मौन क्रन्दनभित्रका आवाजहरू

- डा. राजेन्द्रप्रसाद अधिकारी

बाईसवटा कथाहरूको संग्रहको रूपमा डा. सावित्री श्रेष्ठको कथा संग्रह मौन क्रन्दन भर्खरै प्रकाशित भएको छ । साहित्य लेखनमा वहाँ पुरानै हस्ताक्षर हुनुहुन्छ र यस अर्थमा वहाँका साहित्यिक रचनाहरूको संकलन प्रकाशित हुन जरूरी नै थियो जसको पूर्ति यस संग्रहले गरेको छ । मूलतः महिलासंग सम्बन्धित विषय, पात्र र घटनाहरू समेटिएका छन् डा. सावित्री श्रेष्ठको मौन क्रन्दनभित्र । नारीका अव्यक्त भोगाई, घटना, पीडा र परिस्थितिहरू शसशक्त एवं चर्का आवाजको रूपमा प्रष्ट एवं विना हिचकिचाहट प्रकट भएका छन् कथाहरूमा । यस मानेमा कथाहरु नारी संवेदनाका वाहक बनेका छन् । धेरै नारीहरूलाई यी कथाहरूले नजिकैबाट स्पर्श गर्नेछन् भने कतिपयलाई यी कथाका विषयवस्तु/घटनाले गर्लम्म अङ्गालो हाल्ने छन् र पुरूष मनस्थितिको मथिङ्गल खलबल्याउने पनि छन् । कथाकार आँफै भन्नुहुन्छ "हामी दाईलाई आफूहरु भन्दा विशेष मान्नुपर्ने, मीठो खुवाउनु पर्ने, सेवा गर्नुपर्ने धारणा सहितको जीवनशैलीमा हुर्कियौं" भन्दै कथाकार थप भन्नुहुन्छ "असमानता र विभेद नै अनिवार्य र यहि नै मात्र एक सत्य हो जस्तो लाग्दै रह्यो हामीलाई।" यो भनाईले हाम्रो सामाजिक-साँस्कृतिक मूल्य र मान्यतालाई प्रष्ट उजागर गरेको छ । यो भोगाई कथाकार हुर्कदै गर्दाको समयको मात्र होईन यो परिवेश अझै हाम्रो समाज र सँस्कारबाट पुरा हटिसकेको छैन । यस अर्थमा आजका शिक्षित र चेतनशील नारीहरूले यस समाजको परिवर्तन र महिलाहरूको शशक्तिकरणको लागि निरन्तररूपमा लाग्नु पर्ने देखाउँछ ।
साहित्यले समाज, परिवेश, र चरित्रहरूलाई चित्रण गर्नु पर्दछ र साहित्य कलाको सहारमा अभिव्यक्त्त इतिहास पनि हो भन्ने मलाई लाग्छ । यस संग्रहका कथाहरू नेपाली समाजमा रहेको असमानता र विभेदको वरिपरि घुम्न खोजेको छ र कथाहरूले समाजको कारण विकसित भएको नारी मनोविज्ञानलाई पनि केलाउने जमर्को गरेको छ । अधुरो कथा लेख्दै कथाकार भन्नुहुन्छ "अरूलाई असर पर्ला भनेर आफूलाई सजाय दिएर छुट्टिएका हामी । उनीविनाको जिन्दगीमा पूर्ण खुसीको अनुभूति कहिल्यै भएन । मनको एउटा कुना सधैं दुखिरह्यो ।" यसैगरी फेरी विग्रकी केटी मा कथाकार कुनै विगतलाई स्मरण गर्नुहुन्छ "म दिनेश दाइको मोहित आँखा हेर्दै चियाका खाली कप लिएर भान्छा पसेकी थिएँ । त्यस बाहेक उहाँले अरु केही कहिल्यै भन्नुभएन तर उहाँको आँखामा जस्तो प्रेमिलभाव आजसम्म यस संसारमा कसैको आँखामा पाएकी छैन ।" यसैले त आफ्नो शुभकामना मन्तव्यमा वरिष्ठ कथाकार पद्मावती सिंह भन्नुहुन्छ "वहाँका अधिकांश कथा नारी पात्रका वरिपरि घुम्छन् । नारीको दृष्टिकोणले आफ्नो भोगाइ र अनुभवले आफ्नो वरिपरि छरिएका कथानकलाई टपक्क टिपेर कथामा उन्न उहाँ सिपालु हुनुहुन्छ ।"

प्राणीहरुमा विद्यमान सामाजिकता र प्राणीजन्य आवश्यक्ताहरुलाई ध्रुवे हात्ती र बाढीपिडित हात्ती कथाले समेट्न खोजेको छ र कथामा विविधता थप्न पनि सकेको छ । कथाहरुले देशभित्र र देश बाहिरको परिस्थिति र परिवेशलाई पनि समेटेको छ । समुद्रपारिको कथा भन्दै कथाकार भन्नुहुन्छ "मान्छेलाई देशले तान्दो रहेछ । आफन्तहरूले तान्दो रहेछ । मलाई नेपाल फर्कूँ फर्कूँ लाग्न थाल्यो ।" प्रस्तुत संग्रहभित्रका कथामा आर्थिक-समाजिक-राजनीतिक विषयवस्तुहरू पनि अभिव्यक्त भएका छन् – पात्र र पात्रको सोचाईलाईलाई अलिकति तन्काएर । जस्तैः उनले जन्माएकी छोरी प्रश्न गर्छै "तर यिनी आफूलाई कम्युनिष्टचाहिं किन भन्छन्, मार्क्सवादी रे ।" यसैगरी क्षितिजवारिः क्षितिजपारिमा यौटी छोरी भन्छे "यो हाम्रो आमालाई दोस्रो दर्जाको नागरिकको ठाउँमा राख्ने समाजलाई गतिलो झापड होइन त ?" अनि नायकः खलनायक भएपछि स्वतः जिज्ञासा लाग्ने नै भयो "ओहो यति निच काम गरेर पनि मानिस करोडौंको गाडी चढ्दो रहेछ ! नायक पनि खलनायक बन्दो रहेछ !" यी र यस्ता अभिव्यक्त्तिहरुले मौन क्रन्दनभित्रबाट चर्को आवाज निक्लेको महशूस हुन्छ । प्रस्तुत कथा सङ्ग्रहका कथाहरु चाखलाग्दा छन् र पढ्न शुरु गरेपछि कथा पुरा नपढी बीचैमा छोड्न मन लाग्दैन । यो कथाकारको विशेषता हो र सफलता पनि हो भन्ने मलाई लाग्दछ ।
डा. सावित्री श्रेष्ठका प्रस्तुत कथाहरू लगभग उस्तै परिवेश र उस्तै प्रकारका घटनाहरूको वरिपरि रहेको भान हुन्छ भने कतिपय स्थानमा कथा निबन्धसंग गाँसिएर अभिव्यक्त भएको महशूस हुन्छ । यद्यपी, यस कथाकृतिले डा. सावित्री श्रेष्ठलाई एक सक्रिय नारी हस्ताक्षरको रूपमा उभ्याएको छ र वहाँमाथि थप परिष्कृत रचनाहरू नेपाली समाजलाई दिने जिम्मेवारी पनि थपिदिएको छ । कथाकारबाट विज्ञान र प्रविधिमा भएको विकाससंगै नारीहरूले उपभोग गर्न पाएका नयाँ अवसरहरू र समाज परिवर्तनसंगै देखिएका संभावनाहरू तर्फ पनि समग्र समाजलाई डोर्‍याउने खालका नयाँ कथाहरू सृजना होस् भन्ने कामना गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 7 बैशाख, 2077

लेखकका अन्य रचनाहरु