नेपाली भाषामा वर्णविन्याससम्बन्धी समस्या

- खगेन्द्र जोशी

विषयप्रवेश

नेपाली लेख्य भाषामा वर्णविन्याससम्बन्धी अस्पष्टता एक प्रमुख समस्याका रूपमा रहेको छ। यस्तो समस्याले गर्दा लेख्य भाषाको मानकीकरण प्रक्रिया प्रभावित हुन गई भाषामा एकरूपता कायम हुन सकिरहेको छैन। यसरी लेख्य भाषाको मानक रूप निर्धारण हुन नस्कनु भनेको भाषिक विकासमा अवरोध उत्पन्न हुनु हो ।
नेपाली भाषा भारोपेली भाषा परिवारको सतम् वर्गअन्तर्गत पर्ने आर्यइरानेली शाखाभित्रको प्राचीन आर्यभाषा संस्कृतबाट खस प्राकृत र खस अपभ्रंश हुँदै इसाको एघारौं शताब्दीतिर अस्तित्वमा आएको आधुनिक आर्यभाषा हो।
देवनागरी लिपिमा लेखिने यो भाषा नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा, पठनपाठनको माध्यम भाषा हुनुका साथै सञ्चार, प्रशासन, कानुन आदि क्षेत्रमा प्रयोग हुँदै आएको महत्त्वपूर्ण भाषा हो। वि.सं.२०६८ सालको जनगणनाअनुसार यो भाषा ४४.६३% नेपाली जनताद्वारा मातृभाषाका रूपमा प्रयोग हूँदै आएको छ। नेपालभित्र मात्र होइन, नेपालबाहिर पनि संवैधानिक मान्यता पाइसकेको नेपाली भाषामा लेखिएको साहित्यको भण्डार निकै विशाल छ।
वर्णविन्यासगत शुद्धताको आवश्यकता
नेपाली भाषा आम नेपालीले प्रत्यक्ष वा परोक्ष प्रयोग गर्नु नै पर्ने एक समृद्धशाली भाषा भएर पनि यसको लेख्य रूपको प्रयोगमा अधिकांश प्रयोक्ताहरूबाट वर्णविन्यासगत शुद्धतामा ध्यान पुग्न सकेको देखिँदैन । हुन त भाषामा वर्णविन्यासगत शुद्धताको आवश्यकता नदेख्नेहरू पनि नभएका होइनन्। तिनीहरूको मतअनुसार भाषाको काम विचार विनिमय गर्नु हो। त्यसैले भाषमा सम्प्रेषणीयता भए पुग्छ।वर्णविन्यासगत शुद्धताको आवश्यकता पर्दैन।तर यहाँ विचारणीय पक्ष के छ भने सम्प्रेषणीयताका लागि पनि वर्णविन्यासगत शुद्धता आवश्यक हुन्छ र हरेक भाषामा वर्णविन्यासगत शुद्धताको अपेक्षा गरिन्छ । वर्णविन्यासलाई अङ्ग्रेजीमा स्पेलिङ (Spelling) भनिन्छ। अशुद्ध वर्णविन्यास अर्थात् रङ स्पेलिङ (Wrong spelling)का कारण शब्दको अर्थमा अन्तर आएर भाव सम्प्रेषणमा समेत बाधा पर्न जाने हुनाले लेख्य भाषामा वर्णविन्यासगत शुद्धता कायम हुनु आवश्यक छ।उदाहरणका लागि ‘दिन’/‘दीन’, ‘दिशा’/‘दिसा’, ‘वीर’/‘बिर’, ‘शव’/‘सब’ जस्ता शब्दलाई लिन सकिन्छ। ‘दिन’ शब्दले दिउँसो भन्ने अर्थ बुझाउँछ भने ‘दीन’ शब्दले गरिब, दुःखी भन्ने अर्थ बोध गराउँछ।‘दिशा’ शब्द पूर्व, पश्चिम, उत्तर, दक्षिणलाई बुझाउन प्रयोग गरिन्छ भने ‘दिसा’ शब्दले आची(गुहु) भन्ने अर्थ बुझाउँछ। त्यस्तै ‘वीर’ शब्दले साहसी, बहादुर भन्ने अर्थ बोध गराउँछ भने ‘बिर’ शब्दले सुँगुरको भाले भन्ने अर्थ बुझाउँछ। ‘सब’ले सबै भन्ने अर्थ बुझाउँछ भने ‘शव’ले लास भन्ने अर्थ दिन्छ। माथि प्रस्तुत गरिएका शब्दको वर्णविन्यासमा ध्यान नदिएर अशुद्ध वर्णविन्यासको प्रयोगले सम्प्रेषण कार्यमा कतिको असर पार्न सक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। त्यसकारण भाषामा सम्प्रेषणीयता भए मात्र पुग्छ भन्नेहरूले पनि वर्णविन्यासगत शुद्धतामा ध्यन दिनु जरुरी छ।
यसरी लेख्य भाषाको मानक रूप निर्धारण गर्न र भाषामा एकरूपता कायम गर्नुका साथै अर्थगत स्पष्टता ल्याएर भाषालाई सम्प्रेषणीय बनाउनका लागि पनि वर्णविन्यासगत शुद्धता अनिवार्य हुन्छ । त्यसमा पनि भाषा शिक्षणका क्षेत्रमा यसको झनै ठुलो महत्त्व रहेको हुनाले नेपाली लेख्य भाषामा हुने गरेका वर्णविन्यासगत त्रुटिहरूको पहिचान सहित त्रुटिको कारण औँल्याउनु र समस्या समाधानको उपाय सुल्झाउनु नै यस लेखको मूल अभीष्ट रहेको छ।
वर्णविन्यासगत समस्याका केही कारणहरू
नेपाली भाषामा वर्णविन्यासका क्षेत्रमा हुने त्रुटिहरूमा ‘ह्रस्व/दीर्घ’को प्रयोग, ‘ऋ/रि’को प्रयोग, ‘श/ष/स’को पयोग, ‘छे/छ्य/क्ष’को प्रयोग, ‘ज्ञ/ग्य’को प्रयोग, ‘हलन्त/अजन्त’को प्रयोग, ‘पदयोग/पदवियोग’को प्रयोग आदि पर्दछन्।
नेपाली भाषामा विभिन्न स्रोतबाट आएका शब्दका लागि फरकफरक लेख्य नियमको प्रयोग गरिने हुनाले पनि वर्णविन्यासगत त्रुटिको मात्रामा वृद्धि हुने गरेको देखिन्छ।नेपाली भाषाको शब्दभण्डारमा रहेका शब्दहरू मौलिक र आगन्तुक गरी दुई किसिमका छन्।मौलिक शब्दहरू पनि तत्सम र तद्भव गरी दुई प्रकारका छन्।नेपाली भाषामा प्रयोग हुने तत्सम शब्दका लागि संस्कृत भाषाको लेख्य नियम प्रयोग गर्नुपर्ने हुन्छ भने तद्भव र आगन्तुक शब्दका लागि नेपाली लेख्य नियम प्रयोग गर्नुपर्छ। यसरी कुन शब्द कुन स्रोतबाट आएको हो भन्ने ज्ञानको अभावले पनि प्रयोक्ता अलमलमा पर्ने र वर्णविन्यासगत त्रुटि गर्न पुग्ने अवस्था सिर्जना हुन्छ।शब्दको स्रोतबारे जानकारी भएमा यस किसिमका त्रुटिलाई न्यूनीकरण गर्न सकिन्छ।
नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको हुनाले यो संस्कृत भाषा लेखनका लागि प्रयोग हुँदै आएको देवनागरी लिपिमा नै लेखिन्छ । देवनागरी लिपिमा रहेका सबै लेख्य चिन्हले प्रतिनिधित्व गर्ने औच्चार्य वर्णहरू भने नेपाली भाषामा छैनन् तर पनि लेख्य परम्पराका आधारमा तत्सम शब्दहरूमा ती लेख्य चिन्हको प्रयोग गरिन्छ।तत्सम शब्द लेख्दा संस्कृत लेख्य नियम अनुसार लेख्नुपर्ने हुनाले त्यसो गरिन्छ।अर्कातर्फ नेपाली भाषा संस्कृत भाषाबाट विकसित भएको भएपनि यसका आफ्नै किसिमका उच्चारणगत विशेषता छन्।नेपाली कथ्य भाषामा रहेका त्यस्ता उच्चारणगत विशेषतालाई आत्मसात गरी नेपाली भाषा लिप्याङ्कन गर्दा संस्कृत लेख्य नियमले नेपाली भाषाको आफ्नो विशिष्ट रूपको प्रतिनिधित्व गर्र्दैन।लेख्य भाषा कथ्य भाषाको अधिकतम निकट हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाली भाषाको आफ्नै विशिष्ट रूपलाई व्यवस्थित गर्न नेपाली लेख्य नियमको तर्जुमा गरिएको हो।संस्कृतबाट नेपालीकरण भएका तद्भव शब्दको लेखनमा नेपाली लेख्य नियम प्रयोग गरिन्छ। नेपाली लेख्य नियमअनुसार लेख्दा देवनागरी लिपिमा भएका सबै लेख्य चिन्हको प्रयोग नगरी ती लेख्य चिन्हको मात्र प्रयोग गरिन्छ जसले नेपाली कथ्य वर्णको प्रतिनिधित्व गर्दछन्।त्यसैले नेपाली कथ्य वर्णको प्रतिनिधित्व नगर्ने तर देवनागरी लिपिमा रहेका ऋ,ञ,ण, दन्त्योष्ठ्य व,श,ष,क्ष,ज्ञ जस्ता लेख्य चिन्हहरू संस्कृत लेख्य नियमअनुसार लेखिने तत्सम शब्दमा मात्र प्रयोग हुन्छन्।नेपाली लेख्य नियमअनुसार लेखिने तद्भव र आगन्तुक शब्दको लेखनमा ती लेख्य चिन्ह प्रयोग गर्नुहुँदैन । शब्दस्रोतसम्बन्धी अज्ञानता तथा कुन स्रोतबाट आएका शब्दका लागि कुन लेख्य नियम प्रयोग गर्ने भन्ने ज्ञानको अभावका कारण तद्भव र आगन्तुक शब्दको लेखनमा पनि माथि उल्लेखित लेख्य चिन्हको प्रयोग पाइन्छ।

अशुद्ध वर्णविन्यास प्रयोगका केही उदाहरण र त्यसको कारण
महेन्द्रनगर स्थित दूरसञ्चार कार्यालयको ‘महसुल काउन्टर’मा ‘महशूल काउण्टर’ लेखिएको छ । महेन्द्रनगरबाट प्रकाशित हुने ‘फारवेस्ट’ पत्रिकाको नाम लेख्दा पनि ‘फारवेष्ट’ लेखिएको हुन्छ । महेन्द्रनगरको बजारमा ‘होन्डा मोटर साइकल’को प्रचारका निम्ति राखिएका बोर्डहरूमा ‘होण्डा’ लेखिएको पाइन्छ।‘ब्रिज’ सिमेन्टको कट्टामा नाम लेख्दा ‘बृज’ लेखिएको हुन्छ र पत्रपत्रिका तथा टेलिभिजनबाट प्रचार दिँदा पनि ‘बृज’ नै लेखिएको पाइन्छ।यी त गैरशैक्षिक तथा गैरप्राज्ञिक क्षेत्रमा देखा परेका त्रुटिहरू हुन्।शैक्षिक तथा प्राज्ञिक क्षेत्र जहाँ भाषिक शुद्धतामा विशेष जोड दिइन्छ त्यहाँ पनि यसकिसिमका वर्णविन्यासगत अशुद्धिहरू थुप्रै पाउन सकिन्छ।क्याम्पसमै प्रयोग हुने कतिपय कागजपत्रमा ‘रजिष्टर’, ‘सेमिष्टर’, ‘घण्टी’ जस्ता शब्दहरू लेखिएका पाइन्छन् । पाठ्यपुस्तकका रूपमा प्रकाशित भएका कतिपय पुस्तकहरूमा ‘झण्डा’, ‘घमण्ड’, ‘स्टेशन’ जस्ता अशुद्ध वर्णविन्यास भएका शब्दहरू देखा पर्दछन्।
माथि उल्लेख गरिएका ‘महसुल’, ‘काउन्टर’, ‘फारवेस्ट’, ‘होन्डा’, ‘ब्रिज’, ‘रजिस्टर’, ‘सेमिस्टर’, ‘स्टेसन’ आगन्तुक शब्द हुन भने ‘घन्टी’, ‘झन्डा’, ‘घमन्ड’ तद्भव शब्द हुन्।त्यसैले नेपाली लेख्य नियमअनुसार लेखिने यी शब्दहरूमा श,ष,ऋ,ण जस्ता लेख्य चिन्हको प्रयोग हुँदैन साथै पदमध्यमा दीर्घ ‘ऊ’ पनि पयोग गरिनु हुँदैन तर तत्सम शब्द लेखनमा प्रयोगमा आउने संस्कृत लेख्य नियमको गलत सामान्यीकरणका कारणले ती शब्दहरूमा वर्णविन्यासगत त्रुटि हुन गएको देखिन्छ ।
संस्कृत लेख्य नियमअनुसार ‘ल’ र ‘न’भन्दा अगाडि प्राय ‘श’ लेखिन्छ र नेपाली भाषामा रहेका तत्सम शब्दको लेखनमा पनि यो नियम लागु हुन्छ । त्यसैले शैल, शील, शिला, शनि, शान्त लेख्दा ‘श’ लेखिन्छ।आगन्तुक शब्दमा भने ‘ल’ र ‘न’ भन्दा अगाडि पनि ‘स’ नै लेख्नुपर्ने हुन्छ।तर संस्कृत लेख्य नियम तत्सम शब्दमा मात्र लागु हुने अनि तद्भव र आगन्तुक शब्दमा नहुने ज्ञानको अभावका कारणले आगन्तुक शब्द ‘महसुल’ र ‘स्टेसन’ लेख्दा पनि ‘महशूल’ र ‘स्टेशन’ लेखिएको देखिन्छ ।
संस्कृत भाषाबाट जस्ताका त्यस्तै नेपाली भाषामा आएका ‘शूल’, ‘त्रिशूल’ जस्ता तत्सम शब्दमा दीर्घ उकार भएका कारण ‘महसुल’मा पनि गलत समान्यीकरण भएर ‘महशूल’ लेखिएको हो।‘त्रि’ र ‘शूल’का बिचमा समास भएर ‘त्रिशूल’ शब्द बने झैँ ‘मह’ र ‘शूल’ मिलेर ‘महशूल’ बनेको होइन।यो फारसी भाषाबाट आएको आगन्तुक शब्द हो र नेपालीमा त्यसलाई टुक्र्याउन मिल्दैन ।
त्यस्तै संस्कृत नियमअनुसार ‘ट’वर्गका वर्णभन्दा अगाडि ‘ष’ लेखिन्छ।त्यही नियमको गलत सामान्यीकरण भएका कारण ‘फारवेस्ट’, ‘रजिस्टर’, ‘सेमिस्टर’ जस्ता आगन्तुक शब्दमा ‘स’का सट्टा ‘ष’ लेखिन पुगेको देखिन्छ।‘कष्ट’, ‘दुष्ट’, ‘पृष्ट’, ‘ओष्ठ’, ‘षोडश’, ‘आषाढ’ जस्ता तत्सम शब्दमा ‘ट’ वर्गका वर्णभन्दा अगाडि ‘ष’ लेखिए पनि तद्भव र आगन्तुक शब्दमा भने ‘ट’ वर्गका वर्णभन्दा अगाडि पनि ‘स’ नै लेख्नु पर्छ।त्यसै गरी पञ्चम् वर्णको प्रयोग सम्बन्धी संस्कृत लेख्य नियमअनुसार शिरविन्दुको विकल्पमा पञ्चम् वर्णको प्रयोग गर्दा सम्बन्धित वर्णभन्दा अगाडि सवर्गी (त्यसै वर्गको) पञ्चम् वर्ण प्रयोग गरिन्छ।त्यसैले ‘घण्टा’, ‘कण्ठ’, ‘दण्ड’ लेख्दा ‘ट’वर्गका वर्णभन्दा अगाडि ‘ण’ लेखिएको हो । ‘होन्डा’ आगन्तुक शब्द भएको र घन्टी, झन्डा, घमन्ड शब्द चाहिँ तद्भव शब्द हुनाले ती शब्दहरू लेख्दा ‘ट’ वर्गीय पञ्चम् वर्ण ‘ण’ प्रयोग नगरी ‘न’ लेख्नु पर्छ।संस्कृत भाषाको सवर्गी पञ्चम् वर्ण प्रयोगसम्बन्धी नियमको गलत सामान्यीकरणले पनि थुप्रै ठाउँमा वर्णविन्यासगत त्रुटि हुने गरेको पाउन सकिन्छ।वि.सं.१९९८मा चक्रपाणि चालिसेद्वारा लेखिएको बगलीकोशमा समेत त्यही नियमको प्रभावले ‘मान्छे’लाई ‘माञ्छे’, ‘सम्झना’लाई ‘सञ्झना’, ‘गुन्डा’लाई ‘गुण्डा’ लेखेको पाइन्छ।
त्यस्तै गरी नेपाली लेख्य नियमअनुसार तद्भव र आगन्तुक शब्दमा ‘ऋ’ लेख्य चिन्हको पनि प्रयोग गरिँदैन । साँघु वा पुल भन्ने अर्थमा प्रयोग हुने अङ्ग्रेजी भाषाको ‘ब्रिज’ शब्द नेपाली भाषमा आगन्तुक शब्दका रूपमा प्रयोगमा ल्याइएको छ।त्यसैले त्यसलाई देवनागरी लिपिमा लेख्दा नेपाली लेख्य नियमअनुसार लेखिनुपर्छ तर ‘वृद्ध’, ‘वृद्धि’, ‘वृक्ष’ जस्ता तत्सम शब्दमा ‘व’सँग जोडिएर लेखिने ‘ऋ’ को सादृश्यतामा आगन्तुक शब्द 'ब्रिज' लेख्दा पनि ‘बृज’ लेखिन पुगेको देखिन्छ।
तत्सम आधार तत्त्वमा तद्भव आधेय तत्त्व जोड्दा देखिने समस्या
तत्सम शब्दमा नेपाली प्रत्यय जोडेर तद्भवीकरणपछि लेखिने शब्द पनि नेपाली लेख्य नियमअनुसार नै लेख्नुपर्ने हुन्छ।तर त्यस कुरामा नेपाली भाषाका शिक्षक, प्राध्यापक तथा लेखकहरूले पनि ध्यान पु¥याएको देखिँदैन ।
विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहमा पठनपाठनका लागि लेखिएका पाठ्यपुस्तकहरूमा समेत ‘पूर्वेली’, ‘पश्चिमेली’, ‘वर्षे’, ‘मूख्र्याइँ’, ‘शिलौटो’ जस्ता अशुद्ध वर्णविन्यास प्रयोग गरिएका शब्दहरूको प्रयोग पाइन्छ।तद्भवीकरण पश्चात नेपाली लेख्य नियम प्रयोग गर्नुपर्ने कुरामा ध्यान पु¥याएको देखिँदैन।
‘पूर्व’ तत्सम शब्द हो त्यसैले यसमा रेफभन्दा अगाडि आएको उकार दीर्घ छ र दन्योष्ठ्प ‘व’ प्रयोग गरिएको छ।यो संस्कृत नियम अनुसार लेखिएको छ।यसमा संस्कृत मूलकै प्रत्यय जोड्दा बन्ने व्युत्पन्न शब्द पनि संस्कृत नियमअनुसार नै लेख्नुपर्छ।‘पूर्व’ मा संस्कृत मूलक ‘ईय’ प्रत्यय जोड्दा बन्ने शब्द पूर्वीय पनि संस्कृत नियमअनुसार नै लेख्नुपर्छ।जब ‘पूर्व’ आधारपदमा ‘एली’, ‘ए’ जस्ता नेपाली प्रत्यय जोडेर त्यसलाई तद्भवीकरण गरिन्छ तब नयाँ बन्ने शब्द लेख्दा नेपाली लेख्य नियमको प्रयोग गरिन्छ।त्यसैले ‘पूर्व’मा ‘एली’ जोड्दा बन्ने शब्द नेपाली नियमअनुसार लेख्दा ‘पुर्बेली’ लेख्नुपर्छ भने ‘पूर्व’मा ‘ए’ जोड्दा ‘पुर्बे’ हुन्छ।नेपाली लेख्य नियमअनुरूप पदादिमा दीर्घ उकार लेखिँदैन र नेपाली भाषामा दन्योष्ठ्प ‘व’ पनि लेखिँदैन।त्यसैले ह्रस्व उकार र द्वयोष्ठ्प ‘ब’ लेख्नुपर्छ।त्यसैगरी ‘वर्ष’ आधारपदमा ‘इक’ र ‘ईय’ संस्कृतमूलक प्रत्यय जोड्दा बन्ने ‘वार्षिक’ र ‘वर्षीय’ शब्द संस्कृत लेख्य नियमअनुसार नै लेखिन्छन् भने ‘वर्ष’मा ‘ए’ जोड्दा बन्ने शब्द ‘बर्से’ नेपाली नियमअनुसार लेख्नुपर्ने हुन्छ।‘मूर्ख’ मा ‘याइँ’ प्रत्यय जोड्दा बन्ने ‘मुर्ख्याइँ’ र ‘शिला’मा ‘औटो’ प्रत्यय जोड्दा बन्ने ‘सिलौटो’ पनि नेपाली नियमअनुसार नै लेख्नुपर्छ।
तत्सम धातुमा नेपालीमूलक ‘कृत्’ प्रत्यय जोडेर बन्ने नेपाली शब्द लेख्दा पनि नेपाली लेख्य नियम नै प्रयोग गर्नुपर्ने हुन्छ।‘दृश्’ धातुबाट व्युत्पन्न ‘दर्साउनु’, ‘पुष्’ धातुबाट व्युत्पन्न ‘पोसिलो’ शब्दमा आउने ‘स’ नेपाली नियमअनुसार नै लेख्नुपर्छ।त्यसैगरी नामिक वर्गका तत्सम शब्दमा नेपालीमूलक प्रत्यय जोडेर नामधातु बनाई तिनमा रूपापक प्रत्यय जोड्दा बन्ने क्रियापदहरू पनि नेपाली लेख्य नियमअनुसार नै लेख्नुपर्छ।‘विदेश’मा ‘इ+नु’ जोड्दा बन्ने ‘बिदेसिनु’, र ‘इ+यो’ जोड्दा बन्ने ‘बिदेसियो’ जस्ता शब्दहरू पनि नेपालीमूलक नियमअनुसार नै लेख्नुपर्छ।
तेस्रो भाषाबाट भित्रिएका आगन्तुक शब्द लेख्दा देखा पर्ने समस्या
नेपाली भाषामा आगन्तुक शब्दहरू भित्रिने क्रममा कतिपय शब्दहरू तेस्रो भाषाबाट हिन्दी हुँदै नेपाली भाषामा भित्रिएका देखिन्छन् र त्यस्ता शब्दलाई नेपाली भाषामा लेख्दा विगतमा पूर्ववर्ती भाषाको लेख्य नियमअनुसार लेख्ने गरेको भएपनि हाल आएर त्यस्ता शब्द पनि नेपाली लेख्य नियमअनुसार नै लेख्ने गरिन्छ।‘सहिद’, ‘सहर’ ‘सिकार’ जस्ता शब्दहरू अरबी भाषाबाट हिन्दी हुँदै नेपालीमा भित्रिएका हुन् र ती शब्दहरू हिन्दी भाषामा लेख्दा ‘शहीद’, ‘शहर’, ‘शिकार’ लेख्ने गरिन्छ।त्यसैले पहिले नेपाली भाषामा पनि त्यसरी नै लेख्ने गरेको पाइन्छ।तर हाल आएर ती शब्दहरू पनि नेपाली नियमअनुसार नै लेख्दा ‘सहिद’, ‘सहर’ ‘सिकार’ लेख्नुपर्ने हुन्छ।
क्षतिपूर्ति दीर्घीभवनको नियम अनावश्यक
नेपाली भाषालाई स्तरीकरण तथा मानकीकरण गर्ने क्रममा नेपाली लेख्य नियममा रहेका कमी कमजोरी हटाउँदै जाने क्रममा वर्णविन्यासमा पनि क्रमिक सुधार गरिँदै आएको पाइन्छ।विगतमा क्षतिपूर्ति दीर्घीभवनको नियमअनुसार ‘दुध’, ‘बुढो’, ‘ठुलो’, ‘बिच’, ‘सिप’ ‘मिठो’ जस्ता शब्दहरूका पदादिमा आएको उकार/इकार दीर्घ लेख्ने गरेको हुनाले ‘दूध’, ‘बूढो’, ‘ठूलो’, ‘बीच’, ‘सीप’, ‘मीठो’, लेख्ने गरिएको पाइन्छ तर हाल आएर सबै तद्भव शब्दमा एउटै नियम लागु हुने गरी पदादिमा दीर्घ निषेध गरी क्षतिपूर्ति दीर्घीभवनको नियम हटाइएको छ।
संस्कृत भाषाबाट प्राकृत भाषामा आउँदा समीभवनका कारण द्वित्व भएर देखिएका शब्दहरू नेपालीमा आइपुग्दा दोहरिएको ध्वनि क्षति(लोप) हुन गई त्यसको क्षतिपूर्ति स्वरूप पूर्ववर्ती ध्वनि दीर्घ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ।संस्कृत र प्राकृतमा रहेको अकार त्यही नियमले नेपालीमा आकार हुन पुगेको देखिन्छ।
जस्तैः संस्कृत प्राकृत नेपाली
सप्त सत्त सात
कर्म कम्म काम
भक्त भत्त भात
यसरी ‘सत्त’मा रहेको अकार ‘सात’मा आकार बने झैँ इकार र उकारमा पनि दीर्घीभवनको अनुमान गरी विगतमा क्षतिपूर्ति दीर्घीभवनको नियम लगाउने गरेको पाइन्छ।
जस्तैः संस्कृत प्राकृत नेपाली
मिष्ठ मिठ्ठ मीठो
तिक्त तित्त तीतो
दुग्ध दुध्ध दूध
यही नियमबाट प्रभावित भएर ‘वृहत् नेपाली शब्दकोश’ (२०४०)मा धेरै जसो तद्भव शब्दहरूको पदादिमा इकार/उकार दीर्घ लेखिएको पाइन्छ।तर नेपाली भाषामा इकार/उकारमा दीर्घता नहुनाले(इ/ई र उ/ऊ व्यतिरेकी वितरणमा नआउने हुनाले) त्यस्तो प्रावधान कृत्रिम झैँ प्रतीत हुन्छ।त्यसैले तद्भव नियमका दृष्टिले पदादिमा इकार/उकार दीर्घ लेख्नु उपयुक्त हुँदैन।
दीर्घ लेखिने तत्सम शब्दहरू तद्भव हुँदा ह्रस्व लेखिने
संस्कृत भाषामा रहेका ‘कीट’, ‘नील’, ‘पीडा’, ‘धूम्र’, ‘धूलि’, ‘स्थूल’ जस्ता शब्दहरूमा इकार/उकार दीर्घ हुनाले ती शब्दको रूप परिवर्तन भई बनेका तद्भव शब्द क्रमशः ‘कीरो’, ‘नीलो’, ‘पीर’, ‘धूवाँ’, ‘धूलो’, ‘ठूलो’ जस्ता शब्द लेख्दा पनि विगतमा इकार/उकार दीर्घ लेखिने परम्परा पाइन्छ तर हाल आएर ती शब्दहरू नेपाली लेख्य नियमअनुसार लेख्दा ‘किरो’, ‘निलो’, ‘पिर’, ‘धुवाँ’, ‘धुलो’, ‘ठुलो’ लेख्नुपर्छ।
सङ्ख्यावाचक शब्दका पदादि र पदमध्यमा पनि ह्रस्व हुने
यसैगरी उच्चारणलाई आधार मान्दै पदादिमा दीर्घ लेखिँदै आएका ‘तीन’, ‘बीस’, ‘तीस’ र पदमध्यमा दीर्घ लेखिँदै आएका ‘एक्कीस’, ‘बाईस’, ‘पच्चीस’ आदि शब्दका पदादि र पदमध्यमा पनि ह्रस्व इकार लेखेर सबै नेपालीमूलक मूल शब्दका सुरु र बिचमा ह्रस्व इकार/उकार प्रयोग गर्ने नियम बनाइएको छ।
समध्वन्यात्मकताका कारण सिर्जित समस्या
नेपाली भाषामा रहेका फरक फरक अस्तित्व भएका तर केही मात्रामा ध्वन्यात्मक समानता रहेका ध्वनिका लागि प्रयोग गरिने लेख्य चिन्ह्रको सही पहिचान हुन नसकेको कारणले पनि वर्णविन्यासगत समस्या देखिने गरेका छन्। इ/यि तथा ई/यी, ए/य/ये, ओ/वको प्रयोगमा यसप्रकारका समस्या देख्न सकिन्छ।‘स्थायित्व’ लेख्न खोज्दा ‘स्थाइत्व’ र ‘उत्तरदायी’ लेख्न खोज्दा ‘उत्तरदाई’ लेख्नु, ‘गएको’ लेख्नुपर्दा ‘गयको’ लेख्नु ‘आओस्’को सट्टामा ‘आवस्’ लेख्नु वर्णमा रहेको समध्वन्यात्मकका कारण सिर्जित समस्या हुन्।यस्ता वर्णविन्याससम्बन्धी समस्याको समाधान गर्न कुनकुन शब्दमा कुनकुन लेख्य चिन्ह्रको प्रयोग गर्ने भन्ने ज्ञान हुनु जरुरी छ।शब्दकोशको सहयोगबाट यस्ता त्रुटिहरू न्यूनीकरण गर्न सकिन्छ ।
यसरी नेपाली लेख्य भाषामा देखिएका वर्णविन्यासगत समस्याहरूले एकातिर भाषाको भाव सम्प्रेषणमा समस्या देखिने गरेको छ र अर्कातिर त्यही कारणले भाषाको स्तरीकरण र मानकीकरणमा समेत बाधा उत्पन्न हुन जाने हुनाले वर्णविन्यासगत त्रुटि हुन सक्ने क्षेत्रहरू पहिचान गरी त्यस्ता त्रुटि केकति कारणले हुन गएका हुन् त्यसको समाधान गर्न केकस्ता उपायहरू अपनाउनुपर्छ भन्ने कुराको खोजी गरी त्यसको अवलम्बन गर्नु अति आवश्यक छ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज, समसामयिक नेपाली व्याकरण, काठमाडौः विद्यार्थी पुस्तक भण्डार, २०४९।
............................, ‘नेपाली वर्णविन्यास र त्यसको मानकीकरण’ सम्प्रेषण (अङ्क ३२०६३ः २१८–२२४)
काठमाडौः सम्प्रेषण परिवार, नेपाली भाषा शिक्षा विभाग।
............................., प्रयोगात्मक नेपाली व्याकरण (तेस्रो सं.) ललितपुरः साझा प्रकाशन २०६७।
अधिकारी, हेमाङ्गराज र वद्रीविशाल भट्टराई (सम्पा.), प्रयोगात्मक नेपालीशब्दकोश (दोस्रो सं.) काठमाडौः
विद्यार्थी प्रकाशन प्रा.लि २०६३।
गिरी जीवेन्द्रदेव, भाषा विज्ञान, भाषा र भाषिका, काठमाडौः एकता बुक्स २०६३।
जोशी, खगेन्द्र, ‘नेपाली र डोटेलीको तुलनात्मक अध्ययन’ अन्वेषण (वर्ष १ अङ्क १, २०६८; ४०–४५)
महेन्द्रनगरः श्री सिद्धनाथ बहुमुखी क्याम्पस।
ज्ञवाली रामप्रसाद र गणेशप्रसाद भट्टराई, साधारण नेपाली काठमाडौः भुँडीपुराण प्रकाशन २०५६।
शर्मा, मोहनराज, शब्दरचना र वर्णविन्यास, काठमाडौः नवीन प्रकाशन २०५९।

(उपप्राध्यापक सुदूरपश्चिमाञ्चल विश्वविद्यालय)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु