“फूलका उमेरहरू” मा सौन्दर्यानुभूति

- नवीन पौड्याल

कविता लेख्नेहरूको सङ्ख्या दिनदिन बढिरहेको छ। नयाँ पुस्ताका नयाँ नाँ कविहरूको सङ्ख्या बढदो देखिन्छ। नयाँ नयाँ कविहरूका नयाँ नयाँ नयाँ बान्की ढाँचा स्वरूप, भाव, तात्पर्य, प्रस्तुतिमा नयाँ नयाँ कविता देखा पर्दैछन्। नयाँ नयाँ कवितासङ्ग्रह नयाँ पुराना पत्र पत्रिका, दैनिक समाचार पत्रिका सबैमा कविता नै व्याप्त छ। कविताको लहलह बाली लागेको पाइन्छ। कविताका हाँगा-बिँगाका रूपमा विभिन्न स्वरूप देखा पर्दछन् । महाकाव्य, खण्डकाव्य, लामो कविता, फुटकर कविता, मुक्तक, युग्मक, गीत गजल, रूबाइ आदि के के प्रकाशित भइरहेका छन्। अझै नयाँ नयाँ ढाँचा र प्रयोगका नयाँ खाले कविता पनि देखिन्छन् । साहित्य समाजकोदर्पण हो भन्ने भनाइलाई कविताले चरितार्थ पारे पनि यो समाजभन्दा अझ अघि बढेर दिशा निर्देश दिन सक्दछ । समाजलाई अघि लाउन सक्दछ । युगको नाडी छामेर त्यसबारे आलोचना गर्न सक्दछ । कवितामा शक्ति छ, कवितामा आनन्द छ, रस छ। मानव जीवनसँग नजिकमा रहेको छ।
१. कवयित्री अप्सरा दाहाल-
भारतीय नेपाली कविताको फाँटमा अब अप्सरा दाहालको नाम पनि अङ्कित छ। उनी कविता क्षेत्रमा गत बीस वर्षदेखि नै लागिरहेकी छन् । हालसम्म उनका ‘सम्झनाको देश’ (२००३), ‘मनका घरहरू’ (२००९) र ‘फूलका उमेरहरू’ (२०१४) गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन्। यीबाहेक उनका सिक्किमतिरका विभिन्न पत्र-पत्रिकामा ५०० जति कविताहरू प्रकाशित छन्। उनी एकनिष्ठ भइ कवितामा समर्पित छिन्। कविताबाहेक उनको नाट्याभिनयको पनि अनुभव छ। पश्चिम सिक्किमको बर्मेक भन्ने गाउँमा जन्मेकी सुश्री दाहाल पेशाले शिक्षिका हुन्। गान्तोक, नाम्ची, जोरथाङ, गोजिङ आदितिरका कविगोष्ठी आदितिर उनको उपस्थिति दिएको पाइन्छ।
२. दाहालको कविताको मूल स्वर -
आफ्नो भावबिम्बलाई कवितामा उतार्ने अप्सरा दाहाल एक सरल, सफल र सहज कवि हुन्। मनमा लागेका, खिलेका, बुझेका, सुझेका कुराहरूलाई कवितामा उभ्याउँछिन्। उनी आफ्नो भावविम्बलाई कविताको आकार दिन्छिन्। उनी कविता पढने, कविता लेख्ने, कवितामा नै रमाउने व्यक्ति हुन्। फूल, बादल, आकाश, हिमाल पहाड झर्ना आदिमा कविता देख्छिन्। मनमनमा कविता गम्छिन्, कवितामा जीवनको छाँया देख्छिन्। उनको भनाइअनुसार “म त सरलताकी पुजारी हुँ अनि दुर्गम गाउँमा फुलेकी सुनगाभा हुँ। केही नपाए पनि मेरा कवितामा पाठकले गाउँको काँचो माटोको महक पाउनेछन्। नजानी नजानी बोल्ने गाउँले बोली पाउने छन्। नक्कलझक्कल पार्न नजान्ने गाँउले किसानकी छोरीका आँखाको निर्दोषिता, दृढता र इमान्दारिता पक्कै पाउने छन्”। (अप्सरा दाहाल, फूलका उमेरहरू पृष्ठ घ)। पुस्तकमा नरबहादुर दाहाल, घनश्याम नेपाल, राजेन्द्र भण्डारी, कालूसिंह रनपहंली, नरेन्दराज प्रसाइँ, इन्दिरा प्रसाइँ, भीम दाहाल, बिर्ख खँडका डुवर्सेलीले छोटा छोटा तर उनको सठिक मूल्याङ्कनात्मक टिप्पणी गरेका छन्। क्लिष्ट कविताहरूले तर्सेका पाठकका निम्ति उनी सरल, सुबोध्य, सुपाच्य कवि हुन् । उनका कविताहरूले समाजका विभिन्न पक्षहरूको उद्घाटन गरेका छन्। साहित्यले सत्यम् शिवम् सुन्दरम्‌को दर्शनलाई प्रश्रय दिँदछ। दाहाल पनि आफ्नो कवितामार्फत् यही सिद्धान्तलाई अघि बढाउन खोजेकी छन्।
३. ‘फूलका उमेरहरू’ कवितासङ्ग्रहमा कवि दाहालको कविताकारिता -
२०१४ मा प्रकाशित फूलका आयुहरू कवितासङ्ग्रहमा जम्मा ११५+१४ पृष्ठको भई ६७ वटा लघु आकारका कविता समावेश छन्। यसको प्रकाशक कवि आफैं रहेकी छन्। चिटिक्क परेको आकर्षक आवरण र छरिता कविताहरूले पाठकलाई रसास्वादन प्रदान गर्दछ। प्रस्तुत शीर्षकले नै जीवनको क्षणभंगुरतालाई संकेत गरेको छ। यद्यपि फूलहरूको उमेर शीर्षक भए व्याकरणिक शुद्ध हुने थियो। किनभने उमेर भाववाचक नाम हुनाले यसलाई व्याकरणिक बहुवचनमा राख्न मिल्दैन। यो सदा एकवचन हुन्छ। शायद यसमा कविको व्याकरणिक विचलनको प्रयोगलाई स्थान दिएकी छन्। आशय भने फूलको क्षणिकता नै बुझिन्छन्। फूलको जीवनको क्षणिकतामा मानव जीवन पनि गाँसेर बुझिन्छ। यसै पनि फूल सौन्दर्य, रङ्गीचङ्गीपन, वासना, कोमलता, क्षणभङ्गुरताको प्रतीक हो। क्षणभङ्गुरता नै फूलको विशेषता हुन्छ। फूल थोरै बाँच्छ तर सार्थक बाँच्छ। फूल मानिसको सदैव नजिकमा हुन्छ। फूलप्रति मानिसको प्राचीनककालदेखि नै लगाव छ। यसका रङ्गीचङ्गीपनमा मानिस रमाउँछ, यसको महकतामा झुल्छ। सङ्ग्रहका अधिकाङ्श कवितामा फूलको महक पाइन्छ। पहाडी झर्नाका छङछङ प्रवाह पाइन्छ। यसका साथै समाजको दर्पण पाइन्छ ।
४. सङ्ग्रहका विषयवस्तु –
प्रस्तुत कविता सङ्ग्रहमा विभिन्न विषय वस्तु रहेका छन्। यी प्रत्येक कविताहरूको आ-आफ्नै विषय, आकार, भाव, आशय देखा पर्छन्। तीमध्ये केहीलाई केलाउँदा मुख्य गरी आदर्शवादको उत्थान, नारी चिन्तन र महिमा, जातीय चिन्तन, देश चिन्तन, जीवन चिन्तन, जगत चिन्तन, आदि पाइन्छन्। उनका निम्ति मूर्त अमूर्त जुनै कुरालाई पनि कविताको विषय बनाउन सकिन्छ। सठ्सट्ठीवटा कविताको आ-आफ्नै विषयवस्तु र भाव भए तापनि कतिपय कविताका साझा विषय र भाव पाइन्छ। नारीको महिमा गाउने क्रममा सामान्य नारी आमाको विभिन्न स्वरूपको वर्णन गरिएको पाइन्छ। यसका साथै सबै कविताको मूलमा उदात्तता, आदर्शता, सुधारवाद, प्रकृति चित्रण पक्षहरू सालाखाला रूपमा पाइन्छ।
४.१. स्वच्छन्दतावाद –
प्रस्तुत कवितासङ्ग्रहमा मुख्य रूपमा स्वच्छन्दतावादी स्वर पाइन्छ। प्रकृतिका विविध पक्षको उद्घाटन, कल्पनाशीलता, आदर्शता, वैयक्तिकता, मानवताका साथै आत्मभिव्यञ्जना पाइन्छन्। एकेकवटा कवितामा स्वच्छन्दवादी चिन्तन छ। कविलाई मनमा लागेका कुरालाई बिना रोकटोक अभिव्यक्त गरिएको छ। “शहर गाउँमा आउन नखोज है” कवितामा गाउँ गाँवै रहोस्, विकृति नआधोस भन्ने आशाय व्यक्त गरिएको छ। कविका निम्ति प्रकृति सर्वोपरी हो औ गाउँ प्रकृतिको नजिकैको कुरा हो। गाउँमा अकृतिमता, निस्वार्थता, शान्त, सरल हुन्छ। बरू शहर भनेको कृतिमता, आडम्बर, प्रदुषित,स्वार्थ छ ।
यत्रो विशाल आकाशमा
एक्ली फगत एक्ली जून छे एकातिर
यत्रो विस्तृत धरतीको फाँटमा
एक्ली फगत एक्ली म छु अर्कोतिर (धरतीको उदाङ्गो छातीमा)
यसमा सबैभन्दा प्रबल पक्ष आत्माभिव्यञ्जना हो। आफुले अनुभव,चिन्तन, मनन र फुरेका भावलाई कवितामा उतार्ने प्रयास गरिएको छ। उनका निम्ति प्रकृति हाँस्छ, रून्छ । गाउँमा स्वच्छता, पवित्रता, हुन्छ । बरू शहर पो प्रदूषित, कलुषित, स्वार्थी, धूर्त र कृतिम हुन्छ । गाउँ गाँवै रहोस तर शहर नहोस्भन्ने उनको आन्तरिक इच्छा छ।
४.२. सौन्दर्यानुभूति –
फूलका उमेरहरू कवितासङ्ग्रहका प्रायः जम्मै कवितामा सौन्दर्य चेतना र अनुभूति पाइन्छ। मनका सहजानुभूतिहरूलाई कविताका माध्यमबाट बाहिर पोखेकी छन्। कविका मनका अन्तर-कुन्तरमा रहेका सौन्दर्यलाई अभिव्यक्ति दिएकी छन्। उनको निम्ति कविता गाउँमा छ, गाउँले चोखो व्यवहारमा छ। जङ्गली फूल फुल्दा त्यहाँ कविता पनि फुल्छ। बादलका झुण्डमा कविता देख्छिन्। मानिसको अन्तर्ह्रदयमा खिलेका भावहरूलाई अभिव्यक्त पाइन्छ।
अचानक आँखाका चञ्चले तलाउ
समुद्रमा ठोक्किन्छन्
लाखबत्ती बलेसरी
लस्कर लागेका पानी हाँसका पहेंला चुच्चाहरूमा।
४.३. आदर्शवाद –
कवि दाहाल कवितामा आदर्शतालाई प्रश्रय दिएकी छन्। सङ्ग्रहमा रहेका अधिकाश कवितामा आदर्शवादी चिन्तन पाइन्छ। मानव समाजको कुरूपता, विकृति, विसङ्गति, स्वार्थन्धता, धनलोलुता, मानवताको ह्रास आदि देखिर कवि विरक्त हुन्छिन्। यस्ता प्रतिकुल पक्षहरूलाई पन्छाएर नयाँ सुन्दर, स्वच्छ, निस्वार्थ र मानवतावादी समाजको स्थापना गर्न चाहन्छिन्। उनका अनुसार मान्छेभित्रकै कुविचार स्वार्थ, लोभ आदिलाई त्यागेर नयाँ स्वच्छ सुन्दर मानव संमाजको निर्माण गर्ने आह्वान गरिएको छ -
गलत मानसिकताले
पीडित विचारक
आफूलाई सचेत, सजग चेतनशीलतामा
विसङ्गति र कुविचारबाट
खैंचिएर ल्याउन सक। (आफ्नो भूललाई आफैं देखौं)

४.४ बिम्बहीनता -
कवितामा सरल, छोटा छोटा भावलाई अघि लाइएको छ। कवितामा प्रतीक र बिम्बको गुजुल्टो भन्दा सरल र सपाट भावपक्ष पाइन्छ। विम्बहीनता वा अल्पबिम्बका प्रयोगका कारणले उनका कविता पाठकका निम्ति पानी पिएसरह लाग्छन्। पानी पिउँदा यसका तत्वको खोजी नभएर तृष्णातृप्ति गरेझैं उनका कविताको पनि सतत रसास्वादन गर्न सकिन्छ। जम्मै कविता पढ्दा पाठकले दिमागी कसरत गर्नुपर्दैन। पाठकले कविता सरलतासँग बुझ्छन्, मनन गर्न सक्छन्, चिन्तन गर्न सक्छन्।
५. संरचना -
लामालामा कविताबाट त्रसित नेपाली कविता पाठक दाहालका छोटाछोटा कविताहरू पढ्दा आनन्द लिन्छन्। प्रायः जम्मा कविता छोटा संरचनाका छन्। सङ्ग्रहमा जम्मा ११५ पृष्ठमा ६७ वटा कविता हुनाले औसतमा एकदेखि डेढ़ पेज जति मात्रको कविता पाइन्छन्। छोटा छोटा पंक्तिका एउटा कविता पाँच पृष्ठ, चारवटा कविता चार पृष्ठका, एउटा कविता तीन पृष्ठको, सोह्रवटा कविता दुई पृष्ठका र बाँकी जम्मै एकेक पृष्ठमा आवद्ध छन्। हृदयको एउटा भावभुल्का र आवेगलाई एउटा कवितामा पोखाइएको पाइन्छ। कवितामा एक प्रकारको गति, प्रवाह र शृङ्खला पाइन्छ। कविताभित्रको आन्तरिक प्रवाह र संवेगका लहर छन्। गुणका आधारमा नारीलाई विभिन्न रूपबाट यसरी हेरिएको छ-



नारी
सृष्टिको मुहान, जननी, सन्तानलाई हृदयबाट नै माया गर्ने, अर्धाङ्गिनी, पुत्री, लक्षिनकी, आकर्षक व्यक्तित्वकी धनी, प्रेरणाकी खानी, चण्डिका, महिषासुरमर्दिनी. झाँसीकी रानी, इन्दिरा,, नाइटिङ्गेल, मोनालिसा आदि


६. भाषा र शैली-
प्रस्तुत कवितासङ्ग्रहको भाषा र शैली हेर्दा यो सरल, सहज र स्वाभाविक छ। बोलीचालीकै भाषाका माध्यमद्वारा आफ्ना विचार, चिन्तन र दर्शनलाई प्रस्तुत गरिएको छ । पाठकलाई यी कवितहरू बुझ्न कुनै कसर गर्नुपर्दैन। अर्थगत तह हेर्दा पनि लाक्षणिक अर्थ सहजै बोधगम्य हुन्छन्। गाउँले ठेट शब्द र लोकोकतिको प्रयोग पाइन्छ। कविता प्रगीतात्मक शैलीका छन्। कविताहरूको शब्द र अर्थ खोतल्दा नै कवितामा आशावादी देखिन्छन्।
७. सन्देश -
यस कवितासङ्ग्रहमार्फत् समाजका निम्ति केही सन्देश दिइएको पाइन्छ। कवि समाजको विकृति र विसङ्गतिलाई पखालेर नयाँ सुन्दर, निस्वार्थ, आनन्दको स्थापना गर्ने आह्वान गरिएको छ। मान्छेभित्र रहेको स्वच्छ भावनालाई उकासेर ल्याउन चाहन्छिन्। समाजमा उँच-नीच त्यागेर समानता ल्याउन चाहेको छ। नारीको समानता र महत्वको वकालत गरिएको छ। मान्छे व्यर्थैमाअपराधमा लिप्त छन्, तिनीहरू त्यस अपराधको दलदलबाट उम्केर आउने आह्वान गरिएको छ। मान्छे आफेले आफैलाई परिवर्तन गरेर सभ्य र सज्जन हुने आह्वान गरिएको छ । कविको कल्पनाको देशमा मानवप्रेम, स्वच्छता, समानता, अपराधहीन, सहिष्णुता छाएको होस भन्ने कामना गरिएको छ। रातपछि दिन आएझैं जीवनमा दुःख आइलागे पनि अर्को दिन सुख पनि आउँछ, मान्छे दुःखमा निराश हुनुप्रदैन भन्ने आशावादी चिन्तन पाइन्छ । मान्छेले मान्छेकै गुण बुझेर जीवन बिताउन पर्छ, मनका कलुषित र कल्मष मेटेर आफुलाई सद्मार्गमा लानुपर्छ भन्ने सन्देश पाइन्छ ।
८. मूल्याङ्कन र उपसंहार -
नेपाली कविता लेखनमा उत्रिएकी सुश्री अप्सरा दाहालका तीनवटा कविता-सङ्ग्रह प्रकाशित देखिन्छन्। उनको पछिल्लो कवितासङ्ग्रह फूलका उमेरहरूमा जम्मा ६७ वटा छोटा आयामाका कविता सङ्ग्रृहीत छन्। उनको यस सङ्ग्रहका कवितामा आदर्शवाद, स्वच्छन्दतावाद, नारी चिन्तन, प्रकृति चिन्तन आदि विषयवस्तु लिएर देखा पर्छिन्। कवितामा हुनुपर्ने रागात्मक अनुभूति, आत्माभिव्यञ्जना, शाब्दिक मिठास आदि गुण पाइन्छ। उनका कविता सरल, सरस, सहज र सुबोध्य छन्। यसमा प्रतीक बिम्ब आदिबाट बेरिएर अर्थगत दूरूहता पाइन्न। पाठकका निम्ति सङ्लो पानीमा सेतो सिपी परेबाट छर्लङ्ग देखिएझैं पाठकका निम्ति सहजै अर्थबोध हुन्छ। कविता आदर्शवादी छन्। समाज सुधारको आह्वान छ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु