घरफिर्ती

- रामकृष्ण शर्मा.

“एउटा मात्र छोरो भएपछि विहे भन्या कुरा छिटै नै गरेको राम्रो हैन र“ बा ले वेलुका भात खाने बेला आमासंग कुरा गरेको सुनें। कस्को विहे होला भन्ने खुल्दुली लाग्यो। भर्खर तेईसमा हिड्दै गरेको मेरै होला भनेर कसरी अड्कल काटुँ म। श्रीमद्भागवत लगाएर जन्मेको हो, बेलैमा बिहे गरिदिए उसका दुईचार छोरा होलान, बा वोल्दै हुनुहुन्थ्यो। यति भनेपछि मेरै हो भन्ने कुरामा दुविद्या रहेन। मन असिनपसिन भो। पढ्दै त छु कस्तो विहे गर्ने हो, क्याम्पसमा केटी बसेको बेन्चमा धरी बस्न सक्दिन। मनमा के के तर्कना खेले। बा को निर्णयमा परिवर्तन न हिजो भएको थियो न आज होला? चुप लाग्नु मै सहज मान्यो मनले।
म जन्मनु भन्दा पहिले नै बा र आमाको सानो संसारमा चारोटी दिदीहरु आईसकेका थिए। छोरी जति सुकै हुन, आमाले जन्माउन सकुन या नसकुन, बा लाई छोरो चाहिएको थियो। बा लाई भन्दा नि समाजलाई, मावली लाई, आफन्तलाई र अझ जिम्मुवाल खलकको ब्याईते तिरको नातीवंश धान्ने छोरो चाहिएको थियो उ वेला। चार चौरास हेराउदा वाक्क भएका बाआमालाई खोलाउप्रीका पण्डितले श्रीमद्भागवत पुराण लाएर अठार बाहुन पुजे छोरो हुन्छ भन्ने अर्ती दिएका रे। त्यसैको प्रभावले त के होला तै नी, अर्को वर्ष म जन्मेको रे। यी त बा का कुरा भए सधै जसोका। बा का कुरामा आफ्ना तर्क घुसाउनु साउनको उर्लदो खहरे छेक्नुजस्तै थियो त्यसैले चुप लागेकै बेस।
हप्ता दिन जतिमा कपडा नापियो, सिलाईयो, क्याम्पस पढ्ने भएपछि किन लाज मान्नु र ल भोली केटी हेर्न जाने र टिकाटालो गर्ने भन्ने फर्मान जारी भो बा बाट। भोलिपल्ट पाँच सात जना दौरासुरुवाल लगाएका आफन्त सहित तिन घण्टा हिँडेर केटीको घर पुगियो, चिया खाईयो, दुवै तिरका बखान सुनीयो। भैसी, गोरु, बाख्रा, धान, मकै, टौवा आदिका दुवै तिरका बयान सुनीयो। बयान सकिएपछि टिकाटालो भयो, औलामा औठी लगाईदिएर टपरीमा जनै र सुपारी पोको पारेर केटीका बाले “ल फलानो दिन मेरी छोरी लिन आउनुहोला“ भनेर हातमा थमाईदिए। मन गह्रुगो भएर आयो। फर्किदा बाटामा बुढाहरुले खाम हेर्न थाले। लौ जनैसुपारीमा पचास दिएसी कुटुम्ब गतिला परेछन जन्तीलाई बिस घट्दैनन पक्कै, मावली हजुरबा ले फर्माए। “ अस्ती भागवत लाएर जन्मेको आज बिहे छिनेर आईयो“ खोलाउप्री पण्डीतले गर्विलो महसुस गरे। बा मुसुमुसु हास्नुभो।
र एक दिन दुलाहा भएँ म। नौमति बजाउदै, नचरी लाऊदै दुलहि लिएर बेलुका घर आईयो। विहे भएका दिदीहरु नाचेर उत्पात गरे। घरमा जहान बढे तिनोट बाट चारोटा भईयो। नातागोता बढे। बाआमा थिए, ससुरा बा र सासुआमा थपिए। काकाससुरा, मामा ससुरा, जेठान, साढुदाई, सालो आदि ईत्यादी। उनका अर्थात कौसिलाका पनि नातागोता बढे। बिहे भनेको नातागोता र आफन्ति बढाउने मेसो मात्र रहेछ कि जस्तो लाग्यो। आमाको अह्रनखटनमा कौसिला अब्बल निस्किन। कमाई नभएपनि खासै पिर परेन, बा ले हेर्नु भो सबै घरबेवहार। यौटै छोरो भएको फाईदा बल्ल बुझें मैले।
विहे गरेको चार बर्षमा मैले डिग्री सकें, कौशिलाले जागिर शुरु गरी। र यै बर्ष उसले जुम्ल्याहा छोरा पाई। एकैचोटी घरमा छ जना टाउका भए।
“मुन्छे त चम्काऊली थी, पेट ठिकै थ्यो, जुम्ल्याहा पाईच“।
“ठुला दारकी छे नि आईमाई पनि“।
“यौटै थाउनाले जोटे हुर्कनी भए, जिम्वाल्नी साईली कति भाग्यमानी“
“भागवत लाएर पाए’सी दुईटा हुँदा रा’न“
यस्ता कति सुनीए कति। राम्रा नि सुनिए। नराम्रा नि सुनिए। आफन्ती र गाऊलेले सक्ने भनेकै कुरा काट्न त हो नी बाले भन्नु भो। लव र कुश नाम राखे पण्डितले। किन किन नाममा कौसिलाले चित्त बुझाईन। अलि आधुनिक नाम भए हुन्थ्यो। विचरी नौ महिना बोक्ने उ, कष्टका साथ धर्ति देखाउने उ, लाम्टो चुसाउने उ, तर नाम चै खोलाउप्री पण्डितले राख्ने। ल ल भो नामले खानी हैन कर्म खानी हो क्यै हुन्न, बा ले भन्नुभो, बाले भनेसी कुरा सकियो सबै चुप। घरका सबै ब्यस्त हुने भैहाले, घ्यु र ज्वानो को गन्धले बसिखप्नै नसकिने भो तै तै आफ्ना सन्तती हुर्काऊदाको मज्जा अर्कै हुँदोरैछ।
जन्मिन पो समय लाग्ने त्यसपछि हुर्किन बेरै नहुने रैछ। मेरो पढाऊने जागिर, कौशिलाको जागिर, बाआमाको जुम्ली हुर्काऊने, घरघन्दा, गोठ को काम, दिन गएको पत्तै भएन। केटाहरु चार पुगेर पाँच टेक्न केहि मैना बाँकी थ्यो होला। अटसमटस मन भए झै लाग्यो। के के नपुगे जस्तो, कस्तो कस्तो मन बहकिन थाल्यो दिनदिनै। गामका दामलेहरु कोहि हिडेरै अमेरिका जान थालेका थिए कोहि युरोप कोहि अष्ट्रेलिया, साउदी, कतार, मलेसिया। गाउ बस्छु भन्ने कोहि निस्कनै छाडे। एक दिन अकस्मात बेलुका भात खाने बेलामा प्वाक्क मुखबाट निस्कियो,
“बा, मेरा मनमा पहिरो चल्यो म बिदेश जान्छु।“
मुखमा पुर्याउन आँटेको गास थाल तिर फिर्ता ल्याएर बाले भन्नु भो, “कसले उकेरा लाईराछ यसलाई हँ कौशी?“
बा ले बुहारीलाई माया गरेर कौशी भन्नुहुम्थ्यो।
“मलाई केहि भन्ने भए पो त बुवा“, कौशि वोली।
“वुडावुडीको सल्लाह भएर नै त स्वीकृति मागेको होला नी, नत्र ह्याँ तलमाथि भए पानी खान दिने कोहि छैन भन्ने कुरा यसले जान्दैन र, खुट्टो लाईदिएको छ जता जाँदा सुख हुन्छ जाओ वावै“,
बा उठ्न लाग्नु भो।
“घाम हुन्च भन्छन, क्यारी काम अर्लास खै तैले, के नपुग्दो छ र ह्याँ, दोटै ले कमाका छौ, यी चिचीला अनि स्वास्नी छोडेर अरप किन जान परो ए तलाई“
आमा फत्फताईन निकैबेर। आमाले म अरब जान खोजेजस्तो मानिछन।
मैले बा लाई धेरै भनिन। बा लाई सबै थाहा थियो कि कसरी गाउका जवान केटाकेटीहरु विदेशको सपनामा पौडीरहेछन भन्ने सत्यता। जानी नै भए देखि पैसा को र केटाहरुको चिन्ता नगर, अगाडी बढ भनेर बा ले स्वीकृती दिनु भो।
काठमाडौ सम्म छोड्न जेठा भिनाजु जानी हुनु भो किनकी घर आमा एक्लै दुईटा केटाहरुसंग बस्न गाह्रो हुनी भएर होला।घर छाड्नु अघिल्लो रात बाआमासंग कुरा भए। आमा बेसरी रोईन। साना जुम्लिया छोरा छोडेर विदेशिनलागेका छोरावुहारीलाई आमाले जाने बुझेको संझाईन।
“कसैले कोठाको ढोका हान्न आएछन भने चर्को नबोल्नु, को हुनुहुन्छ भनेर सोध्नु, चोरले के के पो गर्छन भन्छन“, आमा रुन थालिन, कौशिला एक हप्तै देखि आखा सुन्नाएर बसेकी थी रुँदारुँदा।
“ जति दुख परे नी काँधमा जनै नटुटाएस, जती भोकै भए नि गाईको मासु नखाएस। “ बा ले धरमराउदो बोल्नु भो। बा का काखमा अड्केर बेसरी रुन मन लाग्यो मलाई।
“ कौशि, जति परे पनि सिँउदोमा सिन्दुर नटुटाउनु र हामिलाई नविर्सनु“। बा वोल्नु भो। कौशि बेसरी रुन थाली आमाका काखमा।
हुन त हो, साना चार पाच वर्षका कोपीला हरु छोडेर विदेश जान नहुने हो। तर जिवनमा गर्न नहुने काम गर्नु पर्ने रहेछ। आज तिनका मायाले घरै बसे भोली तिनैले हजुर तिन विदेश नगएको बा भनेर सोधे के जवाफ दिने? तिमेरुका मायाले नगएको भन्ने हो भने भोली ठुला भएपछि यीनै छोराहरुको मजाकको पात्र बन्नुपर्ने समय आयो। घरको कम्तिमा एकजना मान्छे विदेश नगए घरै अध्यारो हुने झै मान्न थाल्यो समय। नत्र साईला जिम्वालको एक्लो छोरो म विदेश जान कुनै बाध्यता थिएन, पैसा कमाउन पनि परेको थिएन तर समय र परिस्थितीले मनमा पहिरो चलायो। मेरा र कौशिलाका पाईला सपनाको देश अष्ट्रेलिया डोर्यायो।
आमाका लागि आफ्ना छोराछोरी छोड्न कति गाह्रो होला मैले देँखे तर कौशिलाले भोगि। अष्ट्रेलिया आएपछि बल्ल थाहा भयो स्वर्ग के रहेछ, बाआमा को रहेछन, जन्मभुमी के रहेछ, चाडबाड के रहेछन भन्ने कुरा। काम, पढाई, बसाई, घरको नियाश्रो, छोराहरुको संझना, बाआमाको त्यो धरमराउदो बोली, के के मा मात्र मन अड्याउनु, कसलाई भन्नु? के भन्नु? बुडाबुडी बेलुका भेट भएर खाना खाएपछि मैले नदेख्ने गरि मुखमा कपडा कोचेर कौशिला रोईरहन्थी र यस्सै निदाउथी। म कोल्टे फर्केर त्यसै गर्थें। हप्ता दश दिनमा घर फोन गर्दा घरै पुगे जस्तो लाग्थ्यो। छोराहरुको बोली सुनेर कौशिला झनै विव्हल बन्थी।
“ मनको पहिरो चलेर तिमीहरु पो अष्ट्रेलिया गयौ तनी हाम्रा मनमा पहिरो चलो भनेर भिरबाट
हाम फाल्न सकिएन बावु“ एकदिन बा ले भन्नु भो। विदेशले कति पिडा दिँदो रैछ थाहा हुदै गयो।
रुवाई,बसाई, काम गर्दा गर्दै समय त बित्ने भयो नै। कष्टकर दुई बर्ष विते, मेरो पढाई सकियो। स्थाई वसोवास का लागि निवेदन हालेर घर फर्किने सल्लाह भयो। पहिलो छुट्टीमा साढे दुई बर्ष पछि घर जाँदा जिन्दगिमा त्यति खुसी शायदै मिले होला कसैलाई। फर्किने बेला लव र कुश पनि फर्किने भए। जुन घरमा सन्तान बढे भनेर हर्ष बढाई भएको थियो आज त्यै घरमा बाआमा मात्र हुने भए। हिजो रोएको दुखाई अर्कै थियो आज रोएको दुखाई अर्कै भयो। हामी सबै फर्क्यौ बाआमा एक्लै भए।
अष्ट्रेलिया आएको पाँचौ बर्षमा बाआमा पनि घुमेर जानु भो। घरमा बाआमाले नेपालकै जस्तै तरकारी फलाईदिनु भो तिन महिना बस्दा। अर्को वर्ष कौशिलाले जादु गरिदीई। वान्ता भएको जाँच गराउन जाँदा दुइ जीउकी भन्ने थाहा भयो। सात हप्तामा एक्सरे गराऊदा बच्चा दुइटा देखिए। लौ फसाद पर्यो राखु चारोटा बच्चा क्यारी हुर्काउनु, नराखौ ममता र स्नेहको आत्महत्या गरे जस्तो। कसैलाई सन्तान नभएर कति गाह्रो हामिलाई दुई पटक जुम्ल्याहा। रुनु के भनेर रुनु, हाँस्नु के संझेर हाँस्नु। विस हप्ताको एक्सरे मा अर्को अचम्म देखियो गर्भमा दुईवटै छोरा छन। पिर गरौं सन्तान भएकोमा किन पिर मान्नु, नमानौ, दैवले खेलै खेले जस्तो भो। मुल जहिले फुटे पनि पानी जम्मा हुन त गह्रो नै
चाहिन्छ भनेर कौशिलालाई सोधें, उनले जन्माउने भनिन। उनको करुण ममता देखि मन प्रशन्न भो। पहिलो जुम्ल्याहा जन्मेको एघार वर्ष पछि कौशिलाले दोश्रो जुम्ल्याहा जन्माईन र नाम राखियो जय र विजय। विदेशमा जुम्ल्याहा हुरकाउनको पिडा कता र कसलाई भन्नु, सबै यै ज्यानले सह्यो।
यतैको कार्ड बन्यो, घर किनीयो, बुडाबुडीको राम्रै जागिर भयो, राम्रै गाडी चढियो, हुने र सक्ने सबै सुख पाईयो शिवाय छोराहरु हुर्काउनलाई पाएको दुख बाहेक। औकात अनुसारको सुख यो भन्दा ठुलो थिएन।
अष्ट्रेलिया आएको एघार वर्षमा पाँच चोटी नेपाल गईयो जम्माजम्मी छ महिना बस्न। विदेश भासिएपछि आमाको काखमा बसेका दिन औलामा गन्न सकिदो रहेछ। बा का वुढ्यौली का धर्सा गन्न सकिदो रहेछ। एघार वर्षमा घरमा चानचुन एकसय छाक, ससुरालीमा सत्तरी छाक, मावली र आफन्तीको मा पचास छाक र अरु घुम्दाफिर्दा भात खाईएछ। यो भन्दा दरिद्र संख्या अरु के होला? पाचौ पटक घर जांदा बा का आडैमा बसेर खुब रोएँ। गल्ती गरें भने हैन की साँचो खुट्याउन सकिन भनेर। बाआमा सहितको परिवारको खुसी बाहेक अरु मिथ्या हो भनेर कुनै डिग्रीवाला मास्टरले पढाएनन तर साँचो त्यै रछ।
“अब त मरे पनि फाल्नी छोराहरु छैनन बावु“, खडे ठुल्वा ले भने।
“एक्लो छोरो होस, बाआमालाई पानी हाल्न नपाउलास आईजा अब“ गोपे माईला बा ले भने।
“यो पैसा का पछि किन लाग्छन मुन्छे“ साउपरी जेठा दाईले भने।
मुन्तिर राईला बा ले काम्दै भने,“ बावु अरु जे सुकै गर, जति चन्चलासिरी भए पनि बाआमा एक्लै भएम भनेर रोए भने बाटो छेकिन्छ नी ख्याल अरेस।“
एकदिन कौसिला संग प्वाक्क भनें, “मेरा मनमा पहिरो गयो, नेपाल फर्कम कौशि“। कति पहिरो जाने हो के मन पनि उनले ख्याल ख्यालमै उडाईन। यो सारा जगतै सुनसान भए पछिको कुरा थियो। मान्छे संग मान्छे डराऊने समय शुरु भयो। महामारीले यति उति, हजार, लाख मान्छे मरेको भन्ने समाचार आउन छोडेको केहि महिना मात्र भएको थियो। बाआमाले फोनमा यति हुँदा पनि किन बस्छौ अब, ज्यान को माया त गर भनेको टुनुनु बजिरहन्थ्यो। केटाकेटीको स्कुल एक वर्षलाई वन्द भएको थियो। मेरो मनको पहिरो सहि समयमा गएको थियो। कौशिलालाई संझाए। यसो,त्यसो, यो, त्यो गर्ने भनेर योजना सुनाएँ। संसारबाट महामारीपछि धेरै नेपाली फर्केको र प्रविधियुक्त र आधुनिक जिवनशैली भन्दा सादा जीवनशैली नै बाच्नका लागि अत्युत्तम भन्ने संसारको थेगो बनेको बेला थियो।
ऋण धन, सन्चयकोष सबै काटेर पनि बुडाबुडीको राम्रै पैसा जम्मा हुने देखियो। हजुरको सिन्दुरको पछि लागेर हिडेसी हजुर जता म र केटाकेटी उतै भनेर कौशिलाले बाटो फुकाईन। घर नगएको साढे दुई वर्ष भएको थियो। बाआमाको हातको टिका नलगाएको तेह्र बर्ष पुगेको थियो। आउदो दशैमा फर्कने योजना सुनाएँ कौशिला र छोराहरुलाई। बाआमालाई थाहा नै नदिई घटस्थापनाको भोलीपल्ट छ
जनाको टोली सहित दिउसो एकैचोटी घरमा पाईला राखियो। बालाई देख्ने बित्तिकै खुट्टा समाएर ढोगें र खुब रोएं सबैले सुन्ने गरि।रुँदा पनि मन आनन्द भयो। आमाका काखमा बसेर चौवालिस बर्षको उमेरमा पनि दुधे बालक झै गरि रोएं।
“ बा मनको पहिरो गएको ठाउमा हरियो जंगल पलाईसक्यो अब पहिरो जाँदैन,“ मैले भने।
“दुध भुलेर कोहि सन्तान बा आमाबाट टाढा नजाऊन“ आमाले भनिन। चारोटा छोराहरु लहरै अक्क न बक्क परे। कौशि खुसी देखिई।
“ पैसो पुगेर आयो नाई“ फलामखानीका दाईले भने रे।
“ तिहार सकिएपछि जालान करे नी, चर्न गएका यति छिटै के अघाउँथे र फर्कन्थे“ तल्लाथर काका ले भने रे।
“ जिम्वाल साईलाले फर्कि भने होला नाई नत्र उतै घर किनेको किन आम्तो ह्याँ“ तिनतलेघरका ठुल्कान्छा काकाले भने रे।
“ तेस्का ठाममा हामी जान पाए हुन्तो नि बरु“ दामली हरुले भने रे।
यस्ता रे कति सुनियो त्यसपछि।
बा का काँध मुनी आमाको काखको न्यानो मा आफ्ना परिवार संग जिन्दगि जिउन नपाउनुको पिडा तिनलाई थाहा भए पो।

कुश्मा नगरपालिका –७, खरेहा, हालः (एडिलेड, अष्ट्रेलिया)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु