ने लाग्छ भने, यदि कोहि ........... ।“ उनको बोली घुँक्क घुँक्क हुन थाल्यो । बाहिरको गेटमा ढ्यामढ्याम कुटेको आवाज क्रमशः बढिरहेको थियो । अकस्मात चुचाउबाट आएका सुन्दरी केटीहरु उठे । एउटीले अरुलाई सबैले सुन्नेगरी भनी, “तिमिहरू तयार होउ, कपाल सम्याओ, मुहारमा मुस्कान ल्याओ, अब हामीले हाम्रो काम सुरू गर्नुपर्छ ।“ त्यसपछि तिनीहरू शिविरबाट निस्किनभनि तयार भए । गोरी महिलाले छातीमा क्रस्‍चिह्न बनाइन, शिर झुकाएर ती केटीहरूतर्फ हेरिन र भनिन, “प्रभुले तिमिहरूलाई यस महान काम गरेवापत आशिर्वाद दिनेछन ।“ एउटीले ओठ लेब्र्याएर भनी, “तिमिहरूका प्रभुले हामीलाई चिन्दैनन ।“ त्यसपछि उनीहरू सबैओटी शिविरबाट निस्केर गए । गेटको ढ्याम्‍ढ्याम्‍ बन्द भयो, बन्दुकको आवाजपनि हरायो । शिविरका आइमाईहरु सुत्ने तर्खरमा लागे । दुई-एउटी निदाई पनि सके ।

लिङ्चाउ घुँडामा टाउको राखेर बसि रहिन । उनका छेउको ठाउँ खाली थियो । यहीँनेर यतिञ्जेल ती राम्रा केटीहरू थिए । त्यस ठाउँतिर हेरेर लिङ्चाउका आँखा रसाए । जति पुछ्छिन उति आँसु बग्न थाले । उनको छातीभित्र दुख्न थाल्यो, ती केटीहरूलाई ऊ घृणा गर्थिन, खुलस्तै त्यो घृणा प्रकट पनि गरेकी थिइन । उनका कानमा मायालाग्दो मुहारकी त्यो कलिली केटीले बोलेको आवाज गुञ्जि रह्यो, “हामी लोग्ने मान्छेलाई चिन्दछौँ, तर यी, यी युद्धगर्ने विदेशी लोग्नेमान्छे- यिनीहरूलाई हामी चिन्दैनौँ ।“ जति जति यी कुराहरु मनमा आइरहे उति उति लिङ्चाउका आँखाबाट बरबरि आँसु झरि रहे । एकपल्ट पुछ्छिन, फेरि झर्छ, पुछ्छिन, झर्छ, झर्छ, पुछ्छिन, पुछ्छिन, झर्छ ।

(अनुवाद – गदाधर शर्मा, गुवाहाटी, असम, भारत ।)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु