अनौठा घटनाक्रमका नालीबेली

- छविरमण सिलवाल

विश्वराज अधिकारी नेपाली साहित्यमा निकै चर्चित नाम हो । उनका लघुकथासंग्रह २, कथासंग्रह ५, गीत १ लगायत एक दर्जन भन्दा बढि पुस्तकहरु प्रकाशित छन् । उनको पछिल्लो संग्रह विश्वका अनौठा घटना, चलन, संस्कृति आदिको सँगालो अचम्मको बारेमा अहिले चर्चा गर्दैछु । विश्वका एकतिस घटनाहरु यस पुस्तकमा समेटिएका छन् । केही कुराहरु विश्वास गर्न सकिदैन, तर पत्याउँनु पर्छ । केही घटनाहरु हामीले देखिरहेकाछौं हामीलाई अचम्म नलाग्न सक्छ, तर अर्का स्थानमा बस्नेलाई अचम्म लाग्न सक्छ ।
विश्व धेरै ठूलो छ यहाँका आ–आफ्नै धर्म, संस्कृति र सभ्यताहरु छन्, तिनीहरुकै प्रतिनीधि घटनाक्रम अचम्म पुस्तकमा पढ्न सकिन्छ । यसमा समेटिएका एकतिस घटनाहरुमध्ये तिन ओटा नेपालका प्रसंगहरु पनि छन् । ति घटनाहरु घटेका हुन्, तर पनि हामीलाई होइन जस्तो हुन्छ । नेपालमा चार दिनमा तीन राजा, नेपालमा साहसपूर्ण उद्धार र पाको उमेरका साहित्यकार एवम् पत्रकार यी ति प्रसंग हाम्रै नेपालका हुन ।
जौहर ः महिलामाथि घोर अत्याचार, यो दक्षिण भारतको घटना प्रस्तुत गरिएको छ । सन् १३०३ देखि १५६८ को हाराहारीमा यस्ता घटनाहरु भएको पाइन्छ । यो प्रथाको उद्गमस्थल वा आधारभूमि युद्ध र घमण्ड थियो, प्रेम, शान्ति वा सम्झौता थिएन । राजा महाराजा एवम् राजखान्दानका पुरुषहरुको अहम् थियो । खासमा भन्ने हो भने राजपुत जातिका केही अतिमहत्वाकांक्षी पुरुषहरुले जौहरको प्रथा चलाएका थिए । जौहर भन्नाले आफ्नो पति(राजा) र सैनिकहरु शत्रु पक्षबाट पराजित भएपछि, शत्रु पक्षले आफ्ना पतिलाई बन्दी बनाएपछि, आफ्नो पक्ष पराजित हुुने भय उत्पन्न भएपछि, शत्रुको हात पर्नुको सट्टा रानीहरुले सामूहिक रुपमा आगोमा जलेर प्राण दिन्थे । त्यहीँ प्रथानै जौहर प्रथा हो ।
नायग्रा फल्समा एक महिलाको डरलाग्दो डुबुल्की, एक निर्दोेष व्यक्ति ३९ वर्ष जेलमा, भारतमा बलपूर्वक बन्ध्याकरण, रुवान्डाको जातिय नरसंहार, मलावी ः पवित्र हुन सम्भोग गर्नुपर्ने, अफ्रिकी परम्परा ः भङ्गाकुर विच्छेदन, दिल्लीको विडो कोलनी, देशविहिन अवस्थामा आधा जिन्दगी, विमानस्थलमा आठ महिना अलपत्र एक सिरियाली, अति सुन्दर युवती नगरवधू हुनुपर्ने, पर्खाल नभएको जेल, पाको उमेरकी बेलायती सवारीचालक, जापान ः गरिबीले पठायो जेल, तीन सय युवतीको अपहरण, तेह्र सय बालबालिकाका पिता, नेपालमा चार दिनमा तिन राजा, नेपालमा साहसपूर्ण उद्धार, फिलिपन्सिका राष्ट्रपतिको अनौठो स्वभाव, पाका उमेरका मलेसियाली प्रधानमन्त्री, जमाल खसोग्जीको रहस्यमय हत्या, मध्य अमेरिकाबाट हिँडेको क्याराभान, थाइल्याण्डमा परिएको डरलाग्दो उद्धार, संसारको ध्यान केन्द्रित गर्न सफल अरबी युवती, भेनेजुएला ः एकै समयमा दुई राष्ट्रपति, सिमिमा बेगम ः राज्यविहिन अवस्थामा अलपत्र, निःशुल्क कपाल काटिदिने सैलुन, उन्नाइस वर्षको उमेरमा करोडपति, किन बढी हाँस्छन् अमेरिकी ?, किन कम हाँस्छन् रसियाली ? र पाको उमेरका साहित्यकार एवम् पत्रकार आदि शिर्षकमा विश्वमा भएका अनौठा कुराहरुलाई संकलित छन् ।
प्रकृतिले प्रदान गरेका केही अनौठा कुराहरु बाहेक अचम्म पुस्तकमा प्रस्तुत भएका अनौठा कुराहरु मान्छेले सनकका भरमा थालेका कदमहरु नै वढि छन् । जब मान्छेको अस्तित्व यस धर्तिमा कायम भयो, त्यसपछि उ आफैले आफैलाई सर्वेसर्वा भएको महशुस गर्ने थाल्यो । त्यसपछि उसले आफू शक्तिशाली बन्नको लागि अरुलाई नियन्त्रणमा लिन थाल्यो र उसले आफ्ना पुरुसार्थलाई कानुन बनायो, त्यसका कतिपय उदाहरणहरु अचम्म पुस्तकमा संकलित छन् ।
जातीयद्धन्द्धले होस या अन्य कुनै पनि बहानामा मानविय संहार एउटा निन्दनिय कार्य हुँदाहुँदैँ पनि त्यस्तो कार्य रोकिएको छैन् । अचम्म पुस्तक पढ्दा कतिपय पुराना सुनिएका कुराहरु ताजा भएर आए, इतिहासमा पढेका कुराहरु ताजा भए । केही थाह नपाएका कुराहरु थाह पाइन्छ । अर्को कुरा यसमार्फत मानविय संवेदनालाई पनि कतिले बुझेका र व्यवहारमा देखाएका कुरा पनि यहाँ पढ्न सकिन्छ । धार्मिक अन्धविश्वासका कारणबाट कतिपय मान्छेका रहरहरु मेटाएका केही उदाहरण पनि यहाँ भेटिन्छ । जस्तै अफ्रिकी समुदायमा भङ्गाकुर विच्छेदन गर्ने परम्परा यहाँ उल्लेख गरिएको छ । यहाँका केही समुदायमा धार्मिक विश्वासका साथ प्रत्येक महिलालाई पवित्र पार्नुपर्छ भन्ने मान्यता राखेर भङ्गाकुर विच्छेद गरिन्छ । भङ्गाकुर विच्छेद गरेपछि मात्र महिलाहरु पवित्र हुन्छन् भन्ने विश्वास गर्छन् । अर्को मलावी ः पवित्र हुनको सम्भोग गर्नुपर्ने । पहिलोपटक महिनावारी हुने युवतीले, विधवा युवती या महिलाले, गर्भपतन भएका महिलाले सैतान आत्माको प्रभावबाट जोगिन तथा युवतीहरु विवाहका लागि तयार हुन एक खास पुरुष (जसलाई हाइना भन्ने गरिन्छ) सँग सम्भोग गराउँनु पर्ने । तर यस्तो संस्कृति आधुनिक युगमा पनि प्रचलनमा छ । अफ्रिका महादेशका केही मुलुकहरुमा र खासगरी मलावी(अफ्रिकी मुलुक)मा यस्तो संस्कृतिलाई अनिवार्य रुपले पालन गर्नेहरुको संख्या ठूलो छ ।
अचम्म पुस्तक पढ्दा साँच्चिकै विश्वराज अधिकारीकै भनाई भुमिकाबाट सापटी लिँदा–‘कुनै बेला अचम्म लागेर जिब्रो टोक्न पुगिन्छ । कुनै बेला आफूभित्र एकाएक अति साहसका् संचार भएको बोध हुन्छ । कुनै बेला भने पढिरहेकै क्रममा हाँस्न मन लाग्छ । कुनै बेला दया जागेर आउँछ र रुन मन लाग्छ । यस्ता अनेक घटना तथा जानकारी यो पुस्तकले बोकेको छ ।’ यस पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु