मान्छे भित्रको मान्छे

- मन्दिरा मधुश्री

मनमा तर्क वितर्क चलिरहेकै थियो । म लगायत सँगै गएका सहपाठी सबैको आवश्यक चेकजाँच गर्यो बन्दीगृह सुरक्षार्थ बसेका सुरक्षागार्डले । हामी आउनुको उद्देश्य त पहिले नै जानकारी गराइसकिएको थियो । जेल प्रशासन प्रमुखले गेटैबाट स्वागत गरे हामीलाई ।
आँखा चनाखो भएका थिए । सुरक्षाकर्मीको बीचमा भएपनि अनिष्टको आशंकाले डराएर चीसो थियो मन ।

मैले नजानिँदो पाराले वरिपरी हेरेँ । बन्दीगृहको कोठाबाट प्रत्येक कैदी बन्दीले मलाई नै चिहाएर हेरिरहेका थिए । यी मध्ये कति त मेरै फैसलाले आभियुक्त साबित भएर सजाय काटिरहेका थिए । उनीहरूले सोचिरहेका होलान्,“हो यहि त हो नि हामीलाई विभिन्न दफा, उपदफा बमोजिमको कानून लगाएर अभियुक्त सावित गरेर जेल हाल्न आदेश दिने । हामीले एक्लै एकान्तमा गरेको अपराधलाई पनि कत्ति न आफैँले देखेको जस्तै गरेर फैसला गरेकी ।”
“म त परिबन्दमा पो परेको हो । खास अभियुक्त त अर्कै थियो” भन्दै होलान् कसैले ।“मैले कतिपटक अनुनय गरेको थिएँ । मेरो घर परिवार चलाउने म बाहेक कोही छैन, बिन्ती मलाई कैद नतोकिदिनुस् भनेर । तर अहँ पग्लिएन पत्थर मन ।” कसैको मनमा यस्तो भाव पनि आउँदै होला ।
मैले फैसला गर्दा प्रमाणका आधारमा उनीहरू अभियुक्त नै थिए भने अहिले उनीहरूको नजरमा आफैँलाई अभियुक्त महशुस गर्दैथिएँ म ।
“ कैदीहरू उच्छृङ्खल र अनुशासन हीन बनेर जथाभावी गरिरहेका हुन्छन कि ? लँडाई झगडा र मनोमानी गर्दै एकापसमा विवाद र अश्लील बोलिमा गाली गर्दा हुन् । आखिर उनीहरू विभिन्न अपराध गरेका अभियुक्त न हुन् ।” यस्तै दृष्टिकोण राखेकी थिएँ मैले । देख्ने वित्तिकै सबैले ममाथि नै जाइ लाग्लान् कि भन्ने सबैभन्दा ठूलो डर थियो मलाई ।

मेरो यो जेल अनुगमन र कैदी बन्दीसँग गर्ने अन्तर्रक्रियाको निर्णयको सबैले विरोध गरेका थिए । खतरापूर्ण कार्य हो भनेर सावधान पनि गराएका थिए । फरक भएर जिन्दगी भोग्नु परेपछि खतरासँग खेल्नु र फरक काम गर्नु उत्साहित हुन्थ्यो मेरो मन । हुन पनि न्यायिक इतिहासमै प्रहिलो प्रयास थियो मेरो यो जेल अनुगमन र अभियुक्त अन्तक्रिया कार्य ।

मैले अनुमान गरेको भन्दा बिल्कुलै फरक थियो वातावरण बन्दीगृह भित्र । सुनसान । शान्त । चारैतिर सफा । अनुशासनात्मक । एउटा पनि कैदी बन्दी उच्छृङ्खल भएर बाहिर घुमेका थिएनन् । त्यो देखेर मेरो विचलित मनले थोरै भए पनि राहत महशुस गर्यो । अलिकति सहज भएँ म । तर मनको बाघले त खाइसकेको थियो मलाई ।
बन्दीगृहको पर्खाल क्यानभास जस्तै लाग्यो । जहाँ विभिन्न भाव र मुद्राका र वस्तुका पेन्टिंग बनाईएको थियो । सायद सबै सिर्जना तिनै कैदी बन्दीले गरेका होलान् ।

औपचारिक कार्यक्रम र भेटघाटका लागि निश्चित ठाउँ तोकिएको थियो बन्दी गृहभित्र । म तोकिएको ठाउँ र आशनमा बसेँ । मेरो सामुन्नेमा कैदी बन्दीलाई बस्ने व्यवस्था थियो ।

मन मस्तिष्क भने कैदीमै केन्द्रित थियो । प्रहिलो साक्षात्कारमा उनीहरुले म प्रति गर्ने सम्भावित नकारात्मक प्रतिक्रियाको आशंकामा थिएँ म । अनुहारमा कृतिमता ल्याएर भएपनि निडर देखिने प्रयास गरिरहेकै थिएँ । सहज बन्न लामो सास फेरिरहेँ पटकपटक ।
सम्भावित घटनाको त्रास र जीवन प्रतिको मोह कति डरलाग्दो हुँदोरहेछ पहिलोपटक महशुस गर्दै थिएँ ।

बन्दी गृहको नियम, आचरण, तौरतरिका केही थाहा थिएन मलाई । अकस्मात अनौठो ध्वनीमा घण्टीको आवाज सुनियो । मन अझ चञ्चल भयो आवाजसँगै । जति नै दह्रो बनाउन खोजे पनि ढक्क छाती फुल्यो ।

जेलरका अनुसार अनौठो ध्वनि कैदी बन्दी भेला हुने र खानाको सूचक रहेछ ।
आवाजसँगै कैदी बन्दीहरु अनुशासित रूपमा पंक्तिवद्ध भएर बाहिर आए । शिष्टतापूर्वक मलाई नमस्कार गरे र मेरो सम्मुख बसे । उफ् ! मलाई बिना द्वन्द बिना हतियार बिना युद्ध उनीहरुसँग हारेको अनुभव भयो ।
म हरेक कैदी बन्दीको नजर र मनोभाव पढिरहेकी थिएँ । भान थियो, मैले झैँ उनीहरु पनि पढ्दै थिए ।
कानूनले प्रमाणित अभियुक्त भए तापनि कोही अपराधी जस्ता देखिँदैनथे । एकदमै सरल र शान्त मुद्रामा थिए । आवेग र प्रतिशोधको भाव लेसमात्र पनि देखिँदैनथ्यो आँखामा । अहँ ! हामी प्रतिद्वन्द्वी जस्ता पटक्कै लागेन ।

एकैखाले पोसाकमा साधनारत तपस्वी सन्तहरु जस्तै लाग्यो उनीहरु मलाई । मान्छेले जुन सोच राखेर अरुलाई हेर्दछ, उसले त्यही रूपमा पाउँदछ । सायद मेरो सकारात्मक सोचले अभियुक्तलाई पनि सन्त देखेको पो हो कि ?

म यसरी बन्दीहरुको अवलोकन र अन्तर्कृयाका लागि आउँदैछु भन्ने थाहा पाएपछि स्वागत कार्यक्रम राखेका रहेछ्न स्वस्फूर्त रूपमा कैदी बन्दीहरुले नै ।

बन्दीहरुले आफुमा निहित प्रतिभालाई स्वतस्फूर्त रूपमा प्रस्फुटन गरे । गीत, प्रहसन, साहित्य, नृत्य मात्रै नभएर जीवन दर्शनका प्रवचन दिए । आ–आफ्नो सिर्जना उपहारस्वरूप दिए मलाई । चकित भएँ म । “ओहो ! वनको काँडा आफै तीखो हुन्छ भन्थे, हो रहेछ । अझै समय सापेक्ष प्रविधि र उपकरणको तालिम पाउने हो भने झन कति तीखो हुन्थे होलान् यी काँडाहरु ...?”

मान्छेभित्र साँच्चिकै मान्छे हुँदोरहेछ भन्ने योभन्दा ठूलो प्रमाण अन्य के हुन्छ होला र ?
यो समाजले “मान्छे भित्रको मान्छे”लाई कहिल्यै चिन्दैन र बुझ्दैन । मात्र बुझ्दछ ऊ भित्रको क्षणिक आवेग र परिस्थतिका कारणले उत्पन्न भएको चरित्र र क्रियाकलाप । अनि जिन्दगीभर त्यही नजरले हेरिदिन्छ ।
“मान्छे आफू स्वयंमा कदापि खराब होइन । जीवन बाँच्ने क्रममा समय, समाज, संगत, परिस्थिति, परिवेश र परिवन्दमा परेर मात्रै एउटा सामान्य मान्छे खुंखार अभियुक्त बन्दोरहेछ” यही प्रष्ट हुन्थ्यो, सबैको सिर्जनात्मक अभिव्यक्तिबाट ।

म अघिदेखि एउटा अभियुक्तको खोजीमा थिएँ कैदीहरुको भीडमा । उसको खोजिको लागि म थुप्रैवटा बन्दीगृह पुगिसकेकी थिएँ । लामो खोजपछि ऊ यहाँ छ भन्ने जानकारी पाएकी थिएँ ।

खासमा म उसैलाई भेट्न आएकी थिएँ यस बन्दी गृहमा । अझ भनाैँ म यो बन्दीगृह आउनुको मुख्य उद्देश्य अर्कै भएको पुष्टि गर्नु पनि थियो मलाई।
अर्कोतर्फ बन्दीगृह भित्र रहेका कैदी बन्दीको न्यायालय र न्यायाधीश प्रति रहेको एउटा भ्रमको चिरफार पनि गर्नु थियो । बन्दीगृह भित्रै रहेका डन बिचौलियाहरुको सत्यता पर्दाफास गर्नु थियो । कसरी बिचौलियाहरुले थुनुवा अभियुक्तबाट "न्यायाधिशलाई यति रकम नजराना दिनुपर्छ अनि मुद्दा जितिन्छ" भन्दै झुठो प्रलोभनमा ठूलो रकम लिन्छ्न र आफूआफू नै बाँडेर खान्छ्न । झुटो दोष भने न्यायाधिशलाई लाग्छ । त्यो पनि स्पस्ट पार्नु थियो । सावधान गराउनुपर्ने थियो कैदी बन्दीलाई पनि पैसाले न्याय किनिदैन भनेर । बिचौलियालाई पैसा नदिनु भनेर । अनि देशको न्याय प्रणालीको सहि र सत्य जानकारी कैदी बन्दीलाई गराउने अर्काे उद्देश्य पनि थियो मेरो ।

प्रत्येक बन्दीलाई नियालिरहेकी थिएँ म । अहँ ! कोही पनि कैदीबन्दी मेरो आँखाले खोजेजस्तो फरक अनुहारको देखिएन । मेरो खोजी एउटा हेर्दै डरलाग्दो र बीभत्स अनुहारको थियो बन्दीको थियो ।

कुरुपताको पराकाष्ठा थियो ऊ । आगोले जलेर बीभत्स र कुरुप भएको अनुहार । बल्ढ्याङ्ग्रे रिठ्ठा जस्ता आँखा । खुम्चिएको र बाहिर निस्केको ढ्याब्रे ओठ । उछिट्टिएका दाँत । कालो, अग्लो शरीर । हजुरआमाका दन्त्य कथामा वर्णित राक्षसजस्तो लाग्थ्यो मलाई ।

उहिले सानो हुँदा हजुरआमाले सुत्ने बेलामा त्यस्तै स्वरुपको चित्रण गरेर कथा सुनाउनुहुन्थ्यो । म त्यो राक्षस आफ्नै अगाडि आइपुगेको जस्तै लाग्थ्यो र डरले एकै डल्लो पर्थेँ । बचाउको मौन भीख माग्दै चपक्क टासिन्थेँ हजुरआमासँग । स्नेही हातले सुम्सुम्याउनु हुन्थ्यो हजुरआमा ।
म राक्षसको डरले हो की हजुर आमाको स्नेह वात्सल्यले हो भुसुक्कै निदाउथेँ सबै कथा नै नसुनी । अनि सबै सुनेको छैन भनेर अधुरो कथा फेरि भोलिपल्टै पूरा सुन्ने भन्थेँ । तर भोलिपल्ट पनि उस्तै हुन्थ्यो । म थर्थर काँप्दै निदाइहाल्थेँ हजुरआमासँग टाँसिएर ।
हो त्यस्तै राक्षस जस्तै थियो त्यो अभियुक्त पनि ।

त्यसले एउटा कहालीलाग्दो अपराध गरेको थियो । त्यसलाई खुंखार अपराधी भन्छु र भन्थे सबैले । अनि हो पनि ऊ त्यस्तै ।
उसले अपराध गर्यो । डरलाग्दो र कहालीलाग्दो । त्यसपछि ऊ आफैँ आत्महत्या गर्न लागेको बेला पक्राउ परेको थियो ।

तर त्यसले पक्राउ परेपछि कति केरकार गर्दा पनि आफ्नो बयान दिएन कसैसामु । कुनै स्पष्टीकरण दिएन आफ्नो अपराधको । गुनासो पनि गरेन अदालतले दिएको फैसलाको । न त आफ्नो बचाउको लागि अपील नै गरेको थियो न्यायालय र न्यायमूर्ती समक्ष ।
सबैले उसलाई असामान्य स्थितिको भने । मानसिक सन्तुलन गुमाएको अड्कल र व्याख्या गरे । त्यसैले उसले त्यस्तो कु–कृत्य गर्यो भने धेरैले । तर सत्य कुरो के थियो ? किन उसले त्यस्तो बीभत्स अपराध गर्यो आजसम्म कसैलाई थाहा थिएन ।

म उसैको खोजीमा आएकी थिएँ यो कारागारमा । उसको बयान लिनु थियो जसरी भए पनि । निर्दोष हो वा दोषी प्रमाणीकरण गर्नु थियो मैले । दोषी हो भने त सजाय भोगिरहेकै ठिकै छ । यदि निर्दोष रैछ भने उसले सजाय पाउनु हुन्न ।
“सयौँ दोषी छुटून् बरु, एउटा निर्दोषले सजाय नपाओस्” यही त हो न्यायको मूल मर्म । अनि न्यायलयको धर्म पनि ।

मैले लगभग सबै कैदी बन्दीको अनुहार नियालेँ पालैपालो । सामुन्ने भएकोले सजिलो थियो उनीहरुको अनुहार पढ्न । अहँ, कसैको पनि अनुहारमा मैले खोजेको अनुहार भेट्दै भेटिँन ।

विभिन्न शैलीका केस विन्यासमा थिए बन्दीहरु । सबैको अनुहारमा एउटा एउटा अपराधको लेप लागेको थियो, अहिले हेर्दा निर्दोष देखिए तापनि ।
एक्कासी गेरु वस्त्र लगाएको कैदीमाथि मेरा आँखा ठोकिए । उसले आफ्नो अनुहार पनि ढाकेको थियो । सायद त्यो वस्त्र पातलो भएकाले स–साना छिद्रबाट ऊ सबैकुरा राम्रोसँग देख्दथ्यो ।
छेउमा रहेका कारागार प्रमुखलाई सोधेँ कैदीतर्फ इशारा गरेर ।
“ यो एउटा अनौठो मान्छे हो श्रीमान्” उनले भने ।
“कसरी ?”
“यो कैदी तपस्वी जस्तै छ श्रीमान् । लुगामा मात्रै होइन खानपान र व्यवहारमा पनि । उसलाई सारा संसार र दुनियाँदेखि केही मतलव छैन । कोहीसँग बोल्दैन पनि । कसैको चासो गर्दैन । प्रायः दर्शन, चिन्तन, साहित्य, संस्कृतिका र धेरैका आत्मकथाका किताब पढ्न मगाउँछ । खुबै अध्ययन गर्छ । तर अचम्म छ, आफ्नो मुख कसैलाई देखाउँदैन । सँधै यसैगरी अनुहार छोपेर बस्छ । आजसम्म कसैले पनि उसको अनुहार देखेकै छैन रे ।”

तपाइँले पनि देख्नु भएको छैन त ? मैे सोधेँ ।

" छैन श्रीमान् । म आउँदै यो यहीँ थियो । मैले पनि देखेको छैन ।
“अनि सँगै बस्ने साथीहरूले पनि देखेका छैनन त ?”
“ऊ अरुसँगै बस्दैन । एक्लै बस्छ सानो छिँडी कोठामा । उसको माग नै थियो रे पहिले नै भिन्दै बस्ने र अनुहार नदेखाउने ।”
मलाई झन बढी कौतुहल भयो । मैले खोजेको मान्छे पनि उही हो भन्ने प्रमाणित पनि ।
“तपाईंले उसको अनुहार हेर्ने चेस्टा गर्नुभएन त ?”
“व्यक्तिगत स्वतन्त्रता हो उसको । त्यो हनन गर्नु भएन अनि जबरर्जिस्त गर्न पनि उसको शालिनताले दिएन ।”
त्यसको नाम नि ? मैले सोधेँ ।
"उदय" जेलरले भने ।
उसलाई मेरो नजिक ल्याउन अनुरोध गरेँ ।

जेलर ऊ भए ठाउँमा गए । मैले टाढाबाटै हेरिरहेँ । केही बेरको भलाकुसारी पछि मात्रै आयो ऊ । सबैले उसलाई अचम्म तरिकाले हेरिरहेका थिए । मानौ ऊ अर्कै ग्रहको प्राणी हो ।

मैले छेउमा एउटा कुर्सी राख्न लगाएँ, त्यहीँ बस्यो ऊ ।
मलाई भित्रदेखि नै एक तमासको भयो ऊ आफ्नो छेउमा हुँदा । हातखुट्टा सल्याक सुलुक्क भए । ढक्क भो मुटु । काँढा उम्रे पाखुरा भरि । किनकि ऊ खुंखार अपराधी हो भन्ने मलाई थाहा छ पहिल्यै ।
“हुलिया परिवर्तन भएजस्तै उसको मनोवृत्ति पनि परिवर्तन भयो भन्ने के ग्यारेन्टी छ त ?” डर र द्वन्द भयो मनमा ।

केही सुरक्षागार्ड मेरो नजिकै आए आकस्मिक सुरक्षाको लागि । मेरो निजी सुरक्षागार्ड त अघिदेखि नै छेउमै उभिरहेकै थियो ।
“तपाईंको नाम ?”
“उदय ।”
“कति बर्ष भो कारागार बस्नुभएको ?”
“दस बर्ष ।”
“कुन अपराधमा ?”
“त्यो म बताउँदिन ।”
“तर अपराध गरेपछि कारण के हो र किन गरेको बताउनुपर्छ । अपराध गरेको हो कि होइन ? दोषी कि निर्दोष सत्य थाहा हुनुपर्छ हामीलाई पनि ।” मैले भनेँ ।
“मैले आफ्नो अपराध कबुल गरेर सजाय भोगिरहेकै छु त ।” उसले प्रतिवाद गर्याे ।
“के थाहा तपाईं निर्दोष पो हुनुहुन्छ कि ? तपाईंले आजसम्म केही बयान दिनुभएकै छैन । बयान नै नदिई कसरी थाहा पाउने हामीले ? तपाईं कुनै अपराधको दोषी हो कि निर्दोष भनेर ?”
“ एउटी केटीको अपहरण, बलात्कार र हत्या गरेको सजाय भोग्दैछु म ।”उसले अड्किइ अड्किइ भन्यो ।
“को थिई त्यो ?”
“मेरी प्रेमिका ।”

“उफ् ! प्रेमिका ? ढुक्ढुक भो मुटु । चीसा पसिना आए मेरो ।
अनि आफ्नै प्रेमिकामा त्यस्तो जघन्य कार्य कसरी गर्न सक्नुभो त ? मुटु काँपेन ?”
“अह काँपेन । किनकि त्यो सबै गर्नु मेरो बाध्यता थियो ।”
“किन ?”
“कथा लामो छ ।”
“ आजसम्म कसैलाई बयान किन नदिनुभएको ?”

“ मलाई पुरुष प्रति घृणा छ त्यसैले ।
मलाई पहिले पक्रेर पुलिसलाई बुझाउने पनि पुरुष । केरकार गर्ने पुलिस पनि पुरुष थियो । बयान लिने वकिल पुरुष थियो । सुनुवाई गर्ने र फैसला गर्ने न्यायाधीश पनि पुरुष थिए । अनि साक्षी बस्ने पनि पुरुष । त्यसैले मैले केही बयान नदिएको ।

"किन त ? पुरुषप्रति तपाइँको अविश्वास ? किन ? न्याय गर्दैनन् र पुरुषले ?" अचम्म मान्दै सोधेँ मैले ।

"पुरुषले नारीले जति सजिलै भावना बुझदैन । साम, दाम, दण्ड भेद प्रयोग गर्छन् धेरैले । मैले बयान दिएको भए पनि मेरो भावना बुझ्दैनथे ती कुनै पुरुषले । त्यही भएर बयान दिइनँ । तर आज तपाईं महिला न्यायाधीश मेरो बयान लिँदैहुनुहुन्छ म सबै सत्य कुरा सुनाउँछु ।” यति भनेर चुपचाप भयो ऊ ।
सायद कुरा कहाँबाट सुरु गरौँ भयो होला उसलाई ।
००
म नौ बर्षको भएपछि आमाले बैनी पाउनुभयो । साना हातखुट्टा । साना आँखा । सानो मुख । गुडिया जस्तै लाग्थी मलाई बैनी । म जस्तो खुसी कोही थिएन होला संसारमा ।
एकदिन अकस्मात घरमा आगलागि भयो । आमा,बहिनी र म थियौँ घरमा । आधा जलेको मलाई आमाले साडिमा बेरेर हुत्याइदिनु भो बाहिरतिर । तर बहिनीलाई लिएर आफू आउन सक्नु भएन बाहिर ।
बा घरमा आउँदा आमा, बैनी र घर सबै खरानी भैसकेका थिए ।
म अधकल्चो थिएँ शरीर र अनुहार बीभत्स भएर जलेको थियो ।
मेरो अवस्था देखेर सबैले मेरो मृत्युको कामना गेरेका थिए । अहँ ! बा मेरो छेउ पर्दै परेनन् । सायद आमा, बहिनी र घरको शोकमा थिए ।
त्यतिकै टाढा भए बा । पछि त मै अलच्छिनाले आमा र बहिनी स्वाहा भएका पो भन्न थाले बाले । मलाई पालि घरमा राखिदिए ।
पोलेको, कुहिएको मासुको दुर्गन्ध सहेर हजुरआमाले मलाई सह्यारिन् । पाँच–छ बर्ष पछि आफ्नो कुरुप शरीर लिएर हिंड्न् सक्ने भएँ म । मलाई तङग्रयाएपछि हजुरआमा पनि अनन्तको बाटो लागिन् ।
अब पाली घरमा म एक्लै भएँ । बाले सानीमा बिहे गरे । घरमा उनीहरू बस्थे ।
कसैको सहानुभूति र मायालु स्पर्श खोजिरहन्थ्यो मेरो मन मस्तिष्कले । जब म बाहिर निस्कन्थेँ,साथीहरूसँग खेल्न छेउमा जान्थेँ सबै पर भाग्थे मदेखि । कोही जिस्काउँथे । मेरो शरीर र अवस्थाको खिल्ली उडाउँथे । विभिन्न उपनाम राख्थे । मलाई उत्तेजित र उग्र बनाउँथे । म छेउको ढुङ्गा टिपेर आफ्नो बचाउ गर्थें ।
घर परिवार मात्रै होइन दौँतरी र साथी–संगी माझ पनि म एक्लो भएँ । मेरो अनुहार कुरुप र डरलाग्दो थियो तर मन कमलो र मायालु थियो । दयालु थियो । माया, आत्मीयता र सामिप्य्ता खोजेर अरु नजिक जान्थेँ तर मदेखि डराएर भाग्थे र झन पर हुन्थे सबै ।
मलाई समग्रमा घृँणा गरे सबैले । उपेक्षा गरे मेरो रुपमा दाँजेर । अरु त अरु सानैदेखि एकदमै मिल्ने र जे कुरा पनि बाँडेर खाने मेरि मायालु सखी पल्लो घरकी थुम्की पनि पो मसँग कहिल्यै छेउ परिन, निको भएपछि पनि ।

म एक्लो हुँदै गएँ । माया–ममता स्नेह विहीन । आफन्त र आत्मीयजन विहीन ।
मभित्र कुन्ठा बढ्दै गयो । क्रमशः कठोर हुँदै गएँ । आमा र हजुरआमाको वात्सल्यको न्यानोपनको र थुम्कीको स्नेहको धङधङीले मात्रै बाँच्ने उत्प्रेरणा दिन्थ्यो मलाई ।

पाली घरमा बाँधिएका बाख्रापाठा,गाइवस्तु नै मेरा आफन्त थिए । भोटे कुकुर र मलाई खान दिने प्रकृया लगभग उस्तै थियो । भोटे नै मेरो सबैभन्दा अभिन्न मित्र थियो । सँगै सुत्दथ्यो । सँगै बस्थ्यो सधै । यी जनावर बाहेक अरु कसैको पनि न्यानोपन महसुस गरिन मैले । न त मनको न त तनको नै ।

पाली घरबाट म घरको दलानमा कान्छी आमाको सन्तानसँग बा घुघुती खेलेको टुलुटुलु हेर्दै भोटेलाई अङगालो हालेर बस्थेँ । बाको वात्सल्यको कल्पना गर्दै । म भित्रको कोमल र दीप्त ज्योति क्रमशः ज्वालामुखी हुँदैगयो ।

सँगै हुर्केका सबै साथी स्कूल जान्थे । म स्कूल मुन्तिरको चौरमा गाईबाख्रा छोडेर स्कूलमा खेलिरहेका र पढिरहेका उनीहरुलाई हेरिरहन्थेँ छलिएर ।

म कोपिलाबाट क्रमशः फक्रदै गएँ । उमेरसँगै प्राकृतिक रहर फूल्न थाले । बाल्यकालमा प्रेम स्नेहको महशुस गर्न नपाएकोले हो कि मभित्र प्रेम घनिभुत भएर सल्बलाउन थाल्यो ।
म थुम्की प्रतिको मायामा हुरुक्क हुन्थेँ । बाल्यकालदेखि नै ऊ मेरो मन मन्दिरमा बसेकी थिई । ऊपनि तरुनी हुँदै गएकी थिई । उसलाई नजिकैबाट नियाल्दा मेरो मन झनै खुसी हुन्थ्यो । कति बहाना बनाएर म नजिक पर्न खोज्थेँ उसको । तर ऊ पनि अरुजस्तै मेरो अघि पर्दैनथी । तर्किएर हिड्थी ।

मेरो मन मन्दिरमा बसेकी उसको अभाव अब झन बढि झाङ्गिन थाल्यो मलाई । उसैकोे त्यही याद र एकोहोरो माया त थियो नि मलाई आशावादी भएर बाच्न उत्प्रेरित गर्ने ।

कसैलाई माया गर्नु जस्तो अलौकिक आनन्द अरु केहीमा हुन्नरैछ ।

एकदिन मैले उसलाई बाटो छेकेर भनेँ, “थुम्की तँ किन संधै म देखि भागि हिड्छेस ? अब त बोल् न । म तँलाई कति धेरै माया गर्छु । तँ बाहेक को छ र मेरो आफ्नो भन्ने ?

उस्ले मलाई हुत्याउँदै भनी,“मलाई माया गर्छु भन्छस् तर अनुहार हेरेको छस् कहिल्यै आफ्नो ?”
“हेर् अनुहारले के हुन्छ त मन हेर न । कति धेरै माया गर्छ यो मनले तँलाई । घाँटीको छाला तान्दै भनेँ,“कसम ! तेरो मायाले त म बाचिरहेको छु नि अरुले घृणा गर्दा पनि । अब त बिहे गर्नुपर्छ ल छिट्टै ।”
“कस्ता कस्ता राजकुमार जस्ताले माग्न आउँदा त मानेकि छैन मैले । तँ राक्षस जस्तालाई चैँ मन पराएर बिहे गरेर बसुँला न खुबै । तँ जस्तो कुरुपको स्वास्नी हुनु भन्दा त त्यही काले कुकुरको हुनु जाती” भनेर आफ्नो रुप, वैंशको घमण्ड गर्दै तीखो ब्यङ्य गरि थुम्कीले ।
मैले कति याचना गरेँ । बुझाउन खोजेँ । रोएँ । कराएँ । चिच्याएँ । छाती चिरेर देखाउन मात्रै सकिन मैले मेरो माया तर उसले उपेक्षा मात्रै गरिरहि ।
मेरो मनको मायाको सानो संसार र सपना सबै चकनाचुर भो सीसा झै । आफैँले टेकेको धर्ती भासिएको जस्तै भो थुम्किको कुराले ।
यति भन्दा उसको गला अवरुद्ध थियो । आँसुका थोपा तप्प तप्प काखमा खस्यो ।
मेरो पनि मुटु हुँडलिएर आयो ।
“अनि ..?”
मैले माया पाइँन । थुम्कीलाई पाइँन । कसैको माया, स्पर्श आत्मियता रहर मात्रै भो । अरुले बुझेनन् त केही थिएन तर उसले पनि मेरो अनुहार भित्रको म देखिन । मेरो मन देखिन । मेरो माया देखिन ।
त्यसपछि के भो ?”
निकैबेरको मौनतापछि फेरि लामो सास फेर्यो र भन्यो,
“कुरुप हुनु मेरो दोष थिएन । नियतिको बज्रपात थियो । तर, बा लगायत समाजमा कसैले बुझेनन् मेरो मन । म पनि मान्छे थिएँ । मान्छे भित्र पनि मान्छे थियो । अरु त अरु थुम्कीले सहित बुझिन म भित्रको मान्छेलाई ।

मेरो उन्मुक्त प्रेम कक्रिएर कुण्ठित भो र त्यही कुन्ठाले सल्किदै गएँ म । म जति कोमल थिएँ भित्री रूपमा झन बढि कठोर बनेँ एकाएक । सबैको घृणाको कारण क्रुर बन्दै गएँ म । म भित्रको कोमलताले ज्वालामुखीको रुप लियो । उसलाई बदला लिने भाव पैदा भयो एक्कासि ।

साँच्चिकै, त्यसपछि भने म अनुहार जस्तै भित्रैदेखि कुरुप भएको थिएँ । र मलाई मेरो मनलाई त्यति कुरुप र बीभत्स मेरै थुम्कीले बनाइदिएकी थिई ।”

“सहमतिमा त उसको स्पर्श मैले कहिले पाउँदिन थिएँ । अर्कोतिर उसको माया र स्पर्शको तृष्णामा नै म बाचेको थिएँ । उसको स्पर्शको लालायित थिएँ तर ऊ हेर्न पनि चाहन्नथी मलाई ।

उसलाई जवानीे र रुपको घमण्ड थियो । त्यसैलाई तोड्न नै उसलाई कुरुप बनाउने सोच बनाएँ । उसलाई बोध गराउनु थियो सुन्दरताको महत्व र कुरुप भएर समाजमा सबैको घृणा बोकेर बाँच्नुको पीडा । त्यसैले मैले सुनियोजित रूपमा नै उसलाई अपहरण गरेर लगेँ ।

संयोगले त्यो दिन घरमा कोही पनि थिएनन् ।”
मैले धीत मरुन्जेल उसको स्पर्श गरेँ । माया गरेँ । चुम्बन गरेँ । अङ्गालोमा च्यापेर धीत मरुन्जेल रोएँ । मलाई आत्मसन्तुष्टि भयो । ऊभने उम्कने प्रयास गरिरही । मैले एकोहोरो रूपमा माया गरिरहेँ ।
मायाले मान्छेलाई सन्त र कोमल बनाउँदोरहेछ । कसैलाई प्रेम भावले स्पर्श गर्दा माया गर्दा मात्रै पनि ऊभित्रका सम्पुर्ण कुत्सित विचारहरु जलेर खरानी बन्दोरहेछ ।

त्यस्तै भयो ममा पनि । म पनि राक्षसबाट देउता बन्दै गएँ । अहँ, कुरुप बनाउन अपहरण गरेको थुम्कीलाई मैले केही गर्न सकिनँ । जब मैले छ्ताछुल्ल भएर उसलाई माया गरेँ तब ममा त्यस्तो कुकार्य गर्नु हुन्न भनेर सचेतताको भाव आयो ।

“तर तिमीलाई त बलात्कारको पनि अभियोग लागेको छ त ?”
“अभियोग लाग्नु र प्रमाणित हुनु फरक कुरा हो ।”
“ अनि किन विरोध गरेनौ त मैले बलात्कार गरेको थिएन भनेर ?”
“विरोध गरेर पनि सत्य कस्ले पत्याउँथ्यो र समाजबाट नै बहिस्कृत व्यक्तिको कुरालाई ।”
“किन मार्यौ त आफुले त्यति माया गरेकी आफ्नै प्रेमिकालाई ?
“हो ! मैले माया गरेको थिएँ थुम्कीलाई । अपार माया । ऊ प्रतिको यही मायामा म आफूलाई र आफ्नो सत्यतालाई भुल्न चाहन्थेँ ।
फेरि मैले फकाएँ । मायाा गर्छु भनेँ तर मेरो माया र विहेको प्रस्तावलाई उसले उपेक्षा नै गरी “तँ जस्तो कुरुपको स्वास्नी यो जुनिमा त के सात जुनिमा पनि हुन्न” भनेर फेरि मेरो कुरुपतामाथि नुनचुक दली ।
आफूलाई भन्दा पनि बढी माया गरेको व्यत्तिबाट बारम्बारको तिरस्कार र उपेक्षाले मेरो रगत उम्लेर आयो । यही कुरुपताको शिकार भएर जिन्दगीभर अपमान र तिरस्कारको पीडा भोगेको मान्छे म । अनि कुरुप भएर बाँच्नुको पीडा कस्तो हुन्छ भनेर बुझाउन मैले उसलाई तेजाब खन्याइदिएँ ।

हा ....! एक्कासि हत्केलाले अनुहार छोपेँ आँखा चिम्लेर । थरथर जिउ काप्यो । मुटु फुट्ला जस्तो भो । रगत तातेर आयो । आङ जिरिङ्ग भो । आँखाबाट बरबर आँसु पनि खस्यो घटनाक्रम सम्झेर । उफ् ! क्रुरताको पराकाष्ठा । मनमनै भनेँ । शरीरको सारा बल लगाएर चिथोरेर चोक्टा चोक्टा पार्नुजस्तो उत्तेजित भएँ ।

आँसु पुछ्दै आँखा खोलेँ । मुर्दा शान्ति थियो वरपर । सबैजना मलाई नै हेरिरहेका । सरि भनेँ र फेरि सोधेँ बिस्तारै
"अनि ........?
“तेजाब खन्याएर उसलाई अर्धमृत त बनाइसकेका नै थियौ तर हत्या नै किन गरिदियौ र हत्यारा बन्यौ त ?”काँपेको स्वरमा सोधेँ मैले ।
ऊ पनि आँसु पुच्च्दै थियो । धेरैबेर पछि चुप्पि तोड्यो ।
“कुरुप व्यक्तिले समाज र सुन्दर व्यक्तिबाट तिरस्कार र अपमानित भएर बाँच्नु कति कठिन हुन्छ त्यो मैले भोगेको थिएँ । म त्यही पीडा महशुस गराउन चाहन्थेँ उसलाई पनि ।
तर जब तेजाबले उसको अनुहार विभत्स देखियो अनि पीडाले ऊ चिच्याउन थाली तब फेरि मेरो माया उम्ल्यो ऊ प्रति ।

"अहँ ! उसले मेरो जस्तो तिरस्कृत जीवन बाँच्नु न परोस् भन्ने लाग्यो । सधैं अरुको उपेक्षा भोग्नुपर्दा पलपल मर्नुपर्छ । त्यसरी मर्नु भन्दा एकैपटक मर्नु जाती सम्झेँ । त्यसैले त्यो पलपलको मृत्युबाट बचाउन पुरै मृत्यु दिन दुईतला अग्लो पालीघरको झ्यालबाट खसालिदिएँ उसलाई ।

ऊ केहिबेर रोकियो अनि बोल्यो । अनि खतम ! सबै खत्तम ! न मेरो माया रह्यो । न थुम्की नै रही । न म रहेँ ।
एक्कासि भक्कानिएर रोयो ऊ । म पनि घुँक्क घुँक्क गर्दैथिएँ ।

उसको मृत्युपछि म पनि आत्महत्या गर्ने सोचमा थिएँ । तर मर्नुभन्दा पहिले नै गाउँलेले मलाई समाते । म हिरासतमा पुगेँ ।

उसले दुवै हातले आँखा पुच्छ्यो कपडा भित्रबाट नै । आफ्नो अपराधको प्रायश्चितमा नभएर आफ्नो अपमानको पीडामा बगेको हो कि उसको आँसु ? कि त थुम्किको मायाले हो ...?” बुझिनँ मैले ।
नारी मन पग्ल्यो मेरो पनि । मैले आँसु पुछेँ दुवै हातले ।
मलाई के भो ? कस्को माायाले रोएँ म ? आफैँलाई थाहा भएन । थुम्कीको कारुणिक मृत्युले ? या त अरुण प्रतिको सहानुभूतिले ?
वातावरण स्तब्ध भयो । ममात्रै होइन उसको बयान सुन्नेजति सबैले आँसु पुछिरहेका थिए ।

एउटा रहस्यको पर्दाफास भएको थियो । अब त झन सबैको आँखामा कौतुहल थियो त्यो कैदी बन्दीको अनुहार हेर्ने ।

मैले बिस्तारै सोधेँ “तिमिलाई अहिले पस्चाताप छैन ? एउटा क्रुर हत्यारा बन्न पुगेकोमा ?”
“अहँ पटक्कै छैन । मैले त उसलाई मुक्ति दिएको । अपमान र उपेक्षाको पीडाबाट मुक्ति । यदि ऊ बाँचेकी भए म जस्तै अपमानित र तिरस्कृत हुन्थी अरुबाट । तर उसले एकैचोटि मृत्यु भोगी । मलाई बिस्मात छैन यसमा । बिस्मात यति होकि कुरुपहरुको मनमा कति सुन्दर मन र माया हुन्छ त्यो अनुभूत गराउन पाइँन मैले उसलाई....। तर मरेर गएपनि म माया गर्छु उसलाई । उसकै मायाको यादले बाँचेको छु म आजसम्म र बाच्नेछु सधैं ।” घुँक्क गर्दै रोयो ऊ ।

वातावरण चकमन्न भयो । सबैजना मुखामुख गर्न थाले ।


“अरुणोदय ! तिमी हत्याको आरोपबाट निर्दोष छौ ।” मैले उठेर उसको अनुहार छोपेको पहेँलो कपडा निकालिदिएँ ।

सबैले उसको अनुहार देखे कथासँगै । साँच्चिकै बीभत्स र कहालीलाग्दो नै थियो । सबैका अनुहारमा बिस्मयाधिबोधक चिन्ह देखिए भने मुखमा निःशब्द ।
मैले उसको यस्तो नाम लिएर बोलाइदिएकी थिएँ । जुन नाम उसको र प्रेमिका अरुणाको नाम जोडेर अरुणोदय राखेको थियो ऊ आफैँले ।
ऊ अत्ताल्लियो मेरो अनपेक्षित सम्बोधन र ब्यवहारले । तर अब सबै कथा थाहा पाइसकेपछि सत्य सबैलाई थाहा हुनु जरुरी पनि त थियो ।
विस्फारित नेत्रले हेरिरहेको थियो मलाई । म थुचुक्क कुर्सिमा बसेँ र बिस्तारै पालैपालो मेरा दुबै खुट्टा खोलेर टेबलमा राखिदिएँ । अनि मेरो अनुहारमा लगाएको सुन्दर नकाब (मास्क)पनि खोलेर टेबलमा राखिदिएँ । मेरो तेजाबले जलेको कुरुप अनुहार हेरेको हेरै भए सबैजना । अलपक भयो ऊत झन र थर–थर काम्दै थुचुक्क बस्यो ।
“हो तिम्रो हृदयको सच्चा प्रेमलाई बुझ्न नसक्ने तिम्री थुम्की उर्फ अरुणा मै हुँ । तिमीले तेजाब खन्याएर कुरुप बनाएकि केटी म नै हुँ ।
“तर ...? तिमी ......जिउँदै ....??” थरथर काप्दै डराउदै अविस्श्वास गर्दै बिस्तारै छोयो मलाई ।

“ हो, कुरुपताको पीडाबाट मुक्ति दिन तिमीले झ्यालबाट खसाइदियौ तर म मरिनँ बाचेँ । तिमी निर्दोष छौ । जुन हत्याको आरोपमा तिमी सजाय काटिरहेका छौ त्यो व्यक्ति म यी जीउँदै छु । दुवै खुट्टा भने काम नलाग्ने भए र काट्नुपर्यो । अहिले यी नक्कली खुट्टाको भरमा हिड्छु ।” टेबलमा राखेका खुट्टा देखाउदै भनेँ मैले ।

“जब म घाउ निको भएर कुरुप अनुहार बोकेर यो समाजमा सुन्दरहरुको भीडमा हिंड्न थालेँ तब थाहा भो मलाई तिम्रो पीडा । तब बुझेँ मैले शारीरिक कुरुपता भित्रको सुन्दरता । मानवीय व्यवहार र प्रेम । फरक भएर जीवन बाँच्नुको यथार्थ । अरु मान्छेको तिरस्कार र उपेक्षा ।”
किंकर्तब्यबिमुढ भएर हेरिरह्यो उसले मलाई ।
“मलाई माफी देउ है तिमीलाई अपमान गरेकोमा ।” हात जोडेँ उसको सामु ।
“माफी तिमीले होइन मैले पो माग्नुपर्छ । तिम्रो जीवन यस्तो गराउने म जस्तो अपराधीलाई माफी होइन मृत्युदण्डको फैसला गरिदेऊ अरुणा ।” ऊ रुँदै आएर मेरो खुट्टामा घोप्टियो ।

मैले उसको टाउको सुम्सुम्याउँदै उठाएँ ।


अलपक भएर हेरिरह्यो उसले मलाई । मेरा पनि आँखा हटेनन् उसका आँखाबाट । सायद पहिलोपटक नियालेर हेरेकी थिएँ मैले उसलाई यसरी । सबैले जस्तै मैले पनि सँधै कुरुप भनेर घृणा गरेको उसको अनुहार सुन्दर लाग्दैथियो मलाई ।

“साँच्चिकै अझै माया त गर्छौ नि अरुणोदय मलाई ?”
केही बोल्न सकेन ऊ । एक्कासी अंगालोमा मलाई च्यापेर घुक्क घुक्क गर्नथाल्यो ।
मेरा पनि आँखा बर्सिरहेका थिए । साँच्चिकै अलौकिक लाग्यो मलाई उसको स्पर्श र आलिंगन ।

कतिपय प्रश्नका उत्तरहरु विना शव्दमा नै मिल्दोरहेछ ।

वातावरणलाई मध्यनजर राख्दै मैले आफूलाई अलग गराएँ ऊबाट ।
अरुण ! अबदेखि तिमीले कहिल्यै कोहीबाट पनि अपमानित हुनुपर्दैन । अब हामी कुरुप अनुहार भएपनि सुन्दर मन बोकेर आफ्नो सुन्दर संसारमा सँगै उन्मुक्त खुसी बाँच्नेछौँ । तिमी जति कुरुप छौ त्यति सुन्दर छ तिम्रो मन । पवित्र छ माया । ”
मैले उसको कुरुप दुवै गाला दुवै हातमा राखेर भनेँ ।
टेबलमा अघि फुकाएर राखेको मास्क मलाई लगाइदिन खोज्यो उसले ।
"अहँ यो मास्कको जरुरत छैन मलाई अब उदय ।सुन्दरता प्रति अब मेरो मोहङग भैसकेको छ । हाम्रो पीडा अब बराबरी हुनेछ । फेरि पनि दुवैले एक अर्काेलाई हेरिरह्यौं निकैबेर ।
वातावरण कारुणिक देखियो । त्यहाँ भएका कैदी कसैका पनि आँखा ओभानो देखिएनन् । सबै भाव विह्वल भए ।

जेल अनुगमनको लागि तोकिएको समय सकिइसकेको थियो । आफैँ रक्षक भएपछि कानून उल्लङ्घन गर्नु पनि त भएन ।

अघि खोलेर टेबलमा राखेका खुटा लगाएँ र बिस्तारै उभिएँ ।
उसले गरेको अपराधको सजाय त भोगिसकेको थियो ।नगरेको अपराधको सजाय मुक्त गराउने आश्वासन दिएँ ।

सुरक्षागार्डले उसलाई समाएर लग्यो । अरु कैदीबन्दीहरु पनि कोठाभित्र गए क्रमशः पंक्तिवद्द भएर ।
अघिपछि सुरक्षागार्डबाट घेरिएर मपनि गेट बाहिर निस्केँ । कृत्रिम खुट्टा टक टक पार्दै ।
ओहो ! म भित्र अपार सन्तुष्टी खलखल बगिरहेको थियो । मान्छे भित्रको मान्छेलाई भेटेर ।

भोजपुर, हाल काठमाडौ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु