उसको छोरो

- डा. सावित्री श्रेष्ठ

थाहा पाएदेखि मैले उसलाई मन पराएँ । मेरो साथीको दाजु गोरो, अग्लो, अत्यन्त सुन्दर दाँत र मनमोहक मुस्कान । त्यो सुन्दर मुस्कानकै माझबाट निस्कने उसको मधुरतम बोलीमा हुरुक्क हुँदै हुँदै नै बालापनबाट यौवनका खुड्किलामा टेकेँ मैले । वरिपरिका डाँडाहरूका रुखहरूले कयौँ चोटि पतझड बेहोरे; कयौँ चोटि नयाँ पालुवाहरू पलाए; त्यसरी नै जसरी मेरो मनमा बहार पतझडले पालो फेर्दै गयो । नबदलिएको उसको त्यो सदाबहार मुस्कान मात्र हो अनि उसप्रतिको धुमधामको चाहना ।
द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी जीवन पद्धतितिर उन्मुख हुँदै रहँदा र विद्यार्थी जीवनका आन्दोलनहरूबिच पनि मेरो मनमा भएको उसप्रतिको आकर्षण मत्थर हुन सकेन । माक्र्स पनि त कुनै बेला प्रेममा परेका थिए । प्रेम त गर्छु वा गर्दिनँ निर्णय गरेर योजना बनाएर भएको प्रेम पनि होइन । बस्, अन्तरमनको साह्रै चोखो र गोप्य कुनाबाट प्रस्फुटित प्रेम हो यो । मुक्तिनाथ निस्किरहेछ— उज्यालो ज्योतिभैmँ । यसले मेरो जीवनलाई केही उज्यालो, केही उत्साहपूणर्, केही पूर्ण र केही अपूर्ण बनाइदिएको छ । आफ्नो मनको एक कुना कहिल्यै मेरो आफ्नो हुन सकेन । सधैँ उसको, उसैले कब्जा जमाएर बस्यो त्यहाँ ।
उसको चाहना मनको मनै रह्यो । एउटा मान्छेप्रतिको घनघोर प्रेम, अपराजित आकर्षण बोकेर म अरू नै कसैको जीवनसाथी हुन पुगेँ । आमा–बाबुको छनोट र मेरो मौन प्रेमको क्रन्दन छातीमै बोकेर जीवनको शाश्वत सत्यलाई अपनाएँ मैले । ऊ त्यसबेला पढ्न देशबाहिरै पुगिसकेको थियो । हुन त यहीँ भएको भए के नै हुन सक्थ्यो र ? उसले त मलाई सधैँ बहिनीको साथीका रूपमा मात्रै लियो । मेरो मनको प्रेम आँखाको बाटो हुँदै उसको मनमा कहिल्यै पस्न सकेन । बस्, ऊ त्यो प्रेमपूर्ण आँखाले अरू नै कसैलाई हेर्दै गरेको चकित भएर म हेर्दे रहेँ । ऊ आफ्नो नभएकोमा भन्दा पनि त्यो आँखाको गजबको प्रेम अरू नै कसैको भइदिएकोमा गुनासो रह्यो मेरो ।
आफ्नो बिदाइको बेलामा पनि आफ्ना आमा, बाबु, घर–परिवारको बिछोडभन्दा पनि उसको चर्को यादमा र अब सबै सम्भावनाहरूमा पूर्णविराम लाग्यो भन्दै उसलाई सम्झँदै मुटु फुट्ने गरी रोएँ म । मनमा दोहोरो पीडाको अनुभूति गर्दै नयाँ जीवनको सुरुआत गरेँ मैले । मनमा एउटा गाँठो प¥यो— नफुत्कने किसिमको बोझिलो, भारिलो ।
जीवन जीवन नै हो अगाडि बढ्छ; उकाली–ओराली जे भए नि नदी होइन । जीवन खालि ओरालोतिरै लाग्ने वा सम्म ठाउँमै मात्र बग्ने । मेरो जीवन त बस् उबडखाबड भयो । शान्त तलाउको महसुस गर्नै सकिएन यस जिन्दगीमा ।
विवाहित जीवनको पूर्णता हो सन्तान । तर, बिहे गरेको आज तीन वर्ष भइसक्दा पनि मेरो आँगनमा कुनै पूmल फुलेन । घरका र समाजका पनि कठोर प्रश्नवाचक आँखाहरूद्वारा प्रहार हुन थाल्यो । सबभन्दा धेरै आफ्नै पतिको, एउटा छोरो नि दिन नसक्ने तिमी ?
‘मैले दिन नसकेको कि तपाईँले ? जाऊँ न त जँचाउन ।’
‘म जँचाउन जाने ! म ! के ठान्छौ तिमी मलाई ? आमा बाले भनेभैmँ गर्छु अर्को बिहे ।’
त्यो दिन मेरो मन टुक्रा–टुक्रा भयो र त्यो हरेक टुक्रिएको आफ्नो हृदयमा मैले उसलाई देखेँ । त्यसरी नै मुस्कुराइरहेको जसरी ऊ धेरैजसो मुस्कुराइरहेको हुन्छ । मुस्कुराएरै कुरा गर्ने जीवन्त स्वभाव छ उसको । मेरो मनमा एउटा अनौठो विचार आयो— साहसिक विचार । त्यो विचारलाई सङ्कल्पमा परिणत गरेँ मैले, केही रातहरू अनिँदो बसेर । र, म आफ्नो जन्मघरतिर लागेँ । आफ्नो सङ्कल्पित योजना कार्यान्वयन गर्ने साहसपूर्ण निर्णयसहित ।
उसलाई फोन गरेर बोलाउँछु निर्धारित ठाउँमा निर्धारित समयमा ।
‘हुन्छ; यतिका दिनहरूपछि तिमी बोलाउँदै छौ । म मिलाएर आउँछु ।’
ऊ आयो त्यही रेस्टुरेन्टमा निर्धारित समयमै ।
कुनै भूमिका नबाँधीकन आफ्नो उसप्रतिको प्रेम लगातारको सम्मोहन र आजको यथार्थता सबै नै म उसलाई बताउँछु । ऊ अत्यन्त चकित भएर मेरो कुरा अति ध्यान दिएर सुन्दै रह्यो र अन्तमा भन्यो, ‘लौ भन मैले के गरिदिनुप¥यो तिमीलाई ?’
म उसको आँखामा आँखा मिसाएर दृढ स्वरमा भन्छु, ‘मलाई एउटा सन्तान दिनोस्, आपूmजस्तै ।’
ऊ विस्मृत चकित अवाक् ।
‘के भनेको यस्तो ?’
‘सही भन्दै छु मलाई एउटा छोरा दिनोस्, आपूmजस्तै । मेरो जीवन तहसनहस हुँदै छ बचाउनोस् मलाई र एउटा पूर्ण नारी बनाइदिनोस् मलाई सन्तानवती ।’
त्यसपछि एउटा झमझम पानी परिरहेको आषाढ महिनाको अति रोमान्टिक साँझमा, अझ भनौँ हरियालीपूर्ण त्यो साँझ र चाँदनीले नुहाएको त्यो रातभरि हामी साथ रह्यौँ । त्यो एउटा अपूर्व रातले मलाई स्वास्नीमान्छे अथवा आमा मान्छे बनायो । जन्मभरको मेरो अतृप्त मन, शरीर र आत्माले अपार सन्तुष्टि महसुस ग¥यो । उसको नभएको मेरो छोरा ठ्याक्कै ऊ जस्तै सुन्दर, गोरो र आकर्षक ।
हरपल उसलाई सम्झने मन पनि शान्त भएको छ । काखभरिको सन्तान पाएर सबभन्दा ठुलो कुरा त यही भयो कि मेरो मनमा परेको त्यो अप्ठ्यारो गाँठो अनायास बिलाएर गयो र म जीवनलाई शान्त, सुन्दर तलाउभैmँ महसुस गर्न थालेकी छु । मनको गाँठो जो फुमन्तर भएको छ । ऊ नभए नि उसको साथ अब मेरो मनमा जो छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु